हरेक वर्ष अप्रिल १८ तारिखमा विश्व सम्पदा दिवस मनाइन्छ । यो वर्षको दिवस मनाउन ऐतिहासिक धार्मिकस्थल स्वर्गद्वारी पुगेँ । प्रकृतिको काखमा अवस्थित रमणीय चुट्टीमा बसेर यो दिवसको औचित्य, महत्व, मर्म र भावना स्मरण गरेँ । सम्पदाको प्रेम र सम्मानभाव तथा संवर्द्धन र संरक्षणको गहिरो चाहनाले मन उद्वेलित भयो । यो पवित्र दिवसप्रति सद्भाव, सम्मान र कर्तव्यबोध दर्शाउन यो आलेखलाई माध्यम बनाएको छु ।
प्रसङ्ग प्रारम्भ स्वर्गद्वारीबाट
नेपालको ७७ जिल्लाका कुना कन्दरामा पुगे पनि पङ्क्तिकारका लागि स्वर्गद्वाराी दर्शन पहिलोपटक थियो । सम्पदा अध्ययनको चाहनालाई यो अपूर्व अवसर बरदान सरह भयो । पूर्व–पश्चिम, उत्तर–दक्षिण, पहाड–तराईबाट क्रमशः उठ्दै गएको पहाडको शृङ्खलामाथि अवस्थित स्वर्गद्वारीको प्राकृतिक छटा र सौन्दर्य देखेर स्वर्गमा पुगेको अनुभूत भयो । चारैतिर हरियो वनजङ्गल, कुण्ड, पोखरी, गुफा र हिमाल–तराई देखिने मनमोहक दृश्यले जो कोहीलाई आकर्षित गर्ने स्वर्गद्वारीको अलौकिक शक्ति ।
महाप्रभु हंसानन्द गिरी परमहंसले स्थापना गर्नुभएको स्वर्गद्वारीको प्राचीन रूप एउटा रामराज्यको जस्तो थियो । उहाँले तपस्या गरेको १२४ वर्ष बूढो बाँझ वृक्ष अझै हरियो र खडा साक्षी छ । हेर्दाहेर्दै स्वर्गद्वारीको १८ सय बिगाहा जग्गा चौतर्फी आक्रमणमा परेर १२ सय बिगाहामा खुम्चिएको छ । त्यसमाथि पनि गिद्दे दृष्टि लगाउने र नम्बरी जग्गालाई भीरपाखो बगरसँग साटिदिने छलकपटले मन्दिरको भविष्य अन्धकार बनाइदिएको छ । महाप्रभुका १२ सय स्वस्थ, सुखी र खुसी गाईहरू घटेर ३ सय हाराहारीमा झरेका छन् र ती गाईहरू पनि घाँस, पानी, दाना र उपचारको माग राखेर कराइरहेका छन् ।
स्वर्गद्वारीमा सडक पुर्याउने सबैको होडबाजी छ । चारैतिरबाट कलिलो, कमलो, सुन्दर पहाडको कट्टी काट्ने खुइल्याउने काम तीव्र रूपमा हुँदा हरियो वनजङ्गल, घाँस सफाचट् पारिएको छ । ती असुरक्षित सडकबाट भए पनि ज्यान जोखिममा राखेर लाखौँ यात्रु मन्दिर यात्रा गरिरहेका छन् ।
लाखौँ आन्तरिक र त्योभन्दा धेरै भारतीय तीर्थालु भक्तजनहरूको ओइरो लाग्ने ६१६० फिटको उचाइमा रहेको स्वर्गद्वारीले असल व्यवस्थापन र प्रभावकारी संरक्षण तथा बहुरुपी यातायातको पहुँच एवं भौतिक विकासको माग गरिरहेको देखियो । दाङदेखि प्युठानसम्म फैलिएको मन्दिरको जग्गा जमिनको वनजङ्गललाई धार्मिक एवं ऐतिहासिक पार्क बनाएर ती लाखौँ भक्तजनहरूलाई ३ दिन ध्यान, धर्म र मनोरञ्जन गराएर पठाउन सकिने सम्भाव्यताको हामीले किन सोध, खोज र सदुपयोग गरेनौँ ? त्यो हाम्रो धर्म, संस्कृति र सम्पदा संरक्षणको उदासिनताबाहेक अरू केही होइन । अझ लुम्बिनी, बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पा, पोखरा र धोरपाटनले घेरेको स्वर्गद्वारीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न हामी ठोस गुरुयोजनाका साथ अघि बढ्नुपर्ने हो ।
भक्तजनहरूको धन, मन, उमेर, शारीरिक अवस्था, समय, व्यस्तता अनुसार हवाइजहाज, हेलिकोप्टर, केवलकार, जिपलाइन, मोटर, साइकल, घोडा, पैदल ट्रेकिङको सुविधाको विकल्प रोज्न दिनु र सोही अनुसारको खाने बस्ने सुविधाका विकल्पहरू खुला गरिदिने हो भने स्वर्गद्वारी धर्म र समृद्धिको मुहान हुने थियो ।
यो ताजा प्रसङ्ग त स्वर्गद्वारीको भयो । उस्तै लुटपाट र अतिक्रमणको चौतर्फी समस्याबाट गुज्रिरहेका छन् अरू हजारौँ सांस्कृतिक, धार्मिक, ऐतिहासिक सम्पदाहरू ।
विश्व सम्पदाहरूको हालत
काठमाडौँ राजधानीमा अवस्थित विश्व सम्पदा पशुपति क्षेत्रले सम्भार, संवर्द्धन र संरक्षणका लागि गरेको जोडदार पुकार सुन्न र सम्बोधन गर्न विलम्ब भइसकेको छ । अतिक्रमित जग्गा फिर्ता ल्याएर पशुपति क्षेत्रको संरक्षण गर्न ढिलो भइसकेको छ । राजधानीको सभ्यता बोकेको धार्मिक नदी बागमती सफाइका लागि विकास क्रान्तिको जरुरी छ । मठ मन्दिर मूर्तिका टुटेफुटेका गजुरहरू शीघ्र रसायन गरेर तिनलाई सजीव बनाउन र विश्वभरिका हिन्दुहरूको सम्मान गर्न विलम्ब भएको छ । यो अर्को प्रतिनिधि उदाहरण मात्र हो । विश्व सम्पदामा सूचीकृत अरू ९ ओटा सम्पदाहरूको हालत पनि उस्तै नाजुक छ ।
सगरमाथालाई फोहोरले पुर्ने डर छ । काखभरि मैलाधैलाको बोझ बोकेर सगरमाथा गुहार गुहार मागिरहेको छ । धन्य छ, नेपाली सेनाका संयोजन र अगुवाइमा जारी हिमाल सफाइको पवित्र अभियान । अर्को सम्पदा चितवन राष्ट्रिय निकुञ्ज चौतर्फी अतिक्रमणको सिकार भएको छ । नेपाली सेनाको संरक्षण पहल र प्रयास नभएको भए यो सम्पदाको उहिले पत्तासाफ भइसक्ने थियो । गैँडाको बढोत्तरी र बाघ दोब्बरको सङ्कल्प साकारले यो सम्पदाले धन्न नेपाल र नेपालीको इज्जत र छवि बढाइदिएको छ ।
पशुपतिलगायत काठमाडौँका ७ ओटा विश्व सम्पदाहरू (काष्ठमाण्डप, भक्तपुर दरबार स्क्वाएर, पाटन दरबार स्क्वाएर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण)ले उचित व्यवस्थापन,सम्भार र दिगो संरक्षणको जोडदार पुकार गरिरहेका छन् । कलाकृति, मूर्ति चोरीका घटनाले यी सम्पदाहरू हैरान र लज्जित छन । महाभूकम्पपछि धेरै सम्पदाहरू नलीखुट्टा, घुँडा, कन्दानी, कट्टी, छाती र घाँटीमा पासो जस्तो टेकोको भरमा उभिएका छन् । अर्को सम्पदा लुम्बिनीको अतिक्रमण राष्ट्रिय लज्जाको पसारो भएर राम्रो व्यवस्थापन र संरक्षणको प्रतीक्षामा छ ।
न यी विश्व सम्पदामा सूचीकृतयोग्य कलाकृति, संस्कृति, सभ्यता निर्माण गरिदिने ती सिर्जनशील पौरखी र स्वाभीमानी अग्रजहरूप्रति हामी कृतज्ञ छौँ, न त ती सम्पदालाई सूचीकृत गरिदिएर नेपाल र नेपालीको शिर ठाडो बनाइदिने युनेस्कोप्रति हामी अनुग्रहित छौँ । बरू हामी उल्टो युनेस्को लगायत विश्व सङ्घ संस्थाले हाम्रा सम्पदाहरू संरक्षण गरिदियोस् भन्ने भ्रम पालेर निरीहता प्रकट गरिरहेका छौँ । सिर्जना र प्रतिभाका धनी पुर्खाहरूलाई गालीगलौज गर्ने नास्तिक पिँढीको नयाँ नेपालको गफ फगत् सुनिरहेका छौँ ।
यी सबै राष्ट्रिय लज्जाबोध हुने हिनता र कुकृत्यबाट हामी छिटो मुक्त हुन जरुरी छ ।
नयाँ सम्पदा सूचीकृतका पहल र प्रयासहरू
नयाँ सम्पदा सूचीकृत गर्न पूर्व सम्पदाहरूको उचित व्यवस्थापन र भरपर्दो संरक्षण अपरिहार्य हुन्छ नै । एकछिनलाई मानौँ कति करोडौँ पर्यटकहरूले यी सम्पदाहरूको सुखद् भ्रमण र अवलोकन गरे होलान् ? तिनले कुन सुविधाको सेवादायी पसलहरूको उपभोग गरे होलान् ? कुन पिउने पानी र सफा शौचालयको प्रयोग गरे होलान् ? कुन व्यावसायिक टुर गाइड र सुविधाजनक यातायातको प्रयोग गर्न पाए होलान् ? कुन सुविधासम्पन्न मापदण्डअनुसारको आहार र वासस्थानको प्रबन्ध उपयोग गर्न पाए होलान् ? व्यवस्थापकीय त्यो पाटो नै हाम्रो पहिचान हो । सम्पदा र सम्पदा अवलोकनकर्ताको व्यवस्थापन र संरक्षण तत्परता र क्षमताको हाम्रो सक्कली ऐना हो । त्यो नै थप नयाँ सम्पदा सूचीकृत गर्ने राष्ट्रिय चाहना र सङ्कल्पको सूचक हो ।
अब प्रश्न उठ्छ, भइरहेका सम्पदाहरू क्षतविक्षत भई ढलिरहेको, हराइरहेको अवस्थामा नयाँ सम्पदा सूचीकृतको हाम्रो चाहनालाई कसले कसरी किन पत्याउने ? यही चरम उदासिनताको सिकार भइरहेका छौँ हामी नेपाली ।
यद्यपि हाम्रा थप १५ ओटा सम्पदाहरू विश्व सम्पदामा सूचीकृत हुने योग्यता र क्षमता पूरा गरेर त्यो शुभदिनको प्रतीक्षामा छन् । से–फोक्सुन्डो (डोल्पा) राष्ट्रिय निकुञ्ज अहिले सूचीकृत भइसक्नुपर्ने थियो । जानकी मन्दिर सूचीकृत गराउन नसक्नुमा के शक्तिहीन मधेस एक मात्र कारण हो त ? ऐतिहासिक तिलौराकोट, मुक्तिनाथ क्षेत्र, गोरखा दरबार, नुवाकोट दरबार, रामग्राम, खोकना, साँखु, लोमान्थाङ, कीर्तिपुर, रुरु क्षेत्र, दैलेखको भुर्ती मन्दिर, सिँजा उपत्यका, तानसेन दरबारको सूचीकृतको योग्यता र हक पूरा गरिदिन राष्ट्रिय पहलको जरुरी देखिन्छ । हामी सबै व्यक्तिगत, समूहगत, दलगत क्षणिक र निहित स्वार्थबाट बाहिर निस्किए मात्र यी राष्ट्रिय/विश्व सम्पदाले संरक्षण प्राथमिकता पाउने छन् ।
सलाम छ नेपाली सेनालाई, जसले ऐतिहासिक गढीहरूको संरक्षण पहल अभियानका रूपमा अगाडि बढाएको छ र तिनलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा मालाझैँ प्रवर्द्धन र विकास गर्ने सुन्दर खाका तथा गुरूयोजना तर्जुमा गरिदिएको छ । पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना गरिदिएको छ । अरू धेरै ऐतिहासिक सङ्ग्रहालय, पुरातात्विक महत्वका सम्पदाहरूको व्यवस्थापन र संरक्षण पहल तारिफयोग्य छन् । तर राज्य उदासिन हुन र पन्छिन मिल्दैन । स्थानीय समुदायको हात, काँध र साथले सम्पदाहरूको संरक्षणमा योगदान पुग्नेछ ।
सम्पदा संरक्षणमा बटम अप एप्रोचमार्फत् केन्द्रको ध्यानकर्षण गराउनु मनासिब हुनेछ । तर सम्पदाको स्वामित्व ग्रहण र तदअनुसारको संरक्षण पहल स्थानीय नागरिकहरूको हुनुपर्दछ ।
सगरमाथा जस्तो उच्च सचेतना
हाम्रो सगरमाथा, राम्रो सगरमाथा, एक मात्र सगरमाथा र विश्वको सगरमाथा भन्ने स्थानीयवासीहरूको स्वामित्व स्वस्फूर्त ग्रहण, रक्षा, सम्मान र कल्याणभाव देखेर चार दशकअगाडि गर्वबोध भएको थियो । हरेक दशकमा त्यो सम्पदा रक्षा भाव पुनर्मापन गर्दैजाने अवसर जुर्यो । आफ्नो सम्पदाको स्वामित्व ग्रहण र रक्षा सङ्कल्प आजसम्म बढेको बढ्यै छ । अहिंसाको बुद्धमार्गले सगरमाथा राष्ट्रिय निकुञ्जको संरक्षणलाई ठूलो टेवा पुगेको छ । त्यो सम्पदा संरक्षणभाव हरेक नेपाली नागरिकमा जाग्नुपर्दछ र सर्वत्र फैलिनुपर्दछ । नागरिकले आफ्नो सबै तहका सरकारलाई खबरदारी गर्नुपर्दछ ।
द्वारिका होटलको सम्पदा संरक्षण पहल उदाहरणीय र कदरयोग्य छ । दाजु कर्ण शाक्यको प्रकृति र सम्पदा संरक्षणको रहर र पहल उस्तै प्रशंसायोग्य छ । राज्यलाई प्रेरित गर्ने निजी सोख र पहलहरू अरू थुप्रै छन् । लकडाउन सुरु हुनासाथ द्वारिका होटलमा प्राचीन सम्पदा पुछ्ने, तेल लगाउने, रङरोगन गर्ने र टल्काउने चम्काउने काम युद्धस्तरमा भएको देखेर पङ्क्तिकारलाई लाग्यो राज्यले नक्कल गर्नुपर्ने काम । लकडाउन अवधिभरि हामीले सोही काम गर्नुपर्ने थियो ।
हरेक सम्पदा सुसंस्कार, शान्ति, सभ्यता र समृद्धिका प्रतीक हुन् । नेपाल र नेपाली चिनाउने यी सम्पदाले समृद्धिको आशा र सम्भाव्यता बोकेका छन् । जाने ती पैसा छाप्ने मेसिने हुन्, नजाने नास्तिकलाई गाँजा खाने पाटी पैवा मात्र ।
राष्ट्रिय धर्म
प्रकृतिको सर्वोच्चता स्वीकार गर्नु र नेपालको प्राकृतिक सौन्दर्यको रक्षा सम्मान गर्नु हाम्रो पहिलो राष्ट्रिय धर्म हो । प्रकृतिका उपहार भावी पुस्ताहरूलाई हस्तान्तरण गर्दै जानु र पुण्यभूमिलाई ध्यानभूमि मानेर स्वर्गजस्तो पवित्र राख्नु हाम्रो परम कर्तव्य हो । यो राष्ट्रियभन्दा पनि अन्तर्राष्ट्रिय दायित्वबाट हामी कहिल्यै बिमुख हुन मिल्दैन ।
मान्छेभन्दा धेरै देवता र घरभन्दा धेरै मठमन्दिर भन्ने पश्चिमाहरूको गर्विलो आत्मविश्वासमा हामीले ठेस लाग्न दिनुहुँदैन । त्यही विश्वासले हो यहाँ पर्यटक र अध्येताहरूको ओइरो लागेको । सिङ्गो नेपाल जैविक विविधता र ऐतिहासिक सांस्कृतिक कलाकृतिको विशिष्ट पाठशाला हो । त्यसैले हाम्रो मौलिक पहिचान र सभ्यता दर्शाउने यी सम्पदाहरूको संवर्द्धन र रक्षामा हामीले ध्यान र त्याग दुवै लगाउनुपर्दछ । नयाँ नेपालको सपना होइन, पुरानो नेपाललाई जस्ताको तस्त राख्न सके मुलुकको अर्थतन्त्र र सामाजिक पहिचानमा कायापलट हुने छ । दुई उदाउँदा विश्वशक्ति छिमेकीहरूको पर्यटन दबाब थेगिदिन पनि हामीसँग प्राचीन नेपालको कलाकृति र संस्कृति चाहिन्छ नै । राज्यका सम्बन्धित सबै निकायहरूले उदासिन भएर होइन, सकारात्मक भएर र फुटेर होइन, जुटेर यो राष्ट्रिय धर्म पूरा गरिदिनुपर्दछ । विश्वका सम्पदाहरूको अनिवार्य रक्षा गरिदिनुपर्दछ ।
द्वारिका होटल एक्लैले त्यति धेरै सम्पदाको संवर्द्धन र संरक्षण गरिरहेको नजिरबाट पाठ सिकेर राज्यले संरक्षणको पहलकदमी र अगुवाई गर्ने हो भने नेपाल बहुमूल्य सम्पदा नै सम्पदाको माला हुनेछ । हामीलाई चाहिएको सुन्दर, शान्ति, विशाल नयाँ नेपाल त्यस्तो हो । त्यस्तो राष्ट्रिय धर्म पूरा गर्ने कटिबद्ध नेतृत्व आजको आवश्यकता हो ।
शुभकामना
अन्त्यमा, कठिन वर्षको यो दिवसले सम्पदा संरक्षणको दायित्वप्रति हामी सबैलाई सचेत बनाओस् । सरकारलाई सङ्कल्प लिन उत्प्रेरित गरोस् र त्यो संवेदनशील सङ्कल्प पूरा गरेर देश सिँगारेर देखाउन सामर्थ्य बनाओस् । सम्पदा संरक्षणको संस्थामा स्वयंसेवी भई आबद्ध हुन र अध्ययन, अनुसन्धान, संरक्षण योगदान गर्न चाहेको आज तीन वर्ष पूरा भयो । विडम्बना ! मैले कुनै सक्रिय र जवाफदेही संस्था भेट्न सकेको छैन ।
द्वन्द्वकालीन पिँढी बूढो भइसकेको छ । नयाँ पिँढीलाई सम्पदाभक्षक होइन, रक्षक भएर प्रस्तुत हुन बौद्धिक, नैतिक, आध्यात्मिक शिक्षाले उत्प्रेरित गरोस् ।
स्थानीय सम्पदा राष्ट्रिय सम्पदामा र राष्ट्रिय सम्पदाहरू विश्व सम्पदामा छिटो छिटो दर्ज होऊन् । सिङ्गो नेपाल विश्व सम्पदाको सजीव सङ्ग्रहालय होस् । मातृभूमिले अखण्ड नेपालको भूगोल र त्यो भूगोलभित्रका सम्पदाहरूलाई प्रेम, सम्मान, कल्याण र रक्षा गर्ने दृढ सङ्कल्प भएको जवाफदेही र त्यागी नेतृत्व पाइराखून् । त्यही छ, विश्व सम्पदा दिवस २०७८ लाई शुभकामना ।
(लेखक संरक्षणविद् हुन्)