बाबुकृष्ण कार्की, बाघ गोठालो,
गएको महा–भूकम्पमा हात्तीले माथि माथि गोडा चाल्यो । उ तत्काल जमिन छाडेर आकाशमा उड्न खोज्दै थियो । बाघले जाबो पर्खाल नाघेर बस्तीमा जाउं जाउं गर्दै थियो । अन्य जनावरहरु पनि बेजोड कामिरहेको धर्ती छाड्न आत्तिएर उफ्रिरहेका थिए ।
पंक्षीहरु मानिसलाई ‘छिटो घर बाहिर निस्केउ’ भनेर चिच्याएर ईशारा गरिरहेका थिए । र, आकाशमा स्वतन्त्र उडान भर्न पंखेटा रगताम्य हुने गरेर जाली छेड्न खोजिरहेका थिए । पंक्तिकार सैनिक युनिफर्ममा भोक भोकै हिमालको पत्र–पत्र भित्रबाट मानिसहरुको उद्धार गरेर फर्किनासाथ बाघलाई धैर्यधारण गरिदेउ र नआत्तेउ प्रभु भनेर प्रार्थना गर्दथें ।
अनि चिडियाखानाकी निर्देशक म्याडम्लाई फोन गरेर पुकार्दथे– “म्याड्म, उद्धार सहयोगको लागि हामी (नेपाली सेना) तयार छौं ।”
भूकम्प आयो गयो । अहिले महामारीले भयभित् पारेको छ । रोग भन्दा त्राश ठूलो । भाईरस आतङ्क भन्दा हल्ला बेसि ।
यो पनि पढ्नुहोस:बाघमारा नियन्त्रणको नयाँ अभिभारा
यही हल्लै हल्लाको दुनियामा जावलाखेलस्थित बाघको घरमा हल्ला फिंजियो । २ दिनदेखि सञ्चारकर्मीहरु ठूलठूला क्यामरा लिएर भोका बाघको फोटो खिचिरहेका छन् । अन्तरवार्ता र अखबार सजिएका छन्– “बाघ भोकै । जनावर भोकै । पशुपंक्षीको खाद्यभण्डार खाली । बजेट तुरियो । जनावरहरु भोकभोकै मर्ने भए ।”
पंक्तिकारले बाघको भाषा ध्यानपूर्वक सुने । अनि त्यसलाई डिकोड् गरेर तयार पारेको यो पत्र आफ्नै मन शान्ति र ती कमाईखाने श्रमजीवि अवोध कैदी जीवजन्तुको सम्मान र उद्धारको लागि पस्किएको छु ।
हे मानवदेव,
कोटी कोटी नमस्कार ।
हाम्रो नीति निर्माता, भाग्य विधाता, भविष्य निर्धारक अभिभावक सबै हजुरहरु ।
म केन्द्रिय सदर चिडियाखाना, नेपालको चार मध्ये सिनियर पाटे बाघ । चिडियाखानाको ११० प्रजातिका १ हजार जीवजन्तुको प्रार्थना र समष्टिगत पुकार जाहेर गर्न यो पत्र लेख्दै छु ।
यो पनि पढ्नुहोस: बाघको मनोविज्ञान: कहिले जाला हाम्रो ध्यान
हिजोसम्म हामीले आफ्नो घाँस, पराल, भुस्सा, खोले, दाना–पानी, आहार आफैं कमायौं । अहिले लकडाउनले हाम्रो कमाई बन्द भयो । अब हामीले हाम्रो पेट पूजा नहुने सपना देख्न थाल्यौं । भोकभोकै मरिएला भन्ने चिन्ता चुलिन थाल्यो । सबै जीवजन्तुको चिन्ता मनासिब लाग्यो ।
रोगभन्दा ठूलो भोक रहेछ । भोक भन्दा धेरै गुणा ठूलो हाम्रो सास । नि:शुल्क सास फेर्न दिने प्रकृति प्रति हामी सबै आभारी छौं । तर पेटको समस्या कसरी समाधान गर्ने होला ? मानवदेवको ध्यानाकर्षण गर्न चाहन्छौं ।
हे मानवदेव
भिजिटर्स आउदा हो–हल्ला कोलाहल हुन्थ्यो । चरम अशान्ति ।
तर हामीले आफूलाई हल्लानुकूलित बनाएका थियौं । जे पनि खप्न, सहन, बेहोर्न सक्ने भएका थियौं ।
म जङ्गलको राजा । दर्शक हँसाएर सिनो कमाउनुपर्ने । सयौं माईलस् यात्रा गरेर चर्ने म छेउको गजराज र अर्को छेउको गैंडालाई उहिलेका राणा प्रधानमन्त्री जुद्ध शम्शेरको घोडा तबेला र सुन्दर बँगैचाको १ रोपनीको टुक्रामा ठिंगुरा ठोकेर अडिनुपर्ने । भारत, चीन, रुस बेग हानेर यात्रा गरिरहनुपर्ने पंक्षीहरुलाई एउटा खोपामा कुंजिएर बस्नुपर्ने । दर्जनौं पोथी महारानीहरुलाई पट्याउने सुन्दर नाच मयुरले मान्छेलाई देखाएर २ मुठी धान मकै झार्नुपर्ने ।
हरे प्रकृति ।
हरे हाम्रो दुर्भाग्य ।
तै पनि सार्वभौम मुलुकको मुटु राजधानीको बंगैचामा हामी गर्वसाथ बस्यौं । दर्शकलाई रिझायौं ।
हे मानवदेव,
हिजो हामीले कमाएको धन बचत गरिदिएको भए । ठूलठूला विपदको अग्रिम परिकल्पना र उद्धार योजना तथा पूर्व तयारी भई दिएको भए । आपत्कालिन वैकल्पिक जीविकोपार्जनको उपायहरु गृहकार्य गरि बसिदिएको भए । आज हाम्रो रुवाबासी हुने थिएन ।
हाम्रो कमाउने काम । हामीले नकमाएको कहाँ हो र ? हाम्रो कमाईले अरुलाई पाल्नु परेर पो आज यो जात्रा भयो त । फलानोका भर्ती । तिलानोका भर्ती । दर्जनौंका भर्ती । बिना कामका मान्छेहरुको जागिर दिने अड्डा । सिन्को नभाँची हाम्रो भाग खोसेर खाने हुल । प्रधानमन्त्री, राष्ट्रपतिभन्दा धेरै तलब खाने हाम्रो चेन अफ् कमाण्ड र हाकिम । हाम्रो कम्प्युटर, सवारी साधन, उपकरण निजि प्रयोगको लागि घर घर लैजाने लुटपातको संस्कार भएको तालुक अड्डा ।
त्यसैले अहिले हाम्रो कन्तबिजोग र बिल्लिबाठ् । भोकभोकै मर्नुपर्ने अवस्था ।
हे मानवदेव,
म जातैले बाघ परें । ज्यादै स्वाभिमान तर अनुशासित । मैले चिडियाखानामा बाँकी सबै जीवजन्तुलाई म जस्तै अनुशासित राख्नैपर्यो । हामी हाम्रो आचारसंहिता तोड्न सक्दैनौं । जेलको नियम कानूनको परिधिभित्र बस्नु हाम्रो धर्म हो । हामी सकेर पनि जेलको पर्खाल तोड्न फोर्न र नाघ्न चाहदैनौ ।
हे मानवदेव,
हामी कमाईदिने हो नेरु, पाउण्ड, युरो, डलर, भारु, आर.एम.बि. लगायतका विदेशी करेन्सी । तर खाने त उही गेडागुडी, धान, भुस्सा, घाँस र सिनो नै हो ।
अलकत्र जस्तो पाउदैमा हामी हिरा मोती, सुन चाँदी, रुपयाँ चपाउदैनौं । हामी अनिवार्य नित्य नियममा रहन्छौं । न भुस्सा धेरै खान्छौं ।
हे मानवदेव,
हामीलाई रुन कराउन आउदैन । नाटक कला बहाना आउदैन । जुलुस आन्दोलन गर्न नैतिकताले दिदैन । उठेको हामी बस्ने हो । बसेको ठाउँमा थला परेर सुत्ने हो । सुतेको ठाउँमा थलिएर मानवको जयजयकार पुकार्दै प्राण त्याग गर्ने हो । त्यही खाल्डोमा पुरिएर मल हुने हो । हामी त्यसको लागि सगर्व तम्तयार छौं ।
हे मानवदेव,
ईज्जत जाने त नेपाल सरकारको हो । मुलुकमा जम्मा एउटा चिडियाखाना । हामी थोरै जीवजन्तु । कति राम्रो मुलुकमा कति नराम्रो दरिद्र र असम्वेदनशील सरकार भनेर राष्ट्रिय अन्तर्राष्ट्रिय बदनामको डर ।
हे मानवदेव,
पीडा र गुनासो राख्नुमात्र हाम्रो काम होइन । यो हाम्रो सुन्दर मुलुकको हामीलाई पनि गहिरो माया छ । त्यसैले केही सुझाव राख्न चाहन्छु ।
पहिलो, उहिले १ जना व्यक्ति विशेषको सानो बँगैचामा सानो काठमाण्डौंको सानो जनसंख्यालाई स्थापना गरिएको चिडियाखानामा हामी कुंजियौं, निस्सासियौं आत्तियौं । हामीलाई छिटो भक्तपुर प्राणी उद्यानमा लगेर ठूलो सुन्दर जङ्गलमा छाडिदिनुहोस् । हामी सुनको अण्डा पारेर मुलुकलाई सम्वृद्ध पारिदिने छौं ।
दोस्रो, हरेक प्रदेशमा ठूलो चौडा मन गरेर ठूलो फराकिलो स्वतन्त्र जङ्गलमा प्राकृतिक विचरण गर्न मिल्ने ‘प्राकृतिक पार्क’ बनाइदिनुहोस् । तर विज्ञहरुको सल्लाह र डिजाईनमा । फेरि हामी टिपिनसक्नु सुनको अण्डा पारिदिनेछौं ।
तेस्रो, हामी भक्तपुर स्थानान्तरण भएपछि यो हाम्रो मूलघर ‘पुतली पार्क’ बनोस् र सुन्दर फूलै फूलको बंगैचामा रुपान्तरित त्यो पार्क वनको तालिम तथा रिसर्च र मनोरञ्जन केन्द्र बनोस् । त्यसले पनि सुनको अण्डा पार्ने छ ।
चौथो, हामीलाई पाल्ने नाममा दाता गुहारेर विदेशी सहयोग मागी अन्यत्र जस्तै हाम्रो जाबो दानापानी र ढुटो माथि लुटपात् नगरियोस् । बरु हामी गर्वसाथ स्वस्फूर्त बलि चढेर स्वदेशी माटो मलिलो पार्न तत्पर छौं ।
पाचौं, सरकारलाई हामी सङ्कल्प गर्न चाहन्छौं कि अवस्था सामान्य भएको दिनबाट हामी अतिरिक्त कमाई गरिदिने छौं । अतिरिक्त बचतको लागि । लकडाउन खोलौं, हामी भोलिबाट कमाइदिन शुरु गर्ने छौं । रीतपूर्वक ।
छैटौं, गणतन्त्र पछिका हाम्रा मन्त्री गणलाई हाम्रो सादर अनुरोध छ कि तपाईहरुले भर्ती गरेको निकम्मा जनशक्ति कृपया तुरुन्त आफैं हटाइदिनुहोस् । हामी त्यो बोझ पाल्न सक्दैनौं ।
सातौं, महामारी आउछ जान्छ । हिम्मत र व्यवस्थापकीय पक्ष राम्रो भएको सरकार आत्तिनु डराउनुपर्दैन । सगरमाथा जस्तो अटल अडिग र निर्भिक रहेर सुशासन दिनासाथ मुलुकले काँचुली फेर्न शुरु गर्ने छ । हाम्रो आत्मादेखि दिएको यो पशुआशिष लागोस् ।
हे मानवदेव,
हाम्रो मालिक भने पनि भगवान भने पनि तपाईहरु नै हो ।
सक्नुहुन्छ हामीलाई पाल्नुहोस् ।
सक्नुहुन्न बेचेर नखाईदिनुहोस् । भिख मागेर हाम्रो भुँडी अपवित्र नपारिदिनुहोस् । बरु सानो दया राखेर हामीलाई पुन: हाम्रो जन्मघर (जङ्गल) मा लगेर छाडिदिनुहोस् । सके पेट पालौला नसके जमिन मलिलो पारेर रुख ठूलो हुन त्यागपूर्ण योगदान गरौंला ।
अनि तपाईहरु भावी सन्ततिलाई कथा हाल्नुहोला–
खोई बाघ
जङ्गल पस्यो ।
खोई जङ्गल
बाघले खायो ।
खोई बाघ
भोकै मर्यो ।
खोई भोक
रुख भयो ।
खोई रुख
मान्छेले काट्यो ।
हे मानव,
अन्त्यमा, दरिद्रताले पराकाष्ठा ननाघोस् । बरु परिश्रम, पौरख र प्रकृति रक्षाले मुलुक हरियाली होस् । प्राकृतिक निकुञ्ज आरक्ष संरक्षण क्षेत्र हराभरा र वन्यजन्तु गहनाले भरपूर हुन् । ती ईश्वरका देन हुन् । बाहन् हुन् । बँगैचा हुन् । तिनले सुनको होइन हिराको अण्डा पारिरहने छन् । ६५ प्रतिशत होइन, हरेक पर्यटक पुग्ने पुर्याउने व्यवस्थापकीय वातावरण सृजना गरिदिनुहोस् । तर विनम्र अनुरोध छ हरेक हाम्रो घर, हरेक हरियो रुखमा भगवानको बास छ । अक्सिजनको खानी छ । त्यसलाई काटेर मासेर बेचेर नखानुहोस् । सन्ततिको सास के बेचेर खानु । भोलि सन्तती नाङ्गै हुने छन् । भोक र तिर्खाले मर्ने छन् । बरु प्रकृतिको रक्षा सँगसँगैको दिगो विकासमा नेपालको भविष्य उज्वल छ । तपाई हामी सबैलाई जितै जित् । पशुआशिष लागिजाओस् । बाघआशिष लागिजाओस् ।
जय प्रकृति ।
आज्ञाकारी
पाटे बाघ
पूर्व निवास– चितवन राष्ट्रिय निकुञ्ज
हाल केन्द्रीय सदर चिडियाखाना, जावलाखेल
नेपाल ।