हालै बर्दिया राष्ट्रिय निकुञ्जस्थित लम्कौली फाँटामा पाटेबाघलाई पासोमा पारेर मारियो ।

संरक्षणको जिम्मेवार निकाय नेपाली सेनाको गण हेडक्वाटर ६ कि.मि नजिक छ । निकुञ्ज कार्यालय एउटै परिसरमा छ ।

प्रश्न उठ्छ कसरी नाकमुनि जुँगामा पासो राखियो ? नाकले पासो सुँघेर किन थाहा पाएन ? नाकको डांडी नियाल्ने २ वटा आँखाले कुन पापा हेरेर बसे ? आँखा सँग जोडिएका २ वटा कानमा कसले ठेडी ठोक्यो ? ती आँखा कानको संख्या दुई दुई चार पनि होइन, सयौं र हजारौं हो । अथवा चीफ वार्डेनले जति चाह्यो उति संख्यामा बढाउने तन्किने रबरको खेल जस्तो हो ।

बर्दियाको यो घटना अविरल वर्षा र जलमग्न निकुञ्जको प्रतिकूल घडिमा घट्यो । यो घटनाले पंक्तिकारलाई तुलनात्मक धेरै चिन्तित् र भावुक बनायो । पहिलो, आफ्नो कर्म निकुञ्ज । दोश्रो, २२ वर्ष अगाडि उत्कृष्ट संरक्षण योगदान गरेर त्यही कर्मथलोमा ‘अब्राहम कन्जरभेसन अवार्ड’ द्वारा सम्मानित उही शिवदल गण । संयोगले आफू हालसम्म त्यो गणको कर्णेल कमाण्डाण्ट । पासो थाप्ने आफ्नो पालाको कट्टर संरक्षणवादी साथीभाइका छोराछोरी अथवा नाती नातिनीको पछिल्लो पिंढी ।

Man eater Tiger for further investigation and treatment in Chitwan National Park.

त्यसको ठीक २ हप्ता अगाडि जलमग्न खोलानाला र ढड्डी जङ्गलमा चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको टाउकोमा गोली हानेर शिकार गरियो । खोई सुरक्षा?

अकल्पनीय घटना । अक्षम्य त छँदै छ । त्यसको अगाडि बांके राष्ट्रिय निकुञ्ज बाहिर २ वटा बाघको छाला बरामद भए । कान्छो निकुञ्जका दुर्लभ पाटे बाघ कसरी शिकार भए ? के हेरेर बस्यो सुरक्षा फौजले ?

त्यसको अगाडि मद्य वर्षामा विश्व सम्पदामा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्जमा हेड्क्वार्टरको नजिक कस्तुरी मृगहरु पासोमा परेर सोत्तर भए । खोई सुरक्षा गस्ती ? खोई ईण्टेलिजेन्स, निगरानी र नियन्त्रण ?

अहिले यी ३ प्रतिनिधि घटनाको मात्र चर्चा र विश्लेषण गर्ने छु ।

घटना लकडाउनमा घटे । मध्य वर्षादको समयमा घटे । महामारीको प्रकोप व्यापक भएको अन्यौल र त्राशदीपूर्ण समयमा घटे ।

पूर्व नजिर

विस्तृत शान्ति सम्झौता सम्पन्न भयो । शान्तिको राहत आएजस्तो भयो । तर निकुञ्जमा शान्ति आएन । काल पल्केको थियो । काल छिप्पिएर सिङ्ग जरो आएको थियो । द्वन्द्वकालमा पाटे बाघ सखाप पारेको महसुर काल । गैंडा समूल नष्ट गरेर मासु खाएको बज्रवान काल ।

काल कति सुरो थियो भने गैंडालाई नजिकबाट जोडेर टाउकोमा फायर गर्ने । गैंडाको मृत्यु नभई खाग काटेर लैजाने । गैंडा बौरियो । र, खोई मेरो खाग भनेर धेरै दिनसम्म लामो यात्रा गर्‍यो । रगताम्य नाक लिएर ।

नेपालको प्रकृति संरक्षण धाराशायी भयो । राष्ट्रिय अन्तर्राष्ट्रिय संरक्षबिद्हरु अत्यन्त दु:खित् र चिन्तित् भए ।

निकुञ्ज आरक्षका धेरै सुरक्षा पोष्टहरु जलेर र पड्केर ध्वस्त भए । बर्दियाको सुन्दर लालमाटी तालिम केन्द्र ध्वस्त भयो ।

दैनिक जस्तो गैंडाको चोरी शिकार भएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय कोणबाट आवाज उठे र बात लाग्न थाल्यो– “गैंडा शिकारमा त्यहाकै सुरक्षाकर्मीको मिलोमतो तथा साथ र हात छ ।”

द्वन्द्वको लगत्तै पंक्तिकारलाई तत्कालिन प्रधानसेनापतिले भने– “नेपाली सेना निर्वस्त्र जस्तो भयो । बाहिर मुख देखाउन नहुने भयो । दिन दहाडै हुने चोरी शिकार तत्काल रोक्नुपर्‍यो । मलाई परिणाम चाहियो । स्रोत साधनको पर्वाह नगर्नु ।”

White clothes circling the Tiger for capture in Chitwan National Park.

मर नत्र गर

ककनीको वार्डेन सेमिनारमा वनमन्त्री माननीय किरण गुरुङ्गको समुपश्थितिमा पंक्तिकारले मञ्चमा उभिएर भाषण गरें–

“वन्यजन्तुको सम्पूर्ण क्षतिको जिम्मा नेपाली सेना एक्लैले लिने छ । अरु कोही दोषी छैन । आफ्नो कारणले भएको नोक्सानीको क्षतिपूर्ति गरेर देखाउने नैतिक जिम्मेवारी हामी नेपाली सेनाको । हामी दिन दुगुणा रात चौगुणा वन्यजन्तु बढाएर देखाउने संकल्प गर्दछौं । आजका मितिबाट गैंडा मर्ने छैन । मरेमा नेपाली सेना जिम्मेवार । चीफ वार्डेनले केवल व्यवस्थापन कार्यमा ध्यान दिउन । संरक्षणको पाटो हाम्रो दायित्व ।”

भाषण गर्दा पंक्तिकारसँग सबै निकुञ्ज आरक्षका सैनिक कमाण्डर र चीफ वार्डेनहरु थिए । लगत्तै हामी १ दर्जन सैनिकहरुले साईड् मिटिङ्ग गर्‍यौं । फिल्ड सैनिक कमाण्डरहरुले ईष लिएर मलाई आश्वस्त पारे– “सर हामी कि गर्छौ नत्र मर्छौं । वार कि पार । तर केही गरेर देखाउने छौं ।”

छाता संगठन निकुञ्ज प्रशासनलाई शिरमा राखेर, संरक्षण सबै साझेदार संघ संस्था स्थानीय समुदायसँग हातमा हात र काँधमा काँध मिलाएर गरेको मिलिजुली मजबुत टीमवर्कले चोरी शिकार ठप्प बन्द भयो । प्रधानसेनापतिले शशिभवनमा आफू चढ्ने गाडी गस्तीको लागि चितवन राष्ट्रिय निकुञ्जमा पठाईदिए । नेपाली सेनाको सर्भिलेन्स आईल्याण्डर जहाजले निकुञ्जमाथि हवाई गस्ती गर्‍यो । तालिम प्राप्त ट्रयाकिङ्ग कुकुरहरु निकुञ्जमा गस्ती गर्ने भए । संरक्षण इतिहासमा नेपाली सेनाले ईज्जतको सवाल भनेर स्रोत साधन निकुञ्जमा खन्यायो । अति उत्तम काबिल कमाण्डरहरु खटायो । एउटा गोली नचलाई चोरी शिकार शून्य भयो । धेरै वर्षसम्म लगातार यो उपलब्धिले निरन्तरता पायो । नेपालले अन्तर्राष्ट्रिय मान सम्मान कदर र पुरस्कार ग्रहण गर्‍यो ।

सायद एउटा राम्रो नजिर बस्यो ।

निकुञ्ज विभागले सानदार कार्यकारी र व्यवस्थापकीय नेतृत्व दियो । राजनीतिक नेतृत्वले ‘शून्य शिकार’ भिजनको नारा दियो । स्थानीय चीफ वार्डेन र निकुञ्ज कर्मचारीले उच्च हौसला र मनोबलका साथ ईष लिएर ज्यान नभनी त्याग गरे ।

नेपाली सेनालाई सबैतिर बाट हात र साथ प्राप्त भयो । त्यही अनुसारको परिणाम आयो ।

एकदिन जंगी अड्डाको पि.एस्.ओज् मिटिङ्गमा सानो दर्जा (प्र.से.) पंक्तिकारले २ शब्द राखें– “गैंडाको नाक होइन, नेपाली सेनाको नाक काटिएको हो । खोई हाम्रो नाक ?”

Man-eater Tiger captured by Technicians in Chitwan National Park.

भयानक क्षतिको संकेत

बर्दियाको बाघ शिकार नेपाली सेनालाई चुनौती हो । महसुर सार्प सुटरले मात्र गैंडाको टाउकोमा गोली फायर गर्न सक्दछ । पुरानो काल उठेर आएको देखिन्छ । त्यो गोली गैंडाको टाउकोमा लागेको होइन, नेपाली सेनाको सुरक्षाकर्मीको टाउकोमा लागेको हो । सगरमाथामा कस्तुरीलाई होइन, नेपाली सेनालाई लामबद्ध राखेर पाता कसेको हो ।

चोरी शिकार व्यापक बढ्ने भविष्यवाणी हामीले ६ महिना अगाडि गरेका थियौं । नेपालमा मात्र होइन, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिवेशमा चोरी शिकारी बढ्ने छ । जहाँ कमजोर त्यहाँका वन्यजन्तुहरु बली चढ्ने छन् । त्यो अवश्यम्भावी छ । अहिले नेपालको व्यवस्थापन र संरक्षणमा धेरै छिद्रहरु देखा परेका छन् ।

चुकेको ठाउँ

प्रकृति संरक्षणको नेतृत्व गतिशील, प्रतिबद्ध, दृढ र स्मार्ट नहुँदा त्यसको चेन ईफेक्ट फिल्डमा पर्‍यो । वन मन्त्रालयको प्रशासन सक्रिय र कामयावी हुन नसक्नु अर्को दुर्भाग्य भयो । मन्त्री सचिवसंग डराउने, सचिव मन्त्रीसंग हुँदा सिन्को भाँचिएन । त्यसैले राजनीतिक नेतृत्वले शब्द शब्द केलाएर तौलिएर बोल्नुपर्दछ । “संरक्षण किन चाहियो” भनेर बराबर भाषण गर्ने, निकुञ्ज विभागलाई नेतृत्व बिहिन राखेर रद्दीको टोकरीमा फ्याँकिदिने, संरक्षण संघ–संस्थालाई भर्ती केन्द्र बनाउने र दुहुनो गाई ठान्ने र निकुञ्जमा खुट्टा नहाल्ने राजनीतिक नेतृत्वको प्रवृत्तिले फिल्डमा व्यापक नैराश्यता, उदासिनता र तनाव सृजना भएको छ । जोस, जाँगर, हौसला, प्रेरणा मरेको छ । टीमवर्क, ईण्टेलिजेन्स हराएको छ । प्रकृति र संरक्षणप्रेमी स्थानीय समुदाय उपेक्षित, अपहेलित र आक्रोशित् छन् । राष्ट्रिय संरक्षण दुविधा र अन्यौलताले निकुञ्ज विरोधी तत्व, चोरी शिकारी, वन तस्कर, अवैध व्यापारी रौसिएका हौसिएका छन् । नेपाली सेना एक्लिएको र दबिएको छ । सुस्त भएको छ ।

आशाको किरण

नेपाली सेनालाई राष्ट्रिय र केन्द्रिय उदासिनताले सृजित् वर्तमान समस्या देखाएर सुस्त हुने छुट् छैन ।
स्थानीय निकुञ्ज प्रशासन र चीफ् वार्डेनलाई ईष लिएर विरासत् धान्ने यो अपूर्व चुनौती हो । निकुञ्जका वास्तविक मालिक स्थानीय समुदायले स्वविवेकमा पहलता लिएर एग्रेसिभ ईण्टेलिजेन्स, सपोर्ट र छेकबार गर्न अग्रसरता देखाउने प्रण गर्नुपर्दछ ।

Joint Operation “search and recover” for Man Eater Tiger in Chitwan National Park.

संरक्षण साझेदार संघ–संस्थाहरु नयाँ शिराबाट नयाँ सोच, कार्य योजना र परिणाममुखी कार्यान्वयनको दरो कार्यक्रम लिएर एग्रेसिभ्ली संरक्षणमा पुन: होमिनुपर्दछ ।

आशा गरौं, पशुपतिनाथले पहिलाका जस्ता सकरात्मक, प्रतिबद्ध र दृढ संकल्प भएको निस्वार्थी र त्यागी राजनीतिक र प्रशासनिक नेतृत्व प्रदान गर्ने छन् प्रकृति रक्षाका खातिर ।

तत्काल गर्नुपर्ने संरक्षण पहल

नेपाली सेनाले संरक्षण मोडललाई पुनसंरचना, पुनरताजगी र पुनरजीवन्त राख्न आफ्नो ध्यान, स्रोत साधन, तालिम, श्रम खन्याउनुपर्दछ ।

कुनै पनि बहाना र सीमाले नेपाली सेनाको संरक्षण सक्रियता, दायित्व र जवाफदेहितालाई सीमित गर्न मिल्दैन । अन्यथा, पहिलाको जस्तो भक्षकको बात लाग्ने छ ।

फिल्डमा व्यापक ट्याक्टिकल जङ्गल अपरेशनको संचालन हुनुपर्दछ । आई.टिको प्रयोगले बुट्स अन द ग्राउण्ड’ लाई ब्यारेक मचान र सडकमा सीमित गर्नु हुँदैन । हरेक बुट्टा कुना खोंचमा फिजिकल पाईला पुर्‍याएर सर्च र स्वीप् गर्नुपर्दछ ।

हिमाल, पहाड, तराईमा पुन: ‘शून्य शिकार’ हाँसिल गर्न ‘मर नत्र गर’ सिद्धान्तमा अटल भएर त्याग गर्नुपर्दछ ।

जंगी अड्डाले बाघ गैंडा लगायत विज्ञहरुको एउटा सेमिनार आयोजना आफ्नै हेडक्वाटरमा गर्नुपर्दछ । प्राप्त रायको लेखाजोखा गरेर भावी संरक्षण रोडम्याप बनाउन त्यस्तो विज्ञको भेला उपयोगी हुने छ ।

अरु मुलुकले गोली लागेको गैंडालाई सफल उपचार गराएर दर्जनौं बच्चा पाउने आमा बनाएका उदाहरण छन् । संक्रमणकालमा खाग काटिएको गैंडा होस् वा हालै टाउकोमा गोली लागेको गैंडा, तिनको उद्धार र उपचार गरेर बचाउन सकिने थियो । निर्माण भएर अलपत्र र उपेक्षित भएको एनिमल अस्पताल सञ्चालनको जिम्मा राज्यले अब नेपाली सेनालाई दिनुपर्दछ । सेनाले विज्ञहरु लिएर अस्पताल चलाउने व्यवस्थापकीय काम सिक्नुपर्दछ ।

लामो समयपछि निकुञ्ज विभागले पाएको नेतृत्वले फिल्ड दौडाहा गरेर अहोरात्र ज्यानको बाजी लगाएर खट्टिएको फ्रण्टलाईन स्टाफको समस्या, आवश्यकता र मागको सम्बोधन गरिदिनुपर्दछ । निश्क्रिय मन्त्रालय र तालुक प्रशासनलाई फोन सम्पर्कमा सीमित राख्नुपर्दछ । पूर्ण ध्यान र ज्यान फिल्डमा केन्द्रित गर्न जरुरी छ । त्यसो भएमा फिल्डले आकाशको तारा झार्ने छ । पुरानो उपलब्धिले निरन्तरता पाउने छ । मध्यवर्ती क्षेत्र र स्थानीय समुदायले अभिभावकको मुख देख्न र जाँगर प्रष्फुटन गराउन पाउने छन् ।

स्थानीय समुदायमा आधारित चोरी शिकार नियन्त्रण समूह (सि.बि.ए.पि.यु) को निरन्तरता र सक्रियता पहिलो र अपरिहार्य आवश्यकता हो ।

वन्यजन्तु अवैध व्यापारको अनुगमन र नियन्त्रणमा योगदान गर्दै आएको नेपाल प्रहरी (सि.आई.बि) को सक्रियता पहलता र प्रभावकारिता अर्को अपरिहार्य खाँचो हो । संयोजन गर्ने काम डि.जि.को हो ।

हालै चितवनमा पाटे बाघको आक्रमणबाट २ जना स्थानीय जनताको दु:खद् निधन भयो । गत २ वर्षको गैंडाको क्षतिले समेत विश्व सम्पदामा सूचिकृत चितवन् राष्ट्रिय निकुञ्जमा व्यापक व्यवस्थापन सुधारको आवश्यकतालाई संकेत गरेको छ । निकुञ्ज आरक्ष व्यवस्थापनको पवित्र काम नयाँ डि.जि.को रोडम्याप हुनुपर्दछ ।

यसो भएमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर हुने छ । दुर्लभ वन्यजन्तु यो पवित्र भूमिमा स्वस्थ खुशी र सुखी हुने छन् । नेपालको संरक्षण छबि अझ माथि उठ्ने छ ।

प्रभावकारी प्रकृति संरक्षणको लागि शुभकामना ।
(लेखक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका पूर्व निर्देशक हुन् ।)


Like it? Share with your friends!