बैंसले कुतिकुति भएकी पोथी गैंडा सिधा आफूतर्फ आईन । बैंस आउनु अगाडिको जिज्ञाशा र कौतुहलता सविस्तार सुनाईन । बैंसको लागि भनेर बुनेको सुन्दर कथा हालिन् । म नोट गर्दै गएँ ।
उनले रोजेको मस्तको भाले गैंडा प्रकृतिको काखमा विचरण गरिरहेको थियो । उसको घर लकडाउनले सुनसान थियो । वर्षाद्ले खोलानाला समुन्द्र झैं वारपार फैलिएर सुसाइरहेका थिए । ढाडभरी चराहरुले ओबानो टेक्ने ठाँउ भनेर अस्थायी बिसौनीमा आराम गरिरहेका थिए । उसका २ वटा सुन्दर योजना थिए । पहिलो पर्यटक बोलाउने, फोटो खिच्न दिने र मातृभूमिलाई सम्वृद्धि बनाउन योगदान गर्ने । आफूले खाएको घाँसको मूल्य डलरमा तिर्ने । आफू ऋणमुक्त पापमुक्त भएर धर्तीलाई गुन लगाउने । दोस्रो, मस्त सुन्दरी पोथीसँग विवाह गरेर जङ्गलभरि सन्तान फैलाउने ।
अस्ती एक्कासी उसको टाउको भरि गोली वर्षिए । टाउकोको गोली निकालेर निको हुन उसले घोलमा हाम फाल्यो । हिलोमा छटपटायो । खोलामा पौडी खेल्यो । ठड्डी भित्र माड्दै ओखती खोज्यो । शान्ति भेटेन । उपचार पाएन । अस्पतालको अनुहार देखेन । भेटेनरी डाक्टरको छायाँ देख्न पाएन । नत्र उसलाई बाँच्ने अदम्य साहस र आत्मबल थियो ।
कठै उ धर्तीमा गर्लम्म ढल्यो ।
प्राण त्याग्यो ।
यो पनि पढ्नुहोस: बाघले लेख्यो पत्र: सरकार अलपत्र
उसलाई मनमुटुमा सजाएकी उसकी प्रियसी घण्टौं रोई । आजसम्म पनि रोईरहेकी छ ।
आज विपनामा पीडक त्यो पोथीको पीडामा मलम लगाउन उसले लेखेकी पत्र उसको माइति देश नेपाल सामू जस्ताको तस्तै राखिदिएको छु ।
प्रिय भाले गैंडा
मूलघर चितवन
नेपाल ।
विवाहको निमन्त्रणा
उमेर पुग्न लाग्यो । बलवान भएकी छु । उन्मत्त शरीरमा काउकुती मात्र लागिरहन्छ । मन चुलबुल चुलबुल र चञ्चल भइरहन्छ । छिटै मस्त तरुनी हुँदैछु । अहिलेदेखि कसैले पुठ्ठा सुम्सुम्याईदिए हुन्थ्यो लाग्छ । कुतिकुति शान्त पारिदिए हुन्थ्यो लाग्छ । मेरो भालेले ढाड् आङ्ग शरीर भरि कन्याईदिए हुन्थ्यो लाग्छ । कसैले मुख गालामा म्वाई खाइदिए म कति भाग्यमानी हुने थिएँ होला । मलाई गहिरो ज्ञान छैन, म किन यति धेरै चञ्चल र उत्ताउली भइरहेकी छु । कि एउटा स्वस्थ र मस्त भाले अब मेरो प्राकृतिक हक भित्र पर्दछ ?
गैंडा विज्ञहरुले जानून । संरक्षणविद्हरुले जानून ।
हे प्रिय,
म छु चीनको ठूलो शहर सांघाईमा ।
तिमी टाढा नेपालको मूलघरमा ।
मेरो सौन्दर्यता, बैंस र सुवास मैले हावा मार्फत पठाएकी छु । छिटै तिम्रो कानमा पुर्याईदिन वायुलाई पुकारेकी छु ।
तिमीलाई पनि काउकुती लगाईदिने मन्त्र पठाएकी छु । तर खोई तिमीलाई काउकुति लाग्छ लाग्दैन मलाई शंका लाग्दछ । किनभने मेरो मूलघर बिग्रेको छ । खोई चरण ? खोई घाँस ? खोई पिउने शुद्ध पानी ? खोई गुप्ताङ्ग धुने पखाल्ने र घाउ निको पार्ने पानीका घोल र तालहरु ? समस्याग्रस्त अवस्थामा तिमीलाई के बैंस आउला र ?
यो पनि पढ्नुहोस:बाघमारा नियन्त्रणको नयाँ अभिभारा
मैले मूलघर छोड्दा धेरै गैडा घांस पानी समस्याले पीडित थिए । पश्चिमतर्फ एउटै बिन्दुमा एकत्रित भएका थिए । धेरैले डाक्टर र फष्टएड् उपचारको लागि गुहार मागेका थिए । सुनुवाई नभएपछि भकाभक मृत्युवरण गर्न बाध्य भएका थिए । ६ दर्जन पुर्खाको एउटै चिहान । कहिले नहोस त्यस्तो दुर्दशा । एनिमल अस्पताल छिटो सुचारु होस् । गैडा विज्ञहरुको सेमिनार होस् । पुर्खाले खोजेको गणना पोहोर पनि हुन सकेन । यो वर्ष पनि नहुदा पुर्खा विचल्लीमा परेका छन् ।
केन्द्रिय सदर चिडियाखानामा कोचिएर नर्कको जीवन जिरहेको मेरा पुर्खा शीघ्र सुर्यविनायकको खुल्ला सुन्दर जंगलमा गएर बिचरण गर्न पाउन ।
५ महिनाको प्रतीक्षापछि पाल्नु हुने नया डिजि लाई सांघाईवाट स्वागत अभिवादन छ ।
मलाई जिस्क्याउन नआउ । तड्पाएर छटपटीमा राख्ने भए नआउ । मलाई उच्च कोटीको नश्ल आवश्यक छ । म तिम्रो शक्ति परीक्षण गरेर मात्र तिमीलाई स्वीकार्न सक्दछु । मेरो परीक्षा पास गर्ने शारीरिक क्षमता र अद्भूत शक्ति प्रर्दशन गर्ने तयारी र हिम्मत तिम्रो । सक्ने भए मात्र आउ । होइन भने मलाई बरु एक्लै छाडिदेउ ।
यो पनि पढ्नुहोस: बाघको मनोविज्ञान: कहिले जाला हाम्रो ध्यान
हे प्रिय,
एउटा कुरा निश्चित हो । म मूलघर फर्कने सम्भावना शून्य छ । तर तिम्रो मालिकको मन मुटु दया भावना छ भने तिम्रो यात्रा सम्भव छ । मालिकको मानवता, करुणाभाव र महानता कसो नहोला यदि ती मौलिक मायादयाका खानी हुन् भने । अनि मलाई भुलेका छैनन् भने ।
त्यसैले म तिमीलाई स्वयम्बरको माला पठाउदै छु ।
मलाई चाहियो चाहियो । २ हजार के.जी.को अजङ्ग भिमकाय भाले मेरो आङ्गमाथि चाहियो । घण्टौंको न्यानो प्यार चाहियो । किनभने म आमा बन्न चाहन्छु । स्वस्थ र भाग्यमानी आमा । ७० होइन ७५ के.जी.को स्वस्थ भाग्यमानी बच्चा जन्माउन चाहन्छु । अनि दिनमा २० होइन ३० लिटर दुध पिलाउने छु । दिनको २ के.जी. बढाउनलाई । डेढ् २ वर्ष होइन, १ वर्षमा दुध र साथ छुटाएर पुन: तिमीसँग खेल्न खान माया साट्न शुरु गर्ने छु । ३ वर्ष ननाघ्दै मलाई पुन: आमा बन्नुछ । तिमीसँग मिलेर चीनमा नयाँ संसार बनाउनु छ । पर्यटकको ओईरो लगाएर चीनलाई झन सुन्दर र सम्वृद्ध बनाउनुछ ।
हे प्रिय,
ठाँउ नयाँ छ । मान्छे नयाँ छन् । मूलघर नेपालको भाषा थोर बहुत बुझिन्थ्यो । यहाँ पटक्कै बुझिन्न । तर, मनमुग्ध भएर एक टकले हेर्छन चाइनिज पर्यटकहरु र मोहित हुन्छन । चिज मान्छन । माया र सम्मान गर्दछन् । जीवनमा सुखको अर्को पाटो माया र सम्मान चाहिने रहेछ । जसले हामीलाई सम्मान दिन्छ ऊ निश्चित सम्बृद्ध हुन्छ । मूलघरबाट डाँडाकाँडा फैलाउनु भनेर आशीर्वाद दिएर पठाए पछि हामीले सन्तान बृद्धि किन नगर्ने ?
हाम्रो उपस्थितिले चीन परिवर्तन हुदैछ । परम्परागत सोच र अन्धविश्वास हराउदैछ । अब हाम्रो अङ्ग उपभोग होइन सजीव प्राकृतिक बासस्थान निर्माण गरेर पर्यटकलाई मनोरञ्जन गराउन आधुनिक चीन उद्धत रहनेछ । खागको दबाईबाट होइन क्यामराको लेन्सबाट पैसा कमाउने छ, विशाल देश चीनले ।
त्यसैले म खुशी छु चीनको परिवर्तनकामी सोच देखेर । हाम्रा सन्तान भाग्यमानी भएर विचरण गर्नेछन ग्रीन चीनमा । रम्ने छन् हाम्रा बालबच्चा प्राकृतिक पार्कमा ।
हे प्रिय,
म दुखी छु गत डिसेम्बरमा मेरो मिल्ने साथी भाले गुमाएकोमा । सोल्टी नामको मेरो साथी मायालु र कृपालु थियो । दूर्भाग्य उसको अकालमा ज्यान गयो।
कसैको बाल्यकालमा र बैंसमा ज्यान नजाओस् ।
तिमी ढुक्क होऊ, म तिमीलाई यहाँको नौलो हावापानी र परिवेशमा राम्ररी भिजाउने छु । बानी पार्ने छु । अनि, चुर्लुम्म मायामा डुुबाउने छु । तिमीलाई भगवान मानेर स्याहार गर्ने छु ।
बरु, आउदा किन एक्लै आउछौ ? एउटा पोथी लिएर आउ । म सौता भनेर किञ्चित दु:खी हुने छैन । बरु झन् धेरै खुशी हुने छु । तिम्रो डरलाग्दो प्राकृतिक चाहना म एक्लै कसरी तृप्त पार्न सकुला र ? तिमीलाई अर्को एउटा जोडी त चाहियो चाहियो नि । म दुवैजनालाई फूल मालाले स्वागत गर्ने छु ।
अस्ति गर्लम्म मेरो मनको भाले गैंडा ढल्यो मेरो मूलघरमा । धर्ती हल्लियो । मैले टेकेको धर्ती काम्यो । म स्तब्ध भएँ ।
कति निष्ठूरी मानिसहरु। कति रक्तपिपासु पापीहरु। अधर्मी, अनैतिक, हत्याराहरु। हामी नि:सश्त्र अवोध प्राणीमाथि गोली चलाउने ती अपवित्र हातहरु।
अकल्पनीय र अक्षम्य पाप ।
१५ वर्ष होइन आजीवन कैद हुनुपर्ने । गैंडा शिकारीलाई पक्रने होइन, खुनको बदला खुनको लागि मार्नुपर्ने । म नजिक भएको भए लखेटेर मार्ने थिएँ ।
म धुरुधुरु रोए । मैले खोजेको मायालु जोडी ढल्यो भनेर । त्यो १ थान भाले पाएको भए म यहाँ जादू देखाउने थिएँ । एउटा नयाँ रोचक र रमाइलो संसार बसाउने थिएँ । चीनको प्रकृति बदल्ने थिएँ । चाइनिजहरुको मन परिवर्तन गरेर विचित्रको प्रकृति र संरक्षण प्रेमी बनाइदिने थिएँ ।
मेरो दूर्भाग्य। मेरो अजङ्गको भाले ढल्यो । मेरो आङ्गभित्र पोखिनुपर्ने भविष्य फगत् माटोमा पोखियो र मल भयो ।
हे नवप्रिय,
अब म अर्को भाले स्वीकार्न बाध्य छु । तत्पर छु ।
पक्राउ गर्दा ऐया नभन्नु । धेरै नकराउनु नरुनु । मान्छेसँग छिटो रत्तिनु र तिनले दिएको घाँसपानी खानु । छिटो पिर चिन्ता मुक्त हुनु । खोरमा ज्ञानी भएर अड्किनु । भुँई छोड्दा अपूर्व अवसर भनेर गर्व गर्नु । आकाशमा धेरै हल्लीखल्ली र हर्कत् नगर्नु । उडानको छुट्टै मज्जा हुन्छ, लिन जान्नु । हामी भुँईफुट्टा पानी किरोले आकाशमा उड्न पाउनु चानचुने कुरा होइन ।
हे नवप्रिय,
हाम्रा पुर्खालाई गर्लम्म ढालेर पाता फर्काएर मध्य पश्चिम नेपाल बर्दिया पुर्याए । अझ सुदूर पश्चिम शुक्लाफाँटासम्म पुर्याए । कच्ची बाटो । थोत्रो ट्रकको कठिन ढुवानी । लामो पट्यारलाग्दो यात्रा । तैपनि पुर्खा अज्ञातवस गए । होसमा आए । आङ्ग र मन वातानुकूलित बनाए । शरीरमा तागत भरे । मनमा खुशी र सुख भरे । माया प्रितिको लागि योग्य र सक्षम भए । सन्तान बढाए । मैदान भरिदिए ।
द्वन्द्वमा मारकाट गरेर हाम्रो मासु नखाएको भए बर्दियामा अहिले हामी ५०० को परिवार भइसक्ने थियौं ।
कोशीटप्पुमा खेल्न पाए आहा ! कति रमाइलो हुन्थ्यो होला । पूर्वी नेपालको शोभा बढ्ने थियो । प्रार्थना गरौं, १ दिन त्यो भाग्य पनि प्राप्त हुने छ हाम्रा सन्तान दरसन्तानलाई ।
त्यसैले पिर नगर । तिमी जहाज चढेर हवाईयात्राबाट मेरो उत्कट् मायाको माला पहिरिन खुशिसाथ आईहाल मेरो प्रिय ।
कति भाग्यमानी हाम्रो मूलघर । सर्वत्र हाम्रो बीउ र वंश पुर्याउने शौभाग्य प्राप्त सुन्दर चितवन ।
के खाँचो छ चीनलाई । खाँचो छ त हाम्रो । हाम्रो सुन्दर बासस्थानको ।
त्यसैले आउ, कष्ट सहेर भए पनि चीनमा नयाँ घरजम बसालिदिउँ । महान चीनको धनी संस्कृति र सभ्यतामा प्राकृतिक मोती थपिदिउँ । वन्यजन्तु कुटनीति मार्फत २ देशलाई नजिक बनाईदिउँ ।
नेपालको गौरव र
चीनको अहोभाग्य र
हाम्रा सन्तानको सौभाग्य र
हे नवप्रिय,
अन्त्यमा तिम्रो सुख र खुशीको जिम्मा लिँदै र आत्मादेखि मुरिमुरि माया दर्शाउदै पुकार्दछु–
…… शुभयात्रा ।
…… छिटै भेटौंला ।
तिम्रो प्रियसी,
एक्ली मितिनी (नेपालकी चेली)
हाल, सांघाई चीन
पूर्वघर, चितवन राष्ट्रिय निकुञ्ज, नेपाल