कति धेरै ‘स’ उच्चारण गर्नु ? विश्व थर्कमान पारेको सन् २०२० लाई विदाई गर्ने बेलामा ‘सगरमाथा’ ले नेपालको शिर ठाडो पारिदिबक्स्यो । आफूले हतार हतार पुकारें– ‘सर्वोच्च शिखर सगरमाथा सलाम ।’
मित्रहरुको तीखो र पेचिलो टीप्पणी आयो– “सगरमाथा बढेर के खुशी हुनु ? क्षेत्रफल घटेको घटै छ । स्वाभिमान बेचिएको छ । शान्ति अमनचयन (जनतालाई) छैन । सुरक्षा (राज्यको) धरापमा परेको छ । सम्वृद्धि कागजमा सीमित छ ।”
आन्तरिक कलहले सगरमाथाको सुखद समाचार छायामा पर्यो । सवाल: सत्ता, सम्पत्ति, सानको थियो । स्वार्थ: सरकार सत्तात्याग, सत्ताच्युत, सत्ताहस्तान्तरण र सत्तारोहणको थियो । तर स्वास्थ्य, सुरक्षा, शान्ति, सुशासन र सम्वृद्धिको सपना साकारको पक्षमा सिन्को सारिएको संकेत सुनिएन ।
सन्तोष शाह सलाम
सँधै स्वयंको सम्पर्क, सम्बन्ध, सल्लाह, समन्वय, सरोकार सिरहाको । साठी साल स्वयं सिरहाको सेवामा । सफल स्वदेशी सेफको संसारभरि सन्तोषको सप्ताहव्यापी सुखद समाचार र शुभ सन्देश श्रवण । सफल सेफको सकरात्मक सन्देश । सरासर शुरु–शब्द संजाल सर्च, सन्तोष शाहको सम्मानलाई ।
स्पष्ट शब्द सञ्जाल सुसम्पन्न– “सगरमाथा शिरमा सिरहा सीमानामा शौभाग्यवती सुमारी सुपुत्र स्वाभिमान, सकरात्मक, सृजनशील, सफल स्वदेशी सेफ् सन्तोष शाह ससम्मान सगौरव सलाम ।”
‘स’ माने सलाम:
सगरमाथाको ‘स’ ले सन्तोष सफल । सकरात्मक सोचले सन्तोष सबैद्वारा सर्वत्र सम्मानित् । सरल, सौम्य, सुखी, सुन्दर, शिखर सुपुत्र सन्तोष शाहलाई सधैभरि शुभकामना ।
‘स’ लाई यहि विश्राम दिएर सन्तोषको सफलता स्वस्फूर्त सबिस्तार सहअना र समर्पण गर्न चाहन्छु ।
सन्तोषको सनसनीपूर्ण समाचार
सगरमाथा शिखर बढे सँगै सर्वत्र सोसल संजाल र समाचारमा सन्तोष शाह उदाए ।
बि.बि.सि. माष्टर सेफ प्रोफेसनल्स २०२० मा नेपाली सेफ ७ हप्ता लामो कठिन सिंढी चढ्दै शीर्ष ३ मा उक्लिए । पिताले छाडेको ५ वर्षे टुहुरोको दु:ख र संघर्ष वर्णन गरिसक्नु छैन । १६ वर्षे उमेरमा भारत पलायन भएका सन्तोषले जीवनको सिक्लाई र संघर्षलाई अनवरत जारी राखे । भाषा, संस्कार, पकवान्कला, प्रतिभा, शिक्षा लिदै गए । सन्तोष आफ्नो पेशामा माझिदै टल्किदै गए । सबैको रोजाई र मागमा परे । संसारको आँखामा परेपछि बेलायत उनको नेपाल र भारत पछिको तेश्रो कर्मथलो बन्यो । उनले सहश्र खुशीसाथ प्रतिस्पर्धामा भाग लिएर शिखरसम्मको यात्रा चुम्न पाए । सँधैभरि समाचारमा सफल र सुनौलो सन्तोषको सृजनाको सुवास बासआईरह्यो ।
सन्तोषको सुवास
सन्तोषले नेपाली ढाका टोपी छाडेनन् लगाईरहे । त्यो पनि फेरि फेरि । नेपाली हाँसो हाँसिरहे । उनको हंसमुख सन्तुष्टी, सुख खुशी र गौरवले मगमगाईरहेको हुन्थ्यो सँधै । राष्ट्रिय झण्डाको शिरोपर र सम्मान सर्वोपरि थियो ।
सामाजिक धार्मिक सहिष्णुताका पुजारी थिए उनी । राष्ट्रियता र एकताको भावनाले ओतप्रोत सन्तोषको मनमा मातृभूमि नेपालको ‘रक्षा–कल्याण–सम्मान’ भाव असीम थियो ।
मुलुकको झण्डा, मौलिक भेषभुषा, परिकार प्रतिको आस्था र निष्ठा प्रदर्शनले सन्तोष सर्वमान्य, सम्मानयोग्य र गौरवयोग्य सिद्ध भए जाँचकीको आँखामा ।
उनलाई प्रतिस्पर्धामा अरुलाई उछिन्ने होईन नेपाल चिनाउने सदिच्छाले घच्घच्याईरह्यो सँधैभरि । हिमाल, पहाड, तराई होस् वा पूर्व पश्चिम अथवा जुनसुकै समुदाय र जात लिंग भाषी सबै नेपाली भन्ने उनको महान विचार स्तुतियोग्य थियो । जाँचकीलाई प्रभावित पार्ने मौलिक नेपालीपन ।
सरोजदास प्रतिको गुरु पुजा र आभार अथवा ममतामयी माता प्रतिको सम्मान र कृतज्ञताले उनलाई संवेदनशील, जवाफदेहि र महान छविको असल नागरिकमा दर्ज गरेको थियो ।
उनको परिकारले सबै वर्ण, जाती, क्षेत्रको प्रतिनिधित्व गरेको थियो । मैथिली, थारु, नेवारी, शेर्पा, पोखरेली, राजसी, सुकुम्बासी, सहरिया, दुर्गम, प्राचिन, आधुनिक सबै नेपाली ब्यञ्जनलाई सन्तोषले सगर्व सानसाथ सृष्टि गरेर संसार सामु समपर्ण गरिदिए । सगरमाथाको देश नेपालको अन्नपात्, उब्जनी, जडिबुटी अमूल्य स्वस्थकर स्वादिष्ट र विशिष्ट छन् भनेर साक्षत् प्रमाणित गरिदिए ।
Read this also: Dream Fulfilled: A True Son of Nepal Vows to Continue His Mission to Popularize Nepali cuisine to the World
वन तरुल, टिमुर अक्सपाईड् सांधेको दही,सलगमे सलाद, सांधेको मसरुम, अक्टपस विथ सिस्नो, पोलेको माछा, आलु–मेथी–अनारको सलाद, काक्रोको भुटेका बिया, कटहरको भुटेको बिया, भुटेको खोर्सानी सायद् स्टार्टर होलान् । जिम्बु झानेको पोलेको खसीको मासु, पोलेको भेंडाको मासु स्टिम मम, कचिला, भटमास सांधेको ओक्रा अतिरिक्त स्न्याक्स आईटम हुनुपर्दछ, आफ्नो अनुमान ।
बासी भात शैलीमा भुटेको चिउरा, पुदिना परौठा, पुरी, मकैको रोटी, गहुँको रोटी, कर्कलाको ग्रेभी, आलुतरकारी, मासुको झोल, गंगटा र घुंगीको करी, रायोको साग, तोरी साग, बेथेको साग, प्याजको अचार, स्याउको अचार, आँपको कुल्फी, आँपकै अमोट्, भाङ्गको चटनीलाई झललल चरेसको थालमा सजाएर पस्कने ती सन्तोषका पौरखी हात ।
हाँसी हाँसी सन्तोषले सर्भ गरेको नेवारी सगुन् त्यो शुद्ध तीन पाने ऐला र कोदोको खिर, गाजरको हलुवा, योमरी, लाखामरीले सजिसजाउ साईड् प्लेटहरु सायद डिजर्ट हुनुपर्दछ ।
सरी सन्तोष
मनमनै आफूले सन्तोषसँग माफी मागे । सन्तोषले अल नेपाल यात्रा गर्ने अवसर पाएको भए अथवा छोटो समयमा सरदाम जुटाउन सकेको भए अरु परिकार थप्ने थिए होलान्–
“काब्रोको अचार, केरा बुङ्गोको अचार, कोइरालो अचार, अकबरे खुर्सानीको अचार, तिल (फिलुङ्गे) को छोप, फर्सीको बियाको छोप, लट्टेको साग, डामेको मुस्ताङी आलु, हांसको कोर्मा, लोकल कुखुराको सुप, छोईला, फापरको पकौडा, सांधेको भोगटे, लेकको रातो च्याउ करी ।”
प्रतिस्पर्धा शुरु भएपछि प्रार्थना गरें–
“सन्तोष प्रथम भईजाउन् । तर, सन्तोषले निम्न आईटम नराखून्– तारेको बारुला, भुटेको अरिङ्गाल, पोलेको बच्छ्युं, रक्ति र भुटन्, वन्यजन्तुको सुकुटी ।”
सन्तोष प्रति कृतज्ञ छु प्रार्थना गरेको आईटम् उनले पस्केनन् । प्रकृतिप्रेमी सन्तोषलाई प्रकृतिमाताले सधै सफलताको शिखरमा पुर्याईरहुन् ।
उपबिजेता सन्तोष प्रथम हुन सकेनन् । मैले फेरि सरी सन्तोष भने । तर सन्तोष हार जितको प्रतिस्पर्धामा थिएनन् । नेपाल चिनाउने दौडमा सामेल थिए । उनी आफू फाईनलमा हारे । तर नेपाललाई जिताए । नेपाली रैथाने विशिष्ट परिकारको नयाँ नक्शा रचे । त्यो स्वर्णीम नक्शा विश्वलाई उपहार दिए । विजेताको लोभले उनले भारतीय परिकारको मेनु छानेनन् । बरु नेपाली रैथाने मेनुलाई सहश्र सगर्व पस्केर सारालाई अचम्मित् र प्रभावित पारिदिए ।
सेकेण्डको सुई
सन्तोषको जीवनलाई आफूले अर्को चस्मा लगाएर कसो सन्तोषलाई सैनिक पोसाकले सिंगारिन मैले । द्वन्द्वको उत्कर्षमा उनको गृह जिल्ला सिरहामा सैनिक भर्ना तीव्र बनाएर योद्धा उत्पादन गरिरहेको थिए म । त्यो उचाई र शारीरिक तन्दुरुस्ती । लोभ लाग्दो ज्यान । मायालु मुस्कान । सेकेण्डले उज्वल भविश्यको दुनियामा उनी प्रवेश गर्न पाएका रहेछन् ।
अर्को सेकेण्डको सुईले उनको जीवनले फराकिलो दायरा र उज्वल भविश्यको विश्व बजारमा छिर्न पाएको रहेछ । कसो उनी सशस्त्र विद्रोहीको हातमा परेनन् । सशस्त्र विद्रोहीले युवा जनशक्तिलाई जबरजस्त अपहरण गरेर भाटे कार्वाही गर्दै चुरे कटाउने गरिरहेको समयमा सन्तोष बाल–बाल बचेका रहेछन् ।
द्वन्द्वको योद्धा भएको भए सन्तोषको यो अन्तर्राष्ट्रिय स्तरको प्रतिभा फुर्न पाउने थिएन । उनी देख्दाको डाल र कुवाको भ्यागुतो मात्र हुने थिए ।
तसर्थ, घडीको त्यो स्मार्ट सेकेण्ड सुई र सन्तोषको प्रतिभा फुराउने भाग्यलाई मेरो सलाम ।
सन्तोषको सकरात्मक सोच
सन्तोषको श्रम, सहिष्णुता, सालिनता र सकरात्मक सोचले धेरैलाई उर्जा भरेको हुनुपर्दछ । सकरात्मक सोच, दृढ ईच्छा शक्ति, सक्छु भन्ने भावना र समर्पणभावले उनी सफलताको सर्वोच्च शिखरमा पुगेका हुन । व्यक्तिगत उन्नति प्रगतिको लागि गरिबी र अशिक्षा सँधै सबैलाई तगारो हुँदैन भन्ने सुन्दर पाठ सिकाएका छन् सन्तोषले ।
फाइनलमा पुगेर प्रथम नहुदा सन्तोष रत्तिभरि दु:खी भएनन् । बरु फाईनलमा पुगेको र उपबिजेता भएकोमा उनले ठूलो सफलता प्राप्त भएको अनुभूति हार्दिक हांसोबाट देखाईरहे । त्यसको श्रेय आफ्नी मातालाई र आफूलाई सेफ बनाउने भारतीय गुरु सरोजदासलाई दिए । नेपाली परिकारहरु मन पराएर आफूलाई फाईनलमा पुर्याउने जांचकीहरु समक्ष सधन्यवाद आभार व्यक्त गरे । प्रतियोगितामा प्रथम हुने बेलायती नागरिक २५ वर्षीय आलेक्स वेवलाई हांसी हांसी हार्दिक बधाई दिए ।
शुभकामना
सफलताको सिंढी चढ्ने अनवरत र साहसिक यात्रा जारी रहोस् । अरु तमाम् सफलता हात लाग्दै जावस् ।
राष्ट्रिय सम्मान अभिवृद्धिको लागि सत्ता, सर्वोच्च पद, शासक हुन जरुरी छैन रहेछ । किनभने विज्ञहरुले टीप्पणी गरे झैं सगरमाथाको उचाई बढ्दा नेपालका शासक असफलता र आलोचनाको सकसमा थिए । सत्ता डगमगाएको थियो । सुशासन कागजमा मात्र थियो ।
त्यो चरम निराशा चिर्दै आशाको किरणको रुपमा उदयमान सन्तोषलाई मुरि मुरि शुभकामना ।
सगरमाथा र सन्तोषको उचाई एकैपटक बढेकोले सन्तोषलाई सगरमाथा बेसक्याम्प सम्म कुनै बेला ट्रेकिङ्ग गर्ने समय, जांगर र अवसर प्राप्त होस् । सन्तोषलाई स–सम्मान एस्कर्ट गर्न म भोलेण्टियर रेञ्जर प्रतिबद्ध छु ।
सन्तोषको राष्ट्रियता, समर्पण, त्याग र सफलतालाई कदर गर्न राज्यले कुनै कसर बांकी नराखोस् । ता कि भावी पिंढी जुन व्यवशाय र पेशा समाते पनि सन्तोषको गुणहरुबाट लाभान्वित हुन् र आ–आफ्नो पेशामा उत्कृष्ट एवं विशिष्ट हुन् ।
सेफ् सन्तोषको समर्पण र सफलतालाई स–सम्मान पुन: सलाम ।
(लेखक संरक्षणविद् र सकरात्मक सोचका अभियन्ता हुन्)
यो हेर्नु भयो?
नेपालमा भब्य स्वागत – MasterChef UK runner-up Santosh Shah receives hero’s welcome in Nepal