१५ बर्ष अगाडि भारतको सारिस्का नेशनल पार्कबाट एक्कासी पाटे बाघ हराउँदा हिन्दुस्तान भरि हाहाकार मच्चियो।
सन् २००५ मा २८ हुँदै १७ बाघको प्रतिवेदन दिदै गर्दा नेशनल पार्क खाली भइसकेको खुलासा भयो ।
राजस्थान सरकारले तुरुन्त छानबिन समिति बनायो । छानबिन समितिमा केन्द्रले प्रभावशाली वन्यजन्तु संरक्षणविज्ञ वाल्मिक थापरलाई राख्न लगायो । भा.ज.पा.का माननीय भि.पि. सिंहको पनि समितिमा सहभागिता रह्यो । समितिले तत्काल बाघ हराउनुका विविध पक्ष र कारण पत्ता लगाए ।
घुमाई फिराई ‘चोरी शिकार’ प्रमुख कारण औंल्याइयो । त्यतिले मात्र पुगेन । केन्द्रले एफ.बि.आई.को सि.बि.आई. लाई परिचालन गरेर भित्रि गुप्त कुरा पत्तो लगाउने मिशन दियो । सि.बि.आई. ले ७६५ वर्ग कि.मि क्षेत्रमा चप्पा चप्पा गोप्य अनुसन्धान जारी राख्यो । बाघ टास्क फोर्स र विभिन्न ईण्टेलिजेन्स च्यानलबाट प्रधानमन्त्रीले सत्य तथ्य पत्ता लगाए–
“भ्रष्टाचारमा लिप्त प्रशासनको सुस्तता, उपेक्षा, मिलोमितो र फितलो व्यवस्थापन एवं संरक्षण कार्यले गर्दा बाघको चोरी शिकारी मौलायो । घरपाल्तु जनावर बेट राखेर र मेटल ट्रयाप बिछ्याएर बाघको चोरी शिकारी हुँदा प्रशासन कानमा तेल हालेर बेखबर जस्तै बस्यो । त्यतिमात्र होइन, प्रशासनले बाघको व्यवस्थापन र संरक्षण दुवै राम्रो छ र बाघको संख्या बढिरहेको छ भन्ने उल्टो झुटो प्रतिवेदन दिईरह्यो । त्यो गल्ती ढाकछोप गर्ने झन् ठूलो महागल्ती थियो ।”
समितिको त्यस्तो सही र कडा सिफारिसमा नामर्द प्रशासनका सबैको जागिर चैट् भयो । अनुसन्धानको दायरा बढाउदै जाँदा चोरी शिकारी र अपराधीहरु धमाधम पक्रउ परे । चोरी शिकारीको ‘मोडस् अपरेण्डी’ पत्तो लाग्यो र त्यसको आधारमा ‘प्रभावकारी संरक्षण मोडल’ तर्जुमा गर्न सजिलो भयो ।
अध्ययनले सन १९९५ देखि २००५ सम्ममा भारत मात्र होइन, क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा वन्यजन्तुको अवैध व्यापार बढेको र फिल्डमा चौतर्फी चोरी शिकारीको समस्या विकराल भएको तथ्य सार्वजनिक गर्यो । कथित् जनयुद्धको त्यही १० वर्षे अवधिमा नेपालमा १७ हजार निर्दोष जनता संगसंगै सयौंको संख्यामा बाघ गैंडा लगायतका वन्यजन्तुहरु मारिएका थिए । अध्ययनले नेपाल र भारत दुवै देशमा सशस्त्र माओवादी समूह दूर्लभ वन्यजन्तुको चोरी शिकार र अवैध व्यापारमा संलग्न रहेको अर्को तथ्य सार्वजनिक गरिदियो ।
भारतीय प्रधानमन्त्रीका विश्वास पात्र अन्तर्राष्ट्रिय संरक्षणविद् थापर रहेको शक्तिशाली समितिले बाघ हराएको र पुनरस्थापना गरेर बीउ जोगाउन ज्यादै कठोर र भरपर्दो संरक्षण आवश्यक रहेको सिफारिस गर्यो । नेशनल पार्कहरुमा रातो बत्तीको अलाराम लाग्यो र भारतको संरक्षण इतिहासमा पहिलो पटक निकुञ्ज प्रशासनको १२ बज्यो । धिङ्नी टाईट् गरियो । केन्द्रिय पहल र प्रयासमा ‘टाईगर रिकोभरी प्रोजेक्ट’ लञ्च गरियो ।
कति प्रकृतिप्रेमी संवेदनशील र जवाफदेहि सरकार प्रमुख । कति चुस्त र विज्ञ प्रभावशाली छानबिन समिति । छिनमा अध्ययन, छिनमा सिफारिस, छिनमा कार्वाही, छिनमा प्रोजेक्ट तर्जुमा र सञ्चालन । अहिले सारिस्कामा ५ वयस्क भाले, ११ पोथी र ५ वटा बच्चा पाटे बाघले खुसी सुखी र शान्त जीवन बिताइरहेका छन् ।
यो समितिको दुरुस्त छानबिनले भारतको बाघ संरक्षणको क्षेत्रमा कायापलट गरिदियो । बाघ हरेक भारतीय नागरिकको मुटुको टुक्रा हो । पर्यापर्यटनको लागि चम्किने मोती हो । सम्बृद्धिको मेरुदण्ड हो । किनभने बाघको संरक्षण हुनु भनेको समग्र प्रकृति र जैविक विविधताको संरक्षण हुनु हो ।
सन् २०१४ मा गणना गरिएको २२२६ पाटे बाघलाई ४ वर्षमा भारतले ३३ प्रतिशत बढाएर २९६७ पुर्याएको छ । जुनसुकै दलका जो सुकै प्रधानमन्त्री हुन् बाघ सबैको उपल्लो प्राथमिकतामा परेको भारतको प्रतीक भएको छ । फिल्डमा चुस्त र जवाफदेहि प्रशासनले गहिरो र अर्थपूर्ण संरक्षण योगदान र त्याग गरिरहेको छ ।
नेपालको बाघ संरक्षण हालत
जनयुद्ध प्रारम्भ हुनु अगाडि नेपालको निकुञ्ज ऐन कानून नीति र संरक्षण मोडल नमूना थियो । भारतले समेत हाम्रो संरक्षण मोडलको तारिफ र नक्कल गर्दथ्यो । द्वन्द्वपश्चात संक्रमणकाल मै ‘डु अर डाई’ नारा समातेर फिल्डले लिएको बाघ रिकोभरी पहलता सफल हुँदा नेपाललले ५ वर्ष लगातार ‘शून्य शिकार वर्ष’ मनायो ।
भारत लगायत विश्वलाई नेपालले चकित तुल्यायो । त्यो पत्याइनसक्नु अकल्पनीय उपलब्धि थियो । तर फिल्डको मात्र मुढे बलमा हासिल भएको उपलब्धिलाई रक्षा गर्न नेपाल सरकार चुक्दै गयो । केन्द्रको उपेक्षाले फिल्डको हौसला र मनोवललाई अप्रत्यासित घटाईदियो । उपलब्धि फिल्डलाई मात्र चाहिने र केन्द्रलाई नचाहिने सन्देश प्रवाह भयो । केन्द्रमा शासकहरु भ्रष्टाचार विकृति र विसंगतिको भासमा जाकिदै गए । ज्यान जोखिममा राखेर संरक्षण त्याग गर्ने फ्रण्टलाइनर्स फिल्ड स्टाफहरुको चरम उपेक्षा भयो । उनीहरुको चित्त कुंडियो ।
द्वन्द्वमा बाघको बिउ मासिने भयले त्राही त्राही थिए शुक्ला, बर्दिया बाँके र पर्सा निकुञ्ज आरक्षहरु । शून्य शिकार उपलब्धिले बाघको बिउ जोगाउदै संख्या बढाउन थाल्यो । तर केन्द्रमा सरकारलाई हर्ष न बिस्मात् । बरु अन्तर्राष्ट्रिय संरक्षण संघ संस्थाले नेपाल देशलाई कदर र पुरस्कृत गर्यो ।
सन् २०१८ को बाघ गणनामा विश्व सम्पदामा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जमा २७ वटा बाघ घटेको परिणाम आयो । त्यो कहालिलाग्दो अक्षम्य परिणामको न अध्ययन न अनुसन्धान न छानबिन न कार्वाही ।
त्यही गणनामा बाँके बर्दियाले बाघको संख्यामा उल्लेख्य वृद्धि गरेर देखाए । न स्यावासी न कदर र पुरस्कार ।
चितवन बर्दिया शुक्लामा पाटेबाघले खुल्ला सिमानाको प्रयोग गरेर ओहोरदोहोर गर्दछन् । दक्षिणका बाघ उत्तर नआउने र हाम्रा बाघ पारि गएर वारि नफर्कने संरक्षणकर्मीहरुको गुनासोको न अध्ययन न भेरिफिकेशन न संयुक्त अनुगमन ।
शुक्लाफाँटामा बाघको भाले पोथीको अनुपात मिलेन । पोथीभन्दा भालेको संख्या बढी हुनु र पाटे बाघ पहाड उक्लिएर डडेलधुरा पुग्नुको न अध्ययन न अनुसन्धान ।
बाघ विज्ञहरुको सम्मान परै जावस, न अभिलेख न सोधपुछ् ।
दुर्भाग्य, हाम्रो नमूना संरक्षण ओरालो लाग्दो छ । बाघको रोईकराई छ । उद्धार र संरक्षणको माग र हार गुहार छ । चोरी शिकारी प्रमुख र प्रत्यक्ष समस्या तथा चुनौती भएर खडा भएको छ ।
बिडम्बना ∕ हामी सबै किन टुलुटुलु हेरेर बसेका छौं ? गैंडाको झन् कन्तबिजोक छ । चर्ने घाँसे मैदान छैन । पिउने शुद्ध पानी छैन । घाउ निको पार्न खेल्ने घोल र आहाल छैन । रोग पहिचान गर्ने र उपचार गर्ने निर्माण सम्पन्न भै सकेको ‘एनिमल अस्पताल’ नेतृत्वको मुड् ईगो, अज्ञानता, उपेक्षा आदि आदिले ३ वर्षदेखि उद्घाटन समेत हुन सकेको छैन ।
यही राजनीतिक र प्रशासनिक उपेक्षा सुस्तता र निरिहताको फाईदा उठाएर अहिले चोरी शिकारी सक्रिय भएको र नेपालको प्रतीक गैंडालाई ताकी ताकी हतियारबाट गोली दाग्ने भएको छ । संरक्षण इतिहासमा पहिलो पटक आमासँगै बच्चा गैंडा माथि समेत गोली दागेर मारिएको छ र मसिनो करिब १ ईञ्चको खागको टुसो समेत खुर्किएर लगिएको छ ।
यो सरकार र उसको प्रशासन तथा संरक्षणको जिम्मेवार नेपाली सेना प्रति परिलक्षित पूर्वाग्रह रिस आक्रोस लोभ पापको पराकाष्ठा हो ।
दर्जनौं दुर्लभ गोही शिकारीको पासोमा परेर मृत्यूवरण गर्दा पनि कसैको चित्त नदुख्ने । हिमालमा कठिन जीवन यापन गरिरहेका अवोध कस्तुरी लस्करै निकुञ्ज प्रशासन र ब्यारेक नजिकै चोरी शिकारीको पासोमा जेलिएर मर्दा पनि कसैको मन नछुने । भयो अरु क्षतिको फेहरिस्त यहाँ नपोखौं ।
के हामी सबै सगोलमा समूल निरिह र निकम्मा भएकै हौं त ? के हाम्रो मुटु ढुङ्गाको भएकै हो त ? के हाम्रो नैतिकता, साहस, धर्म, विवेक र निर्णयमा बिर्को लागेर लोभी पापीमा दर्ज भईसकेकै हौं त ? होइन भने कति कानमा तेल हालेर बस्ने ? कति र कहिलेसम्म निरिह भएर बेथिति हेरेर बस्ने ?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग चरम हेला र उपेक्षामा छ । विज्ञहरुको मन्दिर राष्ट्रिय प्रकृति संरक्षण कोष नेतृत्वबिहिन र अनविज्ञ मन्त्रीको कब्जामा छ । संरक्षण साझेदार संघ संस्थाहरु कोमामा छन् । अवैध वन्यजन्तु व्यापार अनुगमन र नियन्त्रण गर्ने सि.आई.बि.लाई बजेट श्रोत साधन बिहिन बनाएर राखिएको अवस्था छ । संरक्षणको अर्को पिल्लार स्थानीय समुदाय महाउपेक्षित छ । अरु तमाम् बेथितिको पोको नखोलौं ।
प्राकृतिक विपत्ति काम ठग् र बजेट तुर्ने बहानाबाजी भएको छ । लकडाउन निकुञ्ज र वन्यजन्तुलाई बरदान सावित हुँदा कोरोना नआउदै हामीले गैंडा गणनाको पूर्व निर्धारित कार्यक्रम बन्द गरेर जिम्मेवारीबाट भाग्ने काम गर्यौं ।
पूर्व छानबिन नजिर
द्वन्द्वपश्चात निकुञ्ज आरक्षमा बाघ हराए रे, गैंडा सकिए रे भनेर जंगी अड्डाले तत्काल छानबिनको लागि दौडाहा डोर खटायो । तत्कालिन प्रधानसेनापति प्यारजंग थापाका युद्धकार्य निर्देशक जर्नेल अमर पन्तले पंक्तिकारलाई मुसा जस्तो हरेक निकुञ्ज दौडाएर गोप्य प्रतिवेदन लिए ।
द्वन्द्वका बाईप्रोडेक्ट र बाछिटा चोरी शिकारीले दिनहु गैंडा शिकार गरे । ३८ गैंडा चोरी शिकारको ऐतिहासिक रेकर्ड बनाए महसुर शिकारीले । अर्का प्रधानसेनापति रुकमाङ्गद कटवालले पंक्तिकारलाई गोप्य मिशनमा खटाएर फिल्डको ईण्टेलिजेन्स हासिल गरे । आफूले चढ्ने गरेको मोटर गस्तीको लागि भनेर कसरा पठाए । निकुञ्जमाथि हवाई गस्ती गरेर शिकारी खोज्ने आदेश थिए । गैंडा शिकार तत्काल रोक्न कडा निर्देशन दिए । त्यसकै परिणाम थियो ‘शून्य शिकार’ उपलब्धि ।
अर्का प्रधानसेनापति छत्रमान सिं गुरुङ्गले चोरी शिकार नरोक्ने कसराको पल्टन खारेज गर्ने ठाडो आदेश दिए । संरक्षणप्रति प्रतिबद्ध नहुने गणपतिलाई जेल चलान गरेर जागिर खोसुवा गरे । उनको गोप्य मिशनले काँसघारी भित्र गैंडा मारेको हरेक स्पटमा पुगेर गोली कसरी कहाँबाट कुन हतियारले कुन गोली दागेको छानबिन गर्यौं । पंक्तिकार संयोगले छानबिन सदस्य थिएँ । पल्टनलाई खारेजी हुनबाट बलतल्ल जोगायौं र त्यो युनिटलाई उनले लखेटेर भोजपुर पुर्याए ।
पहिला जंगी अड्डाको मन मुटु दुख्दथ्यो । गोप्य ईन्डिपेन्डेण्ट डोर खटिन्थ्यो । त्यसमा राजनीतिक र प्रशासनिक प्रतिनिधि भनेर चरो मुसो राखिदैन थियो । किनभने राजनीतिक र प्रशासनिक विकृति विसंगतिले फिल्डमा समस्या सृजना भएका थिए ।
फिल्डमा डर त्रास थियो । छड्के अनुगमनले उच्च अनुशासन र जवाफदेहिताको माग गर्दथ्यो । अनियमितता र भ्रष्टाचार गर्नेलाई जेलनेल ठोकिन्थ्यो । तर गोपनीयता कायम राखिन्थ्यो ।
जंगी अड्डाले कसैको आदेश ईशारामा होइन, केवल एउटा संरक्षण पिल्लारको हैसियतले स्वविवेक र स्वनिर्णयमा यस्ता छानबिन समिति बनाउदथ्यो ।
सिक्नुपर्ने पाठ
प्रकृति संरक्षणको हकमा वर्तमान नेपाली सेना सुस्त र निरिह देखियो । दुधको साँक्षी भएर हात बाँधेर बस्यो ।
प्रकृति संरक्षण सेनाको प्राथमिक र अनिवार्य जान्नुपर्ने काम होइन । तर यो परम्परागत जिम्मेवारी जस्तै भइसकेको छ । हिजो शून्य शिकार गर्न त्याग गर्ने सेनाले आज शिकार फुक्का भएको टुलुटुलु हेरेर त्यही निकुञ्जभित्र कसरी बस्न सुहाउदछ ।
संरक्षणमा सैनिक नेतृत्वको विशेष ध्यान जान जरुरी देखिन्छ । चौतर्फी सफलता हासिल गरेर चर्चामा आएका सैनिक नेतृत्वको संरक्षण धोती खुस्किनु हुँदैन।
भिजन र सुशासन दिन नसक्ने सरकार र सिभिल सुप्रिमेसीसँग सेना लतारिनु हुँदैन । आखा कान दिमाग नभएको गतिमति पथ भ्रष्ट सबै सरकारको आदेश पालना गर्न जरुरी छैन । उ सँगै भिरको बाटो हिंड्ने र सती जाने धृष्टता कदापि गर्नुहुंदैन । सरकार आदेश दिन योग्य सक्षम र लायकको हुनुपर्दछ । सेना लगायत सबै सुरक्षा निकायहरुले सोच्ने र अड्ने विन्दू आइसकेको छ । बाघ क्षतिको छानबिन सि.आई.बि.ले गरोस् । गैंडा, कस्तुरी, गोही क्षतिको छानबिन नेपाली सेनाले गरोस् । र, प्रकृति संरक्षणको पूर्व नाम र ख्यातिको रक्षा गर्न नेपाली सेनाले स्वविवेकीय स्वनिर्णय र पहलता लेओस् । सेनाले आफ्नो जवाफदेहिता मर्न नदेओस् । चोरी शिकार हुनु भनेको उसको जवाफदेहिता मर्नु हो ।
प्रकृति र प्रकृतिका निधि एवं उपहार राष्ट्रिय सम्पति हुन् । जनताका स्थायी पुँजि हुन् । अन्तर्राष्ट्रिय समुदायलाई अलौकिक प्रसाद हुन् । संसारभरि राष्ट्रिय सम्पदा र श्रोत साधनको जगेर्ना र दिगो रक्षा गर्ने जिम्मेवारी राष्ट्रिय सेनाको हुन्छ ।
तसर्थ, राजनीतिक छाया मुक्त भएर नेपाली सेना बहादुरीका साथ अगाडि बढोस् । ‘बाघ दोब्बर’ नारामा होइन व्यवहारमा उतारेर देखाउन पहलता लेओस् । प्रकृतिलाई न्याय दिन अग्रसर होस् ।
जय प्रकृति संरक्षण ।
(लेखक पूर्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशक हुन्)