बाबुकृष्ण कार्की, बाघ गोठालो,

कोरोना कोरोना कोरोना
बिरामीलाई घृणा । घर, टोल, परिवार आईसोलेशनमा । अस्पताल चिकित्सक टोली सबै अपहेलित बहिष्कार र दण्डित । हत्यारालाई भन्दा ठूलो घृणा, बहिष्कार र पीडादायी एवं दर्दनाक दण्ड ।

हिजो एड्सलाई । अस्ति कोरलाई । अनि बिफरलाई, कहिले दुबीलाई । कहिले क्षयरोगलाई । कति दु:खी भए होलान ती पिडितहरु । कति श्राप दिए होलान बहिष्कृत ती आत्माहरुले ।

यो विश्वका धेरै मुलुकहरुको उस्तै पेचिलो समस्या होला । दक्षिण एशियाको जल्दोबल्दो समस्या हुने नै भयो । त्यसमाथि धामी झाँक्री र समाजले बोक्सा बोक्सीमाथि सांघातिक हमलादेखि ज्यान लिनेसम्मको कार्बाही गर्ने र नयाँ नेपालका हिमायतीहरुले टुलुटुलु हेर्ने नजिर भएको नेपालमा समस्याको गहिराई र चौडाई झनै बुझिनसक्नु छ ।

यो पनि पढ्नुहोस:बाघमारा नियन्त्रणको नयाँ अभिभारा

कोरोनाका बिरामी के माफी नपाउने अपराधी हुन् त ?
के यिनीहरु दर्जनौ, सयौं, हजारौंका हत्यारा हुन् ? अभाव, गरिवी, अशिक्षा, अचेतना, बिबसता र बाध्यताले रोगका शिकार भएका हुन् भने उनीहरुको महशुर गल्ती कि राज्य र समाजको लाज छोप्न नसक्ने कमजोरी ?

ह्विल चेयर र डोकोमा नक्कली उपयोगितावादको माया गरेर मतदान केन्द्रमा पुर्‍याइएका ती पीडितहरुले आफ्ना नेता र आफूले छानेको बनाएको सरकारलाई के भन्दा हुन् ? जो रगतको होली र पौडी खेलेर सिंहासनमा आसिन छन् । अनि मतदानलाई छि: छि: दूरदूर गरिरहेकाछन् ।

अनौठो विचित्रको समाज छ हाम्रो

हत्यारालाई सिंहासन । भ्रष्टाचारलाई जदौ र फूलमालाको सम्मान । बिचौलियालाई हजुर हजुर । गुण्डाराजलाई थर्कमान भएर स्वीकार र अभिवादन ।

यो पनि पढ्नुहोस:बिश्व किर्तिमानको अपूर्व अवसर

ऐना नफुटाऔं
नेपाली समाजको कोरोना माहामारीको ऐना हेरौं । जो आफ्नो ज्यान बाजीमा राखेर र उच्च जोखिम मोलेर बिरामीको लागि त्याग गरिरहेकाछन् तिनीहरुलाई घर निकाला, सामाजिक बहिष्कार र राष्ट्रिय उपेक्षा गरेर उल्टो पीडा दिने काम भएको छ ।

राज्यद्धारा उपेक्षित र समाजद्धारा अपहेलित चिकित्सकहरु तलब, भत्ता, पि.पि.ई., मास्क, पाउरोटी नपाएर पनि नीजि खर्चमा र चिकित्सकीय नैतिक मूल्य मान्यताको दायित्वबोधमा अहोरात्र खट्टिएर मानवसेवा गरिरहेका छन् । लङ्काको सुन जस्तो स्वास्थ्य जोखिम भत्ताको लोभ देखाइएको छ ।

तर बिडम्बना उनीहरु माथि सांघातिक हमला र ज्यान लिनेसम्मका अकल्पनिय र अक्षम्य दुव्र्यवहार भए । अमानवीय त्यो कुकृत्यको यहाँ भो बयान नगरुम।

उसै हाम्रो ऐना फोहोर र धमिलो छदै थियो । यो महामारीमा हामीले ऐना फुटायौं कि ? मान्छे समाज राज्य सुधारवादी, आधुनिक र अग्रगामी । सोच, कृत्य र परिणाम हदै पश्चगामी ।

यो पनि पढ्नुहोस: बाघको मनोविज्ञान: कहिले जाला हाम्रो ध्यान

कोरोनाको के दोष ?
हामीले कोरोना ल्याउने क्यारियरलाई गाली गरेनौं । रोग भित्र्याउने तरिकालाई दोषी देखेनौं । रोग नियन्त्रण गर्नुको सट्टा आन्तरिक पार्टी व्यवस्थापनमा व्यस्त अनुत्तरदायी सरकारलाई दोषी देखेनौं ।

देख्यौं त महादोषी बिचरा बिरामीलाई । हामी मर्नको लागि उ जुनीमा मञ्जुर भएर जन्मेका हौं । यसरी उसरी त्यसरी मर्नु अवस्यम्भावी छ ।

तर मर्ने र हेर्ने दुवैलाई सरल, राम्रो, सजिलो धर्मको मरण चाहिएको छ । दुवैलाई कठिन, पीडा र दर्दको पापी मरण नहोस भन्ने पुकार र प्रार्थना छ । जुन स्वाभाविक र जायज हो । अब एकछिनलाई मानौं– कोरोनाको दोष कहाँ कसरी किन भयो ?

विगत् र वर्तमानमा देखे भोगे खेपेका तमाम् पीडादायी, दर्दनाक र कष्टकर रोगहरु भन्दा कोरोना धेरै सुविधाजनक, समझदार, सजिलो र शीघ्र भाईरस छ । यसले लामो दीर्घकालीन पीडा दिदैन । पहाड भन्दा ठूलो खर्च गराउदैन । अङ्गभङ्ग अपाङ्ग गराउदैन ।

अदृश्य छ । तर विज्ञानले खिचेको फोटोमा फूलजस्तो सुन्दर रंगीन र रहस्यमय छ ।

हिजो मानवले संसार कब्जा गर्‍यो । आज उ कब्जा गर्न प्रयासरत छ । मानव दृश्यवाला सर्वत्र अपरम्पार थियो । उ अदृश्य, सुक्ष्म र जीवित प्राणीको सेलमा मात्र सीमित छ । मानवले प्रकृति दोहन विनास र ध्वस्त गर्‍यो उ प्रकृति र प्रकृतिको उपहार सुन्दर वन्यजन्तुबाट आएको विश्वास गरिएको छ । कतै प्रकृतिलाई उन्मुक्ति र न्याय दिउला जस्तो गरेर उ एग्रेसिभ्ली आएको त होइन ?

मानवसँग गरिब जनताको करबाट खडा गरिएका युद्ध सामाग्री कारखाना र पृथ्वी ध्वस्त गर्ने महङ्गा क्षेप्यास्त्रहरु छन् । तर कोरोनासँग त्यस्तो उपद्रव गर्ने अमूल्य उपकरणहरु केही छैन । सानो साबुनको फिंजले पत्तासाफ् हुने नाजुक जाबो भाईरसको शक्तिशाली मानवसँग के तुलना गर्नु ?

आतङ्कवाद फैलिन्छ । युद्धको आगो दौडिन्छ । जातीय क्षेत्रीय धार्मिक विद्वेष र द्वन्द्व छरपष्ट छरिन्छ । तर कोरोना अनुशासित संयमी र आज्ञाकारी छ । प्रकृति र हावाको नियम तोडेर जथाभावी सर्दैन । सर्प जस्तै भाईरसलाई नटेर्ने नमान्नेलाई मात्र यो जाई लाग्दछ । सरेर मानवलाई मार्दैन । बाँच्ने नब्बे प्रतिशत मौका दिन्छ ।

यो पनि पढ्नुहोस:सर्पदंश उपचार: को हुने होला जिम्मेवार

मानौं भाईरस बरदान हुँदो हो त ?
यो भाईरसलाई अहिले ज्यानमारा भनिएको छ । यसको अर्को रुप कल्पना गरि हेरुम्–

यदि यो मानव जीवनलाई अर्को थप १०० वर्ष आयु बढाउने हुँदोहोत यसको महिमा मूल्य र पुजा कस्तो हुँदो हो । यो भाईरस उत्पादनको लगानी र खरिदमा संसारको भएभरको रकम सकिने थियो होला । फेरि आर्थिक मन्दी । झन् ठूलो अर्थ अभाव । भयानक भोकमरी । धनी गरिब बीचको मनमुटाब र युद्ध ।

भाईरसको फोटो घर घरमा । चाँदी र सुनको फ्रेममा । भव्य पुजापाठ ।

भाईरस ब्याङ्कहरुको स्थापना । विक्रि वितरण शुरु । धनी र शक्तिशालीले सञ्चय गरेर हैरान ।

अझ मानौं, यो अजम्बरी अमूल्य भाईरस शरीरमा प्रवेश गराउन मानिसले ५ मिनेट उड्नुपर्ने नियम हुने हो भने हामीले उड्ने नयाँ चाल र कला सिकेरै छोड्ने थियौं होला ।

सोच र व्यवहारमा परिवर्तन गरौं
अब हामीले भाईरसलाई भाईरसको व्यवहार गरौं । सचेत सावधानी र सुझबुझ तरिकाले भाईरस नियन्त्रण गरौं । हरेक रोगलाई उसैगरी व्यवहार गरौं र निको पारौं । झन् धेरै माया ममता स्याहार सहितको बिरामीलाई मानवीय र धार्मिक व्यवहार गरौं र उद्धारभाव राखौं । क्वारेन्टाईन होला तर मनोवैज्ञानिक एक्लोपन महशुस गर्न दिनु हुँदैन । चिकित्सक टोलीको समर्पण र त्यागको उच्च मूल्यांकन र सम्मान गरौं ।

भाईरसले मन्दिरको ढोका बन्द गरेर भगवानलाई जन्जिर भित्र कैद गरेको बेला अर्को जीवित र सांच्चिकै भगवान उनै चिकित्सक टोली हुन् । तिनीहरुमाथि प्रतिशोध, पूर्वाग्रह र दृष्टिदोष राख्नु हामी मानवको महाभूल हो । त्यो हाम्रो सचेतना, शिक्षा, संस्कार र सभ्यताको कमी हो । अन्तर्राष्ट्रिय हास्यास्पद बदनाम र बेइज्जती हो ।

मन्दिर बन्द भाईरसले गरेको होइन । भाईरस नचिनेको भयभित्, त्रसित र सायद नास्तिक मश्तिष्कको कच्चा काम हो । अथवा, व्यवस्थापन गर्न नसक्ने अक्षम र पापी खेलाडीहरुको कुकर्म हो । झन् महामारीको दु:ख र कष्टको घडीमा सामाजिक दूरी कायम राखेर मन्दिरमा २४ घण्टा शंखध्वनी र घण्ट बजाउने शान्ति मागको अनुशासित र मर्यादित् काम अनवरत् जारी राख्नुपर्ने हो ।

देख्नेलाई लाज
नेपाल हिजो आज र युगौं युगसम्म विश्वको सुन्दर पर्यटकीय गन्तव्य हो । पर्यटकीय सम्भाव्यता भविष्यमा झन् धेरै गुणाले बढ्ने अवश्यम्भावी छ ।

प्रकृति पर्यटन, बाघ, गैंडा वन्यजन्तु पर्यटन । पंक्षी पर्यटन । जलचर (माछा गोही कछुवा) पर्यटन । निकुञ्ज र संरक्षित क्षेत्र पर्यटन । हिमाल पर्यटन । धर्म संस्कृति पर्यटन । अर्गानिक कृषि पर्यटन । साहसिक खेल पर्यटन । विश्व सम्पदा र प्राकृतिक सम्पदा पर्यटन । उद्योग वाणिज्य व्यापार पर्यटन आदिले नेपाली जनताका होटल रिसोर्ट मात्र होइन घरघर र भान्छा चोटा भरिने छन् महामारीको भोलिपल्टबाट ।

लकडाउन शान्तिको अत्यधिक फाईदा र मस्ती निकुञ्जभित्र पाटे बाघले गरेको दृश्य देखेर पर्यटकहरु आतुर छन् नेपाल उडान भर्न । अबको नेपाल स्वास्थ्यलाभ र शान्ति प्राप्तीको दुर्लभ तर अनिवार्य गन्तव्य बन्ने निश्चित छ ।

तर हाम्रो अतिथि देवो भव: भावना र चरित्रमा स्वार्थ, संकिर्णता, लोभ, पाप प्रतिबिम्ब हुनुहुँदैन । बरु हरेक पाइला र गतिविधिमा स्वागत, शुभेच्छा, शुभकामना सहयोग, करुणा, समर्पण र त्याग झल्किनुपर्दछ ।

नयाँ नेपालको रुकुमको दलितहरुको सामूहिक हत्या, वर्षभरिका बलात्कार, चोरीका घटनाहरु, चन्दा, अपहरण, हत्या र चरम अन्धविश्वास जाहेर गर्ने हाम्रो अमानवीय व्यवहार र कृत्यले अतिथि पर्यटकलाई बिच्काउने र गन्तव्य फेर्न बाध्य पार्ने भय हुन्छ । त्यो खतरनाक हाम्रो दोषी मनोविज्ञानले सामाजिक समस्यालाई बल्झाउने मात्र होइन आर्थिक माईनस गराउने र राष्ट्रिय ईज्जत एवं छविलाई माटोमा मिलाउन मलजल गर्ने छ ।

नेपाली सेनाको तयारी र हैसियत
नेपाली सेना जुन घाम वा पृथक ग्रहबाट आएको भिन्न मान्छे त होइन । बरु नितान्त यही सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक, धार्मिक र शैक्षिक परिवेशको उत्पत्ति र उत्पादन हो ।

नेपाली सेनासँग विश्व शान्ति स्थापनाको दौरान युद्धग्रस्त रणभूमिमा घाईते र शव व्यवस्थापन गरेको अनुभव र अभ्यास छ । त्यसैले नेपालमा महामारीको स्वाब संकलन, क्वारेन्टाईन र शव व्यवस्थापनको काममा नेपाली सेनाले उच्च जोखिम मोलेर त्यागपूर्ण योगदान गर्दै आएको देखिन्छ । हाम्रो छि: छि: दूर दूर मनोविज्ञान र नकरात्मक आचरण र व्यवहारले नेपाली सेनाको त्यो मानवीय उद्धारलाई निरुत्साहित र अवमूल्यन गरिदिनु हुँदैन । वास्तवमा शव व्यवस्थापन धेरै हामी परिवारजनको जिम्मेवारी हो । केही दायित्व अस्पताल व्यवस्थापनको होला । थोरै समाजको होला । समग्रमा दु:खको घडीको यो जटिल तर संवेदनशील धार्मिक कार्य मिलिजुली हामी सबैको हो ।

अन्त्यमा, कोरोनामाथि प्रकृतिको विजय र कोरोनामुक्त शीघ्र स्वस्थ पृथ्वीको कामना गर्दछु ।
(यो लेखकको नीजि वालकल्पना र विचार हो)

बाबुकृष्ण कार्की, बाघ गोठालो


Like it? Share with your friends!