बाबुकृष्ण कार्की, बाघ गोठालो,

दीर्घ सेवामा ७७ जिल्ला, सम्पूर्ण निकुञ्ज आरक्ष संरक्षण क्षेत्र, प्रायः सबै हिमाल, नदी नाला, ताल, झरना, तिर्थस्थल पुग्न पाइयो । ज्यादै दुर्लभ अवसर !

कति महान् र विशाल संस्था ! कति धेरै अवसरको खानी ! त्यसैले आफूलाई संस्थाको सदैव ऋणी सम्झन्छु । अनि पूर्व राजा ज्ञानेन्द्रको २० वर्ष अगाडि बर्दिया राष्ट्रिय निकुञ्जको घत् लाग्दो वाणी सधैं कानमा गुन्जिरहन्छ– “नेपाल विश्वमा होइन, विश्व नेपाल भित्र छ । नेपालको पत्र पत्र घुमेर हेर्नु, त्यहा सिङ्गो संसार फेला पर्दछ ।”

हिमालको सौन्दर्यता छुट्टै । महाभारत चुरेको विशेषता पृथक । तराईको जैविक विविधता झन प्रचुर रहस्यमय रमाईलो तर चुनौती र जोखिम पनि उस्तै धेरै ।

नेपालगञ्ज, बुटवल र ईटहरीको स्टाफ डिउटी । बर्दियाको गुल्मपति, सिरहाको गणपति, ईटहरीको बाहिनीपति र पटक पटकको काम चलाउ पृतनापति । तीन तहको कमाण्डमा भोगेको एउटै पीडा र मनखत् ‘सर्पदंश’ ।

यो पनि पढ्नुहोस:बाघमारा नियन्त्रणको नयाँ अभिभारा

जेष्ठदेखि भाद्रसम्म प्रचण्ड गर्मी, तातो हावा (लु), बाढी र डुबान । त्यसमाथि बिच्छिसँगै अत्यधिक सर्पदंश । अझ यो वर्ष कोभिड महामारीको पीडा ।

सर्प प्रकृतिको गहना । सर्पको आफ्नै धुन, आफ्नै बाटो, आफ्नै गन्तव्य, आफ्नै शिकार । आफ्नै समयतालिका आफ्नै विचित्रको जीवन लिला । आफ्नो शिकार बाहेक अरुलाई नखोज्ने आक्रमण नगर्ने लज्जालु र स्वाभिमान बानी । तर हमेशा चलाख र प्रतिरक्षामा सचेत । कसैले छोयो, चलायो, थिचोमिचो गर्‍यो र दु:ख दियो भने प्रतिरक्षामा उत्रने र टोक्ने खतरनाक आदत ।

यो पनि पढ्नुहोस: विश्व बाघ संरक्षण दिवसःहामी बाघहरुको अभिवादन

रहर होइन बाध्यता
गुल्मपतिको जिम्मेवारी क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज । सर्पको झन् धेरै बिगबिगी । मेडिकल प्राविधिकलाई झापा सर्पदंश उपचार केन्द्रको अनुभव सिक्न पठाएँ । आफू नन्–मेडिकल व्यक्तिको पनि चासो र जिज्ञाशा ह्वात्तै बढ्यो । रहरले होइन बाध्यताले । बर्दियाको बिरामी नेपालगञ्ज पुर्‍याउन कम्तीमा ९० मिनेट लाग्दछ । जति ढिलो भयो विष शरीरमा चढ्दै जाने र उपचारको समय गुज्रिने भएकोले शीघ्र स्थानीय उपचार उपलब्ध गराउनु बद्धिमानी हुने भएकोले त्यसलाई बाध्यता मानेको हो ।

दीर्घ सेवाको दौरान धेरैवटा नाकाबन्दी भोग्नुपर्‍यो । नाकाबन्दीमा औषधीको बाटो हेरेको र बिरामीको ज्यान गएको घटना ज्यादै पीडादायी रह्यो । हामीले औषधी बाटोमा आउदै छ भन्नु बिरामीको शरीर पोल्नु, दुख्नु, शिथिल हुनु, कमजोरी बढ्नु, आँखा लोलाउनु र हराउनु, थुक सुक्नु, स्वर भासिनु, रक्तचाप घटेर बेहोस हुनु र अन्त्यमा स्वासप्रवास अवरुद्ध भएर काखमा प्राण गएको सम्वेदनशील घटनाले २ वटा पाठ सिकायो ।

पहिलो तराईका हरेक ब्यारेक र पोष्टलाई सर्पदंश तालिम र अभ्यास दिएर बिरामीलाई प्राथमिक उपचार दिन सक्षम र दक्ष बनाउनुपर्ने । दोस्रो, बराबर नाकाबन्दी खेपिरहनु पर्ने र विद्युत आपूर्तिको स्थायी समाधान नपक्रेको मुलुकले एण्टी स्नेक भेनम औषधीको आफैले उत्पादन गर्नुपर्ने ।

काखमा प्राण त्याग्ने पीडितहरुको दिवंगत आत्माले यो उद्धारकर्मीको मनको दियो बालिदियो । आँखाको टाप खोलिदियो । बाक्लो दिमागमा विकल्प र निकासको बीउ रोपिदियो ।

यो पनि पढ्नुहोस:बिश्व किर्तिमानको अपूर्व अवसर

धेरै अगाडिदेखि तराईमा नेपाली सेनाले सर्पदंश केन्द्रहरु मार्फत सर्पदंश उपचारमा उल्लेखनीय योगदान पुर्‍याउदै आएको छ । तर सधै काकाकुल झैं खालीहात अर्काको औषधीको बाटो हेर्दा हेर्दा गरेर………….

अध्ययन र अनुसन्धान
प्रकृतिको अमूल्य उपहार सर्प आफ्नै वनजङ्गल र करेसाबारीमा । घोडाको प्रजनन केन्द्र र जात जातका घोडाहरु आफ्नै तबेलामा । सजिलै र छिटै एण्टी स्नेक भेनम बन्ने मितव्ययी सम्भाव्यताको ढोका भेटियो । अति आवश्यक जनहितको पवित्र कामलाई आवश्यक सर्प उपलब्ध गराउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग हर्षका साथ उत्साहित भयो । फाष्ट ट्रयाकबाट औषधी उत्पादन गर्ने जनहितको धार्मिक योगदान गर्न प्रधानसेनापति मञ्जुर भए । तत्कालिन सैनिक पशु चिकित्सालयका निर्देशकले प्राविधिक अध्ययन अनुसन्धान, समन्वय, कानूनी अड्चन सबै अध्ययन गरिदिए र ‘अगाडि बढ्नु राष्ट्रिय आत्मनिर्भरता र स्वाभिमानको कोशेढुंगा’ भनेर सिफारिस गरे ।
अन्तर मन्त्रालय, विभाग, महानिर्देशनालय र कार्यालयहरुसँग सम्पर्क सम्बन्ध र समन्वयको जिम्मा मैले लिएँ ।

हाम्रा प्राविधिक विज्ञले एण्टी स्नेक भेनम सँगै टिटानस र एण्टी रेबिज् हाईपर ईम्युन् सिरम् समेत उत्पादन गर्न सकिने उत्साहजनक अतिरिक्त राय थप गरे र हाम्रो हौसला बढाइदिए ।
हाम्रा दर्जनौं गृहकार्य, प्रस्तुतिकरण, छलफल र मिटिङ्ग अगाडि बढे । सानो तर सम्वेदनशील औषधीको उत्पादन हामी आफैं गरेर आत्मनिर्भरताको बाटो समाउने भयौं ।

नेपाली सेनाले आफू आत्मनिर्भर भएर राज्यलाई समेत आत्मनिर्भरताको बाटो डोर्‍याउन लिएको पहलतालाई सरकार, राजनीतिक नेतृत्व उसको प्रशासनले सगौरव प्रशंसा गर्‍यो ।

यो पनि पढ्नुहोस: बाघको मनोविज्ञान: कहिले जाला हाम्रो ध्यान

हात्ती आयो हात्ती आयो फुस्सा
वि.सं. २०७२ सालको पर्लयकारी महाभूकम्पले हाम्रो तयारी, फायल सबै पुरिदियो । नेपाली सेनाको प्राथमिकता, जिम्मेवारी, काम खोजीकार्य, उद्धार र राहत केन्द्रित भयो । लामो समयसम्म जारी यो कामको दौरान प्रधानसेनापति फेरिए । सरकार फेरियो । औषधी उत्पादनको आत्मनिर्भर बाटो भीर पहिरोले बगाए जस्तै भयो । यसबाट सबैभन्दा दु:खी हामी फिल्डमा काम गरेर सुन्दर सपना बुन्नेहरु भयौं । अवकाशप्राप्त ती साहसी प्रधानसेनापतिको सपना तुहियो र आज पनि उनको मनखतको घाउ आलै छ ।

सर्पदंश क्षति शून्यको उद्देश्य
सामुदायिक स्वास्थ्य सेवा केन्द्र दमकमा आ.व. २०७६/७७ मा ८८३ सर्पले टोकेका बिरामी आएको रेकर्ड छ । जसमध्ये प्राय: गरिब, किसान, असहाय, अशिक्षित र ५५ प्रतिशत महिला थिए । यसबाट सालाखाला पूरा तराई र भित्रि मधेशको क्षतिको वर्षेउनीको आंकडा अनुमान लगाउन सकिन्छ । जुन अझै भयावह छ ।

नेपालमा ८९ प्रजातिका सर्पहरु पाईन्छन् । जसमध्ये १८ वटा मात्र विषालु छन् । ६ प्रजातिका करेत, ३ प्रजातिका गोमन, ७ प्रजातिका भाईपर विषालु सर्पमा पर्दछन् ।

साथमा अनिवार्य टर्चलाईट् हुनुपर्ने, वर्षादमा गमबुठ र लामो बुठ् लगाउने, टुनिकेट बोक्नुपर्ने, झुलको अनिवार्य प्रयोग, सरसफाई र सचेतना कार्यक्रमले नेपाली सेनाले आफ्नो जनशक्तिलाई क्षतिशून्य बनाउदै उद्धार र उपचारमा लगाउन सकेको मेरो अनुभव छ ।
सरकारले जनतालई ‘सर्पदंश क्षति शून्य’ गर्ने उद्देश्य राख्नुपर्दछ । दुवैको सहअस्तित्व अगाडि बढाउदा यदाकदा क्षति हुन्छ नै । त्यसको लागि अरुको बाटो हेर्ने, पर्खिने र आउदै छ भनेर पीडितलाई झुक्याउने होइन । बरु, त्यो अति आवश्यक र महत्वपूर्ण औषधी आफ्नै चिसो हावापानीमा आफ्नै माटोमा आफ्नै बाहुबलबाट आन्तरिक उत्पादन गरेर आत्मनिर्भरताको बाटोमा अघि सर्ने पहल र प्रयास गर्नुपर्दछ । नेपालको लक्षिणको माटो र स्वच्छ चिसो हावापानीको यो औषधी झन् रामवाण र निर्यात योग्य समेत हुने विज्ञहरुको दावीमा दम छ ।

बिरालोको घाँटीमा घण्टी
राष्ट्रिय कल्याणकारीको यो काम पूरा गर्न नेपाली सेनाले पहलकदमी लिनुपर्दछ । बम, गृनेड र गोली बनाउने अर्को हातले अति आवश्यक औषधी बनाएर राज्यलाई आत्मनिर्भरउन्मुख बनाउनु राष्ट्रिय हितको पक्षमा हुने छ । कच्चापर्दाथ, ईमान्दार जनशक्ति र दृढ इच्छाशक्ति भएको नेपाली सेनाले यो काम तुलनात्मक थोरै लागतमा सम्पन्न गर्न सक्ने छ । उत्पादित माल गुणस्तरीय हुने छ । स्टोरिङ्ग र वितरणको काम पारदर्शी र जवाफदेहि ढङ्गबाट सम्पादन हुन सक्ने छ ।

जारी तमाम कल्याणकारी काममा यो अर्को वजनदार र उच्च त्याग झल्किने कल्याणकारी काम हुने छ । यसमा कच्चा पर्दाथ, जनशक्ति, पहलता, व्यवस्थापन नेपाली सेनाको र अनुगमन, स्वीकृति, आर्थिक सहयोग स्वास्थ्य मन्त्रालयको रहने मोडल बान्छनीय हुने छ ।
यसको लागि बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने काम वर्तमान संगठन प्रमुखबाट होस् भन्ने अपेक्षा राखेको छु ।

प्रकृति संरक्षणको ऐतिहासिक खम्बा नेपाली सेनाको लागि उनै प्रकृतिका उपहार सर्प र घोडा मिलाएर तयार पारिने ओखतीले आम नागरिकको सच्चा हित गर्ने छ ।

सरकारी भिजन
नेपाली सेनालाई दिनुपर्ने काम यो हो । औषधी खरिद र आपूर्तिको सुनियोजित झेली र काईते जिम्मेवारी नेपाली सेनालाई दिनु हुँदैन थियो । एण्टीस्नेक भेनम परीक्षण उत्पादन हुन सक्दछ । त्यो सफल हुने निश्चित छ । त्यसमा एण्टी रेबिज् हाईपर ईम्युन सिरम् र टिटानस् उत्पादनका युनिट थप गर्न सकिन्छ।

भोली सफल परीक्षण र परिणामपछि सबै औषधीको राष्ट्रिय उत्पादन प्रारम्भ गर्ने सरकारी भिजनको आन्तरिक र बाह्य तारिफ हुने छ । विश्व स्वास्थ्य संगठनले कदर गर्ने छ ।

शिशु प्रजातन्त्रको बदनाम र बेइज्जति हुने गरेर कौडीको भाउमा बेचिएका उद्योगहरुलाई आवश्यकताको पहिचान गरी छिटो भन्दा छिटो खोल्नु र आत्मनिर्भरताको बाटो रोज्न किन बिलम्ब गर्नु ?

शुभकामना
स्वास्थ्य मन्त्रालयको जनशक्ति मुख्यत: विज्ञ र प्राविधिकहरु हुन् । तर, त्यो प्राविधिक जनशक्तिलाई भेडासरह निरक्षर राजनीतिज्ञले हाकिरहेको हुन्छ प्राय: । वन, शिक्षा, विज्ञान, अर्थ, जलस्रोत प्राय: सबै मन्त्रालयका गुदी समस्या नै त्यही हो ।

यो लेख लेख्दै गर्दा मनको एउटा खुलदुली त्यही हो कुन दिन; र क्षणमा स्वास्थ्यमन्त्री चिप्लिने हुन् । चिप्लिनुपर्ने उहिले हो । किनभने भविष्यका महामारीले यस्तो अदूरदर्शी, अपरिपक्व, फितलो र कच्चा नेतृत्व नपावस् ।

अर्को समस्या राजनीतिक नेतृत्व, प्रशासनिक संयन्त्र र प्राविधिक विज्ञको सोच, ताल, शैली, कार्यमा सामञ्जस्यता शून्य छ । एउटा रेलका यी डिब्बाहरु छुट्टिएर कहिल्यै गन्तव्यमा नपुग्ने आ–आफ्ना ताल र गतिमा घिस्रिरहेका छन् । नेपालको यो सही र व्यवहारिक यर्थाथले गर्दा पनि जनताको सेवक नेपाली सेनाले यो कामको पहलता र नेतृत्व लिइदिनुपर्दछ ।

सर्प सिंहदरबारमा हम्मेशी आउदैनन् । सिंहदरबारले सर्प र तराईको गरिबी कसरी देखोस् ?

सर्पदंशको स्थायी समाधान सम्वृद्धि हो । तर समथर, उर्वर, सुगम र सुन्दर तराईमा किन आजसम्म व्यापक गरिबी, अशिक्षा, रोग, भोक र बेरोजगारी छ त्यसको जवाफ सिंहदरबारसँग कसो नहोला ?

पंक्तिकार स्वयं सर्पदंशको पीडित होइन । तर, सर्पदंश केन्द्रमा उद्धारको लागि स्वस्फूर्त भिड्दा औषधीको बाटो हेर्दाहेर्दै र मुखमा राम राम जप्दाजप्दै आफ्नो काख हात र आँखा अगाडि मृत्युवरण गर्न बाध्य ती धेरै दिवंगत आत्माहरुको सजीव भुक्तभोगी साक्षी हुँ । तसर्थ, एक होइन धेरै सर्पले डसेको भित्री पीडा छ यो आत्मालाई । र, भविष्यमा पर्ख पर्ख दबाई आउदै छ, भन्सारमा अड्एिको छ, नाकाबन्दी खुल्दै छ भनेर झुटो आश्वासनमा थप पीडितको व्यर्थ ज्यान नजावस भन्ने सादर पुकार छ ।

तसर्थ, सदियौंदेखि जारी र वर्षेउनी दोहोरिने यो पीडादायी रोगको समयमा ठीक औषधी चलाएर मानिसको ज्यान बचाउन हामी चुक्नुहुँदैन । त्यो अमूल्य औषधी हाम्रै आँगन बगैंचामा खेर गइरहेको अवस्था छ । जरुरी छ केबल दृढ इच्छाशक्ति, सामान्य प्रशोधन र नियमित उत्पादनको ।

“तराईस्थित समदूरीमा पृतना र बाहिनी अड्डामा अवस्थित सर्पदंशकेन्द्रलाई थप स्रोत साधन र सुविधा सम्पन्न बनाउन विशेष ध्यान दिउँ । अनि हिमाली मातृभूमिमा उत्पादित रामवाण औषधीले पीडितको दर्द निको पारेर सकुशल घर पठाईदिउँ ।”

यो वर्षको सर्पदंश चुनौतिको मध्यान्तरमा तयार पारेको यो लेखको माग र मक्सद् बस् यतिमात्र हो ।

बाबुकृष्ण कार्की, बाघ गोठालो

Like it? Share with your friends!