बाबुकृष्ण कार्की, बाघ गोठालो,

जुलाई २९ विश्व बाघ दिवस । कोभिड–१९ महामारीको तनाव । अतिवृष्टि र डुबानले पुर्‍याएको भौतिक र मानवीय क्षतिको झन ठूलो तनाव । घर झगडा, गुट–उपगुट फुट र सत्ता शक्तिको कुर्सी आक्रमणको झन धेरै तनाव र दवाब । कार्यव्यस्तताको चाप ।

PM Oli during tigers Day 2020. Photo: Screenshot from Youtube video.

यी सबै तनावलाई थाती राखेर राष्ट्राध्यक्ष र सरकार प्रमुखबाट बाघ संरक्षणको लागि आव्हान भयो । बाघको फोटो अनावरण भयो वन तथा बातावरण मन्त्रीबाट । प्रदेश र स्थानीय निकुञ्जमा भब्य कार्यक्रमहरु आयोजना भए ।

कोभिड–१९को महामारीले हुनुपर्दछ; बाघ पाईने अन्य मुलुकमा उल्लेखनीय कार्यक्रम आयोजना भएको जानकारी प्राप्त भएन । तर, नेपालमा सानदार र भव्य कार्यक्रम भयो । ‘राष्ट्रिय बाघ संरक्षण समिति’ का अध्यक्ष प्रधानमन्त्रीले दिनुभएको सन्देश ज्यादै सकरात्मक, उत्साहजनक, प्रेरणादायी र बाघ एवं प्रकृतिप्रेमी थियो ।

ऐतिहासिक संरक्षण खम्बा नेपाली सेनाका प्रधानसेनापतिले बाघ पाईने ५ वटै निकुञ्जका सैनिक सुरक्षाकर्मीहरुलाई पाटेबाघ दोब्बर गर्ने राष्ट्रिय संकल्प पूरा गर्न कडा निर्देशन दिनुभयो ।

यो पनि पढ्नुहोस: विश्व बाघ संरक्षण दिवसःहामी बाघहरुको अभिवादन

काग कराउदै छ पिना सुक्दै छ
बाघ दिवसको साता दिन अगाडि विश्व सम्पदामा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जको सामान्य तिले घटनालाई पहाड बनाईयो । घटनालाई बढाई चढाई अतिरञ्जित गरेर सरकारलाई सत्ताच्युत गर्ने एउटा अस्त्र र मसला बनाईयो । फिल्डमा सेवारत कारिन्दा चीफ वार्डेनलाई तुरुन्त हटाईयो । निकुञ्ज प्रशासन कार्यालयलाई माफी मगाईयो । नेपाली सेनाको सुरक्षाकर्मीलाई बदनाम गरियो । स्थानीय, प्रदेश र संघका सांसदहरु फिल्डमा सत्यतथ्य बुझ्न नपुगी काठमाण्डौ घर भित्र बसी बसी प्रोप्रोगाण्डा समाचार सुनेर र हेरेर सरकार माथि खनिए । मानव अधिकारकर्मीहरुले पनि त्यही गरे । नेपाली सेनाको आन्तरिक छानबिन टोली तुफान फिल्डमा पुगेर घटनाको अनुसन्धान शुरु गर्‍यो ।

सरकार परिवर्तन गर्ने गलत मनसाय र राजनीतिक अभिष्ट राखेर रचना र अभ्यास गरिएको प्रायोजित घटनाको भित्री गुदी रहस्य नबुझी सामान्य फिल्ड कारिन्दालाई बलिको बोको बनाईयो ।

विश्व सम्पदामाथि अतिक्रमण र कब्जा गर्नु हुँदैन भनेर १ जना चरो मुसो बोलेको सुनिएन ।

World Tiger Day logo of Nepal.

चेपाङ्ग किन राजनीतिक भर्‍याङ्ग
चितवन उर्वरभूमि, प्राकृतिक सौन्दर्यताले सिंगारिएको पर्यटकीय भूमि, लक्षिणको होनहार भूमि हो ।
चेपाङ्ग मुलुकको साँस्कृतिक र जनसंख्याको विविधताको गहना हुन् । तिनीहरुको उत्थान र विकासमा अनिवार्य र छिटो ध्यान दिन जरुरी छ । उनीहरुलाई आजको अवस्थामा पुर्‍याउन निकुञ्ज प्रशासन र संरक्षण साझेदार संघ संस्थाको ठूलो योगदान छ । डा. दिवेश कर्माचार्य र विभूतिको पाच सय बढी मौरीको घारले सिलिङ्गे गाउँका चेपाङ्गहरुको आर्थिक अवस्था परिवर्तन भएको छ । अनुहारमा खुशी आएको छ । निकुञ्जमा शिकार गर्न नजाने प्रतिबद्धता पलाएको छ । यो सानो एउटा आँखा अगाडिको सुधारको प्रतिनिधि घटना राखेको मात्र हुँ ।

Author seen during the training seminar.

नेपाली सेनाका हरेक युनिटले चेन अफ् कमाण्ड मार्फत “चेपाङ्गहरुको सुविधाजनक व्यवस्थापन र आर्थिक विकासले मात्र विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जको दिगो रक्षा सम्भव छ “ भनेर वर्षेउनी प्रतिवेदन पठाउने गरेको आज ४५ वर्ष पूरा भएको छ ।

चेपाङ्गहरुको स्थायी बसोबास, सीप विकास, शिक्षा, स्वास्थ्य र रोजगार अवसरको लागि राजनीतिक ईच्छाशक्ति, ईमान्दारिता र त्याग आवश्यक छ ।

यो पनि पढ्नुहोस:बिश्व किर्तिमानको अपूर्व अवसर

प्रधानमन्त्रीको सन्देशको मर्म 
प्रकृति संरक्षण र त्यस भित्रको बाघ संरक्षण कार्यमा संलग्न सबैलाई स्याबासी र धन्यवाद ज्ञापन गर्दै भविष्यमा त्यो पवित्र, महत्वपूर्ण र सम्वेदनशील कार्यमाथि अर्जुनदृष्टि लगाई सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति, स्टेक होल्डर्स, स्थानीय समुदाय, सबै सुरक्षानिकायहरुलाई एक ढिक्का भई समन्विकृतढङ्गबाट संरक्षणमा जुट्न आव्हान गरिएको छ ।

प्रधानमन्त्रीले विशेष ध्यानपूर्वक वाचन गर्नुभएको सन्देश सारगर्भित्, मार्मिक र संवेदनशील छ । त्यो वक्तव्य जङ्गलका बाघ र बाघ संरक्षणमा जुटेका सम्पूर्ण प्रकृति एवं संरक्षणप्रेमी समुदायलाई अभिप्रेरित गर्ने खुशीको सन्देश थियो । सबैलाई बाघ संरक्षणमा होमिन गरेको आग्रह थियो । फिल्डस्थित अहोरात्र खट्टिएका फ्रण्टलाईन स्टाफ र सुरक्षाकर्मीलाई हौसला र मनोवल उच्च पारेर थप त्याग गर्ने प्रेरणा थियो । अन्तर्राष्ट्रिय सघं संस्थालाई सहयोगी हात र साथ जारी राख्न ईमान्दारसाथ गरिएको आग्रह थियो । स्थानीय जनसमुदायलाई सक्रिय संरक्षण सहभागिता र हातेमालो मार्फत बाघका वासस्थानहरुको अपनत्व र स्वामित्व ग्रहण गर्नेतर्फ अग्रसर भईदिन टेवा दिईएको थियो ।

अन्य वर्ष विभिन्न कार्यक्रममा सरिक भएर भव्यरुपमा बाघ दिवस मनाएता पनि महामारीको यो वर्षमा छिमेकी मुलुक भारत लगायत १३ टाईगर रेञ्ज मुलुकले बाघ सम्झना गर्न समय उबार्न नसकेको देखियो ।

नेपालले महामारी र विभिन्न विपद् महाबिपद्का बाबजुद बाघको स्मरण मात्र होईन कडा संरक्षणको लागि सारगर्भित र ह्दयस्पर्शी सन्देश लगायतका भव्य कार्यक्रमहरुको आयोजना गरेर बाघ संरक्षणलाई उच्च महत्व र प्राथमिकतामा राख्ने ज्यादै प्रशंसनीय र प्रेरणादायी काम गरेर देखायो ।

पंक्तिकारको घैंटामा घाम लाग्यो ।

यो पनि पढ्नुहोस: बाघको मनोविज्ञान: कहिले जाला हाम्रो ध्यान

बाघ कसको कोर्टमा ?
अब वनमन्त्री, वन सचिव, प्रधानसेनापति र निकुञ्ज विभागका महानिर्देशकले बाघको वास्तविक स्वामित्व लिइदिनुपर्दछ । बाघ उहाँहरुको कोर्टमा छ । बाघ उहाँहरुको मन मुटु भित्र सुरक्षित हुनुपर्दछ ।

फिल्डलाई अधिकार र स्रोत साधन सम्पन्न बनाउनु र केन्द्रिय अनुगमन एवं निर्देशन तीव्र पार्नुपर्दछ । तर नियन्त्रण होइन । हरेक महिना बाघको प्रगति विवरण लिएर शून्य शिकारको अनिवार्य शर्त पूरा गर्न फिल्डलाई कडा निर्देशन दिनुपर्दछ ।

बाघ संरक्षण जिम्मेवारीलाई नितान्त अराजनीतिक र अहस्तक्षेपकारी राखिदिनुपर्दछ ।

Drone being used for surveillance in Chitwan National Park.

केन्द्रमा भताभुङ्ग टीमवर्कलाई मजबुतिकरण र सबलिकरण गरेर परिपक्व र विश्वसनीय सहकार्यको वातावरण निर्माण गरिदिनुपर्दछ । विगतको ‘शून्य शिकार’ उपलब्धि नमूना टीमवर्कको सफल परिणाम थियो ।

फिल्डमा निकुञ्ज प्रशासनले वर्तमान चुनौतीहरुको रौं–चिरा बराबर विश्लेषण गर्नुपर्दछ । वर्तमान चुनौतीलाई कम आँकलन गर्ने त्रुटी गर्नुहुँदैन ।
महामारीजन्य नाजुक आर्थिक अवस्थाले बाघको वासस्थानमा मानवीय चाप बढ्ने निश्चित छ । निकुञ्जभित्र अवैध प्रवेश गर्नेको मासिक सरदर संख्या २०० बाट बढेर १३ सय पुग्नुलाई विकराल चुनौती मान्नुपर्दछ । बाघको चोरी शिकार र अवैध अंग व्यापार जारी छ । लकडाउन फुर्सदमा बाघको व्यापक रेक्की भएको छ । अब, बाघ शिकारीको तारो बन्ने खतरा बढेको छ ।

बाघ संरक्षण रणनीति
सरकारको बाघ बढाउने दृढ संकल्प फिल्डको लागि ‘प्रमुख भिजन र मिसन’ हो । सरकारी संकल्पलाई अन्तर्राष्ट्रिय आवश्यकता र प्रेरणाले रिईन्फोर्स गरेको छ । बाघ संरक्षणप्रेमी विज्ञ, संरक्षणविद्हरुले जोडदार माग गरेका छन् । बाघ प्रेमी नेपाली जनताले संरक्षणको तीव्र चाहना राखेका छन् ।
निकुञ्ज ऐन विश्व कै नमूना र कठोर प्रकृतिको छंदैछ । निकुञ्जले विश्वमा कहीं नपाएको राष्ट्रिय सेनाको सुरक्षा पाएको छ । निकुञ्ज प्रशासनलाई असीम स्वायत्त अधिकार छ । अब के चाहियो ? अरुलाई दोषी मुकरर गर्न पाईदैन । आफैले आफैबाट आजै परिवर्तन, सुधार र संकल्प पूराको दृढता व्यवहार र परिणाममा देखाउनुपर्दछ ।

पहिलो, परम्परागत सोच र तरिकाले बाघ संरक्षण सम्भव छैन । ७ गुणा जटिल चुनौती जस्तै ७ गुणा आधुनिक लय, शैली र परिवर्तनको फड्को मार्न सक्नुपर्दछ । ७ गुणा बढी परिश्रम र त्याग गर्न तयार हुनुपर्दछ । म्याद गुज्रिएको प्राचीन संरक्षण मोडललाई आधुनिक, वैज्ञानिक र व्यावहारिक मोडलले विस्थापित गर्नुपर्दछ ।

बाघ र बाघको वासस्थान अग्राखको रुख ढालेपछि बरामद र पक्राउ गर्ने पराक्रम होइन, दोषी आँखा लाग्न नदिने र छुन नदिने प्रो–एक्टिभ सुरक्षात्मक उपाय अपनाउनुपर्दछ । त्यसको लागि नजरी मिलापका धेरै पोष्टहरुको घेराउ र बुट्स अन द ग्राउण्डको आवश्यकता पर्दछ । त्यसलाई आधुनिक प्रविधिले रिईन्फोर्स गर्ने हो । समुदायमा आधारित चोरी शिकारी नियन्त्रण ईकाईको आवश्यकता र महत्व ७ गुणाले बढेको छ । सुराकी परिचालन र ईण्टेलिजेन्सको विश्वसनियता ७ गुणाले वृद्धि गर्नुपर्दछ । सर्भिलेन्सलाई व्यापक बढाईनुपर्दछ । एण्टी पोचिङ्ग प्रयासलाई धेरै गुणा बढी महत्वकासाथ संचालन गर्नुपर्दछ । स्रोत साधन र बजेट सोही अनुपातमा वृद्धि गरिनुपर्दछ । अवैध अङ्ग व्यापारको नियन्त्रणमा सफलता हासिल गरेर उल्लेखनीय योगदान पुर्‍याउदै आएको सि.आई.बि को मिहेनत खेर जान नदिन कमजोर प्रमाण र फितलो मुद्दाबाट दोषी उम्किन पाउने कानुनको छीद्र समय मै टाल्नुपर्दछ ।

संरक्षण सफलताको लागि नेपाली सेनाले नीतिगत, संरचनागत र व्यावसायिक सुधारको पहलता लिन बिलम्ब भइसकेको छ ।

बफरजोन समुदायको सक्रिय सहभागिता र टीमवर्क अपरिहार्य छ । संरक्षण साझेदारहरुको थप सहयोग र सहकार्यको दरकार छ ।

बाघ विज्ञहरुको राष्ट्रिय गोष्ठी आयोजना गरेर भावी रोडम्याप तर्जुमा गर्नु र त्यसलाई अनुमोदन गरेर कार्यान्वयनमा लैजानु समग्र संरक्षणको हितमा हुने छ। यसो भयो भने नेपालका बाघ सबैभन्दा धेरै स्वस्थ, सुरक्षित खुशी र सुखी हुने छन् । हामीले खोजेको दु:खी होइन खुशी र सुखी बाघआशिष हो ।

बाबुकृष्ण कार्की, बाघ गोठालो


Like it? Share with your friends!

Nepalisite