आफूलाई ‘मेरो बाघ– मेरो सान’ लेख्न मन लागेको थियो । फेरि कति धेरै स्वार्थी भनेर भाषालाई हतार हतार सच्चाएं । किनभने बाघ हामी सबैको हो । हाम्रो सान, मान र गौरव हो । प्रकृतिको अनुपम् उपहार हो ।

उहिले प्राकृतिक छटाले भरपूर सुन्दर धर्तीमा बाघको संख्या धेरै थियो । धेरै टाढाको कुरा होइन सभा सय वर्ष अगाडि बाघको संख्या १ लाख भन्दा धेरै थियो । बढ्दो जनसंख्या, वनजंगल फंडानी, वातावरण विनाश, वातावरण विरोधी विकास, अतिक्रमण र चोरी शिकारले बाघको संख्या घटेर पैतिस सय प्लस माईनसमा सीमित छ । ज्यादै दु:खको कुरा सुन्दर बाघहरुले धर्तीमा अन्तिम विचरण गर्दैछन् । अन्तिम सास फेर्दै छन् । विज्ञहरुले बाघको भविष्य लामो छैन भनेर दु:खद् भविष्यवाणी गरिसकेका छन् ।

यो लेखमा ‘पाटे बाघ’ को चर्चा गर्ने जमर्को गरेको छु ।

Tiger spotted in Ilam, Nepal.

ईलामे बाघलाई सलाम

दुई हप्ता अघि आश्चर्य जगाउने समाचार छापामा आयो । ईलामको ३१६५ मिटर अग्लो चौडपाते जंगलमा बाघ भेटियो । स्वचालित क्यामराले खिचेको बाघको तस्विर सहित समाचारलाई आधिकारिक भनी प्रमाणिकरण गरिएपछि बाघले नयाँ रेकर्ड राख्यो । रेडपाण्डा अनुगमन गर्न रोखेको क्यामरामा बाघ परेपछि सबै आश्चर्यचकित हुनु स्वभाविक थियो ।

१ वर्ष अगाडि डडेलधुराको महाभारत वनमा २५०० मिटरको उचाईमा बाघ भेटिएको थियो । त्यो बाघलाई सलाम भनेर लेख प्रकाशित गरेको थिए । अहिले त्यो बाघलाई उछिनेर ईलामे बाघ झन माथि चढेको छ ।

नेपालमा तराईमा अवस्थित राष्ट्रिय निकुञ्जहरु पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा मात्र पाटे बाघ पाईन्छ भन्ने विश्वास थियो । ती निकुञ्जका मद्यवर्ती क्षेत्र र त्यससँग जोडिएका वन–जंगल तथा जैविक मार्गमा छिटपुट् बाघ भेटिनुलाई सामान्य मानिन्थ्यो ।

सन् २०१८ को बाघ गणना प्रतिवेदनले बाघको संख्या बढेको र निकुञ्ज बाहिर टाढा टाढा बाघ पाईने संभावना रहेको किटानी गरिदिएको थियो । ती बाघ गणक र प्राविधिकहरुलाई पनि सलाम । कति सत्य पूर्वानुमान र भविष्यवाणी ।

विज्ञहरुले बाघको व्यक्तिगत अभिलेख राख्दछन् र अध्ययन अनुसन्धान गर्दछन् । ईलाममा अचानक फेला परेको बाघलाई हेर्न बुझ्न जान्न बाघ विज्ञहरु कति आतुरमा होलान् ? त्यो बाघको नाम के राख्लान् ? त्यसको नामाकरण पक्कै ‘ईलामे बाघ’ होला । आफू विज्ञ होइन । तर बाघको स्तुति गाएर नथाक्ने एकोहोरो पुजारी हु । पिता माताले दिएको टाईटल ‘बाघ गोठालो’ । त्यसैले त्यत्रो दूरी तय गरेर त्यो उचाईमा पुगेको मेरो भगवान बाघलाई धेरै सलाम ।

Tiger in Dadeldhura, Nepal.

यो पनि पढ्नुहोस: बाघको चोरी शिकार : नयाँ नेतृत्व र डिजिलाई अवसर

ईलामे बाघले जन्माएको प्रश्न र जिज्ञाशा

आफूलाई त्यो बाघसँग साक्षात्कार हुन पाए लागेको छ । उसको स्वास्थ्यअवस्था जाँच्न पाए हुने थियो लागेको छ । उसको मन पेट बुझ्न पाए आहा कति खुशी हुने थिए । तर नाडी छाम्ने कसरी ? कठिन छ तर असम्भव छैन ।

अरु मुलुकले भए अध्ययन अनुसन्धान शुरु गरिसकेका हुने थिए । सत्य तथ्य पत्ता लगाएर सार्वजनिक गरिदिने थिए । बाघ हिरो हुने थियो । सुरक्षाको सुनिश्चिता पाउने थियो । भविष्य उज्वल हुने थियो ।

साक्षात्कार हुन सक्ने भए र दोहोरो कुरा गर्ने संयन्त्र भए आफू बाघलाई सोध्ने थिएँ– “कहाबाट आयौ मेरो राजा ? कुन जंगलमा जन्मियौ ? कहाँ हुर्कियौ ? र, कहा छन् तिम्रा सन्तानहरु ? के कति कारणले यत्रो तकलिफ् पायौ ? अनि कसरी दुनियाको आँखा छल्दै लुक्दै ईलामको डाँडासम्म सवार भयौ ? के खायौ के पियौ ? पानी र घोलमा पौडी खेल्ने, नुहाउने तिम्रो भद्र स्वभाव । कहाँ पौडी खेल्यौ ? अब जाने गन्तव्य कहाँ हो ?”

समय र मौका पाए अझ धेरै जिज्ञाशा राख्ने थिएँ– “भौतारिएको हौ कि ? दिमाग खुस्किएर हो कि ? अर्को बाघले टिकिखान नदिएर हो कि ? बैरागिएर हो कि ? घर (वासस्थान) साँघुरो भएर हो कि ? खानपिन आहारा नपाएर हो कि ? नयाँ घरजमको खोजिमा पो हो कि ? कि हाम्रो नाडी छाम्नलाई हो ?”

अनि, बाघलाई सम्झाउने थिएँ– “आहाराको पक्कै कमी होला । सुढुनी फर्सी स्कूस किवी एभोकाडो चियाको खानी हो ईलाम । तर तिमी केहि खादैनौ । न दुध दही मोही घिउले छाक टार्नु ? चिज र छुर्पीको खानी हो ईलाम । ईलामको छुर्पी भनेपछि अमेरिकाका पप्पीहरु हुरुक्क हुन्छन् । ईलामले अमेरिकाका धेरै पप्पीहरुलाई सन्तुष्टी, सुख र खुुशी दिएको छ । तर तिमी नछुने पर्‍यौ । घाँस खाने तिम्रो जातै होइन । मृग प्रजाति कठै कहाँबाट पाउनु ? तर तिमी दुर्लभ भगवानले सास त धान्नै पर्‍यो । नेपालीहरु कृपालु छन् । दुध बचाउनलाई राम्रा गोरु र बहरहरु जंगलमा छाडिदिएका छन् । थारा गाईहरु पनि वन–जंगल पाखा भित्ता भरि छाडिएका छन् । आफ्नो भोजनको प्रबन्ध आफै मिलाउ । तर मानिसमाथि आक्रमण नगर । घरपाल्तु चौपायामाथि आँखा नगाड । तिम्रो जोडी कसरी बाँधिदिनु । तिम्रो विवाह, प्रजनन र सन्तान वृद्धि अपरिहार्य थियो । राष्ट्रिय सपना थियो । अन्तर्राष्ट्रिय माग थियो । सास धानेर मात्र पनि कहाँ पुग्यो र ? हामीलाई तिम्रो सन्तान चाहियो । ईलाममा हार्दिक स्वागत छ । अभिवादन छ । तर फसाद तिम्रो विवाहको मेसो पो कसरी मिलाईदिनु ?” ए साँची छुपाउ आड् पाएनौ भने अनिकालमा चिया बगान र अम्रिसोघारीको छुपाउ लिएर भएपनि ज्यान जोगाउनु ।

Shuklaphanta Tiger.

यो पनि पढ्नुहोस:बाघमारा नियन्त्रणको नयाँ अभिभारा

बाघलाई आश्वस्त पार्ने थिएँ–

“अब तिम्रो अध्ययन अनुसन्धान हुने छ । तिम्रो सुरक्षा हाम्रो जिम्मा । अस्ति बाघ दिवसमा तिम्रो अध्यक्ष हाम्रो प्रधानमन्त्रीले शुभकामना सन्देश दिनुभएको छ– “हामी बाघको संरक्षणप्रति प्रतिबद्ध छौं । हामी अर्को वर्ष बाघ दोब्बर बनाएर देखाउने छौं ।” तिम्रो अध्यक्षले २४ प्रतिशत संरक्षण क्षेत्रलाई बढाएर ३० प्रतिशत पुर्‍याउने संकल्प गर्नुभएको छ । अन्तर्राष्ट्रिय समुदाय समक्ष । हामी ढंटुवा होइनौं । पानी मरुवा पनि होइनौं । ईमान्दार, कर्मठ, प्रकृतिमैत्री र संरक्षणमैत्री होनहार नेपाली हौं । नेपाल सरकारले पहाडमा तिमीहरुलाई घरबास उपलब्ध गराउन सक्दछ । उत्तम वन–जंगल पाउन सक्छौ । चाहे गरे के छ र असम्भव । तिमी पनि सुरक्षित समुदायपनि भाग्यमानी । तिमीले वनजंगल रक्षा गर्ने छौ । पर्यटकको ओइरो लगाउने छौ । समुदायपनि लाभान्वित । राज्यपनि धनी । सबैलाई जितै जित् ।

कतै जलवायु परिवर्तनको असरले पनि होला तिमीहरु पहाड चढेको । तर पहाडमा समेत बाघ पाईने देश भनेर हाम्रो ईज्जत अरु बढ्ने थियो । त्यसैले तिमीलाई पुन: स्वागत ।

बाघलाई अन्तिम जिज्ञाशा राख्ने थिए– “उहिले कोशीटप्पुमा बाघ पाइन्थ्यो । अहिले लोप भयो । हाम्रो दुर्भाग्य । तर प्रकृति र संरक्षणप्रेमी सरकारले आरक्ष विस्तारको गृहकार्य गरेर बसेको छ । मौका आउनासाथ विस्तार हुन सक्दछ । प्रदेश सरकार पनि वनजंगल बढाउन उत्सुक र आत्तुर छ । तिम्रो भाग्य जाग्न सक्दछ । तर अहिले नढाटी भन यात्रा कहादेखि गर्‍यौ ? नेपाल वा भारत वा भुटान ? भुटानले ४४०० मिटर सम्मको उचाईमा बाघलाई खुशी पारेर राखेको छ । ३६ देखि ३७०० मिटर सम्म भारतले पनि बाघलाई माया र संरक्षण दिएर पालेको छ । हामी किन नपाल्ने ? तर जहाँको भएपनि ठीकै छ । तिम्रो लागि साँध न सिमाना । धर्ती एउटै । पृथ्वी सम्मै । तिम्रो रक्षा सम्मान कल्याणको लागि पुकार गर्दछु ।”

Tiger in Chitwan, Nepal.

यो पनि पढ्नुहोस:बाघले लेख्यो पत्र: सरकार अलपत्र

अतित् को स्मरण
एकदिन आफू शुसिला र डिक्कीलाई लिएर गस्ती गएको थिएँ । दुवै डब्लु डफ्लु एफका होनहार स्टाफहरु । डिक्की त्यही दिन अमेरिकाबाट आएकी थिईन् । संयुक्त गस्तीका हिस्सा बनेका थिए उनीहरु ।

कर्णाली खौराहामा पोथी बाघ भेटियो । उ राजमार्ग क्रस गरेर दक्षिण लाग्ने तयारीमा थिई । हाम्रो एक्कासी जम्का भेटमा उ लाजले भुत्तुक्क भई । हामीलाई धेरै बेर दर्शन दिईरही । अतिथि डिकीले पेटभरि हेर्न पाईन् । क्यामराको रिल सकिने गरि फोटो खिचिन् ।

आफू ड्राइभर । दङ्ग परेर बघिनीसँग कुरा गरिरहेको थिए । बघिनीले आँखाबाट बोलिरहेकी थिईन्– “मलाई लाज लाग्यो । धेरैबेर नहेर । नजिस्काउ । मेरो शान्ति भंग नगर । मेरो स्वतन्त्रता कब्जा नगर । मलाई खाता पुग्नु छ । तर पनि म तिमीहरुको निकुञ्ज व्यवस्थापन प्रति आभारी छु । सुरक्षा प्रबन्धप्रति ढुक्क छु । नेपाल र नेपाली जनताप्रति ऋणी छु । नेपाललाई सम्वृद्धि दिन आत्तुर छु ।”

२२ वर्ष अगाडिको त्यो अवसर हिजो जस्तो लाग्दछ । बाघको खानी थियो बर्दिया । गर्व लाग्दछ, आजपनि बाघको खानी छ त्यहाँ । साक्षात्कार हुने मौका धेरै मिल्यो । बाघ हुनु गर्वको कुरा । बाघ खुशी हुनु भाग्यको कुरा । बाघको मनोविज्ञानबाट बाघलाई खुशी देख्न पाउदा गौरव लाग्दथ्यो ।
श्रद्धेय अग्रज महानिर्देशक डा. तिर्थमान मास्केले भन्नुहुन्थ्यो– ‘मेजर साप, म धेरै गस्ती गर्छु भन्ने दाबीलाई तपाईले जित्नु भयो । बाघलाई गर्ने मायामा पनि तपाईले मलाई जित्नुभयो ।’

Tiger in Banke, Nepal.

संरक्षणका हस्ती राष्ट्रिय प्रतिनिधि, विश्व वन्यजन्तु कोषका श्रद्धेय डा. चन्द्र गुरुङ्ग साक्षी हुनुहुन्थ्यो ।
झ्यालबाट चियाएर सुन्ने अर्को साक्षी डा. शुसिला नेपाली मात्र जिउदो साक्षी बाँकी हुनुहुन्छ ।
अतित्को त्यो सम्झना ताजै छ । ती हस्तीहरुको माया र सम्झना बोकेर हाम्रा प्यारा बाघहरु पहाड चढिरहेका छन् । सायद सम्वृद्धिको सपना बोकेर । ती दुई हस्तीहरु भएको भए ईलामे बाघको भाग्य बल्ने थियो ।
सन् २०२२ मा हामीलाई बाघ २४२ पुर्‍याउनु छ । ४ वर्ष अगाडि सन् २०१८ मा नेपाल २३५ बाघ गनेर ढुक्क भएर बसेको छ । डडेलधुरा बाघले १ र ईलामेले १ गरेर २ अंक बढाईदिएका छन् । हामीलाई विशेष तामझामका साथ “बाघ दोब्बर” को बिगुल फुक्नु छ । सफल कथाको सन्देश संसारभरि फैलाउनु छ ।

निचोड

अन्त्यमा, ईलामे बाघले शान्ति र खुशी पावस् । पहाडमा थोरै भएपनि बाघ पाल्ने बढाउने नया योजना बनोस् । कोशीटप्पु– त्रियुगा– भरौल– चतरा– तरहरा– लेटाङ्ग– याङ्गसिला को ४ कोसे झाडीको अवशेष रक्षा होस् । नया नया संरक्षण क्षेत्रहरु घोषणा हुन् । त्यहा बाघ बढून र ईश्वरले नेपालमा बास् गरिरहुन ।

जय प्रकृति संरक्षण।

बाबुकृष्ण कार्की, बाघ गोठालो

Like it? Share with your friends!