काकाको मुटु हल्लियो । रक्तचाप एक्कासी बढ्यो । अस्पतालको शैय्यामा डबल मास्क लगाएर काका भेट्न पुगें । काकाले भन्नुभयो– “छोराछोरी सडक आन्दोलनमा धर्ना दिएको देखेर छाँगाबाट झरेको जस्तो भयो । दिनभरि हराउदथे । घरमा केही भन्दैन थिए । एकदिन हातमा पानीको बोतल समातेर बीच सडकमा बसिरहेको देखें । मन ध्यान अशान्त भयो । करौडौं खर्चेर डाक्टर पढाए । नानीहरु सडक आन्दोलनमा ।”

Photo: Pushkar Shah

आफुले छोराछोरीलाई जिज्ञाशा राखें–
“रोगले होइन तिमीहरुको हर्कत र पीडाले काका बिरामी हुनुभयो । तिमीहरु बेखबर आन्दोलनमा किन कसको लागि र के उद्देश्य प्राप्तिका लागि होमिएका हौ ?”

डाक्टरहरुले सिधा जवाफ दिए–

“ईनफ ईज् ईनफ् । हामीले इतिहास पनि पढ्यौं । वर्तमान पनि देख्यौं । भविष्य झन् अन्धकार छ । मुलुक रहे डाक्टर चाहिने हो । मुलुकै नरहे न डाक्टर न बिरामी । यो हाम्रो स्वविवेक र स्वनिर्णय हो । हाम्रो स्वतन्त्रता हो ।”

३ महिनापछि काकाले पुन: फोन गरेर छोराछोरी हराएकोले सम्झाईदिन सहयोग माग्नुभयो । बेपत्ता छोराछोरीको मैले लामो अन्तर्वाता लिए । छोराछोरी फेरि ‘युवा आऊ देश बचाऊ’ आन्दोलनमा स्वफूर्त सामेल भएछन् ।

आन्दोलनका श्रृङ्खलाहरु

कोभिड–१९ महामारीबाट देश गुज्रिरहेको अवस्थामा बालुवाटार घेराउ भयो । सबै पढेलेखेका युवायुवतीहरु । हुने खाने सभ्य घरानाका नानीहरु स्वस्फूर्त सडकमा । बालुवाटार घेराउमा न सरकार न उसको प्रहरीको आज्ञापालन गरे । जम्मा हुन नपाउने लकडाउनको कडा आदेश ठाडै उल्लङ्घन गरे । कफ्र्यू तोडे । पानीको फोहोरालाई छाती थापे । रबर बुलेटलाई समातेर खाउला जस्तो गरे ।

Photo: Pushkar Shah

डाक्टर, नर्स, पाईलट, ईन्जिनियर्स, प्राविधिक सबैले आलोपालो शान्त जुलुस गरेर परिवर्तन र जवाफदेहिताको माग गरे । हदै सरल र शान्त जुलुसले आन्दोलनको रुप रङ्ग शैली तरिका फेरिएको बताईरहेको थियो । आन्दोलन नेतृत्वबिहिन थियो । न त यो संगठित नै थियो । तर शान्त आन्दोलनलाई बिजुली चम्केको ठानेर सरकार डराएको थियो । आन्दोलनलाई प्रतिगामीहरुको चलखेल भनेर गिज्याइरहेको थियो सरकार । सरकार चौतर्फी असफल र अलोकप्रिय भइसकेको थियो । महामारी संकटमा सरकार असफल मात्र होइन ज्यादै असम्वेदनशील र मानवताविरोधी भनेर चिनिन पुग्यो । महामारी ह्याण्डेलिङ्गको नाममा न पूर्व तयारी न सावधानी बरु खुलेयाम भ्रष्टाचारको जगजगीले जनताहरुको मन भाँच्चियो । उनीहरुले वाक्कदिक्क र बाध्य भएर ‘सडक आन्दोलन’ को विकल्प रोजे । तर त्यो नेतृत्वबिहिन थियो । त्यसैले संगठित हुने कुरै भएन ।

महामारी प्रति असम्वेदनशील सरकार किसानहरु प्रति समेत सम्वेदन हुन सकेन । मल दिन असमर्थ भएकोमा माफी माग्नुको सट्टा कृषि क्रान्तिका सपना र गुड्डी हाँकेर जनतालाई गिज्याउनु र उडाउनु चरम ठूलो भूल थियो । भिजिट वर्ष ट्वाण्टी ट्वाण्टीको नाटक गरेर सरकारको पर्यटन मन्त्रालयले ठूलो धनराशी स्वाहा पार्नु र पर्यटन सुक्नुले पर्यटनकर्मीहरु चिन्तित् मात्र होइन चुर्लुम्म डुबेका थिए । लगानी वापत् उनीहरुले बडेमानका जङ्गली उन्मत्त हात्ती जत्रा यतिका निर्जीव ह्याके मात्र पाए शहरका चोक चोकमा । सीमा मिचिदा रक्षा–गृहको निरीहता, तस्करले खेलाएको अर्थ र उसको कर पेलान, सञ्चारको जात्रा, विद्युत र कूलमानको तिलाञ्जली, अख्तियारको नाटक, भष्टाचारको हिमचुली, वन र वन्यजन्तु तथा प्राकृतिक श्रोत साधनको कब्जा र दोहन, मेलम्चीले प्रतिनिधित्व गरेको जलश्रोतको कन्तबिजोक, रेमिट्यान्स पठाउने जनताको आँसुको धारा र स्वास्थ्य असफलताको विरोध र आक्रोश पुन: सडकमा पोखियो ।

घरमा आफै आगो लगाउने र खरानी बेच्न तछाड मछाड् गर्ने सरकार र उसको सत्तारुढ दलको करिब ३ वर्षे सत्ता एवं कुर्सी झगडा विरुद्धको प्रहार हो वर्तमान आन्दोलन । वर्तमान संविधान र पद्धतिको अस्वीकार्यता सडकमा पोखिएको देखिन्छ । २ तिहाईको सरकार एवं कम्युनिष्ट जालझेल र षडयन्त्रको विरुद्ध यो आन्दोलन केन्द्रित देखिन्छ । यो होस् वा पुरानो, बहुमत होस् वा दुई तिहाई, त्यसले मुलुकलाई निकास दिदैन भन्ने निश्कर्षमा बुद्धिजीविहरु पुगेको देखिन्छ । ईण्टेलिजेन्स शून्यतामा बाह्य जासुसहरुको नाङ्गो नाच र विदेशी हस्तक्षेपले शासक, नेतागण, प्रशासक युवाहरुलाई निलिसकेको डरलाग्दो परिदृश्य प्रतिको दिग्दारी, वितृष्णा र आक्रोश हो वर्तमान आन्दोलन ।

किसान आन्दोलन, स्वास्थ्यकर्मीको आन्दोलन, पर्यटनकर्मीको आन्दोलन, कर्मचारी र युनियनको आन्दोलन, वैदेशिक रोजगारीहरुको आन्दोलन, उद्योगी व्यापारी व्यवशायीहरुको आन्दोलन, सञ्चारकर्मीहरुको आन्दोलन, सेवाग्राहीहरुको आन्दोलन, सत्तारुढदलको कुर्सी आन्दोलनको समूल रुप हो वर्तमान सडक आन्दोलन । यसको उद्देश्य, तरिका, गन्तव्य बुझिनसक्नुछ । आन्दोलन नगर्ने सेना र प्रहरी मात्र हुन् । तर त्यहाँ भित्रको हैरानी, थकाई, असन्तोष र आक्रोश विष्फोटनको विन्दुमा पुगिसकेको छ ।

Photo: Pushkar Shah

आन्दोलन मूल्यांकन

यो वा त्यो पक्ष विपक्षका अथवा वृत्त र कोणबाट उर्लिएका आन्दोलनकारी होइनन् यिनीहरु । सर्वदलीय र सर्वपक्षीय प्रतिनिधित्वको संगम हो यो आन्दोलन । सबै पेशाकर्मी, कलाकार, शिक्षक, विद्यार्थी, खेलाडी, किसान, पूर्व सुरक्षाकर्मी र निजामती कर्मचारी तथा अराजनीतिक छवि भएका प्राणीहरु गोलबद्ध भएर होमिएका छन् सडकमा । सत्तारुढ दल र विपक्षी दल दुवैका कार्यकर्ताको उल्लेख्य संख्या सहभागीता छ आन्दोलनमा । न त्रिशुल, न ओम झण्डा, न दलको झण्डा, न सामाजिक संघ–संस्था र क्लबको झण्डा । सबैको हातमा, गालामा, निधारमा, टी–सर्टमा केवल एकमात्र नेपालको राष्ट्रिय झण्डा । राष्ट्र हराउन लागेको मनोविज्ञान देखिन्छ उनीहरुमा । हिन्दुबादी बुढापाका आन्दोलनमा देखिएनन् । दैनिक रोजगार गरेर जीवनयापन गर्ने श्रमिकहरुको दुरुपयोग देखिएन । स्कूल कलेजका युनिफर्म विद्यार्थीहरुको दुरुपयोग देखिएन । देखियो त केवल पढालिखा हुनेखाने सचेत युवावर्ग । प्रबुद्ध समूह । आ–आफ्नो पानी, बिस्कुट, सुन्तला बोकेर आफ्नै खर्चमा सडकमा स्वस्फूर्त हाम फालेको राष्ट्रवादी नेपाली नागरिकहरुको आन्दोलन ।

विचित्र, न विदेशी घुसपैठ छ न आयोजक । न कसैको लगानी छ न समर्थन र बहिष्कार । न त सरकारी रोकटोक र प्रतिबन्ध । आन्दोलनकारीहरुको टीप्पणी सुनेर म चकित भए– “आन्दोलनमा सत्तारुढ पार्टीको गहिरो चासो छ । हिजोको कम्युनिष्ट आन्दोलनको मुख मिठ्याई छ । विपक्षी काँग्रेसको ताली झ्याली पिटाई छ । मधेशको लागि रोचक रमिता भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी स्वभावत: हौसिने नै भयो ।” सर्वदलीय बैठकले भन्यो– “सरकारको अकर्मण्यताले सडक जुलुसले भरिएको छ ।”

Photo: Pushkar Shah

न पूर्व राजाले सपना देखेका थिए यो आँधीबेहरी आन्दोलनको । न त भारतको भा.ज.पा. सरकारले । तर हिजोका विदेशी आज्ञाकार जासुस; जो आज सत्ता र त्यसको वरिपरि छन् तिनले राजा र विदेशी शक्तिको प्रपञ्चको संज्ञा दिएर आफ्नो संलग्नता र योगदान लुकाउन लामो हात र खुट्टा तानिसकेका छन् ।

विदेशी चलखेल, विदेशी गुरुयोजना, विदेशी सहयोग र समर्थनमा उम्लिएका पोखिएका धेरै आन्दोलन देख्ने भोग्ने थेग्ने मौका पाउदा आफूले यस्तो विचित्रको महामारी र लकडाउन नटेर्ने स्वदेशी माटोमा स्वस्फूर्त सृजना भएको आन्दोलन देखेको पहिलो पटक हो ।

मेरो काका जस्ता तमाम् पिता–माता, हजुरबुबा–मुमाले न त युवालाई आन्दोलनमा जान प्रेरित गरे न अरु कसैले उकासे, तर आफै आन्दोलनमा होमिएर उनीहरुले आफ्ना पाका अभिभावकलाई आधा मासु बनाए । झापा आन्दोलन देखि भर्खर सम्पन्न सशस्त्र आन्दोलनको रक्ताम्य इतिहासको भोगाईले हुनुपर्दछ; पाकाहरु आन्दोलनको नामसँग हदै तर्सिएका देखिन्छन् । तर यो विचित्रको आन्दोलनले शान्तिको झण्डा र शान्तिको मार्ग समातेको देखिन्छ ।

उता विप्लव समूहले शिक्षक पासविक हत्याको जिम्मेवारी लिएको छ । एउटा माओवादी नाम परिवर्तन गरेर सरकारमा छ । त्यही सरकारको गृह प्रशासनमा अर्को माओवादीले हत्या हिंसा जारी राखेको छ । बुझिनसक्नुको दोहोरो चरित्र र व्यवहार । बल प्रयोगको संवैधानिक र नैतिक अधिकार सरकारले गुमाइसकेको छ । न सुरक्षाकर्मीले आदेश पालना गर्ने न बल प्रयोग गर्न सक्ने अवस्था छ ।

आन्दोलनकारीको माग बहुआयामिक छ । यो झुटो आश्वासन र वाचाको पुलिन्दा विरुद्ध छ । हिजोको छलकपट र षड्यन्त्र विरुद्ध छ । स्वदेशमा जन्मे हुर्केर विदेशी जासुस भै सत्तामा पुगेर स्वदेशमाथि गरेको धोका, शोषण र राष्ट्रघातको विरोधमा छ । चरम कुशासन र बेथितिको विरुद्ध छ । जबरजस्त अरुले थोपरेको भद्दा राष्ट्रघाती जनविरोधी संविधान र त्यसका अवयवहरु संघीयता र धर्मनिरपेक्षता खारेजीको पक्षमा उद्वेलित छ ।

आन्दोलनकारीहरुको मनोविज्ञान विश्लेषण

आन्दोलनकारीको मनोविज्ञान यस्तो देखियो–

“यो मासु चिउराको लोभमा उर्लेको आन्दोलन होइन । न यो दैनिक ज्यालादारीहरुको भीड् हो । हामीलाई कसैले नजरअन्दाज गर्नु प्रत्युत्पादक हुनेछ । पूर्व राजा हौसिन मात्तिन पनि जरुरी छैन । सत्तारुढ पार्टीका शासकहरुले ‘ठीक’ भनेर काँध थाप्ने भुल गर्नु पनि हुँदैन । यो हाम्रो एजेण्डा भनेर बुरुक बुरुक उफ्रिने गल्ती गर्नुहुँदैन टुटिफुटी रा.प्रा.पा.ले पनि । काँग्रेस पश्चातापको भुंग्रोमा अनिर्णयको बन्दी भएर मुकदर्शक बसेकै छ । विदेशीको साथ र सहयोग हामी ठाडै ईन्कार गर्ने छौं । म्याद पुगेका पुराना विषाक्त र असफल नेताहरुको तछाड मछाड नेतृत्वलाई हामी ठाडै अस्वीकार गर्ने छौं । र, युवाहरुको भिडबाट आफ्से आफ् नेतृत्व जन्मने छ । हामीलाई कसैले फकाउन अथवा दुरुपयोग र सदुपयोग गर्ने चेष्टा नगरोस् । ७० वर्ष लामो झुटो आश्वासनको खेती र कबोल हामीलाई मान्य छैन । हामी हाम्रो भविष्य आफैं निर्धारण गर्दछौं ।

आफ्नो राज्यको रक्षा गर्न हामी सामथ्र्य र दृढ संकल्पित छौं । सुरक्षा फौजले लक्ष्मण रेखा नकाटून । बरु उनीहरु संवेदनशील हुन् । राजनीतिक विकृति विसंगतिको धुलो मैलो सफा गरेर अराजनीतिक चरित्र र राष्ट्रिय छवि निर्माण गर्न दत्तचित्त रहून् ।”

Photo: Pushkar Shah

सुरक्षा फौजको भूमिका

यो ज्यादै जटिल र सम्वेदनशिल घडिमा सबै सुरक्षा अङ्ग प्रमुखहरुले साझा दृष्टिकोण बनाउन र सरकार प्रमुखलाई सत्य प्रतिवेदन गरुन्–

“देश डुबिसक्यो । अन्तर्राष्ट्रिय बदनामबाट मुलुक गुज्रिरहेको छ । यो कालाबजारी, तस्करी, अपराधी,आतङ्ककारी र बाह्य जासुसहरुको नाङ्गो अखडा भइसक्यो । यसको स्टेरिङ्ग समाउने तपाई ड्राईभरहरु राष्ट्रघाती होउ । यो आम जनताको निश्कर्ष हो । सडकमा आन्दोलित जनताको मनासिव आरोप हो। हामी सुरक्षा निकाय त्यसको प्रत्यक्षदर्शी साक्षी हौं । मुलुक असफल भईसक्यो । राष्ट्रिय सुरक्षा गम्भीर संकटमा परिसक्यो । यथास्थितिमा मौजुदा दलहरु तिनको नेतृत्व र फोहोरी व्यक्तिकेन्द्रित राजनीति र शासकीय अभ्यासबाट राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाको उद्देश्य प्राप्ती असम्भव छ । देशले थप आन्दोलन, हत्या हिंसा किमार्थ थेग्न धान्न सक्दैन ।”

राजनीतिक ग्रहण लागेको अनुहारलाई साबुनले धोएर सुरक्षा निकाय प्रमुखहरुले साझा माग राख्नुपर्‍यो–

“हामी सरकारसँग सती जान सक्दैनौं । ईण्टेलिजेन्स शून्यतामा कुहिरोको काग भएर बस्न सक्दैनौं । मातृभूमि प्रतिको एकपछि अर्को धोका र राष्ट्रघातलाई सहन सक्दैनौं । निर्दोष जनतालाई दुश्मनको कित्तामा राखेर तिनका विरुद्ध बल प्रयोग गर्न सक्दैनौं ।” साहसिक र वास्तविक प्रतिबेदन गर्न किन डराउने ? स्पष्ट भन्नुपर्‍यो–

“७० वर्षका अधिकांश शासकहरु विदेशी खुफियाका जासुस हौ । मातृभूमिलाई बाह्य हस्तक्षेप निम्त्याउने र विदेशीको खेल मैदान बनाउने राष्ट्रघाती हौ । बोल्ने एउटा गर्ने अर्को चरित्र भएका जाली, अपराधी र महाअपराधीहरु हौ । ती पाप र अपराधका पुलिन्दाको अभिलेख अब हामी सार्वजनिक गरिदिन्छौं । र, जनता सामू जस्ताको तस्तै राखिदिन्छौं ।”

सुरक्षा निकायहरुले आफू राजनीतिक शिकार भएको, संस्थाको छवि धुमिल भइसकेको र आफ्नो निर्मलीकरण शुद्धिकरण अपरिहार्य रहेको अन्तरवस्तु नलुकाई जस्ताको तस्तै राख्नुपर्‍यो । त्यतिमात्र होइन, शासन सत्ता र जनसेवाको अर्को महत्वपूर्ण खम्बा निजामति प्रशासनको शुद्धिकरणको समेत जोडदार माग राख्नुपर्‍यो । स्वतन्त्र न्यायपालिकाको माग पनि राख्नुपर्‍यो ।

नेपाली सेनाले सरल रेखाबाट ईमान्दार भई गरेको यात्राबाट धेरै धोका पाइसकेको छ । जसरी लोकप्रिय राजा वीरेन्द्रले आफ्नो सरलता, शालिनता जनस्तुति र देशभक्ति गरेबापत तातो गोलीको वर्षा खाएर वंशनास हुनेगरि मृत्यूवरण गर्नुपर्‍यो । जनस्तुति र देशभक्तिले वि.पि.लाई विदेशीको ईशारामा हैरान पार्ने, पक्रने थुन्ने र अकालमा मार्ने काम गर्‍यो । राजा महेन्द्रको मृत्यूवरण देश भक्तिकै कारण अकालमा भयो । सेना दुधको साक्षी बिरालो नभएको भए राजतन्त्र जाने थिएन । जनमत संग्रहको माग र अडान नराख्नु हाम्रो ठूलो भुल भयो । संघीयता र धर्मनिरपेक्षताको विपक्षमा सेनाले मत जाहेर गर्‍यो । तर अड्न सकेन ।

अब नेपाली सेनाले मुख खोल्नुपर्‍यो–

“राजासँग एउटा सम्झौता गर्ने र उनैलाई खेल मैदानबाट गलहत्याएर विदेशीसँग १२ बुँदे सम्झौता गर्ने गराउने षड्यन्त्रको अब पर्दाफास् गरिदिनुपर्‍यो।”

“तत्कालिन माओवादीले राजा–सेना–माओवादी त्रिशंकु नयाँ शक्ति निर्माण गरेर बाँकी शक्तिलाई जेल चलान गर्न राखेको प्रस्तावलाई राजाले प्रजातन्त्र मार्न हुँदैन भनेर दिएको दृढ जवाफ र अडानको पर्दाफास गरिदिनुपर्‍यो ।”

पर्दाफास गर्नुपर्ने मसलाहरु अरु धेरै छन् । जीवित पूर्व शासकहरु सबैको जासुसी भूमिका र परदेश सेवाको खातिर राष्ट्रघाती निर्णय, कदम र परिणामको समेत पर्दाफास हुनुपर्‍यो । तर सैनिक शासन र अर्को कुनै रुपको निरंकुशबाद जनताको चाहना होइन । यो केवल शान्ति र सुशासनको चाहना हो । सम्वृद्धि स्वत: प्राप्त हुने कुरा हो । नेपाली सेना कसैको बहकाउ र उक्साउमा महत्वकांक्षी हुनुहँुदैन । तर परिवर्तनकामी जनताको आशा अपेक्षालाई मिहिन अध्ययन विश्लेषण गरेर संवेदनशील, जनउत्तरदायी र जवाफदेहि सरकार स्थापनाको लागि सहयोगी भूमिका निर्वाह गरेर शान्तिकामी पीडित दिन दु:खी जनताको रक्षा सम्मान कल्याणमा योगदान गर्न तत्पर रहनुपर्दछ । राष्ट्रिय सुरक्षा परिषदको सक्रियता र ईण्टेलिजेन्स एजेन्सीको सवलीकरणमा जोड दिनुपर्दछ ।

यही मौका हो सशस्त्र प्रहरीले राजनीतिक उद्देश्य र सेवाबाट अलग्गिएर आम जनताले अपेक्षा राखेको बहुप्रतिक्षित सीमा सुरक्षामा आफ्नो जनशक्ति श्रोत साधन केन्द्रित गर्ने ।

राजनीतक पदधारण गर्ने पूर्व भि.भि.आई.पि., भि.आई.पि.हरुलाई दिएको सुरक्षा डफ्फा पूरै खिचेर सीमा चौकीमा तैनाथ गर्नु बान्छनीय हुने छ । पूर्व र बहालवाला प्रधानमन्त्री मन्त्रीगणलाई सेना, सशस्त्र प्रहरी, प्रहरी कसैले पनि पोसाकधारी सुरक्षाकर्मी दिएर सार्वभौम मुलुकमा राष्ट्रिय संस्थाको स्वाभिमान जनशक्तिको मान र सान हानी गर्नुहुँदैन । खुफिया एजेन्सीका एजेण्ट र अपराध अथवा अपराधीका संरक्षकहरुको व्यक्तिगत सुरक्षाका नाममा भइरहेको सुरक्षाकर्मीहरुको चरम दुरुपयोग र अवमूल्यन अबिलम्ब बन्द गर्नुपर्दछ ।

अन्यथा सुरक्षा निकायहरु आफै अपराधको संरक्षक भन्ने सन्देश प्रवाह हुने छ ।

राष्ट्रिय मान सम्मानको खडेरी भए पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको ईज्जत माथि उठाउने र छवि उजागर गर्ने हाम्रा सुरक्षा निकायहरु राष्ट्रिय धरोहर हुन् राष्ट्रियताको प्रतीक हुन् । राष्ट्रका गौरव हुन् र जनताका पूँजि हुन् ।

तसर्थ, असफल उन्मुख राष्ट्रको सुरक्षा निकायहरुले देश र जनतालाई यो गम्भीर संकटबाट उद्धार गर्दै राष्ट्रिय सुरक्षाको ईमान्दार पहरेदार भई मुलुकको अस्तित्व रक्षार्थ विशेष योगदान र त्याग गरेर देखाउनुपर्दछ । अकर्मण्य र असफल सरकारको होइन, जनताको मनमश्तिष्क जितेर देश रक्षामा समर्पित हुनुपर्दछ ।


Like it? Share with your friends!