२२ अप्रिल आउन ठीक ५ महिना बाँकी छ । त्यो दिन विश्व पृथ्वी दिवस । विश्व वातावरण बचाऔं, धर्ती मातालाई बचाऔं भन्ने सुन्दर नारा समातेर दिवस मनाउन शुरु गरेको गत २२ अप्रिलमा ७० वर्ष पूरा भएको छ । सन १९७० को २२ अप्रिलमा अमेरिकाले एक्लै यो दिवस मनाउन शुरु गरेको थियो । ५० वर्ष पछि पनि विश्वका १९३ देशले यो दिवस भव्यसाथ मनाउदै आएका छन् । दिवसको औचित्य सान्दर्भिकता हरेक वर्ष झन् बढ्दो छ ।
तर डोनाल्ड ट्रम्पको शासनकालमा धेरैको अमेरिकालाई प्रश्न छ– “कुनै दिन एक्लै पवित्र र गर्विलो नारा समातेर शुरु गरेको दिवसको भावना र मर्म माथि किन आज आफैले धारिलो चुप्पी प्रहार गरेको ? किन धामी, झाँक्री, डाक्टर र बिरामीको रोमाञ्चकारी नाटक आफैले गरिरहेको ?”
राष्ट्रपति डोनाल्ड ट्रम्पले न त प्रकृति न त विश्व वातावरण संरक्षणलाई प्राथमिकता दिए । उनलाई कोईला तेल खनिज उत्खनन गरेर अस्तव्यस्त धर्तीमा उत्पादन बढाउने र धन कमाउने मोहले पागल बनायो । विश्व वातावरण र विश्व स्वास्थ्यलाई ठाडो चुनौती दिने विचित्रका राष्ट्रपतिसँग पृथ्वीले खोई के अपेक्षा गर्ने हो ? अमेरिकन प्रकृतिप्रेमी मित्रहरुले आफ्नो जिज्ञाशा यसरी मेटाईदिए–
“उनी विज्ञानका विद्यार्थी होइनन् ।
उनलाई विज्ञानको ज्ञान छैन ।
वातावरण उनको एजेण्डा होइन ।
पृथ्वी नङ्ग्याउने सिध्याउने उनको व्यापारिक रोडम्याप हो ।
अमेरिकाले उत्सर्जन गर्ने हरित गृह ग्याँसको दोष समेत उनी हाक्काहाक्की अरु राष्ट्रलाई दिन्छन् ।” सुनिनसक्नु । पत्याईनसक्नु । तर व्यवहारमा ट्रम्प यसैगरी निस्ठुरी भएर उत्रिए । संसारलाई चक्मा दिए ।
विश्व मानव जातिको एक मात्र जननी मातृभूमि धर्तीमातालाई लात हानेर नयाँ नयाँ ग्रहको खोजी गर्ने ट्रम्प र उनका पागल वैज्ञानिकलाई के उपमा दिने ?
पृथ्वी समाप्त पारौं । भविष्यलाई नयाँ ग्रहको खोजि गरौं भन्ने पागल सन्ततिसँग पृथ्वीको चित्त दु:खाई र पीडा कति होला ? सायद अनुमान बाहिरको कुरा।
प्रकृति विरोधी ट्रम्पलाई प्रकृतिप्रेमी मतदाताले सजाय दिएर हुनुपर्दछ उनले नसोचेको र नचाहेको पराजय भोग्नुपर्यो । प्रकृति विरोधी मान्छे कहिल्यै उँभो लाग्दैन भन्ने बुढापाकाको कहावत ट्रम्पलाई लागू भयो । प्रकृति बिरुद्धको ऋण र पापको श्रृङ्खला शुरु हुन बाँकी नै छ भन्छन् जानिफकारहरु । उनको विश्व स्वास्थ्य विरोधी भावनाको भो यहाँ कुरा नखोलौं ।
जलवायु परिवर्तनले पृथ्वी तहसनहस हुने अवस्थामा पुगिसकेको र त्यसको प्रभावले वर्षेउनी आफ्नै देश अमेरिकालाई सताउने गरेको सत्य ट्रम्पलाई थाहा नहुने कुरै भएन । प्राकृतिक बिपद्ले पूर्ण तयारीका बाबजुद् वर्षेउनी हजारौंको संख्यामा ज्यान लिने, लाखौंको संख्यामा घरबारबिहिन बनाउने र अरबौ खरबौं रुपमा क्षति गराउने नियति अमेरिकाको वार्षिक रुटिन जस्तै भएको छ । मे २२, २०११ मा टोर्नाडोले मिजौरी राज्यमा १५८ को ज्यान लियो । १ हजार बढीलाई घाईते तुल्यायो । ६९५४ घर ध्वस्त पार्यो । मे २०, २०१३ मा ओक्लोहामामा २४ जनाको ज्यान लियो । २१२ बढी घाईते बनायो र ३०० घर ध्वस्त बनायो । अगष्ट २९, २००५ मा कैट्रिनाले न्यू ओर्लिएन्समा १४६४ को ज्यान लियो । ८०–९० प्रतिशत बासिन्दालाई शहर छाड्न बाध्य पार्यो ।
यो वर्षमात्र क्यालिफोर्नियामा ८८३४ भन्दा बढी डढेलोको घटना घटे । डढेलोले ४१, ४९, ३४५ हेक्टर क्षेत्रफलमा फैलिएको जङ्गल स्वाहा भयो । ३९ जनाको ज्यान गयो । क्षतिका यी केही प्रतिनिधि घटना हुन् ।
अमेरिकामा हरेक बिपद्को मिति तिथि प्रकार शक्ति एवं बिगार गर्ने क्षमताको दुरुस्त पूर्व जनाउ हुन्छ । अनिवार्य पूर्ण सावधानी र सतर्कता अपनाउन लगाइन्छ । तैपनि बिरामी ‘मदर अर्थ’ लाई बिपदले हैरानी खेलाउदछ । त्यही नियति भोग्नुपर्यो गतवर्ष अष्ट्रेलिया, युरोप र ब्राजिलले पनि ।
तर दु:खको कुरा ‘जलवायु परिवर्तन’ को पेचिलो मुद्दा प्रति आफूले उदाहरणीय नेतृत्व दिएर विश्व नेताहरुलाई गम्भीर र जवाफदेही बनाउनुको सट्टा ट्रम्पले उक्साउने र भड्काउने पाप गरे । मदर अर्थ र प्रकृति उपर ठाडै झेली र अन्याय गरे । त्यसैले उनले बहिर्गमन अगाडि प्रकृतिप्रति क्षमा याचना गर्न जरुरी छ ।
धन्य, प्रकृतिको सत्य; अमेरिकाले प्रकृति र संरक्षणप्रेमी संवेदनशील राष्ट्रपति पाएको छ । वातावरणीय मुद्दालाई एजेण्डा बनाएर अत्यधिक मतले विजयी नया राष्ट्रपति बाईडेनले प्रकृति र वातावरण रक्षामा ठूलो योगदान र त्याग गर्ने अपेक्षा राखिएको छ । हिरोसिमा होइन पृथ्वी उपर खसालिएको मानवताविरोधी एटम बम होस् वा आणविक लगायतका हतियार उत्पादन र परीक्षण, अमेरिका सबैभन्दा बढी ऋणी छ पृथ्वी र प्रकृतिको । रुस चीन भारतको ऋण पनि उस्तै तिरिनसक्नुको छ ।
प्रकृति र जैविक विविधताको धनी देश नेपालको आफ्नै दु:खको कथा व्यथा छ । यहाँ पनि विज्ञानको भुत्लो भाङ्ग्रो ज्ञान र विवेक नभएका आलाकाँचा सरकारको कमाईखाने र लुटिखाने भाँडो भएकी छिन् प्रकृतिमाता । वन जङ्गल वन्यजन्तु र जल जमिनको उत्खनन बेचबिखन र लुटपातले सुन्दर धर्तीमातालाई थिलथिलो र कुरुप बनाइसकिएको छ ।
यो वर्ष मात्र महामारी बिर्साउने गरेर अतिवृष्टि भिर पहिरो बाढीले मुलुकलाई छिया छिया पार्यो र ठूलो जनधनको क्षति बेहोर्नुपर्यो । अर्को बर्षको विपद्को त्रासले हिउँददेखि जनताको भोक निन्द्रा हराएको छ । बिडम्बना, सरकार विपद्को कारण पत्ता लगाउन र सुरक्षात्मक उपाय अपनाउन अग्रसर छैन । उल्टो प्रकृतिको दोहन र विनाशमा हिस्सेदार भएर बोनस खाएर बसिरहेको छ ।
यो भन्दा उदेक लाग्दो र गैर जिम्मेवार कुरा अरु के हुन सक्दछ ?
विश्वलाई लोभ्याउने सुन्दर प्रकृतिको रक्षा गर्न हामीलाई के ले छेकेको होला ? हिमाल जल जमिन जङ्गल र जंगली दूर्लभ सुन्दर वन्यजन्तु जोगाईदिए पर्यटन फष्टाउने छ र पर्यटनले नेपाल पालिने छ । विश्वका हरेक नागरिकको नेपाल अपरिहार्य गन्तव्य हुने छ । तिनका आँखा मन मुटु र क्यामरामा हाम्रो सुन्दर प्रकृति कैद हुने छ ।
तर प्रकृतिप्रति हामी कति आस्थावान र सम्वेदनशील छौं ? हिमालमा थुप्रिएको फोहोर, वागमतीको पानी, राजधानीको हावा र जल जमिन जंगल र वन्यजन्तुको विनाश हेरे पुग्छ । पुर्खाको प्रसाद, नेपालको प्रतीक, सम्वृद्धिको आधार एक सिङ्गे गैंडा समेत हामीलाई काउचो भएजस्तो छ । जङ्गल फँडानी र चुरे विक्री पैठारीमा सरकार आफैं कम्मर कसेर लागिरहेको छ । प्राकृतिक बिपद् निम्त्याउन सरकार आफैं उद्यत छ र बिपद्बाट कमाउन पनि उ सिपालु छ।
धर्ती माताको चरम शोषण । पृथ्वीलाई हदै सम्मको अन्याय ।
सिक्नुपर्ने पाठ
स्वीट्जरल्याण्ड बनाउने नेता किरासरी आए नेपालमा । स्वीट्जरल्याण्ड बनाइदिन्छु भनेर गुड्डी हाँक्ने र सडकमा कुर्लिने ती नेताहरुलाई सानो जिज्ञाशा राख्न चाहन्छु ।
“स्वीट्जरल्याण्डमा जस्तो प्रकृतिलाई पुजा आराधना गरौं । जल जमिन जङ्गल जनावरलाई नछोऔं नचलाऔं र जस्तो छ त्यस्तै रहन दिउँ । सुन्दर प्रकृति स्वीट्जरल्याण्डको प्राकृतिक ब्राण्ड हो । त्यहाँको प्रकृति हरेक मानिसको अनिवार्य रोजाईको गन्तव्य हो । शान्तिको आधार प्रकृति हो ।
नेपाल प्राकृतिक सौन्दर्यतामा धेरै गुणा माथि छ । यहाँको प्रकृति ज्यादै विचित्रको, सुन्दर, साहसिक र अलौकिक छ । एक वर्ष होइन हरेक वर्ष अथवा धेरै वर्षसम्म पर्यटकलाई लोभ्याउने खालको छ । यसको जगेर्ना र रक्षा मात्र भए पुग्दछ । ‘प्रकृति’ नेपालको दरो र अबिस्मरणीय ‘ब्राण्ड’ हो । नि:शुल्क प्राप्त ‘ब्राण्ड’ । तसर्थ, सरकार प्रकृति रक्षाप्रति आस्थावान, संवेदनशील र जवाफदेही हुन जरुरी छ । किनभने प्रकृतिको ब्राण्ड सबैभन्दा ठूलो र मूल्यवान उद्योग हो । यसलाई मासेर गर्ने उद्योग र कृषिको सस्तो उत्ताउलो नारा कोरा सपना हो । मानवताविरोधी प्राकृतिक अपराध हो । सुख शान्ति समाप्तीको कुबाटो हो ।
स्क्याण्डेनभियन मुलुकहरुको प्रकृतिप्रेम र प्रकृति रक्षाबाट उनीहरुले प्राप्त गरेको शान्ति र सम्वृद्धिको पाठ सिक्न सक्दछन् विश्वका बाँकी मुलुकले । नेपालको हकमा उनीहरुले उक्साएको द्वन्द्वले प्रकृतिको ठूलो नोक्सानी गरेको सत्य प्रति उनीहरु सचेत छन् र एकदिन बिछिप्त प्रकृतिलाई ऋण तिर्ने छन् भन्ने आशा गरौं । तर प्रकृति रक्षा र पूजाको पाठ उनीहरुबाट सिक्न सके नेपाल संसारको स्वर्ग हुने अवश्यम्भावी छ ।
पाठ सिक्न अब धेरै टाढा जानुपर्दैन । नजिकको उस्तै हिमाली पहाडी देश भुटानको पदमार्ग पछ्याए नेपाल स्वर्गमा परिणत हुने छ । ७२ प्रतिशत वन जङ्गल रक्षा गरेर प्रकृतिको अटुट र अनिवार्य पुजा आराधना गर्ने सानो भुपरिवेष्ठित देश भुटानमा न महामारीको प्रकोप न त प्राकृतिक बिपदको । प्रकृतिलाई भुटानले आफ्नो ‘स्मार्ट ब्राण्ड’ बनाएर विश्वलाई चकित् तुल्याएको छ । खाते होइन क्वालिटी टुरिष्टको गन्तव्य बनाएको छ भुटानले आफ्नो मुलुकलाई ।
तसर्थ, आजसम्म मनाईएका विश्व पृथ्वी दिवसलाई सार्थक बनाउदै आफ्नो धर्तीमाताको मुहार उज्यालो र हँसिलो राख्न नेपालले प्रकृति संरक्षणलाई हमेशा उपल्लो प्राथमिकतामा राख्न अपरिहार्य छ । धर्ती उज्यालो र खुशी हुनु भनेको मुलुक र मुलुकवासीको सुख शान्ति र सम्वृद्धि हो ।”
अन्तिम पुकार
१९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न भव्य पृथ्वी सम्मेलन होस् अथवा पेरिस संझौता र हालै न्यूयोर्कमा सम्पन्न यु.एन. सम्मेलन ; तिनले उठाएका मुद्दा र आ–आफ्ना प्रतिबद्धता प्रति ईमान्दार रहन विश्व नेताहरुलाई हार्दिक पुकार गर्दछु ।
पृथ्वी बोल्ने भए सत्य उजागर गरिदिने थिईन्– “पृथ्वीका कट्टर दुश्मन विश्व नेताहरु हौ । डोनाल्ड ट्रम्प त्यसको नाईके हौ । हरेक सम्मेलनमा मिठो भाषण गर्ने र ग्लोबल वार्मिङ्ग कम गर्ने प्रतिबद्धता जनाउने र व्यवहारमा झन् धेरै धुँवा र प्रदुषणको मुस्लो उडाएर पृथ्वीको खिल्ली उडाउने नालायकहरु तिमीहरु हौ । आणविक हतियार क्षेप्याश्त्र उत्पादन गर्ने, थुपार्ने, पड्काउने र पृथ्वीलाई अन्धो कानो बैरो अपाङ्ग बनाउने ठग् र मुर्खहरु पनि सरासर तिमीहरु हौ । विज्ञानको मात्, प्रविधिको मात्, विकासको मात्ले धर्तीमातालाई बराबर लात् हान्ने अहंकारी पनि तिमीहरु हौ । तिमीहरु छिटो सच्चिन जरुरी छ ।”
म्याद पुगेका विषादी विश्व नेताहरुले आफ्नो उमेर र बाँकी थोरै समयको मात्र हेक्का राख्दा भावी सन्ततीलाई ठूलो र गहिरो पिरमर्का परेको छ ।
हेक्का रहोस्, यो पृथ्वीमा ज्यादै थोरै हिस्सा तपाईहरुको छ । किनभने तपाईहरुको प्राकृतिक समय कम छ । तर, ठूलो हिस्सा युवाहरुको छ । ती भिजनरी युवाहरुलाई नेतृत्वमा पुग्न म्याद तुरिएका पाकाहरुले नदिएको अर्को ध्रुवसत्य हो । पृथ्वीको सबैभन्दा लामो भोगचलन समय बालबालिकाको हो । जसको ईशारा र माग अन्धा बैरा नेताहरुले सुन्दैनन् अथवा नसुनेको बुझ् पचाउदछन् । चुरो समस्या यही हो । पृथ्वीको रोग पनि त्यही हो ।
आणविक हतियार उत्पादन र परीक्षणको होइन विश्व शान्तिको होडबाजी होस् । पृथ्वी रक्ताम्य पार्ने विनाशकारी युद्धको होइन प्रकृति रक्षा र सफाई एजेण्डा बोकोस् अब विश्वको प्रकृति र संरक्षणप्रेमी सेनाहरुले । जल जमिन जङ्गल वायु आकाश पात्ताल ध्वस्त होइन प्राकृतिक सजिसजाउ गरेर पवित्र राख्न योगदान गरुन् विश्व सैनिक नेतृत्वहरुले । र, बालबालिकाको भविष्य सम्झेर अर्को ग्रह होइन सुन्दर पृथ्वीको रक्षा सम्मान कल्याणमा दत्तचित्त हुन् नयाँ अमेरिकन राष्ट्रपति जो वाईडेन र विश्व नेताहरु । सबैले साझारुपमा पूकारुन्– “जय विश्व पृथ्वी दिवस । जय धर्तीमाता । जय प्रकृतिमाता ।”