मेरो रानीलाई हार्दिक श्रद्धाञ्जली
आज मेरो १ छाकी ।
अन्धकार दिन । दिउसै अंधेरो । भोक हराएको दिन । निन्द्रा हराएको दिन । अमिलो मन । अंधेरो मुख लगाइरहेको दिन ।
आज आफू पढेको सल्लाघारी आर्मी स्कूलको मित्रहरुको भेला र सम्मेलन । नाच्ने गाउने हँसाउने पात्र म । आजै साँझ मेरो क्लबको नयाँ वर्षको जमघट् । त्यहाँ पनि जोक्कर देखाउने र माहौल बनाउने भूमिका मेरो । तर, आजै कर्ण सकरात्मक सोच (के पि टी) जुम मिटिङ्गमा मेरै बक्तब्य दिने पूर्व निर्धारत पालो । ज्यादै महत्वपूर्ण कार्यक्रम मेरो लागि ।
आज नै मण्डिखाटार टेनिस क्लबमा आत्मीय मित्रहरुसँग टेनिस खेलबाड र खाईपिई रमाईलो कार्यक्रम थियो ।
यति धेरै र सुन्दर कार्यक्रमको दिन मलाई अंधेरो मुख लगाउनुपर्यो । जुम् मिटिङ्गको अन्तिममा मैले भेद खोलें–
“आज मेरो एक छाकी । पितामाताको पनि एकछाकी रे ।” श्रीमती पनि हामी सबैलाई देखेर स्तब्ध थिईन् ।
पितामाता हुँदाहुँदै मैले छाक छाडें । पुत्रलाई साथ दिए मातापिताले ।
हामी सबैले छाक छाडेर पर्सा सडक दुर्घटनामा परि मृत्यु भएको अवोध पाटे बघिनीलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्यौं । पाटे बघिनीको दुर्घटनाले मेरो मुटु छिया छिया पार्यो । बाघ गोठालोलाई त्यो भन्दा बढी पीडा अरु के हुन्छ र ?
जङ्गली रानी ठहरै
पुष १८ (जनवरी २) शनिबार सफा मौसम । चहकिलो घाम । निलो आकाश । तराई (पर्सा) मा समेत शीतलहर हुस्सु नभएको सफा बिहानी ।
पर्सा राष्ट्रिय निकुञ्जको पूर्व–पश्चिम राजमार्गमा कारसँग ठोक्किएर अन्दाजी ७/८ वर्षकी पाटे बघिनीको ठहरै मृत्यू भयो । सिरियस हेड् ईन्ज्युरी, फोक्सो क्षत् बिक्षत् र अत्यधिक आन्तरिक रक्तश्राव भएकोले बघिनीले ऐया भन्न नपाएको दुघर्टनाको प्रकृतिले देखाउदछ । यति खराब दुर्घटनाको कारण एउटै मात्र हुन सक्दछ– तीव्र गतिको कार ।
बघिनीको मनोविज्ञान बुझ्नै पाईएन । तर शारीरिक अवस्थाले उनी मस्त तरुनी थिईन् । शारीरिक सुगठन ज्यादै स्वस्थ खुशी र सुखी देखिन्थ्यो । उनी भाले बाघको खोजिमा भौंतरिदै पश्चिमबाट पूर्व जादै थिईन् । दूर्भाग्य ∕ हरियो जङ्गलकी रानीको मृत्यू चिल्लो कालोपत्रे सडकमा हुन भागीले लेखेको रहेछ । बाघको ईतिहासमा दुर्लभ अगति मरण । मेसिनसँग ठोक्किएर मृत्यू, ज्यादै अस्वभाविक अन्त्य । अकाल बैंसमा काल, असामायिक निधन । नयाँ वर्षको प्रारम्भमा अशुभ संकेत । शुभ बिहानीको ज्यादै विश्मयकारी दुर्घटना ।
हार्दिक श्रद्धाञ्जली
जुम मिटिङ्ग मार्फत आफ्नो पीडा पोख्दै मृत बघिनीलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरें । विश्वनाथ उप्रेती सरको अनुहारमा बाघ पीडा देखिरहेको थिएं ।
बाघ विज्ञ र संरक्षणकर्मी मित्रहरुलाई फोन गरेर श्रद्धाञ्जली दिएँ । पर्सा राष्ट्रिय निकुञ्जका चीफ् वार्डेनलाई श्रद्धाञ्जली सहित शुभेच्छा र शुभकामना दिएं ।
कम दूरी र पहुँच भएको भए झण्डा ओढाएर सलामी दिने थिएँ । खुट्टा समातेर मृत आत्मासँग माफी माग्ने थिएँ । यस्तो गल्ती लाहापर्वाही अब आईन्दा नहुने संकल्प गर्ने थिएं । विधिपूर्वक भव्य अन्त्येष्टी गर्न गराउन माग राख्ने थिए ।
[showhide]
[/showhide]
जता खाल्डो उतै पानी
त्यो दुर्घनाले संचार माध्यमको राम्रो ध्यानाकर्षण गर्यो । सोसल मिडिया सबैमा समाचार छापियो । कति चुस्त दुरुस्त मिडिया । तर तिनै मिडिया, राजनैतिक नेतृत्व, ब्युरोक्र्याट्स, टेक्नोक्र्याट्स र नेपाली सेनाले समेत विगतका क्षतिपूर्ण दुर्घटनाहरु भसक्कै भुलिसकेको महशुस भयो । जता बाघ मर्यो उतै कठैबर । एकछिनलाई समाचारको ओईरो । भोलिपल्टबाट ध्यान अन्यत्रै । त्यत्रा दुर्घटना चटक्कै भुल्न सक्ने हामी ।
यो भन्दा अगाडि पर्सा राष्ट्रिय निकुञ्जका २ वटा पाटे बाघले सडक दुर्घटनामा ज्यान गुमाईसके । अहिले हामीले तिनलाई चटक्कै भुलिसक्यौं । पर्सा उसैपनि बाघको लागि कठिन र काम चलाउ बासस्थान हो । पानीको धनी देशले प्रकृतिका अमूल्य उपहार बाघलाई खान खेल्न पर्याप्त पानी दिन नसक्नु त्यसैपनि लज्जास्पद कुरो । त्यही हैरानी भोगिरहेका छन् बाघका आहार प्रजातिले । उस्तै कष्टप्रद जीवन बिताउन बाध्य छन् पर्सामा ‘नेपालका प्रतीक गैंडाहरु ।’ जाबो पानीको मामुली व्यवस्थामात्र गरिदिने हो भने पर्सा राष्ट्रिय निकुञ्ज स्वर्ग हुने थियो बाघ, गैंडा लगायतका वन्यजन्तुहरुको लागि ।
विचरा बघिनी कहाँ जावस् ? उत्तरतर्फ जाउँ सुरक्षा पोष्ट छैनन् । चोरी शिकारीको बिगबिगी छ । तस्कर र मफियाहरुको कब्जामा छ निकुञ्ज । वरिपरि बस्ती र क्रसर उद्योगको अतिक्रमण । त्यसैले उसले निकुञ्ज हेड्क्वाटर र गण हेड्क्वाटरको सुरक्षा सहारा लिएको देखिन्छ । किनभने हेड्क्वाटर कै सामुन्ने नजिकै भएको दुर्घटनामा उसको प्राणपखेरु उड्यो ।
गत वर्ष बर्दिया राष्ट्रिय निकुञ्जको यहि पूर्व पश्चिम राजमार्गमा भएको सडक दुर्घटनाले एउटा बलिष्ठ र स्वस्थ पाटे बाघको प्राण लियो । त्यो घटना पनि हामीले चटक्क भुलिसक्यौं ।
जता खाल्डो उतै पानी भने झैं अहिले पर्साको दुर्घटनामा मृत बघिनीले खोई कतिको ध्यान खिच्न सकेकी छ ?
धेरै प्रकृति र वातावरणविद्हरुको मन अवस्य दुखेको छ । त्योभन्दा धेरै मन संरक्षणकर्मीहरुको दुख्ने नै भयो । क्षेत्रीय, अन्तर्राष्ट्रिय बाघ संरक्षण सञ्जालको गहिरो चित्त दुखेको हुनुपर्दछ भन्ने कुरामा दुईमत रहेन ।
प्रकृतिको सर्वोच्चता स्वीकार गर्नैपर्ने आजको दिनमा सूचना प्रविधिको पँहुचले होला दूरदराजका सामान्य जनता, किसान, शिक्षक, विद्यार्थीहरुको समेत चिन्ता चुलिएको देखें । किनभने धेरैले सोसल मिडिया मार्फत बघिनीलाई श्रद्धाञ्जली अर्पण गरेको देखें । कतिपयले फोन गरेर पीडा पोख्नुभयो । प्रकृति रक्षाको सचेतना अभिवृद्धि भएको सकरात्मक संकेत हो यो ।
यो पनि पढ्नुहोस:हाम्रो बाघ : हाम्रो सान
सरकारको चित्त दुख्यो कि दुखेन ?
फिल्ड कार्यालय र फिल्ड फ्रण्टलाईन स्टाफको चित्त सबैभन्दा धेरै दुखेको कुरा उनीहरुको मनोविज्ञानबाट प्रष्ट बुझ्न सकिन्थ्यो । फिल्डस्थित निकुञ्ज प्रशासन कार्यालय को चेन अफ कमाण्डलाई जानीबुझिकन नेतृत्वबिहीन राखिएको छ वर्षौं देखि । फिल्ड बिलकूल अभिभावक र नेतृत्वबिहीन छ । न बाघ दुर्घटनाको फैसला गर्न, न त कोशीटप्पुमा मकुना हात्तीलाई मत्थर पार्ने निर्णय दिन विभागमा असली नेतृत्व छ । विभाग माथिको वन प्रशासन झन् चिर निन्द्रामा छ । वनको नयाँ राजनीतिक नेतृत्वको यो प्राविधिक निर्णय दिने कामै होइन ।
स्वयं सेवकको हैसियतले आफूले पूर्व माननीय मन्त्रीसँग महानिर्देशक माग गरे जुम मिटिङ्ग मार्फत पटक पटक । सचिवले ‘मेरो हातमा केहि छैन’ भनेर बार बार टक्टकिनुभयो ।
तसर्थ, सरकारको प्राथमिकता के हो ? व्यस्तता कस्तो हो ? चिन्ता के को हो ? महामारीले पीडित मानव उपेक्षित भइरहेको बेला कठैबर बाघलाई सम्झना गर्न कसलाई फुर्सद ?
भारतको र्यान्थमबोर टाईगर रिजर्भमा मछली (र्यान्थमवोरकी महारानी/लेडी अफ द लेक) बघिनीले विश्वको ध्यानाकर्षण गरी । तमाम् पर्यटकलाई खुशी पारेर सम्वृद्धि ल्याईदिए बापत् राष्ट्रिय कदर सम्मानहरुबाट बिभुषित भई र २० वर्षको उमेरमा प्राकृतिक मृत्यूवरण गरी २ वर्ष आगडि । उसको शवलाई सरकार, स्थानीयवासी र संरक्षणकर्मीहरुले फूलमाला अविर चढाएर एक भव्य समारोहका बीच दाहसंस्कार गरे ।
छिमेकी मुलुकमा दर्जनौ बच्चा दिएर सम्वृद्धि दिने गहिरो अभिलाषा बोकेकी भर्खर बैंस फुरेकी बघिनी अनायास अकालमा कालोपत्रे सडकमा तीव्रगतिको कारसँग ठोक्किएर मुटु फुटेर मर्दा राज्य र सरकारले सम्झना समेत नगर्ने ? कति पापी हामी ?
यो पनि पढ्नुहोस:बाघमारा नियन्त्रणको नयाँ अभिभारा
हुनुपर्ने के थियो ?
सडक दुर्घटनाबाट पहिलो बाघको मृत्यू भएपछि दोश्रो बाघ मारिनु हुन्थेन । विभागको पहलमा बाघ विज्ञ, संरक्षणविद् र सरोकारवाला निकायहरुले सभा–सम्मेलन गरेर सडक दुर्घटना शून्य गर्ने उपायहरु खोजि, सिफारिस र लागू गरेर बाँकी बाघहरुलाई अनिवार्य सुरक्षाको प्रत्याभूति सुनिश्चित गनुृपर्ने थियो । गम्भीरताका साथ यति काम गरिएको भए एकपछि अर्को दुर्घटना र क्षति हुने थिएन ।
नेतृत्वबिहिन विभाग आफ्नो दायित्व र भूमिकाबाट बिमुख हुँदा स्थानीय निकुञ्ज प्रशासन र सुरक्षा गणले आफ्नो पहलतामा स्वविवेक र स्वनिर्णयको प्रयोग गरी प्रतिभा र सृजना मिसाएर दुर्घटना न्यूनीकरणको उपाय अपनाउनुपर्ने थियो । तर विभाग सुस्त र निस्क्रिय भएको मौका छोपी स्थानीय तह र संरक्षण साझेदार संघ–संस्थाहरु पनी कानमा तेल हालेर चिर निन्द्रामा गएको देखियो । प्रकृति संरक्षणमा त्यो स्वीकार्य र ग्राह्य हुनै सक्दैन ।
यो पनि पढ्नुहोस:बाघले लेख्यो पत्र: सरकार अलपत्र
अब के गर्ने ?
देशभरि बेमौसमी आन्दोलन भईरहेको बेला यो बघिनीले पनि बीच सडकमा आन्दोलनको झल्को दिने गरी धेरै लिटर रगत छादेर न्यूनतम् माग राखेकी छ–
“हाम्रा सन्तानलाई रीत पुर्याएर, शान्ति सुरक्षा दिएर, खुशी पारेर पाल । विश्व संरक्षण समुदायलाई उत्कृष्ट ‘बाघ व्यवस्थापन र संरक्षण’ को नमूना देखाउ । वातावरण सन्तुलन, प्रकृति रक्षा र सम्वृद्धिको ढोका हामी खोल्ने छौं ।”
बघिनीले आफू मरेर जोडदार माग राखेकी छे–
“छिटो महानिर्देशक देउ । बाघ विज्ञहरुको भेला राखेर भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदेउ ।
शक्ति कि प्रतीक दुर्गामाताकी बहान सडकमा पछारिएर मर्दा नास्तिक होइन, सानो सहानुभूति राखिदेउ ।”
बघिनीका यी न्यूनतम तर ज्यादै सामान्य र स्वभाविक मागहरुलाई मनन् र आत्मसात् गर्दै तत्काल निम्न कामहरु गरेर थप दुर्घटना एवं क्षति रोक्न पहल गर्नुपर्दछ ।
निकुञ्ज भित्रको घना जङ्गलमा सोलर बत्ती जडान गरेर सडकलाई चकिलो उज्यालो पारिदिदा ड्राईभर र बाघ दुवैलाई दुर्घटना छल्न सजिलो हुने छ । कालो पत्रे सडकमा ‘ईल्युमिनेटिङ्ग क्याट आईज्’ बत्ती फिट गरिदिदा बाघलाई सडक मनपर्ने छैन । सडक विभागले बाक्लो बल्ने साईनपोष्टहरु राखिदिदा त्यसले ड्राईभरलाई सतर्क र सावधान रहन झक्झकाई रहनेछ ।
पर्सा, बाँके र बर्दियाको लामो जङ्गल यात्रामा समय सीमा कार्ड प्रयोग गरेर गति सीमित (४०) गर्ने प्रणाली अपनाउनु बान्छनीय हुने छ । अझ सफल कार्यान्वयनको लागि बीचबीचमा अस्थायी पोष्ट, र्याण्डम् चेकिङ्ग र डमी गार्ड समेत राख्न सकिन्छ । फिजिकल सुरक्षालाई रिईन्फोर्स गर्न र दुर्घटनापछि प्रमाण जुटाउन सि.सि.क्यामरा अनिवार्य जडान गर्नुपर्दछ ।
राज्यले निकुञ्जभित्र लिनियर पूर्वाधार निर्माण गरेर ठूलो त्रुटी गरिसकेको छ । अब नयाँ निर्माणलाई स्वीकृति नगर्ने अनिवार्य नीति हुनुपर्दछ । तत्काललाई समेत गाईडिङ्ग फेन्स, ओभरपास र अण्डरपासको अनिवार्य प्रावधानलाई प्राथमिकता दिईनुपर्दछ । हालसम्म एउटा पनि दुर्घटना नभएको कसरा–माडी सडकलाई चौडा र कालोपत्र गर्नुहुंदैन ।
हालसम्म सडक दुर्घटना भई मृत्यूवरण गरेका बाघहरुको दुर्घटनास्थलमा आकर्षक स्मारक बनाई सावधान र गति सीमित लेखेर ड्राईभरहरुको ध्यान खिच्न सकिन्छ । मृत बाघहरुको प्रतीकलाई ‘स्मारक’ राष्ट्रिय सम्मान हुने छ ।
बाघको प्राकृतिक वा अप्राकृतिक मरणलाई सम्मान दिन र अन्त्येष्टीमा भाग लिन वनमन्त्री, वन सचिव अथवा महानिर्देशक मध्ये तीन अथवा दुई, नत्र कम्तीमा १ जनाले सहभागिता जनाउनु उपयुक्त हुने छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिबेसमा ‘बाघ संरक्षण संकल्प’ प्रति नेपालको प्रतिबद्धता जाहेर हुने छ ।
आशा गरौं नेपालको बाघ लगायत वन्यजन्तुहरुको कार्यकारी विभागमा महानिर्देशक अविलम्ब नियुक्ति गरेर मृत बघिनकिो चिर शान्तिको कामना गर्न र जीवित बाघहरुलाई शान्ति–सुरक्षा एवं न्याय दिन सरकारले विशेष पहलकदमी लिने छ ।
(लेखक पूर्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशक हुन्)