१६ माघ (२९ जनवरी) मा बाघ हेर्ने उद्देश्य राखेर विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्ज तर्फ यात्रा तय गरें । बाघको खानी मेघौलीमा पुगेर राप्तीको डिल समाएर बाघको प्रतीक्षा गरें । जुन डिलबाट ४ वर्ष अगाडि मैले बाघ र गैंडा देखेर खुशी मनाएको थिएं ।
एकान्त डिलमा सास रोकेर बाघलाई कुरिरहेको बेलामा नजिकै मादल बजाएर गाना बजाना नाच शुरु भयो । बाघ न साघ भनेर म जुरुक्क उठेर बाटो तताउन लागें ।
२ जना महिलाहरुले नाच्ने निम्तो दिनुभयो । त्यहाँ महिला पिकनिक रहेछ । बाघ फुत्किएपछि ज्यान बनोस् भनेर खलखल पसिना निकालेर म दिल खोलेर नाचे ।
यो पनि पढ्नुहोस:हाम्रो बाघ : हाम्रो सान
अतितको स्मरण खल्लो मन
बाघ आउने ठाउँमा अग्लो तारबार लगाइएको रहेछ । हुलका हुल चित्तललाई त्यो तारबार अवरोध हुने नै भयो । गाउँका भुस्याहा कुकुरहरुले चित्तललाई लखेटेपछि त्यहि तारबारमा अड्किएर चित्तल मर्दारहेछन् । स्थानीयवासीहरुले सुनाएको त्यो दर्दनाक सत्यकथाले मन छियाछिया भयो । बाघको आहारा घटेको प्रमाण थियो त्यो ।
पिकनिकको नाममा, खेल मैदान, स्कूल, मन्दिर, भ्यू टावरका नाममा सामुदायिक वन (बाघको बासस्थान) मिचेको र बाघलाई आतंकित बनाएको दृश्य झन् दर्दनाक लाग्यो ।
मेघौली रेञ्ज पोष्टको पछाडि गैंडा विचरण गर्ने सुन्दर वन फंडानी गरेर ‘गैंडा पार्क’ बनाउन लागेको देखेर हाँस उठ्यो । जहाँ सांच्चिकै गैंडा देख्न पाइन्छ त्यहाँ आर.सि.सि. गैंडाको स्मारक बनाउन विशाल जग खनेर फलामे रड्को स्तम्भ उठाइराखिएको थियो । फलामे पिलरको पर्खाल कस्ने काम भईराखेको थियो । पार्कको नाममा रुख सखाप । प्रदेश बजेट होस् वा मध्यवर्ती क्षेत्रको, करोडौ रुपयाको दुरुपयोग वातावरण अमैत्री, भद्दा र संरक्षणविरोधी थियो ।
टाईगर टप्स होटलको पालामा दिनमा ९ फ्लाईटसम्म हुने मेघौली एयरपोर्ट वनमारा र झारले कुरुप पारेको देखेर अतितलाई सम्झना गरें । ती फ्लाईटबाट विश्व प्रख्यात प्रकृति तथा वातावरणप्रेमी अतिथिहरु मेघौली अवतरण गर्दथे । जीवनमा सबैभन्दा बढी खुशी र हर्षको अनुभूत गर्दथे ।
आफूले लगेका १ जना अतिथिको टीप्पणी स्मरण गरें– “सगरमाथाको चुचुरोमा पुगेको क्षण र खुशीलाई चितवन यात्राले बिर्साईदियो । धेरै गुना बढी खुशी र उत्साह थपिदियो । म यहाँ वर्षेउनी आउने संकल्प गर्दछु ।”
मेघौली विमानस्थलमा खुट्टा परेदेखि हरेक सेकेण्डलाई रहस्यमय, आकर्षक, शिक्षाप्रद र उपयोगी ठान्दथे अतिथिहरु ।
यो पनि पढ्नुहोस:बाघमारा नियन्त्रणको नयाँ अभिभारा
‘पंक्षी हेरौं कि जलचर ? वनस्पति राम्रो कि घांसे मैदान ? जैविक विविधता हेरौं कि भौगोलिक सामाजिक र सांस्कृतिक विविधता ?’
अहिले टाईगर टपको जीर्ण अस्थिपंजर पूर्वाधार भूतबंगला जस्तो भएर बसेको छ रे । मलाई पारि त्यो हेर्न जान मन लागेन ।
तर टाईगर टपले २०५७ सालमा रु १० लाख चन्दा दिएको जानकी मा.वि. मेघौली कति सुन्दर र शान्त । झललल चम्किरहेको ।
टाईगर टपले स्कूल स्कूल गएर संरक्षण शिक्षा डकुमेन्ट्री देखाएका विद्यार्थीहरु अहिले हार्डकोर संरक्षण अभियन्ता भएका ।
बाघको अनुगमन अनुसन्धान र संरक्षण गर्न टाईगर टपले आई.टि.सि.एन. (ईण्टरनेशनल ट्रष्ट फर टाईगर कन्जरभेसन) मार्फत प्रशिक्षित गरेका प्राविधिकहरु बाबुराम महतो र राजु कुमाल लगायतहरु अहिले पनि हातमा दुरबिन र क्यामरा लिएर स्वस्फूर्त बाघको पगमार्क अध्ययन गर्न तल्लीन रहिरहेको ।
कतिपय नेचुरिलिष्टहरु पि.एच.डी. डाक्टर भइसकेका गर्विलो कुरो ।
टाईगर टपले रोजगार दिएका हजारौं स्थानीयवासीहरु आजपनि खुशी, सुखी, अनुशासित र गौरवान्वित । ग्रीन ड्रेसमा सजिएर संरक्षणको अभियन्ता भई समाज सेवामा जुटिरहेका । आफू नमूना भई अनुशासन र संरक्षणको सकरात्मक मार्गमा समाजलाई डोर्याइरहेका ।
टाईगर टपको एम्बुलेन्स सुविधा, स्वास्थ्यसेवा र स्वास्थ्य उद्धार पाएर जीवनदान पाएका स्थानीयवासीहरु टाईगर टप प्रति आज पनि अनुग्रहित भइरहेका र टाईगर टपलाई मिस गरिरहेका ।
बाघ संरक्षणमा लागे बापत मासिक भत्ता र कदरस्वरुप नगद पुरस्कार प्राप्त गर्ने जेहेन्दार युवाहरु आजपनि हार्डकोर संरक्षणकर्मी भएर समुदायमा आधारित चोरी शिकार नियन्त्रण समूहमा आबद्ध भएका ।
टाईगर टपको शिक्षा दिक्षा र पाठलाई ‘संरक्षण पुँजी’ ठानेर त्यसको रक्षा सम्मानमा कम्मर कसेर लागेको समुदाय देखेर मलाई टाईगर टपको थप अध्ययन गर्ने सोच र जिज्ञासा पलायो ।
यो पनि पढ्नुहोस:मेरो रानीलाई हार्दिक श्रद्धाञ्जली
फष्ट ईम्प्रेशन
हरियो खागी पोशाक ।
प्राय: चुपचाप तर उद्देश्यप्रति एकाग्र र प्रतिबद्ध । हमेसा काममा दत्तचित्त । संस्थाप्रति ज्यादै बफादार ।
संरक्षण ज्ञान र शिक्षाले ओतप्रोत । भित्र मनमा गहिरो संरक्षण संकल्प ।
समयमा पक्का ।
आत्मविश्वासी, सहयोगी र मिलनसार ।
सेनाभन्दा धेरै मिहेनती र अनुशासित ।
२०५५ सालमा टाईगर टप्सलाई देखेर म नतमस्तक भएको थिएं । त्यसपछि प्रदिप राणा, गौरी, सकली गुरुङ्ग, पदम दाजु लगायतलाई मैले आफ्नो संरक्षण गुरु मानेको थिए । टाईगर टप्सको हरेक कामदार मेरो संरक्षण प्रेरणाको श्रोत हुन् ।
संरक्षणकर्मी जिमको संरक्षणभाव, प्रकृतिप्रेम, समुदायकल्याणभाव र प्रकृतिपुजा देखेर म अत्यन्त प्रभावित भएको थिएं ।
देखाई र भोगाई
जे देखेको थिए त्यो भन्दा अब्बल र उत्कृष्ट पाए टाईगर टप्सलाई । संरक्षण गुरु । समुदायको पुजारी । प्रकृति पुजारी । संस्कृतिको जगेर्ना र सम्मानप्रति संवेदनशील ।
टाईगर टप्सले उहिले पीछडिएको क्षेत्र, जाती, लिङ्ग, समुदायलाई आरक्षण दिन सिकाइसकेको थियो । रोजगारीको ९२ प्रतिशत जनशक्ति थारु, कुमाल र बोटे स्थानीयहरुबाट परिपूर्ति गरिन्थ्यो ।
स्थानीय समुदायलाई स्कूल–स्कूल, घर–घरमा पुगेर संरक्षण सचेतना कार्यक्रम असरदार तरिकाले चलाउदथ्यो । शिक्षा र स्वास्थ्यमा उल्लेखनीय लगानी गरेर सामुदायिक उत्थानमा पुर्याएको योगदान कदरयोग्य थियो ।
टाईगर टप्सले कूल क्षमताको २ तीहाई मात्र अतिथि बुकिङ्ग लिने गर्दथ्यो । सबैलाई भरपूर आतिथ्यता पुगोस् र खुशी पार्न सकियोस भन्ने नितान्त सेवामुखी ध्याउन्न थियो ।
भदौको भेलमा रात–दिन कर्णाली नियन्त्रण गर्न हेलिने मलाई र्याफ्ट दूर्घटना भएर कालको मुखमा पुग्दा टाईगर टप्सले उद्धार गरेर बचाएको थियो । संरक्षणमा समर्पित गहिरो ज्ञान र ध्यान भएका नेचुरिलिष्टहरुले भरिपूर थियो टाईगर टप्स ।
टाईगर टप्स मलाई कहिले लोभी–पापी व्यावशायिक व्यापारी संस्था लागेन । बरु त्यो ज्यादै अनुशासित र संरक्षणमा समर्पित संरक्षण संस्था लाग्यो । पीछडिएको समुदाय उत्थान गर्ने दाता लाग्यो । र, विश्व बिख्यात पाहुनाहरुको संरक्षणसेवक लाग्यो । त्यही देखाई र भोगाई रहेछ मेघौलीबासीहरुको । टाईगर टप्समा करिब ३४ वर्ष सेवा गर्नुभएको राम सिं गुरुङ्ग लगायत स्थानीयबासीहरु टाईगर टप्सप्रति अनुग्रहित थिए । टाईगर टप्सका पूर्व कर्मचारी सोम बहादुर महतोले मलाई २ दिनसम्म आफ्नो थारु होमस्टेमा आतिथ्यता गरे । उनी र उनका परिवारको आतिथ्यता र अनुशासनमा टाईगर टप्सको शिक्षा दीक्षा र योगदान झल्किन्थ्यो ।
स्थानीय समुदायको अपेक्षा
टाईगर टप्सलाई हटाएर र मासेर ‘न्याउरी मारि पछुतो’ भएको रहेछ स्थानीय समुदायलाई । अरुको डाह र रिसिबिमा बन्द गराईएको टाईगर टप्सको संरक्षणभाव, संरक्षण योगदान र संरक्षण सहयोग अरुसँग चाहेरपनि हुनै नसक्ने सत्यलाई ढीलो भएपनि बुझेछन् स्थानीयहरुले । ‘टाईगर टप्स होटल होइन, संरक्षण संस्था हो र उच्च गुणस्तरीय पर्यटनको जग तथा सम्वृद्धिको ढोका हो भनेर पुनर्स्थापनाको लागि नेताहरुको मन्त्रालय र घर–घर धाएको, डेलिगेसन गएको कथा सुनाए स्थानीय बुढापाकाहरुले । सबैलाई अन्धाधुन्ध एउटै टोकरीमा राखेर टाइगरटप्सलाई फ्यांकेको सरकारी कदमप्रति स्थानीयहरुको गुनासो र बिमति रहेछ ।
अझै आन्दोलन र डेलिगेसनको पक्षमा थिए उनीहरु । एउटा संस्थाले समाजमा छाडेको सकरात्मक प्रभाव देखेर आफू हर्षित र भावुक भएं । टाईगर टप्सको गुनगान सयौं वर्षसम्म गाईरहने छन् त्यहाका जनताहरु ।
ईन्दिरा गान्धी र राजिव गान्धीको आतिथ्यता गरेको टाईगर टप्सले धेरै विश्व नेताहरुको सानदार आतिथ्यता गर्यो । गान्धीहरुले बाफरे बाफ् भन्दै टाईगर टप्स व्यवशाय भारतमा स्थापना र संचालन गरिदिन आग्रह गरे । टाइगर टप्स सञ्चालकहरुले भारत, थाईल्याण्ड र श्रीलंकामा यो व्यवशाय बिस्तार गरे । तर चितवनको पहिलो टाईगर टप्स आज स्थानीयवासीहरुको स्मृतिमा मात्र सीमित छ ।
वन्यजन्तु संरक्षणको पायनियर टाइगर टप्सले नेपाल सरकारको आग्रहमा थारुलज नवलपरासी, टाईगर टप्स कर्णाली लज, टाईगर माउण्टेन पोखरा लज बिस्तार गरे । १९७४ मा चकले बाघ सर्भे र अनुगमन कार्यक्रम संचालन गरे । १९७८ मा दूर्लभ घडियाल गोहीको दिगो संरक्षण गर्न ‘घडियाल ब्रिडिङ्ग सेण्टर’ स्थापना गरे । १९८० मा स्थानीयमा आधारित बाघ संरक्षण कार्यक्रम आई.टि.एन.सि. खोले । १९८२ बाट विश्व प्रसिद्ध प्रकृति र वन्यजन्तुप्रेमी खेलाडी नेपाल भित्र्याउन ‘वर्ल्ड ईलेफ्याण्ट पोलो’ खेल खेलाए । २००६ मा दूर्लभ भल्चर संरक्षण गर्न टाईगर टप्सको सहयोगमा विश्व मै पहिलो ‘जटायु भल्चर रेष्टुरेण्ट’ संचालनमा ल्याए डि.बि. चौधरीले ।
गहिरो र उल्लेखनीय संरक्षण इतिहास बोकेको नेपालको प्रथम टाइगर टप्स चितवनको पुनर्स्थापनाको लागि स्थानीयवासीहरुले प्रार्थना गरिरहेको देखे । टाईगर टप्सलाई रिसिबि र छी: छी: दूर–दूर होइन सम्मान गरोस राज्यले भन्ने स्थानीयवासीहरुको माग आफूलाई मनासिब लाग्यो । निकुञ्ज बाहिरै किन नहोस् पहिलाको सानदार संरक्षण र पर्यटन सेवा पुन:सञ्चालनमा ल्याएर नेपालको संरक्षण र सम्वृद्धिको यात्रामा साथ दिनुपर्दछ ऐतिहासिक सहयात्री टाइगर टप्सले । मध्यवर्ती क्षेत्रमा खुलेका अरु होटलहरुले प्राकृतिक सम्पदाको दोहन गरेर आफूमात्र आयआर्जन गर्ने होइन, संरक्षणको पहरेदार भएर समुदायको उत्थानमा योगदान गर्न टाइगर टप्सको मोडल अनुकरण गर्नुृपर्दछ ।
कोरोना कहर न आन्दोलनको रहर
राष्ट्रिय निकुञ्ज र टाइगर टप्सले दीक्षित गरेको समुदायको प्रकृति प्रेम, संरक्षणभाव, एकोहोरो मिहेनत र ईलमप्रतिको सकरात्मक सोच देखेर आफूमा उर्जा भरियो । त्यही समुदायमा बिलिन भएर राप्ती वारिबाट पारिको बाघ संरक्षण गर्न पाए हुन्थ्यो लाग्यो ।
मेघौलीको जनताको खुसी र सुख देखेर ‘सम्बृद्ध नेपाल’ टाढा छैन भन्ने विश्वास पलायो ।
तोरी फापर उठाउन फुर्सद छैन । गाई बाख्राको चटारो अर्कोतिर । दुधको खोलो र दुग्धजन्य पर्दाथको खानी । हांस, कुखुरा, माछापालन पाईला पाईलामा। न कोरोना कहर । न आन्दोलनको रहर । आफ्नो भाग्य आफैं बनाउन दत्तचित्त समुदायलाई देखेर गर्व बोध भयो ।
राष्ट्रिय निकुञ्जप्रति अगाध आस्था विश्वास र समर्थन थियो अधिकांश जनसमुदायको । एकादुई विरोधी पाङ्ग्रेहरु जहाँ पनि भइहाल्दछन् ।
राजनीतिक झगडा, आन्दोलन र चुनावप्रति जनताको रत्तिभर ध्यान थिएन । न परिवर्तन र सुधारको आशा अपेक्षा थियो । केवल थियो बाघ गैंडाको संरक्षण प्रार्थना र आफ्नै घरधन्दाको ध्यान । सुखी समाजको त्यो मोडल देखेर मैले जंगलको बाघलाई हेर्न नपाए पनि बाघका मालिक (स्थानीयवासी) हरुलाई हेरेर खुशी मनाए ।
अन्तिम पुकार
जानकी मा.वि.का प्रधानध्यापक दुर्गा सापकोटाको मुक्त कण्ठले प्रशंसा गरें । निकुञ्जसँग जोडिएको स्कूललाई बिलकूल सफा राखेर चम्काएको देख्दा दिलखुस भयो । स्कूलमा वन्यजन्तु पीडितका बालबच्चा पढाउने आफ्नो संस्था किवानिज् तयार रहेको वचनबद्धता प्रकट गरें । मिनी स्टेडियम बनाएर त्यो स्कूललाई नमूना स्कूल बनाउन सकिने सम्भावना देखेर आफू हर्षित भएं । स्कूलका विद्यार्थीलाई ‘जुनियर रेञ्जर’ बनाउन पाए हुने थियो भनेर पुकार गरें । पूर्व शिकारीहरुको सानदार पुनर्स्थापना कार्यक्रम गर्न पाए हुने थियो लाग्यो ।
कति स्वच्छ हावा । कति स्वस्थ, सवल र सक्षम जनशक्ति । कति सफा र स्वास्थ्यबर्धक जल । कति हरियो स्वस्थ जंगल । कति उर्वर माटो । यी ५ तत्वहरुको धनी देश नेपाल र बफरजोन शीघ्र सम्बृद्ध र सुख–शान्त हुने विश्वास लिएं । नयाँ वनमन्त्री, नयाँ वन सचिव, नयाँ महानिर्देशक, नयाँ राष्ट्रिय निकुञ्ज निर्देशनालयको (जंगी) निर्देशकको टीमले प्रकृति संरक्षणको क्षेत्रमा नमूना टीमवर्क मार्फत कायापलट गर्ने आशा र विश्वास जगाएर उर्जाशील थारुहरुलाई नमन् गर्दै शुभकामना दिएर विदा भएं ।
जय प्रकृति संरक्षण ।
बाबुकृष्ण कार्की
बाघ गोठालो ।