बच्चा गैंडालाई गोली दाग्ने शिकारीको मन र हात कस्तो जब्बर र निष्ठुरी होला ।
कार्तिक १९ गते आमा र बच्चा गैंडाको पुरानो मृत शरीर भेटियो चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा । निकुञ्जका प्राविधिक टोलीले दुवैलाई गोली लागेर मृत्यू भएको सार्वजनिक गरे ।
२०७७ सालको तिहारको मुखमा पँक्तिकारलाई यो दु:खद् घटनाले ठूलो पीडा महशुस भयो । रात दिन मनभरि चाहिने नचाहिने कुरा खेलेर शान्ति लुटिदियो।
हामी कति लोभी पापी र निष्ठुरी भइरहेका छौं ? समाज किन रोग भोक अभावले ग्रस्त छ ? मानिसको रिस क्रोध ईष्र्याको पारो किन झन् झन् माथि चढिरहेको छ । मानिसले किन क्षमा दान दिन बिर्सेको होला । राज्य र उसको प्रतिनिधिसँग शिकारी किन यति धेरै असहिष्णु र आक्रोशित भइरहेको छ ? शिकारी मात्र होइन आम जनता आफ्ना जनप्रतिनिधि सेवाप्रदायी प्रशासन र सरकारसँग ज्यादै आक्रोशित छन् । कुशासन र भ्रष्टाचारको जालोसँग आगो छन् ।
उदेक लाग्दो अवस्था । सिंहदरबारदेखि बन जङ्गलसम्म दरिद्रताको पराकाष्ठा ।
यो पनि पढ्नुहोस:बाघमारा नियन्त्रणको नयाँ अभिभारा
लहरोले तानेको पहरो
कथित जनयुद्धको बाईप्रोडक्ट विभिन्न रुप आकार र भेषभुषामा देखा परिरहन्छन् । द्वन्द्वताका र विस्तृत शान्ति सम्झौता लागू हुँदा चोरी शिकारीले गैंडालाई नजिकबाट ताकेर हेड्सट् फायर गरे । जिउदो गैंडाको खाग काटेर लगे । खाग चोरिएको गैंडाले रगताम्य अनुहार लिएर खोई मेरो नाक भन्दै सर्वत्र चाहार्यो । विदेशी पर्यटक सामु पीडा पोख्यो ।
पंक्तिकारलाई आफ्नो नाक काटिएको भन्दा धेरै पीडा भयो । पि.एस.ओज मिटिङ्गमा पीडा पोखें– “यो गैंडाको होइन नेपाली सेनाको नाक काटिएको हो।”
तत्कालिन प्रधानसेनापति ज्यादै भावुक र चिन्तित भए । गैंडाको स्वामित्व ग्रहण गर्न अग्रसर भए । त्यही अग्रसरता र प्रतिबद्धताले ‘शून्य शिकार’ को गन्तव्य तय गर्यो ।
हाल २ तीहाईको सरकारका वन मन्त्रीले संरक्षणलाई ठाडो चुनौती दिए । “संरक्षण किन चाहियो ? हात्ती पालेर देशलाई के फाईदा ? बाँदर र बदेलले किसानलाई उठि बास लगायो । संरक्षणको औचित्य छैन ।” वन मन्त्रीका भाषणमा बराबर प्रकट भइरहने यस्ता प्रकृति विरोधी अभिव्यक्तिले संरक्षणकर्मीको हौसला र मनोबल पात्तालमा पुर्यायो । ठीक विपरीत चोरी शिकारी र तस्करको साहस आकाशमा पुग्यो । त्यसकै परिणाम हो शिकारीले बच्चा गैंडालाई समेत जीवन दान दिन आवश्यक ठानेन । उ छिटो संरक्षणको अन्त्य गर्न हौसियो ।
ऐतिहासिक स्थायी सरकारको अस्थायी, अस्थिर, अशान्त भाषण र व्यवहारले प्रकृति संरक्षणको क्षेत्रमा कहालिलाग्दो र अकल्पनीय क्षति भयो । त्यही क्षतिको श्रृङ्खला हो बच्चा गैंडाको चोरी शिकार ।
द्वन्द्वको बन्दूक, गोली एवं रक्तपिपासु दिमाग र हातको खेल हो वर्तमान चोरी शिकारको घटना । मिहिन सर्च र स्वीप अपरेशन गर्ने हो भने द्वन्द्वमा प्रयोग भएका तर लुकाई राखेका हातहतियार निकुञ्ज आरक्षको कोर एरियामा फेला पर्ने प्रवल सम्भावना छ । बाँस, केराको थम्बा, टायर र ड्रमको ईम्प्रोभाईज्ड् र्याफ्टबाट खोलामा बगाएर वन जङ्गल भित्रयाइएका छन् धेरै हात हतियारहरु । कतिपय ईम्प्रोभाइज्ड् कुरियर र्याफ्टहरुबाट सिधै भारत पुर्याईएका थिए । चोरी शिकारीको स्थायी समाधान गर्ने हो भने द्वन्द्वमा प्रयोग भई लुकाइराखेका अवैध हातहतियारहरु छिटो रिकोभर र नष्ट गर्न अपरिहार्य छ ।
तिनै महशुर दिमाग र सीपको हात हुने छ अबको चोरी शिकार र वन्यजन्तुको अवैध व्यापारमा । व्यापार नियन्त्रणको संरचना र जालो उनीहरुकै हातमा छ।
यो पनि पढ्नुहोस:बाघ गैंडालाई न्याय दिने निकाय खोई ?
खतराको घण्टी
बच्चा गैंडाको शिकार कास्टिङ्ग हुन सक्दछ । अझ अकल्पनीय र कहालिलाग्दा घटना घट्न सक्दछन् ।
विगतका चोरी शिकारको पूर्व जनाउ हामी ‘कलमे रेञ्जर’ हरुले बराबर दिइसकेका थियौं । अहिले झन ‘खतराको रातो बत्ती’ को अग्रीम सूचना दिइरहेका छौं।
दरो थुन छेक् गरेर वन्यजन्तु रक्षाको योजना बनाउने र त्यसको असरदार कार्यान्वयन गर्ने प्रत्यक्ष भूमिकामा हामी छैनौं । न त अरु विज्ञ र संरक्षणविदहरुलाई सरोकारवाला निकायहरुले स्मरण र सम्पर्क गर्न आवश्यक ठानेको छ ।
परम्परागत संरक्षण मोडलले भावी चुनौतीको पहिचान र समाधान गर्न असम्भव छ । त्यसैले ‘कोर्स करेक्शन’ र ‘गेम चेञ्ज’ को हामी लगातार सिफारिस गरिरहेका छौं लेख मार्फत ।
शीघ्र कडा कदम नचालिए बाँस न बाँसुरी भने झै न वन जङ्गल रहने छ न त वन्यजन्तु । नेपाल चोरी शिकारीको सुरक्षा कवच हुने छ । अवैध वन्यजन्तु तथा तिनका अंग व्यापारी र तस्करको स्वर्ग जस्तो आश्रयस्थल हुने छ । तस्करीको सुरक्षित ट्रान्जिट रुट् र ट्रान्जिट् पोईण्ट हुने छ ।
कस्तो प्रकृति कस्तो संरक्षण र कस्तो कानूनको देश बनाउने त्यो सरकारको हातमा निहित छ । तथापि प्रकृति र वन्यजन्तुको भविष्य उज्वल होइन अन्धकार देखिन्छ बर्तमान शासन पद्धतिमा ।
यो पनि पढ्नुहोस:गैंडाको चोरी शिकार: कानमा तेल हालेर बसेको सरकार
सेनालाई ईज्जतको सवाल
तत्कालिन समय परिस्थिति र चुनौतिलाई मध्य नजर राखेर दूरदर्शी राजा महेन्द्रले बिधिवत् गैंडा गस्तीलाई भनेर जङ्गलमा हुलेको सेना आजसम्म जंगलमा नै छ ।
राजालाई दूरदर्शी भन्नुको तात्पर्य सेनाको उपस्थिति नहुदो हो त फेरि न वनजङ्गल सुरक्षित रहने थियो न त वन्यजन्तु नै । आजका पिंढीले सजिलै गैंडा र बाघ देख्न पाएको श्रेय राजा महेन्द्रलाई जान्छ; जसले उहिले निकुञ्जको दिगो रक्षाको परिकल्पना गरे र निकुञ्जमा सेनालाई तैनाथ गराए ।
फरक पेशा तालिम र जिम्मेवारीको लागि स्थापना भएको नेपाली सेनालाई जङ्गल डिउटी धेरै घाँडो र थोरै गर्व भएको छ ।
द्वन्द्वको क्षति पूर्ताल अभियान र शून्य शिकार उपलब्धिले मुलुकसँगै नेपाली सेनाको ईज्जत र छवि बढेको छ । ‘गरे सम्भव’ भन्ने नजिर स्थापना भएको छ । सेनाको हौसला र मनोवल शून्य शिकार उपलब्धिले बढाइदिएको छ ।
संरक्षण जिम्मेवारीको ईतिहासमा सेनालाई १० वर्षे जनयुद्ध अपूरणीय क्षतिको सेटब्याक भएको थियो । अर्को संरक्षण खम्बा ‘स्थानीय समुदाय’ दुईतर्फी चेपुवामा पर्दा सेना झन् बैरो र अन्धो जस्तो भएको थियो ।
द्वन्द्वले ३ वटै संरक्षण खम्बालाई छिन्नभिन्न पारेर परस्पर अविश्वास र विरोधीको कित्तामा उभियाइदिएको परिणति आजको पिंढीले भोग्दै छ ।
नयाँ राजनीतिक पद्धति नै असफल सावित बनाउन उद्यत राजनीतिक नेतृत्वको निरिहता र निकम्मापनले आज संरक्षण धरापमा परेको छ । बीचको संरक्षण खम्बा नेपाली सेना आफै राजनीतिक विकृति र कुशासनको दुश्चक्रमा फसेको छ । राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको जालोले गांजेको संघीय सरकार, निकुञ्ज प्रशासन र स्थानीय सरकारको बीचमा सन्तुलन कायम राख्दै अराजनीतिक क्षमता र दक्षताले उसलाई संरक्षण जिम्मेवारी पूरा गर्नुपरेको छ ।
२०७२ सालको महाभूकम्प सेनाको लागि अर्को सेटब्याक भयो । उद्धार राहत र पुनर्निर्माणमा होमिएको सेनाले जङ्गल डिउटीलाई अपेक्षित प्राथमिकता दिन सकेन । पुनर्निर्माणको कामले फिल्डको संरक्षण प्रभावकारितामा ग्रहण लगाईदियो ।
त्यसपछिका भीषण बाढी पहिरोका विपद्ले पनि नेपाली सेनाको मोबिलिटी र कार्यदक्षतालाई खुम्च्याईदियो ।
लामो बाटो तय गरेर संरक्षण इतिहास रचेको नेपाली सेना अहिले धर्म संकटमा परेको छ । सरकारको दोहोरो चरित्रको शिकार भएको छ । सरकारले भाँडेको र उपेक्षा गरेको सीमान्तकृत जनसमुदायको रक्षा उद्धार गर्ने एक्लो बृहस्पति भएको छ ।
संरक्षणमा कोर्स करेक्सन जरुरी
विश्व सम्पदामा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जको उदाहरण लिउ । ६०५ वटा गैंडाको आश्रय स्थल । थोरै ९३ वटा पाटे बाघ । १२ सय कर्मचारीहरु । एउटा गैंडालाई २ जनाले गोठालो लागेर २४ घण्टा हेर्ने व्यवस्था हुनुपर्यो । बाघलाई १० जनाले हरेक सेकेण्ड आँखाको नानीमा राख्न सक्नुपर्यो ।
‘बुट्स अन द ग्राउण्ड’ र ‘आई. टि.’ को स्मार्ट प्रयोगले हरेक गैंडा सुरक्षाकर्मीको आँखाभित्र अनिवार्य हुनुपर्यो । गैंडा कहा कस्तो हालतमा कसरी बसेका छन्? सबै छर्लङ्ग छ । अब तिनलाई पहरा दिन र आँखाभित्र राख्न कस्ले कहिले के ले छेकेको छ र ? नदीले र ठड्डीले छेक्यो भनेर जिम्मेवारीबाट पन्छिनु लाजमर्दो कुरा हो ।
शिकारीलाई नदी र ठड्डीले नछेक्ने तर सुरक्षाकर्मीलाई छेक्ने बहानाबाजी शीघ्र अन्त्य हुनुपर्दछ ।
निकुञ्जमा तैनाथ फौजलाई वन होइन रक्षा बजेटबाट पालिनुपर्दछ । र, वन बजेटले फौजलाई श्रोत साधन सम्पन्न बनाउनुपर्दछ । चितवनको हकमा १ दर्जन चुस्त फोरह्विल जिप, ४ दर्जन मोटरसाईकल, जनही साईकल, १ दर्जन डुङ्गा, एउटा आईल्याण्डर जहाज र त्यही स्केलको आई.टी. र कम्युनिकेशन ब्याकअप्को अनिवार्य आवश्यकता पर्दछ नै ।
तर वन बजेटमा निर्भर राखेर हामीले फौजलाई सुरक्षित ओत, पिउनेपानी, सफा शौचालय जस्ता न्यूनतम सुविधा उपलब्ध गराउन सकेनौं । सुरक्षाकर्मीलाई भिखारी बनाएर राख्यौं ।
निकुञ्जलाई एकदेखि अर्को नजरी मिलापमा रहेका बाक्ला गार्डपोष्ट, मचान, नेष्ट र सिसि क्यामराले मजबुत सुरक्षा दिनैपर्दछ । भिखारी र अस्थायी सुरक्षाकर्मीबाट संरक्षण सम्भव छैन ।
राज्यले दूरदराजमा रहेका निकुञ्जभित्र र वरिपरि रहेका स्थानीय समुदायलाई शीघ्र सुखी खुशी र सम्बृद्ध बनाउनुपर्दछ । अपिनाम्पा संरक्षण क्षेत्र भित्रको ब्यास क्षेत्र होस् वा चितवन राष्ट्रिय निकुञ्ज पारिको सुस्ता क्षेत्र र चेपाङ्ग गाउ बस्तीहरु त्यहाँ राज्यको न उपस्थिति छ न त ध्यान दृष्टि ।
सिंहदरबार केन्द्रित सम्बृद्ध सरकारको उपेक्षित अपहेलित गरिब र भिखारी जनताबाट गैंडाको सुरक्षा सम्भव छैन । हामीले विकास शहर केन्द्रित होइन विकट दुर्गम दूरदराजका गाउँ केन्द्रित गर्नुपर्दछ र पहिला बफर जोनका स्थानीय समुदायको जीवनस्तर माथि उठाउनुपर्दछ । तब मात्र उनीहरु गैंडाको स्वामित्व ग्रहण गर्न र रक्षाकबच प्रदान गर्न तयार हुनेछन् ।
संरक्षण क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्न र सुशासनको प्रत्याभूतिले निर्देशित एवं सञ्चालन र व्यवस्थापन गर्ने संयन्त्र बनाउन जरुरी छ । निकुञ्ज प्रशासन र त्यहाँ तैनाथ सुरक्षा फौज बीच चेक एण्ड ब्यालेन्सको पारदर्शी प्रणाली स्थापित हुनुपर्दछ । सैनिक हिसाब किताब निकुञ्ज प्रशासनले र निकुञ्जको सञ्चालन व्यवस्थापन फाँटवारी सेनाले जान्ने थाहा पाउने पारदर्शी प्रणालीले भ्रष्टाचार नियन्त्रणमा मद्दत पुर्याउने छ।
यी कोर्स करेक्शनमा बिलम्ब गर्नु हुँदैन । यी प्रमुख शीर्षक भित्र रहेर आन्तरिक सुधार गर्नुपर्ने तमाम् ऐन तथा नीतिगत् संरचनागत र समन्वयका पक्षमा शीघ्र सुधार गर्नुपर्दछ । त्यसले प्राचिन संरक्षण मोडलमा व्यापक परिवर्तन र सुधारको बाटो खोल्ने छ र ‘गेम चेञ्ज’ को लागि मार्ग प्रशस्त गर्ने छ ।
कोर्स करेक्सनको अर्को महत्वपूर्ण पाटो निकुञ्ज व्यवस्थापन हो । चितवनमा ३५ करोड बजेटले ३ गुणा बढी याने कि १ अरब ५ करोडको शीघ्र र दरो परिणाम आउनुपर्दछ । किनभने बाँकी २ संरक्षण खम्बा नेपाली सेना र स्थानीय समुदायको श्रमदान घोलेर निस्कने परिणाम धेरै गुणा छिटो र मिठो हुने छ । त्यसको लागि आर्थिक नियमको घुसिया ढिलासुस्ती प्रक्रिया तोडेर चीफ वार्डेनको प्रत्यक्ष नेतृत्वमा फाष्ट ट्रयाकबाट काम फच्चे गर्ने व्यवहारिक आर्थिक ट्रयाक टू को साहसिक प्रयोगको बाटो पहिल्याउन जरुरी छ ।
अल्पकालिन सुरक्षा
आशा गरौं, कोर्स करेक्शनको मध्य एवं दीर्घकालिन योजना बनाउने र लागू गर्ने काम हुँदै जालान । तर अल्पकालिन सुरक्षा व्यवस्था सुदृढ गर्न विलम्ब गर्नु हुँदैन ।
सुरक्षाकर्मीको फिल्ड हाजिर ज्यादै न्यून भयो । पूरा नफ्रीको उपस्थिति र बाक्लो गस्ती, सर्वत्र गस्ती र सर्वत्र दृष्टि पुर्याउने प्रभावकारी गस्तीमा जोड दिनुपर्यो । सेना छ, गस्ती पनि छ, स्मार्ट पट्रोल र सि.सि. क्यामरा पनि रुखमा झुण्डिरहेको छ तर गैंडाको चोरी शिकार पनि भइरहेको छ भने त्यो असरदार गस्ती भएन । ६ महिनासम्म मृत गैंडा फेला नपार्ने गस्तीको काम छैन । त्यो गोहीको जस्तो आराम भयो ।
घटना घट्नु अगाडि चीफ वार्डेन र गणपतिलाई अग्रीम सूचना प्राप्त हुनुपर्दछ । घटना कुनै हालतमा घट्न दिनु हुँदैन र कथम् कदाचित् घटि हालेमा अपराधीलाई छिनभरमा पक्राउ गर्ने सामथ्र्य हुनुपर्दछ चीफ वार्डेनसँग । समुदायसँग टुटेको लिंक स्थापना गर्न, ईण्टेलिजेन्स रकम सदुपयोग गरेर सूचना सञ्जाल चुस्त राख्न र सि.वि.ए.पि.यु.लाई जगाउन बिलम्ब भइसकेको छ ।
अन्त्यमा, संरक्षणमा झारो टार्ने काम नहोस् । सरकार जति कमजोर फितलो र असफल हुँदै जान्छ, फिल्डमा तैनाथ फ्रण्टलाईन स्टाफ (चीफ वार्डेनदेखि गेमस्काउट र सिपाहीसम्म) उति अग्राख जस्तो दृढ र मजबुत हुनुपर्दछ । नेपाली सेना झन् फलामजस्तो कठोर हुनुपर्दछ । प्रकृति र संरक्षणप्रेमी स्थानीय जनसमुदाय साझा संरक्षण छाताभित्र गोलबद्ध भएर नेपाल आमा र भावी सन्ततीको स्थायी पूँजि रक्षाका लागि मिलिजुली त्याग गर्नुपर्दछ । मृत बच्चा गैंडाको कलिलो आत्मासँग माफी मागेर आजका घडिमा गर्नुपर्ने अठोट र संकल्प बस् यही हो ।
जय प्रकृति संरक्षण ।