२०७७ चैत १५ गते आइतबार फागु पूर्णिमा । सधैँझैँ नीलो आकाश, चर्को घाम, स्वच्छ हावासहितको रमाइलो वातावरणको आशा र अपेक्षा । तर भयो ठ्याक्कै उल्टो । बाक्लो धुलो, मैलो, तुँवालो । नीलो आकाश परै जाओस् छिमेकीको घर देख्न नसकिने अन्धकार । ज्यादै कम भिजिबिलिटी । घामको अनुहार देख्न नपाउने र हवाइ उडान रद्द गराउनेसम्मको कम भिजिबिलिटी । एक दिन होइन, एक हप्ता ।
नासाले खिचेको डढेलोको तस्बिर हेर्दा लाग्दथ्यो पूरै मुलुक जलिरहेछ । ऐया ऐया दुखिरहेछ । १२ गते बिहीबार ४७९ स्थानमा लागेको डढेलोले तुवालोलाई झन् बाक्लो बनाइदिएको थियो । डब्लुएचओले वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३०० भन्दा बढीलाई घातक भनेको छ । बिहीबारको डढेलोले १३ गते शुक्रबार एक्युआई ह्वात्तै बढाइदिएको थियो ।
सिमरा ३६३, भैँसेपाटी ३१४, भक्तपुर ३११ मापन हुँदा चितवनमा भइरहेको गैँडा गणना स्मरण गरेँ । कोभिड महामारी लगायत श्वासप्रश्वास बिरामीहरूको हालत स्मरण गरेँ । स्वाँ स्वाँ गर्दै रेलिङ समातेर भर्याङ चढिरहेकी ८० वर्षीया आमाको हालत कठिन भएको आफ्नै आँखाले देखेँ । अनि मातापिताको कोठाको झ्यालढोका, भेन्टिलेटर सबै बन्द गरिदिएँ । डामडुम पर्दा लगाएर बत्ती बालिदिएँ । आफैँलाई ठूलो खुला भेन्टिलेटरभित्र बसेको भान भयो । उकुसमुकुस अनुभूत भयो ।
नीलो आकाश स्मरण गरेँ । वरिपरिका हरिया डाँडाकाँडा, वनजङ्गल र पारिला घाम सम्झेँ । धेरैले मिस गरेको हुनुपर्दछ त्यो प्राकृतिक सौन्दर्य । त्यही खल्लो असमान्य मौसम र कठिन जीवन यापनलाई वर्णन गर्दै नीलो आकाशको प्रार्थना गर्न यो आलेख तयार पारेको छु ।
डढेलो : मूल्य र क्षति
उहिले ढुङ्गामाथि चकमकको एकचोटि प्रहार । हिजोआज सलाईको एउटा काँटी काफी । लाइटरको एक फायरले उत्पात । धनी र सौखिनलाई एक खिल्ली बिँडी वा चुरोटको ठूटो झोसेर निकालेको आगोको झिल्काले विशाल डाँडाकाँडा र ठूलो क्षेत्रफलमा फैलिएको वनजङ्गल, खर्क र खरबारीमा महिनौसम्म आगलागी ।
बिना लगानीको उत्पात र विपत् । घरबारीको फोहोर जलाउन होस् वा मलिलो पार्न, खोरिया फाँड्न होस् या अतिक्रमण गर्न, कलिलो घाँस उमार्न होस् वा वन्यजन्तु झोर्न र मार्न, रमाइलो गर्न होस् वा अरूलाई दुःख दिन डढेलोको सजाय र क्षतिपूर्ति जीवनभरि तिर्न सकिँदैन ।
जसले खेतबारी, खरबारी, खोला, खोल्सा, पाखा सफाई गर्दछ र झन् राम्रो पारेर सिँगार्दछ, उसले खण्ड खण्ड, चरण चरणमा हावा नचल्ने समय पारेर डढेलो लगाउँदछ । यो नियन्त्रित डढेलो सतर्क र सावधानीपूर्वक लगाइन्छ र क्षतिको गुञ्जाइस रहँदैन । त्यसलाई पङ्क्तिकारले डढेलोको श्रेणीमा राखेको छैन ।
तर विनाशकारी व्यापक डढेलोले गर्ने जैविक विविधता क्षतिको विवरण अनुमान गरौँ – कति जीवजन्तु । कति कीरा फट्याङ्ग्रा । कति पुतली र लार्भा । कति सरिसर्प । कति धेरै पन्छी, तिनका वासस्थान, फूल र बचेरा । कति धेरै वनस्पति र लेउ, झ्याउ र जडिबुटी । लाखौँ होइन, करोडौँको सङ्ख्यामा प्राणी जगतको चीरहरण भएको छ । मानवले लगाएको डढेलोमा वर्षेनी मानव स्वयं पोलिएर मृत्युवरण गरिरहेका छन् । मानव घर र बस्ती पोलिएका छन् । दाम्लामा बाँधिएका घरपालुवा चौपाया भाग्न नपाएर डढेर मरेका छन् । हिमाल पहाडमा सयौँ वर्ष लगाएर हुर्किएको वन खरानी भएको छ ।
नेपालका अधिकांश (७० प्रतिशत) आगलागी मानवजन्य हुन् । असल होइन, खराब नियतले लगाइन्छ । त्यसको पछुतो र पाप आजीवन तिर्न सकिँदैन । त्यो अक्षम्य अपराधको कठघरामा प्रकृतिले उभ्याएर छाड्छिन् । एउटा समय र बिन्दुमा दण्डित गर्नेछिन् । यो पछुतो र दण्डबाट हामीले हाम्रा सन्तति र भावी पिँढीलाई कसरी जोगाउने ?
अझ पापको अर्को पाटो हेरौँ – ती अबोध जीवजन्तु कति भागे होलान् । कति निस्सासिए होलान् । कति चिच्याएर रोए होलान् । डढेलोले ज्यान लिएको सम्पूर्ण प्राणीजगतको त्यो ‘गुहार गुहार,बचाउ बचाउ’को उद्धार माग र देहत्यागको कठिन घडीमा आफूलाई आगोको ज्वालामा उभिएर आँखा चिम्लिएर अनुभूत गरौँ । पापको पराकाष्ठा ।
हाम्रो चाहना, माग, लोभ र पापका लागि हामीले पुर्याएको क्षतिको लेखाजोखा गरौँ । ४ भारी खर, १० डोको घाँस, २० डोको दाउरा, २ ओटा रतुवाका लागि हामीले लाखौँ प्राणीको ज्यान लिएर ठिक बेठिक के गर्यौँ त ? आफ्नो क्षणिक र निहित सूक्ष्म स्वार्थका लागि प्रकृतिको भण्डार पोल्नु कत्तिको जायज हो त ? प्रकृतिको भण्डार खरानी पार्यौँ कि भावी सन्ततिको सुन्दर हरित स्वर्गलाई पोलेर कुरूप बनाउँदै उनीहरूको भविष्यमाथि समेत खेलवाड गर्यौँ ?
प्रकृति संरक्षणका लागि आध्यात्मिक ज्ञान, जीवन विज्ञान, सकारात्मक सोच सबै शिक्षा र ज्ञान मिसाएर वर्तमान र भावी पिँढीलाई प्रशिक्षित गर्न विलम्ब भइसकेको छ ।
डढेलो जोखिम : न सर्भे न सुरक्षात्मक उपाय
युवा पलायनले हुन सक्दछ, खेतीयोग्य जमिन बाँझो बनाउने र वनजङ्गल बनाउने प्रवृत्ति झाङ्गिएको छ । परार सालको तोरीबारी, पोहोर सालको खरबारी अहिले साल सल्लाघारीका लागि नर्सरी देखेमा अन्यथा मान्नुपर्दैन ।
हाम्रा गाउँ, वडा, टोल र घरहरू छरपस्ट छरिएका छन् । कोही जङ्गल बीचमा, कोही छेउमा । कोही खरबारीको बीचमा । गोठहरू झन् एक्लै दुक्लै र उच्च जोखिममा छन् । एक्ले घर र एक्ले गोठको प्राकृतिक सौन्दर्य र शान्ति बिछट्टै रमाइलो होला । तर विपतमा तिनको सहारा कोही हुँदैन । यो नेपालको व्यावहारिक जटिल समस्या हो । सरकारी अनुगमन र नियन्त्रणबाहिरको कुरा हो ।
निजी वनको सर्भे र दुरुस्त अभिलेख छ वा छैन, त्यो यकिन भएन । तर निजी वन बनाउने, राख्ने सौखिन नेपाली मित्रहरू मैले धेरै भेटेको छु ।
निजी होस् वा सामुदायिक अथवा धार्मिक र सरकारी सबै वन क्षेत्रको जोखिम मापन हुनैपर्दछ । डढेलो जोखिमको सर्भे र सुरक्षात्मक उपाय हुनैपर्दछ । पर्याप्त फायर लेनहरू, पानीका पोखरी र कुवाहरू, बालुवा र माटोका थुप्राहरू, फायर फायटिङ औजार र उपकरणहरू र तालिमप्राप्त युवाहरूले डढेलो जोखिमलाई न्यून गर्न सक्दछन् ।
राष्ट्रिय निकुञ्ज र आरक्षहरूमा बाक्ला सुरक्षा पोस्टहरू हुन्छन् । फायरलेनको पर्याप्त व्यवस्था हुन्छ र तिनलाई हमेसा सफा गरेर राखिएको हुन्छ । त्यहाँ कि कन्ट्रोल फायर हुन्छ, कि तत्काल नियन्त्रणको तागत लगाइन्छ । करिब २४ प्रतिशत निकुञ्ज आरक्षण र संरक्षण क्षेत्रको डढेलो नियन्त्रण योजना, तयारी र चुस्त दुरुस्त व्यवस्थापनलाई हामीले सधन्यवाद स्याबासी दिनुपर्दछ । किनभने सबैभन्दा ठूला वन क्षेत्र र जैविक विविधताको खानी सायद त्यही २४ प्रतिशतभित्र छ ।
बाँकी वन क्षेत्रको स्वामित्व द्विविधा र अन्योलले व्यवस्थापन र सुरक्षालाई तरबारको दुई धारमा पुर्याएको छ । दोहोन र विनाशमा जसको शक्ति उसको भक्ति र व्यवस्थापन र संरक्षणमा कोही न कोही ।
चैत १२ बिहीबारको मुलुकभरिको डढेलो र साताव्यापी उच्च प्रदूषण तथा घातक स्तरको एक्युआईले हाम्रो तयारी र संवेदनशीलता शून्य भएको इङ्गित गर्दछ ।
प्रदूषण स्तर घातक बनाउनलाई आफ्नै डढेलोले योगदान गरे पनि बङ्गालको खाडीबाट उच्च हिमालयतर्फ बग्ने प्रदूषित हावा उत्तिकै जिम्मेवार देखिन्छ । आफू कार्बन उत्सर्जन नगरे पनि गर्ने दुई भीमकाय मुलुकको चेपुवामा पर्नु र दक्षिणको कार्बन हिमालयको काख तथा हाम्रा घरआँगनमा थुप्रिनु हाम्रो प्राकृतिक दूर्भाग्य हो । यद्यपि, आफ्नो वशबाहिरको कुरालाई छाडेर हामी कार्बन सञ्चिती गरेर त्यसवापत् डलर आर्जन गर्ने हैसियतको हरित मुलुकले आफ्नो हरियो वन डढेलोले सखाप हुन दिनुहुँदैन । विश्वमुद्रा आर्जन गर्ने विश्वको अक्सिजनको भण्डारलाई हरतरहबाट जोगाउनु हाम्रो जवाफदेही कर्तव्य र धर्म हुन आउँछ ।
२०६१ सालदेखि हालसम्म डढेलोले ११० जनाको ज्यान लिनु, धेरैको अङ्गभङ्ग गर्नु र व्यापक धनमालको क्षति हुनु राष्ट्रिय लज्जाको विषय हो । यसलाई शून्यमा झार्न र अक्सिजनको सजीव भण्डार रक्षा गर्न सरकारले कुनै कसर बाँकी राख्नुहुँदैन ।
यो हिउँदमा ७३ जिल्लाको २७ सय १३ स्थानमा डढेलो लागेको र त्यसले यो दशककै सबैभन्दा बढी क्षति पुर्याएको तथ्याङ्क सार्वजनिक भएको छ ।
विगतका वर्षहरूमा प्रि–मनसुन समयमै हुन्थ्यो । त्यो हिँउदे वर्षाले हिमालमा हिउँ पार्ने र पहाड तराईमा मनग्गे वर्षा गराएर वन जङ्गललाई सुक्न दिँदैनथ्यो । छिटो पालुवा पलाएर वन हरियो भइदिनाले डढेलोको सम्भावना टरेर जान्थ्यो । हिउँदे बाली राम्रो हुन्थ्यो । दूर्भाग्य ! यो वर्ष हिउँद वर्षात् बिनाको सुक्खा रहन गयो । डढेलोले दशकयताकै औधी उत्पात मच्चायो ।
यो दूर्भाग्य हरेक वर्ष दोहोरिन सक्दछ । हामीले आफू पोलिएर जग हँसाएर बस्नु हुँदैन । स्थायी समाधन पहिल्याउनुपर्दछ ।
नीलो आकाशको धनी देश
२०७१ सालमा नान्जिङबाट बेजिङ जाने अवसर पाएँ । सबै धनाढ्यको एउटा हावा नछिर्ने शयन कक्ष । प्रदूषणमुक्त शान्त कोठा । बेजिङबासीलाई नीलो आकाश देखाउने राष्ट्रपति सि जिङ पिङको प्रतिबद्धता । मैले आफ्नो देशको नीलो गहिरो आकाश स्मरण गरेँ । रारा र से–फोक्सुन्डो तालको नीलो पानीजस्तो सफा आकाश । चीनभन्दा धेरै धनी लाग्यो हरियो वनको सुन्दर आफ्नो देश ।
झन् दुर्दशा धेरैपटक देखेँ भोगेँ नयाँ दिल्लीमा । आकाश देख्नु धेरै टाढाको दुर्लभ कुरा । फेरि मलाई आफ्नो देशको पवित्र प्रकृति र नीलो गहिरो सफा आकाश अमूल्य अजर अमर लाग्यो । पृथ्वीको एक मात्र अमूल्य हीराको टुक्रा । स्वर्गभन्दा सुन्दर देश नेपाल ।
नेपाल विश्वको हीरा होस् वा स्वर्ग, त्यसमाथि निःसन्देह विश्वको चासो र माया हुन्छ । अझ प्रकृति, वातावरण र हरियो वनजङ्गल विश्वको एक नम्बर एजेन्डा बनेको छ । विपत् र विपत् व्यवस्थापन पनि पहिलो प्राथमिकतामा पर्दछ ।
कुनै देश केमा धनी, कुनै देश केमा । आफ्नो देश प्रकृति र नीलो आकाशमा धनी । अग्ला हिमशिखरमा होस् वा त्यसबाट निस्कने पानीमा उसै धनी छँदैथियो।
प्रकृति र नीलो आकाश कायम राख्ने काम हामी नेपालीहरूको हो । मुलुकभरि आगो लगाउने, जलाउने र हावा, पानी, आकाश कुइरिमण्डल, अन्धकार र प्रदूषित बनाउने मानवजन्य कामलाई संसारले के भन्ला ? हामीले हाम्रो पहिचान र इज्जत सपार्ने कि बिगार्ने ?
दुर्लभ उद्धारकर्मीहरूको देश
विश्वमा दुई ओटा पवित्र कामका लागि सुरक्षाकर्मीहरूलाई लिखित आदेश चाहिँदैन । पहिलो, विपतबाट मुलुक र मुलुकबासीलाई जोगाउन आदेश कुर्नुपर्दैन । अथवा जनधनको क्षति रोक्न फस्ट रेस्पोन्डर भएर पुग्नु र उद्धार राहतमा होमिनु भन्ने प्राकृतिक निर्देशन हुन्छ फौजलाई । नेपालीहरूको भावना र रगत दुवैमा उद्धारमा होमिने गहिरो अमिट भाव हुन्छ । यसका लागि नेपालीहरू विश्वमा उत्कृष्ट कहलाएका छन् । बहादुरी पनि उद्धारसँग जोडिएर आउने सम्मान हो ।
दोस्रो, प्रकृति र वातावरण सुरक्षा । यो हाम्रो जीवन विज्ञानसँग जोडिएको अभिन्न सेवा हो । विश्वमा नेपाली सेना मात्र एउटा भाग्यमानी राष्ट्रिय सेना हो, जो प्रकृति संरक्षणको ऐतिहासिक खम्बा हो । यो प्रत्यक्ष निकुञ्ज आरक्ष र वन्यजन्तु रक्षार्थ फिल्डमा इतिहासदेखि तैनाथ छ । अन्य सुरक्षा निकायहरूको समेत प्रकृति संरक्षणमा उल्लेखनीय योगदान रहिआएको छ । समग्रमा अहिले एउटा साझा टिम र मजबुत टिमवर्कको माध्यमबाट यो पवित्र र पुण्य कार्य तथा अभिभारा मिलीजुली पूरा भइरहेको छ । वातावरण सफा राख्ने, वृक्षारोपण गर्ने, वनजङ्गल र वन्यजन्तुको रक्षा गर्ने पवित्र र पुण्य कामलाई पनि माथिको आदेश निर्देशन आवश्यक पर्दैन । डब्लुसिसिबीको साझा म्यान्डेडले यो पवित्र काममा सबैको साझा सहयोग सधैँ अपेक्षाकृत र अपरिहार्य रहिआएकै छ ।
डढेलो नियन्त्रण होस् अथवा अन्य उद्धार कार्य, नेपालका सुरक्षाकर्मीहरू स्वस्फूर्त हाम फालेको देखेर आफू सधैँ गौरवान्वित हुन्थेँ । नेपाली सुरक्षाकर्मीहरू उद्धारका भोका छन् भन्दा अत्युक्ति नहोला । आतिथ्यता र उद्धार उनीहरूको भावना र रगतमा मिसिएको हुन्छ । आफ्नो ज्यानको बाजी लगाएर उद्धारमा हाम फाल्ने उनीहरूको चरित्र छ । तर यी डढेलोहरूको सङ्ख्या र आकार हाम्रो उद्धार क्षमताभन्दा धेरै गुना ठूलो छ । भीरपहिरो, बाढी, डुबानको समस्या पनि उस्तै व्यापक र क्षमता बाहिरको समस्या भएर आइदिन्छ । अब हामीले दीर्घकालीन सुरक्षात्मक उपायहरूको खोजी र अवलम्बन गर्न विलम्ब गर्नु हुँदैन।
दीर्घकालीन सुरक्षा
प्रकृतिको रक्षा, सम्मान, कल्याण गर्ने । इमान्दार सेवा गरेर प्रकृति र वातावरणको रक्षा गर्ने । सके बढाउने, नसके दोहन र विनाश नगर्ने । हरित नेपालको सुन्दर वनजङ्गल नै बाढी पहिरोको दीर्घकालीन रोकथाम हो । भीरपाखा, डाँडाकाँडालाई छुनु, चलाउनु, बिगार्नु हुँदैन र तिनको प्राकृतिक हरियाली नितान्त कायम राखिदिनुपर्दछ ।
डढेलो नलाग्न, हिउँदे वर्षात्को सम्भावना बढाउन र पानी माग्न पनि हाम्रो सुन्दर भू–धरातलमा हरियो जङ्गल र पानीको स्रोत मनग्गे हुनैपर्दछ ।
डढेलो र विपत् नआउने सुनिश्चितता गर्ने काम हरेक नागरिकको हो । त्यस्तो ढुक्क र आत्मविश्वासका साथ गुजारा गर्दा पनि विपत् आइलाग्दछ भने लड्ने, जुध्ने, जित्ने र बाँच्ने पहिलो अभिभारा पनि हरेक नागरिकको हो । हरेक बस्ती, घर र व्यक्तिकहाँ पुग्न सुरक्षाकर्मी र उद्धारकर्मीलाई सजिलो छैन । त्यो हाम्रो हिमाली पहाडी कठिन भू–धरातलीय सिमाना, बाध्यता र विवशता हो । सुरक्षाकर्मीलाई टाढा, विकट र दूरदराजमा पुग्न लाग्ने समयसम्म विपत्सँग जुध्न् र प्रतीक्षा गर्ने काम पीडित स्थानीयवासीको एक्लो बाध्यता र बहादुरी हो । तसर्थ, सबै तहका सरकारी संयन्त्रहरूले नागरिक स्वयंलाई सबल, सक्षम, आत्मविश्वासी र भरपर्दो संरक्षणकर्मी बनाउन जरुरी छ । उसैगरी भरपर्दो उद्धारकर्मी बनाउन पनि अपरिहार्य छ ।
सबै वन क्षेत्रको पतकर छिटो अनिवार्य निकाल्न र वन क्षेत्रलाई सफा राख्न उत्तिकै जरुरी छ । वन क्षेत्र र प्राकृतिक स्रोतसाधनमाथि सङ्घको अनुगमन, नियमन र नियन्त्रण अर्को महत्वपूर्ण आवश्यकता हो ।
सबै वन क्षेत्रको कडा अनुगमन र नियन्त्रणका लागि भरपर्दो वनपाले, वन हेरालु, चौकीदार, युवा सुरक्षा दस्ता, सिसी क्यामेरा जस्ता आधुनिक प्रविधिको ब्याकअप जरुरी छ । खराब नियतले आगजनी गर्ने व्यक्ति र समूहलाई कडा दण्ड सजायको कानुनी व्यवस्था पनि उत्तिकै जरुरी छ ।
अन्त्यमा, राज्यका छरपष्ट उद्धार निकायहरूलाई एउटा छातामुनि सङ्गठित गरेर प्रभावकारी तालिम, उपयुक्त स्रोतसाधनले सुसज्जित गरी एकीकृत रूपमा परिचालन गर्ने संयन्त्र निर्माण गरेमा उद्धार र राहत कार्य अझ प्रभावकारी हुने अवश्यम्भावी छ । डढेलो लागिसकेपछि असरदार नियन्त्रण गरेर स्याबासी कमाउनेभन्दा डढेलो लाग्न नदिने पूर्व सावधानी कदम उपयुक्त हुने भएकाले त्यसको प्राप्ती र कार्यान्वयनमा जोड दिनु सबैको जितैजित र राष्ट्रिय हितमा हुनेछ ।
(लेखक संरक्षणविद् हुन्)