बर्दिया राष्ट्रिय निकुञ्जमा अंग्रेजी नयाँ वर्षको दिन बाघको आक्रमणबाट एकजना महिलाको ज्यान गएको छ । कैलाली लम्कीचुहा न.पा.–४ कौवापुरीको ५२ वर्षीया नन्दकला थापा लगायत बाघ आक्रमणमा परि मृत्यू हुने सबैको चिर शान्तिको लागि प्रार्थना गर्दछु ।
बाघले २० वर्ष पछाडि गुडिरहेको मोटरसाईकल माथि आक्रमण गरेर घटनाको प्रकृति दोहोर्याएको छ । पहिलो घटना लाष्ट लाईट् अगाडि घटेको थियो । कैलालीतर्फ जादै गरेको एक्लै सवार मोटरसाईकल यात्रीलाई खौराहा खोला नजिक अग्लो काँसघारीमा लुकेर बसेको बाघले एक्कासी आक्रमण गर्दा कैलाली लम्कीका युवाको ज्यान गएको थियो ।
अहिले उस्तै प्रकृतिको घटना सोही निकुञ्जको उही कोर इलाका घुमना पुल नजिक राती ९ बजे घटेको छ । यो अम्रेनीदेखि कर्णालीसम्मको निकुञ्जको घना जङ्गल (कोर एरिया) हो । फरक अहिले बाघले २ जना सवार मोटरसाईकल माथि आक्रमण गरेर पछाडि सवार महिलाको ज्यान लिएको छ । यो लेखमा आफ्नो पुरानो अनुभव र बाघ–मानव द्वन्द्व न्यूनिकरणको सुझावहरु राख्ने प्रयास गरेको छु ।
यो पनि पढ्नुहोस:मेरो रानीलाई हार्दिक श्रद्धाञ्जली
पूर्व नजिर
बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरिया भएर राजमार्ग बनाईएको हुँदा पहिले रातको समयमा सवारी साधन चलाउन निषेध थियो ।
बुढापाकाको कहावत छ– ‘दिन आफ्नो रात अर्काको ।’ फष्टलाईट लाष्टलाईट् र रातको समय वन्यजन्तु सक्रिय र बदमास हुने समय हो । बबई पुल र सैनवार बीचको जङ्गलमा २० वर्ष अगाडि दुई बाघ र बघिनीले घण्टौं बाटो नछाड्दा सवारी जाम खोल्न पंक्तिकार पुगेको थिएं । अम्रेनी कर्णाली १४ कि.मि. निसपट्ट जङ्गलमा हात्तीका बथानहरुले रातभरि बाटो छाड्दैन थिए । जुलुसको झल्को दिने गरि हात्तीले राजमार्गमा एकछत्र राज जमाउदथे । उहिले वन्यजन्तु अधिकारकर्मीहरुको आवाज बुलन्द हुन्थ्यो । संरक्षणलाई प्राथमिकता भन्दथे जनताहरु आफैं ।
पैदल यात्रु, एक्लो साईकल–मोटरसाईकललाई सुरक्षा गार्ड पोष्टले यात्रा गर्न दिदैन थिए । यात्रुलाई रोकेर २ वा २ भन्दा बढी साधनलाई एकट्ठा गरि पठाउने चलन थियो ।
पंक्तिकारको सेवा अवधिमा राजाहरुको ३ पटक भ्रमण भयो । निकुञ्जभित्रको राजमार्गलाई ‘यो अस्थायी बाध्यकारी अवस्था हो र छिटै यो असुविधा हटाउनुपर्दछ’ भन्ने राजाको सदिच्छा थियो । राजमार्गले वन्यजन्तुलाई पुर्याएको बाधा व्यवधान र पीडा देखेर राजामा छटपटी हुन्थ्यो । नयाँ राजमार्ग निकुञ्ज बाहिर राजापुरबाट छिटै निर्माण हुंदै छ भनेर हामी संरक्षणकर्मीहरु खुशीले गद्गद् हुन्थ्यौं ।
बर्दिया राष्ट्रिय निकुञ्जलाई पूर्व–पश्चिम राजमार्गले ३ ठाउँमा चिरेको छ । पहिलो खण्ड कर्णाली–अम्रेनी । दोश्रो सैनवार–बबई नदी र तेश्रो बबई–रम्भापूर खण्ड । २० वर्ष अगाडि यी तीनै खण्डमा रैथाने बाघको टेरिटोरी थियो । गुडिरहेको गाडिबाट बाघ देख्न पाईन्थ्यो । पंक्तिकारले धेरै पटक बाघको दर्शन गाडि र साईकलबाट पाएको थिएं ।
सायद अहिले पनि यो तीनै खण्डमा बाघको टेरिटोरी कायमै हुनुपर्दछ । पछिल्लो घटनाले पनि यसलाई थप पुष्टि गर्दछ । अझ अम्रेनी–कर्णालीको लामो कोर क्षेत्रमा १ होइन २ देखि ३ बाघको टेरिटोरी हुन सक्दछ ।
Ten Things That You Didn’t Know About Vultures in Nepal
बाघको विचित्र स्वभाव
बाघले हात्तीलाई २/३ कि.मि लखेटेको आँखाले देखेको थिएं । बेतोड् दौडिएको हात्तीको हौदाबाट लडेकी विदेशी महिला यात्रुलाई बाघले सुंघेर केही नगरेको र फेरि एक सुरले हात्ती लखेटिरहेको थियो । धेरै पछि बाघ थाकेर फिर्ता गएपछि हात्तीले सकुशल महिलालाई पुन: फेला पारि उद्धार गरेको थियो । अर्को घटनामा दौडिरहेको हात्तीको हौदाको मान्छेलाई बाघले उफ्रेर आक्रमण गरेको देख्दा लाग्दथ्यो बाघ उफ्रेको होइन उडेको हो । दुवै घटना बघिनीले डम्मरु बचाउ गर्न रिसाएर गरेका आक्रमण थिए । हामीले सुरक्षा गार्डलाई बाघ–बघिनीको मनोविज्ञान अनिवार्य पढ्न बुझ्न सिकाएका थियौं । संसर्गको समय, बघिनीले डमरुहरु स्याहारेको समय र शिकार अथवा शिकार पश्चातको समयमा बाघको वरिपरि नजान प्रशिक्षण दिएका थियौं । हात्तीलाई बाघको नजिक नजान आग्रह गर्दथ्यौं । तर पर्यटकहरुको मन अगाउने भएकोले उनीहरु बाघको नजिक भन्दा नजिक जान खोज्दथे ।
केही वर्ष अगाडि कसराभित्र खोरमा कैद गरेको नरभंक्षी बाघले ३५ फिट अग्लो खोर नाघेर बाहिर निस्कियो र संरक्षणकर्मीलाई मार्यो ।
बाघले गुठीमा पंक्तिकारको गस्ती जीपलाई १ कि.मि. लखेटेको थियो । कर्णालीको गस्ती र्याफ्टलाई छिटो भागिजाउ भनेर वार्निङ्ग दिएको थियो । मनाउघाटमा बाघले महासेर माछा लखेटेर शिकार गरेको देखाएका थिए एकजना जापानिज् मित्रले । उनी वर्षेउनी माछाको अध्ययन गर्न बर्दिया आईरहन्थे ।
रुखमुनी मरेको जस्तो नक्कल गरेर बाघले अग्लो रुखको टुप्पामा बस्ने लंगुरलाई झारेर ठहरै मारेको नाटक पनि कम रोचक थिएन । स्वाभिमान बाघको स्वभाव लज्जालु भनिएतापनि मलाई बुझिनसक्नुको विचित्र लाग्दथ्यो ।
फष्ट लाईट्मा मनाउघाटमा बाघसँग जम्काभेट भएपछि ‘राम नाम’ पुकारेर ढलेका बेहोसी स्थानीयलाई उद्धार गर्न पाएको थिएं । उसलाई बाघले घुमिघुमि सुंघेर छाडिदिएको थियो । स्थानीयले हालेको कथा र बाघका फ्रेस पग्मार्क दुरुस्त मिलेको थियो । पंक्तिकार बाघसँग बडिल्याङ्गवेज्मा कुरा गरेर आनन्द लिन्थें । मलाई बाघले आक्रमण गर्दैन र ‘रक्षक’ भनेर चिन्दछ भन्ने आत्मविश्वास थियो ।
आफू बाघसँग प्रेममा परेपछि आफ्नो संरक्षणकर्मीहरुलाई मैले उर्दी जारी गरें– “सबैले अनिवार्य बाघ देखेको हुनुपर्दछ । बाघ नदेखि निकुञ्ज डिउटीबाट जानु पाप हो ।”
बाघ देख्न गस्ती जानेहरुको तछाड मछाड हुन्थ्यो । अझ मसँग गस्ती जादा पेटभरि बाघ देख्न पाईन्छ भन्ने उनीहरुको अपेक्षा हुन्थ्यो ।
एकदिन सैनवार पोष्टले मृत बाघ फेला परेको प्रतिवेदन गर्यो । म तुफान घटनास्थल पुगे । गस्तीको १ जना बहादुरलाई बाघको मुख नजिक पुगेको देखेर मैले उसलाई तुरुन्त आउन ईशारा गरें । हामीले लुकेर बाघलाई हेर्दाहेर्दै बाघ उठेर जङ्गलतर्फ लाग्यो । ठूलो दुर्घटनाबाट एउटा सिपाही बांच्यो । लामो लौरोले घोच्दा र माटोको डल्लोले हिर्काउदा मरेको नाटक गर्ने बाघ आखिरी जिउदै रहेछ । तर भर्खर शिकार गरेर थाकेको र मातेको चिर निन्द्रामा ।
‘जोसको साथ होस्’ हुन नितान्त जरुरी छ जङ्गल डिउटीमा । बढी आत्मविश्वास र साहसले अप्रिय दुर्घटना होला भनेर पोलिरहन्थ्यो मलाई । तर वन्यजन्तुसँग अभ्यस्त फौजले गोही, सर्प खाली हात उद्धार गरेर जङ्गलभित्र रिलिज गर्दथे ।
यो पनि पढ्नुहोस:बाघमारा नियन्त्रणको नयाँ अभिभारा
मेरो टाईगरल्याण्ड
कर्णाली तटीय क्षेत्र बाघको लागि स्वर्ग थियो । पर्याप्त आहार र पानीको बासस्थान भएकोले यहाँ बाघको घनत्व बाक्लो थियो । कर्णाली पुलदेखि खाता कोरिडरसम्म बाक्लो बाघको रंजाईक्षेत्र थियो । पाईला पाईलामा रुखको हाँगामा पर्यटकहरु भेटिन्थे । बाघ देखेको खुसियालीमा साँझ पर्यटकहरु पार्टी गरिरहेका हुन्थे ।
गुठी उपत्यका निकुञ्ज भित्रको अर्को निकुञ्ज हो । वास्तविक वाईल्डरनेस् गुठीमा देख्न पाईन्छ । वाईल्डरनेसको खास् राजधानी । उपत्यकालाई चिरेर बबई नदी बग्ने भएकोले गुठी अर्को टाईगरल्याण्ड । गुठीका बाघ ज्यादै वाईल्ड । हृष्टपुष्ट र बलिष्ठ ।
मानिस मेशिन नदेखेका बाघहरु । त्यसैले हो बाघले मेरो गस्ती जिपलाई किलोमिटर लखेटेको । गुठीको जरायोहरु अजङ्ग ठूला । बलिष्ठ बाघले मात्र शिकार गर्न सक्ने ।
दुई टाईगरल्याण्डको बाघलाई हेर्न बुझ्न पाउदा स्वर्गीय आनन्द आउदथ्यो । कर्णाली फ्ल्ड प्लेनका बाघहरु मान्छे, पर्यटक र मसँग रत्तिएका थिए । मानिससँग मिलिजुली बस्न सिकेका थिए । तर गुठीका बाघले मान्छेको म पनि देख्न पाउदैन थिए । आहा ∕ कति भाग्यमानी गुठीका बाघहरु ।
मैले सँधै पुकारिरहें– बर्दिया राष्ट्रिय निकुञ्जमा अनगिन्ती टाईगरल्याण्ड । त्यसैले त्यो निकुञ्जको टाईटल रहोस्– टाईगरल्याण्ड । टाईगरल्याण्डका बाघहरु सुरक्षित, शान्त, खुशी र सुखी रहिरहुन् । पृथ्वीमा अन्तिम पाटेबाघले विचरण गर्ने बासस्थान त्यही टाईगरल्याण्ड होस् ।
तर अरु निकुञ्ज र अरु टाईगरल्याण्डलाई वास्ता अथवा सम्मान नगरेको पटक्कै होइन । वर्तमान घटना र आफ्नो पसिना बगेको फिल्ड स्टेशनको अतिरिक्त र विशेष माया मात्र हो यो ।
यो पनि पढ्नुहोस: बाघको चोरी शिकार : नयाँ नेतृत्व र डिजिलाई अवसर
पश्चातापको डढेलो
आफूले टाईगरल्याण्ड छाड्नासाथ द्वन्द्व नामको आंधीबेहरी आयो । कर्णाली पारी गोलाको एक्लो आइसोलेटेड् पोष्ट मर्ज भयो । कर्णाली नदीको पूर्वी किनारामा लहरै गार्ड पोष्टहरु स्थापना भए । द्वन्द्वको बाध्यता । पाटे बाघलाई सुरक्षा त प्राप्त भयो । तर धेरै डिस्टर्ब भयो । बाघको मूल घर कर्णाली फ्ल्ड प्लेन पारि छुट्यो ।
उल्टो यो सुरक्षा व्यवस्थाले मेरो मनमा डढेलो लागिरह्यो । आज सम्मपनि पश्चातापको ज्वारभाटाले पोलिरहन्छ । यो बाधा मैले गरेको होइन । मैले छाडेपछिको बाध्यात्मक नयाँ सुरक्षा व्यवस्था हो । तर आफ्नै छातीमा काँटी ठोकेर तारबार लगाएजस्तो पीडा छ मलाई ।
अनुसन्धान आवश्यक
बाघ विज्ञहरुले बाघको मनोविज्ञान अध्ययन गरेर निश्कर्ष निकाल्न जरुरी छ– “बाघहरु किन यति धेरै अस्थिर छन् ? के को तनाव र पीडा हो यो ? कोही डडेल्धुरा त कोही ईलाम पुगेका छन् । कोही सडकमा निस्केर गाडीसँग ठोक्किएर आत्महत्या गरेका छन् । कोही गुडिरहेको मोटरसाईकलको मान्छे थुतेर आक्रमणमा उत्रेका छन् । त्यति भद्र, लज्जालु र स्वाभिमान बाघलाई के के समस्याले सताईरहेको छ । उत्तर सजिलो होला– बासस्थान विनास, बाघको घरमा लिनियर पूर्वाधार निर्माण, चोरी शिकारी, आहाराको कमी, जलवायु परिवर्तन, अशान्ति र असुरक्षा, अवैध अङ्ग व्यापारको बिगबिगी आदि आदि । तर बाघको मनोवैज्ञानिक भित्रि चिन्ता पत्ता लगाउन जरुरी छ ।
के नेपाल पुर्खाले सुम्पेको प्रकृतिको उपहार बाघ पाल्न नसक्ने देश भएको हो त ? किन दुर्गामाताको बहान् शक्तिको प्रतीक बाघ विनासको लागि हामी उद्यत छौं । किन बाघ अधिकारकर्मीहरु बाघ बचाउका लागि बोल्न लेख्न सक्दैनन् । किन हामी बाघका बासस्थान मास्ने नास्ने दाउमा छौं । किन विश्व सम्पदामा सूचिकृत प्राकृतिक सम्पदाको विरोधमा छौं ?
सायद यो दरिद्रताको पराकाष्ठा हो । बाघ विज्ञहरु एकजुट् गोलबद्ध हुन र बाघको रक्षार्थ जुट्न आवश्यक देखिन्छ । यहाँ बाघ प्रजातिको छुट्टै चर्चा र समस्या गर्न खोजिएको होइन । बाघसँग सम्पूर्ण जैविक विविधता र तिनको बासस्थान जोडिएर आउदछ । बाघसगँसँगै मानव जातिको पनि अस्तित्व समाप्त हुन्छ भन्ने विज्ञहरुको भविश्यवाणीलाई हामीले हृदयंगम गरेर बाघलाई बचाउन हरदम प्रयास गर्नुपर्दछ ।
हल्ला र अफबाह
नेपालमा बाघ धेरै भयो भन्ने हल्ला फैलाईएको छ । यो सुनियोजित रचिएको तानाबुना हो । गरीबको देशमा किन चाहियो निकुञ्ज– आरक्ष र बाघ हात्ती ? यो अर्को अफवाह हो । निकुञ्ज–आरक्ष र संरक्षण क्षेत्र चक्लाबन्दी गरेर बाँड्ने र नेपाल धनी हुने उल्टो दीवा सप्नाले एउटा वर्गलाई जुरुक् जुरुक् उचालेको छ।
बाघको क्यारिङ्ग क्यापासिटी अझ धेरै छ नेपालमा । तर हाम्रा निकुञ्ज–आरक्षमा चौतर्फी अतिक्रमण र वाधा व्यवधान बढेर बाघलाई तनाब भएको हो । चोरी शिकारी बढेको पनि घामजस्तै छर्लङ्ग छ । तर बाघ बढी भएको हल्ला निराधार हो । सन् २०२२ मा हामीले बाघ दोब्बर बनाउनु छ । बाघको आनीबानी अनुसन्धान गर्न समेत सहयोग पुग्ने हिसाबले तत्काल एउटा बाघ गणना आवश्यक देखिन्छ ।
बर्दिया निकास
अनकण्टार जङ्गलको एक्लो मोटरसाईकल यात्रालाई निकुञ्ज प्रशासनले प्रतिबन्ध लगाउनुपर्दछ । कम्तिमा जोडी साधनमा यात्रा गर्न दिने व्यवस्था हुनुपर्दछ । अति जरुरी आपतकालीन् यात्रा हो भने सुरक्षाकर्मीहरुले एस्कर्ट गरेर जङ्गल पार गराईदिनुपर्दछ ।
जङ्गलको बीच बीचमा समदूरीमा अस्थायी पोष्टहरु, अस्थायी चेक पोइण्टहरु अनिवार्य सञ्चालन गरेर सुरक्षाको प्रत्याभूति दिनुपर्दछ । डमी पोष्ट र डमी गार्डहरुपनि डेटरेन्सको लागि उपयोगी हुन सक्दछ ।
अस्थायी भनेर राजमार्ग भित्र बनाईएका सडकहरु हटाएर निकुञ्ज बाहिरबाट बनाउनुपर्दछ । अथवा, विज्ञहरुको राय लिएर अण्डरपास भन्दा पनि ओभरपासको व्यवस्था हुनुपर्दछ । र, भविष्यमा यस्ता प्रकृति एवं वन्यजन्तुअमैत्री लिनियर पूर्वाधार निर्माण गरिनु हुंदैन ।
कर्णाली नदीका पूर्वी किनारामा स्थापना गरेका गार्ड पोष्टहरु हटाएर कर्णाली पारि लैजानुपर्दछ ।
टाईगरल्याण्ड (बर्दिया) का स्थानीयबासी जनताहरु बाघ संरक्षणमा अझ सक्रिय र जुझारु भएर लाग्नुपर्दछ ।
टाईगरल्याण्डको सि.बि.ए.पि.यु. टीम र संरक्षणकर्मीहरुलाई सलाम ।
जय प्रकृति संरक्षण ।