श्रद्धेय संरक्षण अग्रज रामप्रित यादवले सुनाउनुभयो – सन् १९९४ मा २६ ओटा हात्ती परिचालन गरेर सुरु गरेको गैँडा गणना हिजोजस्तो लाग्दछ । कति विशाल उत्सव । कति उत्साहित संयुक्त टिम । कति शान्त र अनुशासित हात्तीहरु । कति धेरै प्रतिबद्ध हात्तीसारेहरू । कति दृढ सङ्कल्पित एकभक्त गणकहरू ।

विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जमा अहिले यो उत्सव जारी छ । हामी दुई र धेरै भुक्तभोगी संरक्षणकर्मीहरू साँझ बिहान प्रार्थना गरिरहेका छौँ – कुनै अप्रिय घटना नहोस् । अनपेक्षित जोखिम मोल्नु नपरोस् । उत्सव उत्सव जस्तै रमाइलो र सफल होस् । यो आलेख जारी त्यही पुण्य कामको समीक्षा गर्न तयार पारिएको हो ।

Counting Rhino in Chitwan in Progress.

जोखिम नै जोखिमको उत्सव

एउटा हात्तीलाई मात चढे के गर्ने ? जङ्गली हात्ती, गैँडा, बाघले आक्रमण गरे के गर्ने ? चारैतिरबाट डढेलोले घेरे के गर्ने ? आँधीबेहरी हुन्डरी आएर रात्री क्याम्प उडाइदियो भने कसो गर्ने ? हात्ती दलदल र धापमा फसे के गर्ने ? गणक घाइते–बिरामी भए के गर्ने ?

मौसमका विविध रङ्गीन रूप हाम्रा काबुमा हुँदैनन् । न वन्युजन्तुको स्वभाव, तनाव र आक्रमणको पूर्वानुमान गर्न सकिन्छ । दशा लागेको बेला अनुशासित घरपालुवा हात्तीले आफ्नै माहुतेको ज्यान लिइदिन्छ ।

वास्तवमा गहिरिएर सोच्यो– हेर्‍यो भने जता हेर्‍यो, उतै काल नै काल देखिन्छ । त्यही भएर हुनुपर्छ वनदेवीको भव्य पूजा गरेर गणना सुरु गर्ने गरिएको । सबैले हरेक बिहानी माटो, वन र वनदेवीलाई ढोगेर गणनालाई निरन्तरता दिने गरेको । सुरक्षाको दह्रो र भरपर्दो व्यवस्था समेतको योजना र तयारी गर्नुपरेको ।

गणनामा सामेल हात्तीको सधैँ १२ बजेको हुन्छ । थकाइ, तनाव, रिस, क्रोधको सीमा नाघेको हुन्छ । उही ताल हुन्छ माहुतेहरूको । झन् १३ बजेको हुन्छ गणकहरूको । भोक, तिर्खा, निद्रा थकाइ,पीडा, दर्द, रोगको तनावले गाँजेको हुन्छ गणकहरूलाई । अझ यो वर्षको गणनामा महिला गणकहरूको सहभागिता रहेको सुनिन्छ । तिनीहरूको पीडा झन् धेरै होला स्वभावतः ।

प्रश्न उठ्छ – गैँडा गणना उसो भए उत्सव हो कि पीडादायी मिसन अथवा काल ?

जवाफ सरल, स्पष्ट र सीधा छ – यो विशेष उत्सव हो । भव्य समारोह हो । पवित्र र धार्मिक उद्देश्य अन्तरनिहित विशिष्ट पुण्य काम हो । त्यसैले सधैँ यो सफल हुन्छ ।

Counting Rhino in Chitwan in Progress.

यो पनि पढ्नुहोस:गैँडा गणना : नम्बर होइन, वासस्थान सुधार आजको आवश्यकता

पछाडि फर्केर हेर्दा

म कति भाग्यमानी ! सन् २०२० मा आफ्नै बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना भयो । म खुसीले तीन हात माथि उफ्रिएँ । आफू हात्तीको ढाडमा बसेँ । आफ्नो अपरेसन टिमलाई पनि हात्तीमाथि राखेँ । सुरक्षा इन्चार्जलाई आफ्नो निकुञ्ज चिन्ने जान्ने, बुझ्ने यो दुर्लभ अवसर हो । सुरक्षा चुनौतीहरू (चोरी सिकार, पासो, विषादि, वन विनाश, घुसपैठ, नाका पहिचान) पत्ता लगाउन र चुस्त सुरक्षा योजना तर्जुमा एवं कार्यान्वयन गर्न यो किनेर नपाउने मिलियन डलर अमूल्य अपूर्व अवसर थियो । आफू सहभागी भएपछि चिफ वार्डेन पनि सहभागी हुनुभयो । सुनमा सुगन्ध भयो । गैँडा गणना उत्सवभन्दा ठूलो ‘महान् चाड’ जस्तो भयो ।

हामीले उक्त मिसनका क्याप्टेन डा. शान्तराज ज्ञवालीको आदेश निर्देशन अक्षरशः पालना गर्‍यौँ । गैँडा गणनालाई सञ्चालन, निर्देशन र नियन्त्रण गर्ने मुख्य नेतृत्वलाई क्याप्टेन भनिन्छ । हाम्रा मिसन क्याप्टेन मेरा संरक्षण गुरु गैँडा विज्ञ उही डा. ज्ञवाली हुनुहुन्थो । हामी सबैको नङ–मासुको सम्बन्ध थियो । गैँडा गणनाले टिम बिल्डिङ र टिम वर्कलाई सिमेन्टको भन्दा बलियो रसायनले जोडिदियो ।

त्यति बेलाका महानिर्देशक डा. तीर्थमान मास्के । डब्लुडब्लुएफका राष्ट्रिय प्रतिनिधि डा. चन्द्र गुरुङ । किङ महेन्द्र ट्रस्टको मान, शान र गरिमा विश्वव्यापी महिमा बोकेको गौरवशाली संस्था जस्तो । फिल्ड प्रोजेक्ट म्यानेजर डा. ज्ञवाली स्वयं । आफ्ना हाकिम चिफ वार्डेन शिवराज भट्ट । केन्द्रदेखि फिल्डसम्म ज्यादै प्रतिबद्ध हार्डकोर संरक्षणकर्मीहरूको चेन अफ कमान्ड ।

न घरजग्गा व्यापारको चिन्ता । न आवश्यकताको हिमचुली । न इच्छा आकाङ्क्षा–महत्वाकाङ्क्षको ठेली । न पाहुना न परिवार । न राजनीतिक माग र दबाब । रामराज्यजस्तो निकुञ्जमा हाम्रो एकभक्ति एकाग्र संरक्षण पहल, प्रयास र परिणाम । जीवनमा बिर्सन नसक्ने एउटा दुर्लभ उत्सव ।

संयोगले १५ वर्षपछाडिको गैँडा गणना उत्सवको उद्घाटनमा सहभागी हुन प्रतापपुर (चितवन) पुगेँ । त्यहाँ राजनीतिक परिवर्तनको अनौठो तामझाम छिरेको आभास भयो । जङ्गल अमैत्री र मिसन अमैत्री रङ्गीचङ्गी भड्किलो भीड र खर्चले दिने परिणाम कस्तो होला भनेर चिन्तित भएँ ।

चिन्तालाई दबाउने सकारात्मक परिवर्तनले तुरुन्त उत्साहित तुल्यायो– सबै हात्तीमा जिपिएस थियो । फोटो खिच्न मोबाइल थियो । स्मार्ट पेट्रोलको अवधारणा अनुसार रियल टायम इमेज हेरेर क्याप्टेनले हात्तीहरू कन्ट्रोल गर्दथे । कुन हात्ती धेरै अगाडि छ, कुन पछाडि छुट्यो, कुन धेरै टाढा गयो र ग्याप सिर्जना गर्‍यो ? क्याप्टेन माधवले थाहा पाउँथे र पङ्क्ति मिलाइरहन्थे । उनीसँग आइटी मास्टर कर्णेल सुदीप पन्त सँगै सवार थिए । आहा ! कति सुन्दर प्रविधिको प्रभावकारी प्रयोग । गैँडा गणनाको फोटोसहित डाटा इन्ट्री हुन्थ्यो र त्यसलाई पार्क हेडक्वार्टर र निकुञ्ज विभागमा महानिर्देशकले अवलोकन र अनुगमन गर्न सक्नुहुन्थ्यो ।

त्यही गणना बिथोल्न ध्रुवे हात्तीले मरिहत्ते गर्‍यो । स्पेसल फोर्सको एउटा बहादुर हवल्दारले ध्रुवे हात्तीलाई माइलौँ लखेटेर धपाएको गुन आजसम्म सम्झिनुहुन्छ क्याप्टेन रेन्जर माधव । चुस्त सुरक्षा टोली साथमा हुन नितान्त जरुरी छ भन्ने पाठ हो यो ।

Counting Rhino in Chitwan in Progress.

वर्तमानको खुसी र चिन्ता

खुसी यसकारणले कि त्यो गैँडा गणनाको उत्सव जारी छ आजसम्म । उही हौसला, उही मनोबल, उही उत्साह । उनै प्रतिबद्ध हात्ती, माहुतेहरू, गणक, प्राविधिक, प्रशासक, सुरक्षाकर्मी । यो वर्षको गणनामा गणपतिले सैनिक क्याप्टेनको नेतृत्वमा चुस्त र्‍यापिड् रेस्पोन्स सुरक्षा टिम ३ ओटा हात्तीको ढाडमा राखेर दूरदर्शिता अपनाएका रहेछन् । स्पेसल फोर्सले निकुञ्जमा बाक्लो क्याम्पिङ गरेर सुरक्षा पहरा दिइरहेको रहेछ । बाक्ला सुरक्षा पोस्टहरू र गस्तीहरूको छुट्टै सुरक्षा आफ्ना ठाउँमा छँदैछ । सबैका बीच चुस्त, तुरुस्त र भरपर्दो समन्वय र सहकार्य हुने नै भयो ।

‘यो गैँडा गणनामा सुरक्षा चाहिए नजिकको पोस्टलाई भन्नू’ भन्ने गैरजिम्मेवार जवाफ होइन कि स्वस्फूर्त सशरीर सुरक्षाकर्मीहरूको सहभागिता र बाक्लो सुरक्षा पत्रसँगको समन्वयले निकुञ्ज सेनाको जवाफदेहिता बढेको सुखद् अनुभूति गर्न पाएँ । बाँकी निकुञ्जले अवश्य पाठ सिक्ने छन् र झन् राम्रो सुरक्षा कभर प्रदान गर्ने छन् भन्ने विश्वास लिन पाएँ ।

चिन्ता पनि सामान्य र स्वाभाविक हुने नै भयो । केन्द्रदेखि निकुञ्जसम्म चुनौती चुलिएका छन् । चुनौती नै चुनौतीको ठेलीले विभाग, निर्देशनालय, स्थानीय निकुञ्ज प्रशासनका चिफ वार्डेन र प्रोटेक्सन युनिट कमान्डरलाई व्यस्तताले छोपेको छ । न गणनामा सामेल हुन समय, न सूक्ष्म अध्ययन, अवलोकन र अनुगमन गरेर मिसनलाई हौसला, मनोबल बढाइदिने फुर्सद ।

हामी आजका संरक्षणकर्मीहरूको समर्पण भाव र त्याग खुइलिएर खिएर जाने हो कि भन्ने अर्को व्यावहारिक चिन्ता । किनभने हाम्रा चाहना, आवश्यकता र माग दिन दुई गुना रात चार गुनाले बढेर हामी हैरान छौँ । हामी आफू पनि अत्यधिक तनावमा र हाम्रा हात्ती पनि तनावमा । वन्यजन्तुको तनाव झन् बढेर गएको अनौठो भान भएको छ । मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको छ । द्वन्द्वको प्रमुख कारण अवैध घुसपैठ, अतिक्रमण, चोरी सिकार लगायत मानवसिर्जित् समस्या प्रमुख कारण भएको देखिएको छ । कोभिड महामारीको पीडाले चुलिएको तनाव हिमालभन्दा अग्लो छ । त्यसलाई जितेको छ, मुलुकभरि लागेको डढेलो र उत्पन्न भयावह प्रदूषण र स्वास्थ्य सङ्कटले । निकुञ्जको पवित्रतालाई फोहोर मैलाले ढाकेर निर्लज्ज बनाएको छ । चुनौतीका यी र यस्तै पहाडले वर्तमान र भविष्यका यी चिन्ताहरूबाट मुक्त राख्नुपर्दछ हामीले निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरूलाई ।

उत्सवको रक्षा

उत्सवलाई उत्सवजस्तै राख्न राष्ट्रिय निकुञ्ज प्रशासनले आफ्नो चेन अफ कमान्डलाई क्रियाशील र ऊर्जाशील बनाइराखोस् । मिसनधारीहरूलाई आवश्यक हौसला, उत्प्रेरणा र पुरस्कारले सम्मान गरोस् । सबैलाई जगाएर, हँसाएर, रमाएर र खुसी पारेर यो दुर्लभ गैँडा गणनाको मिसन सफल र अविष्मरणीय बनाओस् ।

चिन्ता जाहेर गर्दा भोलि हेलिकोप्टरबाट गैँडा गणना गर्नुपर्ने दिन नआओस् । जमिनमा ट्याक्टर वा अलवेदर डिजेल गाडीबाट गन्ने दिन पनि नआओस् । अग्रजले पत्ता लगाएको र हामीले अभ्यास गरेको यही प्रकृति तथा वातावरणमैत्री गैँडा गणना अभ्यासले अनन्तकालसम्म निरन्तरता पाइरहोस् ।

यो आलेखको आशय पुरानो ठिक वर्तमान बेठिक भन्न खोजेको पक्कै होइन । तर पुरानो र वर्तमानको नराम्रो पक्षलाई बहिष्कार एवं सकारात्मक र मजबुत पक्षलाई अङ्गीकार गर्दै भविष्यको यो महत्त्वपूर्ण र संवदनशील कार्यलाई झन् उन्नत र परिष्कृत गर्दै लैजान सिफारिस गर्न खोजिएको मात्र हो । पहिलेको संरक्षण समर्पण र त्याग तथा वर्तमान प्रविधिको पहुँच र ज्ञानको समिश्रण अभ्यासले यो कार्यलाई टल्काउन चम्काउन सकिन्छ भन्ने पङ्क्तिकारको सुझाव हो ।

सुझाव

सम्पूर्ण मिसनको सुरक्षा निकुञ्जमा तैनाथ नेपाली सेनाको हुने भएकाले ज्यादै भरपर्दो, विश्वसनीय सुरक्षा योजना र ब्याकअप योजना त्यहाँ तैनाथ गणहरूले गरिदिनुपर्दछ । साथै, सुरक्षाको वैकल्पिक योजनासमेत तयारी हालतमा हुनुपर्दछ । आफ्नो अधिकार टुआईसीलाई सुम्पिएर गणपतिहरू गणना मिसनमा सहभागी हुने पहल कदरयोग्य हुनेछ । अझ नयाँ चिफ वार्डेन र गणपतिहरूका लागि आफ्नो निकुञ्जलाई स्क्यानिङ तथा पोस्टमार्टम गरेर हेर्ने यो अपूर्व र अमूल्य अवसर हो । १/२ हप्ताको जङ्गल प्रवेशले आकाश झर्दैन भन्ने दृढ विचारका साथ गणपतिहरूले यो त्यागको भावना जगाउन सक्दछन् ।

कार्यालयका दैनिक चिठीपत्र, मुद्दामामिला रात्रीकालीन क्याम्पबाट सञ्चालन गर्न सकिन्छ ।

केन्द्रका महानिर्देशक, निर्देशक, संरक्षण साझेदार सङ्घसंस्थाका प्रतिनिधिहरूले बीच बीचमा र समापनमा सामूहिक भ्रमण गरी भोज, पुरस्कार र कदर घोषणा गरेर यो उत्सवलाई फूलबुट्टा भर्न र महान् चाडमा रूपान्तरण गर्न सक्नेछन् ।

गैँडा गणनाको क्याम्प बन्दोबस्ती सुविधासम्पन्न र रमाइलो होऊन् । टिम बिल्डिङ गर्ने आधारशीला बनून् । त्यो दिन गणना भएका गैँडाको डाटा इन्ट्री र सार्वजनिक त्यही दिन गरून् । वासस्थान समस्या र सुधारको खाका प्रस्टसँग औँल्याइदिऊन् । भविष्यमा उत्तम वासस्थान निर्माण गर्न योगदान गरून् । सङ्ख्या धेरथोर जे होस्, चिन्ता नगरून् र भएको सङ्ख्यालाई निडरताका साथ सार्वजनिक गर्ने हिम्मत गरून् ।

अन्त्यमा, कोभिड महामारीलगायत विविध चुनौतीका बाबजुद सञ्चालित यो ‘राष्ट्रिय गैँडा गणना कार्यक्रम’ पूर्णरूपमा सफल होस् । यो गैँडा गणनासँगै नेपालको प्रतीक एकसिङे गैँडाले पहिलाको भन्दा राम्रो विश्वकै शान्त र उत्कृष्ट वासस्थान पाऊन् । यही पङ्क्तिकारको शुभकामना छ ।

(लेखक संरक्षणविद् हुन्)

बाबुकृष्ण कार्की, बाघ गोठालो ।

 

यो हेर्नु भयो?

Nepali Short Story: Naari Shakti | नेपाली लघुकथा


Like it? Share with your friends!