मार्च २२ तद्नुसार चैत्र ९ गते विश्व पानी दिवस । शुद्ध पिउने पानीको हाहाकार भोगिरहेको विश्व समुदायले जलसंरक्षणको प्रार्थना र सङ्कल्प गर्ने पुण्य दिन । जल संरक्षण र सदुपयोग नभए भविष्य अन्धकार छ भनेर सचेत, सावधान र सतर्क हुने विशेष दिन ।

संयोगले त्यही दिन नेपालमा गैँडा गणना प्रारम्भ भएको जनाउ दिन सिट्ठी फुक्ने दिन । हामीलाई राष्ट्रिय प्रतीक गैँडा नभई नहुने, गैँडालाई पानी नभई नहुने । यी दुवै अपरिहार्य प्रकृतिका उपहारको रक्षा सम्मानमा यो आलेख तयार पारेको छु । उही पुण्य दिनमा प्रकाशित गर्नुपर्ने आलेख आफू सुदूरपश्चिमस्थित फिल्डमा गैँडा रक्षार्थ खटिएको हुनाले केही दिन ढिलो हुन गएकोमा क्षमाप्रार्थी छु ।

पानी र गैँडा

पानीको सतह घटेको, पानीका मुहानहरू सुकेको र नदीको पानी प्रदूषित भएको घामजस्तै छर्लङ्ग छ ।

राजधानीको धार्मिक महत्वको नदी बागमती हामी नेपालीको सक्कली परिचय हो । हामीले आफ्नो अनुहार ऐनामा होइन, बागमतीको पानीमा हेरेर आफ्नो परिचय लिनु पर्दछ । त्यही दुर्दशा प्रायः सबै नदीहरूको

छ । उही हालत छ, गैँडाको मूलघर राप्ती–नारायणीको । अर्ना पाल्ने, पिलाउने, धुने र डल्फिन नचाउने सप्तकोसीको पीडा दर्दनाक छ । कर्णालीको हालत उस्तै खराब छ । महाकालीले प्रत्यक्षदर्शी राष्ट्रवादी नेपालीको मनलाई धुरुधुरु रुवाउँछ ।

यी नदीमा आश्रित पानीप्रेमी एकसिङ्गे गैँडा आज पानीको अभावमा रोग, भोक, तिर्खा र मृत्युसम्मको पीडा र दूर्भाग्य झेलिरहेका छन् । त्यही पानीले दिने लेउ र उमार्ने घाँसको अभावमा भोकभोकै छटपटाइरहेका छन् । त्यही दुर्दशा छ, पटेबाघहरूको । उस्तै पीडा र दर्द छ, समग्र जैविक विविधताको ।

गैँडा, बाघ लगायतका वन्यजन्तुलाई जीवन्त र खुसी सुखी राख्ने यी नदी छिनमा निमोठिएर नहरमा हुलिएका छन् । बेचिएका यी नदीहरू धुरुधुरु रुँदै मातृभूमिसँग निराश बिदाइ भएका छन् । बाँकी नदी र जल पराईको आँखाको तारो बनेका छन् । पुच्छरदेखि शिर हिमालयसम्म कतिपय खोला छुटाउन नसक्ने झोला र एम्बुसमा परिसकेका छन् ।

खोई हाम्रो प्रकृतिप्रेम ? प्रकृतिको सर्वोच्चता स्वीकार ? जल संरक्षण, सदुपयोग र सम्मान ?

पानीको दोस्रो धनी देश भनेर रटान लगाउने पङ्क्तिकारको उमेर ६ दशक पुग्न लागिसक्यो । काकाकुलझैँ मेलम्ची कुरेको ३ दशक नाघ्यो । कठै ! धनी देशको दारिद्रिक र कारुणिक कथा ।

गैँडाको माग

यसै हप्ता सुदूरपश्चिम शुक्लाफाँटामा पेटभर गैँडा हेर्न पाइयो । सुन्दर भीमकाय गैँडासँग झन्डै १५ मिनेट वार्तालाप गर्न पाइयो । अबोध गैँडाका आँखाले इसारा गरिरहेका थिए – मैले पेटभर पानी पिउन पाएको छैन । आहाल खेल्न, नुहाउनु पाएको छैन । हिलो खेलेर घाउ निको पार्न पाएको छैन । मैले चर्ने घाँस गाईवस्तुहरूले सफाचट् पारेर हैरान । कृपया उद्धार ! उद्धार ! उद्धार !

दुई साताअगाडि पर्सामा हाम्रो बाटो छेकेर गौरगाई, गैँडा र बाघले गहिरो सुस्केरा हालेर मागिरहेका थिए – पानी देऊ । पानी देऊ ।

३२ दिनअगाडि मेघौलीपारिका गैँडाले सामूहिक गुनासो राखिरहेका थिए – चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरको पानी खोई ? नदीमा सफा शुद्ध स्वस्थकर पानी खोई ? हाम्रो घाँसे मैदान र चर्ने घाँस खोई ? हामी कति जुधेर मर्ने ? कति लडेर मर्ने ? कि २ मुठी सास राख्न भागेर सीमापारि छिमेकी वनमा जाने ?

पर्सा जस्तै बाँकेमा आक्कलझुक्कल जाने गैँडाको झन् ठूलो माग छ पानीको । पानी पाऊँ, पानी पाऊँ – पाटेबाघको चित्कार झन् ठूलो छ ।

गैँडाविज्ञहरूले उसको माग र भाषा डिकोड गरिदिनुपर्‍यो । हात्तीको ढाडमा सवार गणकहरूले गैँडासँगै उसको पानी र घाँसको न्यूनतम एवं आधारभूत माग आफ्नो प्रतिवेदनमा निडर भएर समावेश गरिदिनुपर्‍यो । गैँडाका यी आधारभूत माग हामीले विनाबिलम्ब पूरा गरिदिनुपर्दछ । किस्ताबन्दी र धेरै चरणमा होइन, एकै पटकमा । पङ्क्तिकारको पहिलो जोडदार माग ।

गैँडाको अर्को माग शान्ति सुरक्षाको हो । कति धेरै डिजेल गाडीको सफारी ? कति धेरै रङ्गीचङ्गी र मोडिफाइड गाडीहरूको होहल्ला ? चोरी सिकारीको एम्बुसको अर्को तनाव । अटेर स्थानीयहरूको छापामार शैलीको अत्यधिक घुसपैठ अर्को तनाव । अतिक्रमणको छुट्टै तनाव । ट्रिपर, ट्याक्टर, ट्रकको नदी दोहन पृथक् तनाव । भौतिक पूर्वाधार निर्माण तनावमाथिको तनाव ।

गैँडालाई सत्प्रतिशत् शान्ति सुरक्षाको प्रत्याभूति मेरो दोस्रो माग ।

गैँडा गणना

२ वर्षअगाडिको निर्धारित गैँडा गणना रद्द गरेर हामीले ठूलो भूल र पाप गर्‍यौँ । गैँडाको क्षति बढेर राष्ट्रिय अन्तर्राष्ट्रिय प्रकृतिप्रेमी तथा संरक्षणविद्हरूलाई स्तब्ध तुल्यायो । त्यसपछि गत वर्ष बजेट विनियोजन र सम्पूर्ण तयारी गरेर पनि हामीले कोभिड–१९ को बहानामा पुनः गणनाको महत्वपूर्ण कामलाई स्थगन गरेर अर्को महाभूल र महापाप गर्‍यौँ । कोभिड–१९ आजसम्म गैँडाको घरमा छिरेको छैन र भविष्यमा पनि छिर्ने सम्भावना न्यून छ । गैँडाको कहालिलाग्दो क्षति झन् बढेर गयो ।

धेरै ढिलो भए पनि ६ वर्षपछि गैँडा गणनाको संवेदनशील काम प्रारम्भ भएको छ । गैँडाका लागि यो खुसी र हर्षको उत्सव हो । गैँडाको गुनासो, माग सुन्ने र शीघ्र सम्बोधन गर्ने अपूर्व अवसर हो । गैँडाको दुःखसुख, पीडा, दर्द, अभाव देख्ने र मापन गर्ने यो दुर्लभ अवसरको हामी गणक, व्यवस्थापन र संरक्षकहरूले भरपूर सदुपयोग गर्नुपर्दछ । आशा गरौँ, यो वर्षको गणना सतही र झारा टार्ने काम हुने छैन । श्रम, पसिना र लगानी खेर जाने छैन ।

फिल्डमा यो महान् तर ज्यादै चुनौतीपूर्ण र जोखिमपूर्ण काम फत्ते गर्न परिचालित ती अबोध दर्जनौँ हात्तीहरूलाई सलाम र शुभकामना ।

ती भीमकाय हात्तीहरूलाई एक्स्टेन्डेड फर्मेसनमा सिधा पङ्क्तिबद्ध टन्टलापुर घाममा घडीको सुईजस्तो अनवरत चलाइरहने र खोला, खोल्सा, धाप, दलदल, काँडाघारी, सिस्नोघारी सर्वत्र चप्पाचप्पा पुर्‍याई ‘उः भाले गैँडा, उः पोथी गैँडा, उःबच्चा गैँडा’ भनेर देखाइदिने माहुतेहरूलाई ससम्मान सलाम ।

यो असम्भव कामलाई सम्भव बनाउन हात्तीमा दिनभर सवार तालिमप्राप्त, शारीरिकरूपमा तन्दुरुस्त, दुरबिनधारी गणकहरूलाई पनि सलाम र शुभकामना । तर गणकहरूलाई दुधको दुध पानीको पानी दुरुस्त प्रतिवेदन गर्न मेरो अर्को जोडदार माग । ३ वर्षको कालो इतिहास हेरेर जिउँदो मात्र होइन, मृत गैँडाको अस्थिपञ्जर र हाडखोर पत्ता लगाउनसमेत अनुरोध ।

अपरेसन, बन्दोबस्ती, सुरक्षा, संयोजन र सहकार्य गर्ने फिल्डस्थित निकुञ्ज प्रशासन, नेपाली सेना, सबै संरक्षण साझेदार संघसंस्थाहरूलाई पनि सलाम र सफल गणनाको शुभकामना ।

विगतमा गैँडा गणकहरूले दिएको प्रतिवेदन के थियो ? सिफारिस र सुझाव कार्यान्वयन भयो भएन ? क्षतिको मूल कारण के हो र समाधानको उपाय के हो ? गणकहरूले प्रस्ट औँल्याइदिनेछन्, यो मेरो आशा र अपेक्षा ।

उद्देश्य के : सङ्ख्या कि सुधार ?

फटाफट अगाडि खडा गैँडा गनिदिनु र सबै ब्लकको जोडेर कुल सङ्ख्याको नतिजा सार्वजनिक गरिदिनु सरल, सिधा र स्पष्ट उद्देश्य ।

आउट अफ् बक्स गएर मृत गैँडा फेला पार्नु र गणना गर्दै जानु, वासस्थानका विविध ग्याप र ल्याप्सेस पहिचान गरी जीवित गैँडाको मनोविज्ञान, स्वास्थ्य, माग बुझ्नु र सुधारको खाका कोर्नु दोस्रो अपरिहार्य तर महान् उद्देश्य । गैँडालाई न्याय दिने पवित्र उद्देश्य । गैँडाको जित हुने उद्देश्य । राष्ट्रिय गौरवको रक्षा, कल्याण हुने विशेष उद्देश्य । विश्व संरक्षण समुदायले जोडदार ताली पड्काएर स्वागत र सम्मान गर्ने पवित्र उद्देश्य ।

उद्देश्यमा हामी प्रस्ट होऔँ । र, दोस्रो महान् उद्देश्यलाई पक्रेर सकारात्मक परिवर्तनमार्फत् बासस्थान सुधारको खाका तयार पारौँ, पङ्क्तिकारको अर्को जोडदार सिफारिस र माग ।

हरेक गणनाले बासस्थान समस्या औँल्याएको हो भने आजसम्म हामीले किन, कसरी सुधार गर्न सकेनौँ ? समस्याको मूल जरो के हो ?

३२, ४२ र ५२ सालको भन्दा जनशक्ति, बजेट, स्रोतसाधन, शिक्षा–सचेतना सबै बढेको छ । ६२ सालको अपवाद वर्षको कथा पृथक् छ । द्वन्द्वले गैँडा, बाघ र तिनको बासस्थान सफाचट् पार्‍यो । तर ७२ हुँदै ८२ सालको पूर्वसन्ध्यामा पुगुञ्जेल किन चितवनको बासस्थान समस्या ज्युँका त्युँ छन् ? हाम्रो व्यवस्थापन पहल र प्रयास असफल भएको हो कि ?संरक्षण पहल र प्रयास असफल भएको हो कि ? डिजिटल बुठले हामीलाई अल्छे र सुस्त बनायो कि ? राजनीति, शासन र विकासे मोडल किन यति धेरै संरक्षण विरोधी ? जलवायु परिवर्तन र विपद् किन चितवन र गैँडा विरोधी ? यो वर्षको गैँडा गणनाले यी गम्भीर तमाम जिज्ञासाहरुका उत्तर देओस् ।

हामी गणक, व्यवस्थापन, प्रशासक, प्राविधिक, संरक्षक, अभिभावक सबै फुटेर होइन जुटेर मजबुद टिमवर्क मार्फत् यी विविध समस्याको समाधान पहिल्याउनुपर्दछ । चितवनलाई स्थानीय होइन, राष्ट्रिय अभियानको रुपमा सुधार गरेर पहिलेको जस्तो गैँडा अनुकूलन बासस्थान बनाउनु पर्दछ । र, इतिहासमा जस्तै यो आलौकिक अनुपम विश्वसम्पदा अथवा गैँडाल्यान्डमा गैँडालाई शान्त, स्वस्थ, खुसी र सुखी भई रमाएर जिउने वातावरण सिर्जना गर्नुपर्दछ ।

शुभकामना

अन्त्यमा, हामी आफैँ विज्ञ, डाक्टर, धामी, झाँक्री र वीर नहोऔँ । गणकहरुको दुरुस्त नतिजा र प्रतिवेदन आएपछि सक्कली गैँडा विज्ञहरुको राष्ट्रिय भेला आयोजना गरौँ । ती विज्ञहरुको मुखारबिन्दबाट प्रस्तुतीकरण र समस्या तथा समाधानको उपाय सुनौँ । गैँडाको दिगो रक्षा र सम्मानको सुत्र लिऊँ र त्यसको अक्षरशः पालना गरेर गैँडाको आयु चिरस्थायी बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान र त्याग गरौँ ।

यो गणनाले प्राकृतिक समस्या र गैँडा मरणको भित्री रहस्य खुट्याउनै पर्दछ । गैँडाहरू भारततर्फ पलायन भएको हो भने त्यो सत्य उजागर गर्नैपर्दछ । चोरीसिकारी व्यापक छ भनेर ठोकुवा गर्ने साहस गर्नैपर्दछ । रफु र फुलबुट्टे होइन, तीतो अमिलो किन नहोस् सत्य प्रतिवेदन बाहिर सार्वजनिक गर्नैपर्दछ ।

विश्व पानी दिवस २०२१ को शुभकामना ।

राष्ट्रिय गैँडा गणना २०७७ को पूर्ण सफलताको शुभकामना ।

– बाबुकृष्ण कार्की, बाघ गोठालो

(लेखक संरक्षणविद् हुन्)

बाबुकृष्ण कार्की, बाघ गोठालो ।

Like it? Share with your friends!