कोरोना महामारीको बन्धन तोडेर प्रकृतिको काखमा रमाउन भनेर हिँडें । मार्ग ७ देखि १० गतेसम्म भोटेकोसी, तामाकोसी हुँदै सगरमाथादेखि आएको दुधकोसीलाई नजिकबाट नियालें । हरेक कोसीको किनारमा गएर पवित्र पानीको बहावलाई हेरें । पानीको छङ्गछङ्ग मिठो आवाज सुनें । कोसीको मनोविज्ञान बुझ्ने प्रयास गरें ।
कोसीको गुनासो
“विशाल कोसीले भनिरहेकी थिईन– मरो तिब्र धार हेर । तेज गति हेर । अण्डर करेण्ट महाशक्ति हेर । तर म हरेक सेकेण्ड सेकेण्ड खेर गइरहेकी छु। हजारौं वर्ष भइसक्यो खेर गएको।
मैले गुन लगाउन खोजेको मानव अन्धकारमा छ । उसको खेत बारी बिना सिंचाईको सुख्खा छ । उसको घर गाग्रीमा पिउने पानी छैन । जल यातायातको सम्भाव्यता टाढाको कुरा भयो ।
उहिले कोशी गड्तिरमा ठूलठूला वर पिपलका अजङ्ग रुखहरु हुन्थे । ती रुखहरुसँग अग्ला ठूला सिमलका रुखहरुले प्रतिस्पर्धा गरिरहेका हुन्थे । एउटा चौतारोमा पंक्षीहरुको सुन्दर संसार हुन्थ्यो । साँझ बिहान पंक्षीहरुले संगित भरेर कोसी किनार वारिपारि गुञ्जायमान बनाउदथे । चौतारीमा बाख्रा वस्तु गोठालोले आराम विश्राम संवाद गरेर बिताउदथे । अगाडि चौरमा स्कुले नानीहरु डण्डीबियो र फुटबल खेल्ने गर्दथे । कोशी गड्तिरमा वारिपारि हरियो वन जंगल थियो । साल र खयरका चाम्रा बलिया रुखहरुले भीर पहिरो थामेका हुन्थे । जंगल भित्र पानी घट्ट चलिरहेका हुन्थे । हाम्रो सानो कुलोले गाउलेको अर्गानिक उत्पादन छिनमा धुलोपिठो पारिदिन्थ्यो । त्यस्तो पिठोको स्वाद र पोष बिछट्टै राम्रो र स्वास्थ्यमैत्री हुन्थ्यो ।
कोसी बीच बीचमा आईल्याण्ड बनेका हुन्थे । हरियो वन जंगलको बलमा टिकेका सुन्दर आईल्याण्डहरुले रैथाने वन्यजन्तु र पंक्षीलाई रामराज्य उपलब्ध गराएको जस्तो लाग्दथ्यो । जैविक विविधताको राम्रो संरक्षण हुन्थ्यो त्यस्तो टापुहरुमा । कोसीको बीचमा वर्षामा बगिआएका रुखहरु अड्केका हुन्थे । ती रुख र बडेमानका ठूल–ठूला ढुंगाहरुमा किङ्ग फिसर लगायतका शिकारी चराहरुले अड्डा जमाउने गर्दथे । डाईभ् हानेर असला माछा शिकार गर्दथे ।
बल्छी र जाल हान्ने माझी तथा शिकारी चरा दुवैलाई असला माछा फ्याँका फ्याँक पुग्दथ्यो ।
त्यो सुन्दर अतित् । त्यो रामराज्य ।अहिलेको परिस्थिति पृथक छ । ज्यादै विषम र प्रतिकूल छ । म भन्नेलाई लाज, तिमी सुन्नेलाई झन् लाज ।”
आफू भावुक भएर नदीलाई आफ्नो पीडा सुनाउन आग्रह गरें । कोशीले पीडा वर्णन गर्दै गईन्–
“वर पिपलका चौतारा काटेर घाँस दाउराको लागि सफाचट् । उत्ताउलो र वातावरण अमैत्री विकासले भिरपाखा पहिरोको बिपद् । वन जंगलको ठाउँमा डोजर स्काईभेटर र टिपरको लर्को र दिनरातको कटानी तथा ढुंगा गिट्टी बालुवा संकलन । खोला किनारा भरि क्रसरका करङ्ग र ध्वनी तथा वायु प्रदुषण । कोसीलाई थुन्ने छेक्ने फर्काउने निमोठ्ने गरेर हेभि उपकरणहरुले दिनरात बलत्कार गरेर हैरान । जसको शक्ति उसको भक्ति लयमा । आफ्नो मालिक तपाई मान्छेहरुको ढलले पवित्र पानीको रङ्ग र स्वाद विषाक्त ।
आजका मितिसम्म अनुत्पादक भएर खेर जाने क्रम जारी छदै छ । अझ विपद् र आँसुका श्रोत भनेर उल्टो सत्तोसराप खानुपरेको छ हामीले । आधुनिक मानवको घमण्ड र अहंकारले आफ्नो दोष मरे नदेख्ने, उल्टै हाम्रो मात्र दोष देख्ने दोषी चस्माको चरम पीडामा छौं हामी कोसीहरु । न सफा र शुद्ध पानी। न वनजंगलको फिल्टर । न माछा ।
उग्लिएका खुईलिएका कुरुप हामी कोसीहरु ।
हाम्रो भाषा, मनोविज्ञान बुझ्ने र सदुपयोग गर्न दृढ संकल्प भएको एउटा पनि संवेदनशील सरकार हुँदो हो त हामी स्वर्गलाई सम्वृद्धि दिने थियौं । बिडम्बना हामी थोपा थोपा बेचिने र ढल बोक्नेमा दर्ज भयौं ।”
रामराज्यको कल्पना
कोसीको यो पीडा सुन्दै गर्दा कोशी किनारमा सफा बालुवाको थुप्रो देखें । कोशी मातासँग ‘बास पाउँ’ भनेर सादर अनुरोध गरें । सानो टेण्ट टागेर ढले पडेका ठूटाहरु संकलन गरेर आगोको धुनी जगाएँ ।
कोशीको यात्रा र्याफ्टिङ्ग, क्याम्पिङ्ग आफ्नो गहिरो रहर हो । सैनिक युनिफर्म र डिउटीमा कोशी किनारमा धेरै ठाउँ धेरै पटक सुन्दर शान्त रात बिताएको अनुभव छ आफूसँग । तर फिसिङ्गको विरोधी भएकोले समान विचारको मित्र भेट्टाउन कठिन हुन्छ प्राय: ।
जलिरहेको मुढो र एकनास चञ्चल कर्तल ध्वनीका साथ बगिरहेको कोसीलाई हेरेर मन उद्वेलित भयो । कोसीको अत्यन्त जायज गुनासोले छटपटी भयो । अनि, मनले रामराज्यको कल्पना गर्यो–
“यी डोजर टिपरको बजार बन्द होस् । क्रसर उद्योग व्यवस्थित हुन् । टिपरको ठाउँमा रंगीचंगी र्याफ्टहरुमा पर्यटकहरु बगिरहुन् । बीचबीचमा विश्राम लिएर बिचभलिवल खेलून् । क्याम्पिङ्ग गरुन् । वारिपारि हरियो वन जंगल होस् । वन्यजन्तु र पंक्षीको स्वर्ग होस् । यात्राको दौरान विभिन्न रैथाने प्रजातिको अवलोकन हुन सकोस् ।
कोशीको पानी यति सफा र शुद्ध होस् कि पुर्खाले जस्तो अँजुलीमा थापेर पिउन योग्य होस् । असला माछा, गोही, कछुवा आदि जलचरहरुको रमिता लाग्दो आश्रय होस् । जात् जातका किङ्ग फिसरहरुको होभर डाईभ् र माछा शिकार क्यामरामा कैद गर्न पाईयोस् ।
हरेक १ घण्टाको यात्रामा सफा शौचालयको व्यवस्था होस् । गाईड् अनुगमनकर्ता र उद्धार टोलीको ठाउँठाउँमा उपस्थित होस् । शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति होस् । विश्राममा जंगली केरा, जंगली आँप, लहरे आँप, लप्सी, बयर, ऐंशेलु, मेवा देख्न चाख्न पाईयोस् । धंगेरोको फुल चुस्न पाईयोस् ।
कोशी किनारका बेंसीहरुमा ठूलठूला पोखरी हुन् । माछा, बंगुर, पशुपालन र परम्परागत अर्गानिक कृषि व्यवसायले किसानहरु सम्पन र सम्वृद्ध हुन् ।
रात्री स्टेशनमा बिच लाईफको व्यवस्थित बसोबासको व्यवस्था होस् ।
कोशीले काम पाउन् । झिलिमिली बिजुली निकाल्दै बगिरहुन् । सिंचाईले बेंसी र फाँटाहरु सदाबहार हरियाली बनाईदिउन् । पौडी, क्यानोईङ्ग, र्याफ्टिङ्ग, बञ्जी आदि साहसिक खेलको सुविधा प्रदान गरुन् ।
बीच बीचमा प्राकृतिक ‘स्याण्डपार्क, रकगार्डेन्, बिचपार्क, वाटरपार्क, ग्रीनपार्क, अर्गानिक कृषिपार्क, फुड्पार्क, फिसिङ्गपार्क हुन् ।”
राजधानीमा कुवाको बन्धक जीवन बिताउन बाध्य युवा, विद्यार्थी, बालबालिकाले कति खुशी भएर स्वर्गको सयर गर्ने थिए । साप्ताहिक छुट्टी कति उमङ्गसाथ बिताउने थिए ।
गौरीशंकर, सगरमाथा, मकालुवरुण हिमाल आरोहीहरु जलयात्रा गरेर अर्को सुन्दर कोशीटप्पु वन्यजन्तु आरक्ष पुग्ने थिए ।
सबै मुलुकले जमिन (माटो) जल जंगललाई पूजा आराधना गर्दछन् । हाम्रो धर्म संस्कृतिले पनि ईश्वर मान्दछ । तर हामी कलियुगका घमण्ड र अहंकार पालेर बसेका चतुर मानवहरु किन प्रकृतिमैत्री हुन नसकेका ? अरु देशले जललाई सम्वृद्धिको जग र भर्याङ्ग बनाएको देखासिकी र नक्कल गर्न हामीलाई के ले छेकबार गर्यो ? अनि किन पवित्र सेतो दूर्लभ हिमालको कञ्चन सफा निलो चिसोपानी हामी व्यर्थ खेर फ्याँकिरहेका छौं । अझ पवित्र नदीहरुलाई बलत्कार गर्न उद्यत छौं । र, सिङ्गा नदीहरुलाई एकपछि अर्को गोलमटोल कौडीको भाउमा बेचिरहेका छौं ?
कोशी नदीहरु जस्तै कति धेरै पुर्खाहरु रोए होलान् । आज हामी पीडा महशुस गर्दै छौं । र, जानी जानी भावी सन्ततीलाई अझ धेरै बिपद् र पीडाको भुँग्रोमा धकेलिरहेका छौं ।
संरक्षण अभिभारा
नदीहरु भावी सन्ततीका स्थायी र जीवन्त पूँजि हुन् । नेपाली जनताका ढुकढुकी हुन् । राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रका जन्मदाता र जग हुन् । हिमाल तराई जोड्ने अटूट माला हुन् । सौन्दर्यताका गहना हुन् । राष्ट्रिय प्रतीक हुन् । सम्वृद्धिका श्रोत हुन् । हिमाल खुईलिए नदी सुक्नेछन् । नदी सुके तराई मरुभूमि हुने छ । हिमाल, पहाड, चुरे, मधेश बीचको साईनो र अन्तरसम्बन्ध गहिरो, दोहोरो र पेचिलो छ । पेचिलो यो अर्थमा हिमाल भूकम्पले काम्यो महाभारतमा पहिरो गयो । तराईमा बाढीले भिमकाय पौडीबाज् गैंडाहरुको झुण्ड बगाएर भारत पुर्यायो । यो एउटा ताजा उदाहरण मात्र हो ।
हामीले पाईला–पाईलाका गल्ती माथि गल्ती सच्याउनु र रोक्नुपर्दछ । मनपरि छाडा अतिक्रमण बन्द गर्नुपर्दछ । सुन्दर पर्वत पहाडका खुट्टा घुँडा कट्टी कन्दानी खुईल्याउन र काट्न बन्द गर्नुपर्दछ ।
राज्यको राम्रो पूर्व तयारी, अनिवार्य सावधानी, पूर्वजनाउको भरपर्दो संयन्त्र, चुस्त उद्धार योजना हुने हो भने विपद्को क्षति न्यून गर्न अथवा शून्यमा झार्न सकिन्छ । तर राज्य अनिवार्यरुपमा प्रकृति र वातावरणमैत्री हुनैपर्दछ । जलजमिन जंगलको माया, सम्मान र दिगो संरक्षण गर्नैपर्दछ । तबमात्र मनसुन होस् वा अन्न फलाउने वर्षाद्, अथवा सुन्दर झरना, ताल, खोला सबै हाम्रा लागि प्राकृतिक सौन्दर्यताका उपहार र वरदान हुने छन् । प्राकृतिक सौन्दर्यता र बिपद् न्यूनको सन्तुलन प्रकृतिमाता आफैले मिलाउने छिन् । बिपद् न्यूनिकरण अथवा शून्यताको जिम्मेवारी पनि प्रकृति आफैले लिने छिन्।
खोला दोहन र विनाश अति भयो । यो वर्षमात्र ४८३ को मृत्यू । १०१ जना बेपत्ता । ८५६ घाईते । कति घरवारबिहिन र अरबौं रुपयाको धनमाल क्षती । सरकार त्यसको संरक्षक र निर्देशक हो । प्रकृति र संरक्षणबिद् सचेत अध्येता, अनुसन्धानकर्ता र साक्षी हुन् । खबरदारी गर्ने र प्राकृतिक श्रोत साधनको स्वामित्व लिने काम थोरै सरकारको धेरै स्थानीय जनताको हो । नेपाली सेना लगायत सुरक्षा निकायहरु संरक्षण साझेदार र खम्बा हुन् । हामी सबै मिलिजुली जलको संरक्षण र सदुपयोग गरौं । बिपद्, दु:ख, क्षतिको थप पीडा रोकिहालौं ।
जय प्रकृति संरक्षण।