सहायक रथी बाबुकृष्ण कार्की(अप्रा),

Babukrishna Karki.
Brigadier General (Retd)

प्रकृतिको सुन्दर मुलुक नेपाल बिपदको चौतर्फी चपेटामा परेकोछ । गहिरो पीडा र दर्दबाट गुज्रिरहेकोछ । पंक्तिकारको ३४ बर्ष उद्धारमा बित्यो । बिपद झन् झन् गहिरो र पेचिलो हुदैं गएको यी आँखाले देख्नुपर्‍यो।

बर्तमान बिपद् र आफ्नो अनुभवको सेरोफेरोमा नयाँ नेपालको उज्वल भविश्यको कल्पना गरेको छु यो लेखमा ।

आफ्नो बुझाई

बिपद् कहाँ छैन, सर्वत्र छ । यो प्रकृतिको नियम र नियति हो । यो आउँछ जान्छ । प्रकृति र बिपदको दोहोरी अनवरत चलिरहन्छ । प्रकृतिसन्तति हामी मानव त्यो बिपद् हेर्न, खप्न, सहन र फेरि उठ्न अभ्यस्त छौं । पहिले प्रकृति बिजयी हुन्थ्यो । अहिले बिपद्ले बाजि मारिरहेकोछ । हामी मानव पिसिएका, मरिरहेका छौं । कहिले महाभूकम्प, त्यसपछि अतिबृष्टि बाढीपहिरो र डुवान । त्यसपछि शितलहर, हिमपहिरो । अनि आँधितुफान, खडेरी, आगलागी ।

बर्तमान पीडा झन् दुःखदायी छ । कोभिड–१९ महामारीले बिश्व आक्रान्त छ । खेतबारीमा पसिना पोखेर मानो मुरी बनाउने किसानहरु घरभित्र बन्दी छन्। डराउँदै लगाएको सीमित खेतीमा सलहको झुण्ड छ । सानो १५० किमिको दुरिमा ८८४५ मिटरको उचाईमा तीब्र आकासिएको हिमाल पहाडबाट ६ सयको संख्यामा नदीनाला बिना ब्रेक तुफान उर्लिएर घर–गोठ, बस्ती, चौपाया, मानिस सबै गुट्मुट्याएर बिदेसिएका छन् ।

सबैले दशकौं दुहुनो गाई बनाएको मेलम्चीले आफैलाई बनाउने ईन्जिनियर लगायतको ज्यान लिएकोछ । यी पंक्ति लेख्दै गर्दा १ महिनामा बाढीपहिरोले ८५ को ज्यान लिएकोछ । ४६ बेपत्ता र ५० घाईते छन् ।

Photo: provided by Mr. Babukrishna Karki.

आफ्नो देखाई

प्रकृतिको सर्वोच्चतालाई बली चढाई प्रकृतिको तीब्र दोहन र बिनास भएको छ । भूकम्पको उच्च जोखिममा दर्ज मुलुकमा नियमकानून, मापदण्ड, नैतिकता मिचेर अस्तव्यस्त, अव्यबस्थित, व्यापारिक गगनचुम्बी भवन ठड्याईएका छन् । नयाँ कोमल हिमाली पर्बतीय सौन्दर्यता माथि बम बिष्फोटन र गह्रुंगा, भद्दा, ठूला मेशिनहरुले रातदिन कोपरेर कुरुप बनाएका छन् । पानी फोके विकासे सपना, ग्रामीण सडक सञ्जाल, पूर्वाधार निर्माण सबै अबैज्ञानिक, अव्यवस्थित र हचुवाभरमा गर्दा भूक्षय, भिर पहिरो, बातावरणीय विनासले महाबिपद् निम्त्याउने काम भएको छ । कमसल निर्माण कार्य अपूरो छाड्ने, सडकमा ढल पुल नवनाउने, बिस्तार र स्तरोन्नति नगर्ने, मरामतसंभार नगर्ने नियतिले बर्षादमा सडक खोला र तालमा परिणत भएका छन् । धेरै ठाउंमा यातायात ठप्प छ । नक्कली सुकुम्वासी खडा गरेर हरियो बनभित्र हुलिएकोछ । सडक, खोला, सार्वजनिक जमिन, नहर, निकुञ्ज माथि अतिक्रमण गर्न सिकाईएको छ । मन्दिर, सडक, नहर, कुलो, गोरेटो, धर्मशाला, क्रियापुत्री घर, पार्टीप्यालेस, स्कूल, क्लब, खेलमैदान आदिले हरियो बन माथिको अतिक्रमण र उपभोग बढाउंदा हरियाली र बातावरणको धुलिसात् भएको छ । बन जंगलमा काठ तस्करको एकछत्र कब्जा छ । अहिले बैज्ञानिक बन व्यबस्थापनको नाममा सयौंबर्ष पुरानो सालको बन सफाया गरिएकोछ । निजगढको अर्को पुरानो सालको बनलाई सखाप पार्न हँसिया, आरा, खुकुरी धार लगाएर राखिएकोछ । भावी पिढीलाई पर्ने सुख्खा, बाढी र डुवान समस्यालाई रत्तिभर ध्यान दिईएको छैन । निकुञ्ज आरक्षभित्र बातावरण अमैत्री सडक र पूर्वाधार निर्माण गरेर बिपद्लाई मलजल गरिएकोछ । कान्छो कलिलो कोमल चुरे पहाडले राष्ट्रप्रतिको ट्याग घाँटीमा झुण्ड्याएकोछ, तर अहोरात्र कौडीको भाउमा बिक्रि भएर एउटा बिशाल सुन्दर हरियाली क्षेत्र मरुभूमिकरण भईरहेकोछ । जलाधारीय अवस्थामा अकल्पनीय ह्राश आईरहेकोछ । दुर्लभ बन्यजन्तु, जैविक बिविधता र बहुमूल्य जडिबुटी संकटापन्न हुदै तीब्र लोप भईरहेका छन् । प्रकृति संरक्षण अभियन्ताको देखाई हो यो ।

हामी मानव चतुर, चंख, धुर्त र दरिद्र भएर गरेको चरम शोषण र दुरुपयोगले बिपद्मा दिन दुगुणा रात चौगुणाले बढोत्तरी हुँदोछ । नेपालमा हरेक सरकार र सरकारी संयन्त्र हो त्यो शोषण र उपभोगको सक्कली मालिक । यो शोषणलाई अझ व्यापक र तीब्र पार्न मालिक हात धोएर लागेकोछ ।

आफ्नो भोगाई

नेपाल सरकार र बिपदको प्रत्यक्ष मालिक एक गृहमन्त्रीले बिपद् आवस् भनेर देबी देउतालाई धुपधुँवार, पुजापाठ र भाकल गरेको देख्दा पंक्तिकारलाई पत्याउन कठिन भयो । तर नेपालको सत्य नियति त्यहि हो । जति धेरै बिपद उति मालामाल ।

बिश्व महामारी फरक आयाम प्रकृतिको बिपद थियो । गृहको कमाई र भाग स्वास्थ्यमा सर्यो। जाबो स्वास्थ्य मन्त्रालय भनेर त्यसलाई रक्षा मन्त्रालयले खोस्यो । भागबण्डा र चोखे लाग्ने डाह रिसबाट जोगिन ‘नेपाली सेना’ लाई रक्षा कवच बनाईयो । ताजा यो प्रतिनिधि घटनाको भित्री रहस्य बेलिबिस्तार लगाउनै परेन ।यो सर्बसाधारण जनताले घाम झैं छर्लङ्ग देखेको घटना भयो । नदेखेका अन्तरबस्तु तमाम छन् ।

चीनले नेपाली सेनालाई दिएको सैनिक सहयोग स्वास्थ्य सामग्रीमा रुपान्तरण गरेर राज्यलाई अरब माथिको निःशुल्क सामाग्री दिन गरेको सैनिक प्रश्तावलाई सरकारले ईन्कार गर्यो। नेपाली सेनाको त्यो सदासयता र महानतालाई ढलमा बगाईदियो । अरु धेरै बृत्त र कोणबाट प्रश्ताव गरिएका निःशुल्क स्वास्थ्य सामाग्रीका प्रश्तावलाई सरकारले सुन्न समेत चाहेन । जिन्सी सहयोगलाई थर्काएर, रोएर, मागेर नगदमा रुपान्तरण गर्यो।
२०७२ को महाभूकम्पमा नमागेको, नचाहेको अन्तर्राष्ट्रिय सहयोग आयो । सहयोगसंगै गुप्तचर एजेन्सीहरु धर्मग्रन्थ र स्पाई जहाज लिएर हिमालका पत्रपत्रमा छिरे ।

सरकार उद्धार चन्दा, दान, अनुदान, नगद संकलनमा एकाग्र रह्यो । सरकारी संयन्त्र हिसाब किताव मिलानमा व्यस्त भयो । जनताका प्रतिनिधि गुपचुप भूमिगत रहे । पराकम्पन घट्ने जनप्रतिनिधि तंग्रिने जात्रा शुरु भयो । जनप्रतिनिधिले राहत सामग्री बीचमा कव्जा गर्ने, घरमा लैजाने र आफन्तलाई बा“ड्ने काम भयो । बढी भएको सामग्री घर परिवार, माईति, मावली, ससुराली पठाएको देखियो । त्यसपछि बचेको अन्तिम रहलपहल कार्यकर्ता र मतदाताकोमा पुर्‍याएको देखियो । बिपद नदीको मुहानमा छ, राहत चुनावक्षेत्र नदी पुच्छरमा पुर्रयाईयो। राहत सामग्री एकद्वार प्रणालीबाट बितरण गर्ने र सक्कली पीडितकोमा पुर्रयाउने सुन्दर योजना सपना भयो । सरकार र मन्त्रीहरु थोरै हजारको रहलपहल लिएर १० लाखको हेलिकोप्टरमा गाउँ गाउँ जाने अशोभनीय, भद्धा र असंबेदनशील हरकतले दाता, संरक्षणकर्मी र स्वाभिमान जनताको शिर निहुरायो ।

राहत सामग्री नगदमा लिने, जिन्सी भए बेचेर नगद बनाउने अभ्यासको बिवरण दिन परेन । सक्कली चामल बेचेर कुहिएको अखाद्य बस्तु पीडितकोमा पुर्‍याउन माहिर हाम्रो सरकारी संयन्त्र ।

पंक्तिकार जोसिलो युवा हुंदा आफ्नो ज्यानको प्रवाह नगरी आकासबाट हाम फालेर धेरै पीडितको ज्यान बचाउने अपूर्व अवसर पाए । त्यो असीम सन्तुष्टी र गौरवको क्षण थियो । हरेक मेगा डिजास्टरमा सैनिक सेवाको मध्यान्तरदेखि उत्तराद्र्धसम्म केन्द्रीय उद्धार एवं राहत ईन्चार्ज भएर एयर हेड् एयरपोर्टमा अस्थायी शिविर खडा गरेर पृथक ढंगबाट योगदान गर्दा पाप माथि पाप देखें । महाभूकम्प धर्तीलाई ठूलो घाउ, प्रकृतिलाई दर्द, जनतालाई पीडा, उद्धारकर्मीलाई सास्ती थियो । तर, सत्ताधारीलाई बम्पर उपहारले मालामाल हुने दुर्लभ अवसर । अधिकारीहरुले अर्बौ रुपया कुम्ल्याएको देख्नुपर्‍यो पापी आँखाले ।

आफुले पहिचान गरेको समस्याको जरो

जलबायु परिबर्तन, बिपद पूर्वानुमान, जोखिम न्यूनिकरण, राष्ट्रिय बिपद् व्यबस्थापन प्राधिकरण, नदी नियन्त्रण, बैज्ञानिक बन व्यवस्थापन, हरियो बन, बृक्षारोपण लगायत तमाम् सुन्दर र वजनदार कार्यक्रम संचालित् छन् । बजेटको ओईरो छ । तर ती कोहि सिद्धान्तमा, कुनै भाषणमा, कुनै बालुवामा पानी हाले झैं छन् । धेरै व्यवहारमा उल्टो छन् । यी ज्यादै महत्वपूर्ण र संबेदनशील कार्यक्रमको भिजन, संचालन, समन्वय, अनुगमन, नियन्त्रण फितलो र शून्यछ। फलस्वरुप, परिणाम न्यून वा नेगेटिभछ । अन्तर मन्त्रालय, बिभाग, निर्देशनालय र एजेन्सी सम्पर्क सम्बन्ध र समन्वय या त शून्य छ अथवा नेगेटिभ् । सिंहदरबारको छड्के आँखा, पापी मन र द्रव्यध्यान बारे बताउनै परेन ।

बहादुर नेपाली शासकहरुको जोस, जांगर, मिहेनत, त्याग क्षमता कति धेरै छ ? महामारीताकाका हाम्रा शासकहरुको हर्कत हेरे पुगिहाल्यो । त्यो तागत् र दौडधुप, सक्रियता र चिन्ता राष्ट्रिय उद्धार र राहतमा लगाईएको हुन्थ्यो भने यो मुलुक बिपदमुक्त भईसक्ने थियो । तसर्थ, समस्या बजेटको होईन, सरकारी संयन्त्र नभएर पनि होईन, शासकको पापीमन र द्रव्यध्यानको हो । दरिद्र चरित्रको हो ।

राजनीतिक अस्थिरता, घरेलु कलह र बैदेशिक हस्तक्षेप बिपदका बाउ महाबिपद हुन् । कृषि बिषादी, बिषादीयुक्त रक्सि सेवन र सडक दुर्घटना मानव श्रृजित अर्का महाबिपद् हुन≤ जुन सजिलै नियन्त्रण गर्न सकिन्छ ।

नेपाल बिश्वको नाट्यशाला भएकोछ । हामी बिश्वलाई रमाईलो, रोमाञ्चक र रहस्यमय निःशुल्क नाटक देखाईरहेका छौं । दरिद्र चरित्रधारी पात्र, मुलुकका शासकहरुको कला र गलाले जग हंसाएकोछ ।

आफ्नो माग

यो गाईजात्रे नाटक कति हेर्ने ? कति खप्ने र सहने ? सबै अति भईसकेकोछ । कोर्स करेक्सनलाई ढिलो भईसकेकोछ । कोर्स करेक्सनको लागि जनताको अर्जुनदृष्टि र जनदवाव जरुरीछ ।हरेक बिपद् भ्रष्टाचारको खानी भएकोले जनताको खबरदारी जरुरीछ । नाम र नारा मात्रको अख्तियार अब काम गर्ने संकल्प लिएर बिपद्भित्र छिर्न खोतल्न र दोषी पत्ता लगाउन आवश्यकछ । बिपदका साथी मिडिया दोषीसंग लतारिने होईन, पीडित जनताको कित्तामा तठस्थ भएर उभिन जरुरीछ । ग्रामीण विकासलाई यातायात जरुरीछ । तर हवाई यातायात, हेलिकोप्टर सेवा, केवलकार, रोपवे, खच्चड, भरिया कुन यातायात माग्छ कोमल सुन्दर पर्बतले त्यसको सर्भे, बातावरण मूल्यांकन र एकीन गर्न अपरिहार्यछ । अन्यथा, मौसमी सडक प्रकृति, देश र जनताको क्षति र आँसु हुन् ।

दातृ संघसंस्थाहरुले दलाल र दरिद्र हातलाई होईन जमीन र जनतालाई सतप्रतिशत परिणाम दिने आयोजना मात्र संचालन गर्न जरुरीछ ।

नेपाली सेनाको भूमिका

कति किन कहिलेसम्म आदेश तामेल गर्ने ? पहाड फोर, हिमाल छेड, नदी छेक, रुख काट, सडक बनाउ, व्यापार गरिदेउ, ढुकुटी खाली गर आदि आदि आदेश मानेर सरकारसंगै सेनाले आफ्नो कद किन घटाउने ?

Nepal Army Helicopter in rescue effort.

नेपाली सेना अन्धो सरकारको होईन, जनताको कित्तामा उभिनुपर्‍यो। सरकारको आँखा कान खोलिदिनुपर्‍यो । उसलाई जिम्मेवार र जवाफदेहि बनाउनुपर्‍यो । जनसहभागिमूलक सम्पूर्ण स्टेकहोल्डर सहित बिज्ञहरुको संभाव्यता अध्ययन र वातावरण प्रभाव मूल्यांकन बिना कुनै पनि काम गर्दिन भन्नुपर्‍यो । सेनालाई कांधमा बञ्चरो थमाएर निजगढमा जङ्गल काट्न सरकार हतारोमा छ । धन्य महामारीले त्यो जङ्गलको आयु बढेकोछ । राजनीतिक अभिष्ट र भ्रष्टाचारमुखी सरकारी योजनामा अब सेना लगायत सुरक्षा निकायले हात र साथ दिनुहुंदैन । कोर्स करेक्सनको पहिलो औजार नेपाली सेना हुनुपर्दछ । प्रकृति संरक्षणको पुरानो खम्बा नेपाली सेनाको प्राथमिक दायित्वपनि हो त्यो ।

सरकार बिपद आवस, फैलियोस र व्यापक होस् भन्ने चाहन्छ । नेपाली सेना बिपद् रोक्न चाहन्छ । खोई, दुई बीचको मिलन बिन्दू ? सरकार ढुकुटी रित्याउन उद्यत छ, सेना आधा पेट हड्डी घोटेर पुननिर्माण गरेर मितव्ययिता अपनाउंदै सरकारको ढुकुटी भरिदिईरहन्छ । खोई तादात्म्यता ? कतै राजनीतिक अभिष्ट पूरा गरेर भोट व्याङ्क बढाउने काममा राष्ट्रिय सेनाको दुरुपयोग नहोस् । नेपाली सेनाको आँखा खुल्न जरुरी छ । सेना अब सेरमोनियल होईन टेरिटोरियल हुनुपर्‍यो । फाष्ट ट्रयाकमा फसाईएको सेनाले छिटो नमूना हरित सडक बनाएर सरकारलाई होईन धर्तीलाई उपहार दिनुपर्‍यो ।

उज्वल भविष्य

प्रकृतिको संरक्षण नेपालको बटमलाईन होस् । प्रकृतिको हरियाली कामय राखेर सुरक्षित सडक संजाल बनोस् । हरेक प्रदेशसंग २ तीहाई बन जंगल होस् । २/३ वटा निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र हुन । ७५३ स्थानीय तहसंग ४/४ वटा प्राकृतिक फूलका बाटिका, ग्रीनपार्क, प्राणी उद्यान, जडिबुटी केन्द्र हुन् । ताल तलैया हुन् । जलाधार र झरनाहरु हुन् ।

मुलुुकमा पूर्व पश्चिम राजमार्गको समानान्तर उत्तर र दक्षिणतर्फ जल यातायात संचालन गर्न मिल्ने नहरहरु हुन् । लाखौंको संख्यामा माछा पोखरी हुन् । समग्रमा २ तीहाई (६७%) बनजंगलको हरियाली होस् । त्यसपछि मनसुन अभिसाप होईन, बरदान हुनेछ । तालतलैया नहरहरु भरिएर कमलको फुल र माछाले रङ्गिनेछन् । झरनाहरु उर्लिदा हरिया पर्बतहरु संगितमय हुनेछन् । हरियो जंगल बीच बग्ने नदीनाला अनुशासीत सालीन र सौम्य हुनेछन् । किसानले मानोलाई धेरै मुरी बनाउनेछन् । मुलुक बिपदले रुने होईन प्राकृतिक सौन्दर्यताले सिंगारिनेछ । सामान्य बिपद् जापानमा जस्तै जनता स्वयंले व्यबस्थापन गर्नेछन् । मुलुक सम्बृद्धि र सुखले सिंगारिएर रामराज्य हुनेछ । तर, कोर्स करेक्सनको प्रारम्भ आजबाट शुरु गर्नुपर्दछ ।

यो लेख कसैप्रति पुर्वाग्रह र प्रतिशोधको भाव राखेर लेखिएको होईन । केवल प्रकृतिलाई शिरमा राखी कोर्स करेक्सनको सकारात्मक अपेक्षा राखेर आफ्नो अनुभव सेयर गरिएको हो ।

लेखक पूर्व संरक्षणविद् र उद्धारकर्मी हुन्।

Babukrishna Karki.

 


Like it? Share with your friends!

Nepalisite