पर्सा राष्ट्रिय निकुञ्जले ‘विश्व वन्यजन्तु दिवस– २०२१’ को अवसरमा देश भरिका साईकल यात्रीहरुलाई आमन्त्रण गरेर मार्च ११ तदनुसार फाल्गुण २७ गते आफ्नो निकुञ्जमा ५५ कि.मि.क्रसकन्ट्री साईकिलिङ्ग गरायो । मुलुकका साईकल यात्रीहरु स्वस्फूर्त र हर्षोल्लासका साथ पर्सा राष्ट्रिय निकुञ्जमा जम्मा भए । मध्य नेपालको तराई बारा एकपटक हिमाल–पहाड–मधेस–पूर्व–पश्चिम नेपाली भूगोललाई जोड्ने अनुपम संगम भूमि भयो । सबै क्षेत्र, जात, लिङ्ग, उमेर र वर्णलाई जमघट गराउने साझा छाता भयो । राष्ट्रिय एकता, भाइचारा र प्रेम जगाउने टीमबिल्डिङ्ग र टीमवर्कको मुहान भयो ।
यो भव्य कार्यक्रम सम्पन्न गर्ने गराउने पर्सा राष्ट्रिय निकुञ्जलाई स–आभार धन्यवाद ।
यो कार्यक्रम मार्फत ‘सेना दिवस’ मनाउने र सबैलाई एडभेन्चर तथा आमोद प्रमोद गराएर शुभकामना आदान प्रदान गर्ने गराउने सैनिक अङ्गहरुलाई पनि स्याबास र धन्यवाद ।
सेवाकालमा प्राय: काठमाण्डौंको टुँडिखेल परेडमा र अवकाशपछि घर गल्लीमा अरुले तानेको गाँजाको धुँवाले टाउको दु:खाएर बस्ने पंक्तिकार यो वर्ष हर्षित भएर निकुञ्ज पुगे । यो वर्षको जन्मदिन प्रकृतिको काखमा सुनसान शान्तसँग मनाउने भनेर श्रीमती गीता पनि साथै जान मञ्जुर भईन् । हामी २ दिन अगावै फाल्गुण २५ गते तराई पुग्यौं ।
साईकल मेला
मुलुकका कुनाकुनाबाट पर्रा छुटेका साईकलहरु अमलेखगञ्ज र आसपासमा जम्मा हुन थाले । आकाशमा ड्रोन उडाएर साईकलहरुको फोटो खिच्न पाएको भए कति रमाईलो हुने थियो होला ? माकुराको जालो जस्तो । मलाई ड्रोन हुन मन लाग्यो ।
अमलेखगञ्जका होटल रिसोर्ट खचाखच । पथलैया, हेटौडा, सिमरा, बिरगञ्जसम्म साईकल यात्रीहरुको बास र विश्राम ।
आफू बास बसेको हात्तीसार होटलमा पाहुनाहरुको भिड । बिहान सवेरै उठेर हेर्दा चउरभरि साईकलहरुको मेला देखें । त्यहाँ कपिलवस्तु, पोखरा, बुटवल, काठमाण्डौं, धरान, ईटहरी, झापाका साईकल यात्रीहरुको मुकाम भएको रहेछ । स–साना साईकलयात्री बच्चाहरु साईकल फिट गर्ने, वार्मिङ्गअप् र स्ंटन्ट गर्ने र आफ्ना अभिभावकलाई छिटो उठाउने काम गरिरहेका थिए । बच्चाहरु अति नै उत्साहित र हर्षित देखिन्थे ।
लकडाउन पीडा भोगेका होटल साहु हाँस र कुखुरा खोज्ने, ल्याउने, पकाउने काममा व्यस्त देखिन्थे । लाग्दथ्यो अमलेखगञ्ज र आसपास ईलाका साईकलको कारखाना हो ।
जितै जितको मनोविज्ञान
निकुञ्ज प्रशासन छाया तथा ओझेलमा परेको निकुञ्जको प्रचार प्रसार र पर्यटक आकर्षणको ध्याउन्नमा थियो । उसको सुरक्षा अङ्ग नेपाली सेना ‘सेना दिवस’ मनाउने र शुभकामना आदानप्रदानको अवसर उपयोग गर्ने मुडमा थियो । पर्यटन व्यवशायीहरु निकुञ्जको जगमा साईकल अथवा एड्भेञ्चर स्पोर्टस् मार्फत सुकेको व्यापार फुकाउने आशामा थिए । साईकल यात्रीहरु पवित्र निकुञ्जभित्र साइकलिङ्ग गरेर स्वर्गीय आनन्द र सफलताको नयाँ अनुभूति बटुल्ने खुशियालीमा गद्गद् देखिन्थे । स्थानीयबासीहरु अतिथि देवो भव: गरेर पर्सालाई पर्या–पर्यटनको नयाँ गन्तव्य बनाउने सकरात्मक सोच पालेर खट्टिएका थिए । जंगल बीच राजमार्गमा हरियो नारिवल पानी र उखुको जुस पिलाउने व्यापार उद्धुमसाथ चलिरहेको थियो । ‘सर्भिङ्ग द चिल्ड्रेन’ आर्दश बोकेको प्रो.डा. शुसिला नेपालीको ‘किवानिज क्लब अफ् नेचर कन्जरभेसन’ साईकल यात्री बच्चाहरुलाई चिसो जल, जुस, सफ्टड्रिङ्क, स्न्याक्स, पुस्तक र पम्प्लेटहरु वितरण गर्न नि:शुल्क स्टल थापेर बसेको थियो । थकित साईकल यात्रीहरुले चिसो जुस र आलु चिप्सको आनन्द लिएको देखेर आफू क्लबको संस्थापक सदस्यलाई आनन्द र गर्व अनुभूत भइरहेको थियो । यसरी साईकल र्याली सबैको लागि जितै जित थियो ।
आधा पेन्सन तिमीलाई
जब ७ वर्षीय बालक राउल चौधरीले ५५ कि.मि. कठिन र जोखिमपूर्ण क्रसकन्ट्री बाटोको साईकल यात्रा पूरा गरेर आईपुगे मैले जोडदार ताली पड्काएर स्वागत गरे । ताली पिटिरहदा आफू भावुक भएको पत्तै पाईन । जब चीफ वार्डेनले बालकलाई सम्मान गर्न स्टेजमा निम्त्याउनुभयो म दौडिएर स्टेजमा पुगे । मेरा हातमा थमाईदिएको माईक पक्रेर अर्को हातले राउललाई समाउदै भाषण गरें–
मैले बच्चामा साईकल पाईन र चलाउन जानिन । म सोझै मोटरसाईकल सिकेको अभागी तर खुशी मान्छे । उद्घोषकले भने झैं प्रकृतिप्रेमी, संरक्षणविद्, लेखक र समाजसेवी । किवानिज क्लब नेचर कन्जरभेसनको संस्थापक सदस्य । किवानिज चिल्ड्रेन फण्ड नेपालको अध्यक्ष । बालबच्चा नभएको खुशी मान्छे । त्यसैले यो राउल जस्तै सबै नानीहरुले सानो उमेरमा साईकल चढ्न पाउन् । नि.मा.वि. पुग्दा मोटरसाईकल । हाईस्कूलमा मोटर । र, उच्च शिक्षा सकिनासाथ कोही पाइलट् भएर आकाशभरि उडून त कोही रकेट लिएर जुन र मंगल ग्रहमा जाउन् ।
राउलको सकरात्मक सोच, हिम्मत र संकल्पलाई म आधा महिनाको पेन्सन नेरु १८ हजार नगद पुरस्कारले सम्मान गर्न चाहन्छु । ता कि अर्को साईकल र्यालीमा अरु धेरै राउलहरु यो एड्भेन्चर आउट्डोर चुनौतीलाई जित्न आउन् ।
राउल र राउलका पिता खुशी हुनुभयो । मेरो घोषणापछि प्रदेश मुख्य मन्त्रीले ने रु ५१ हजार नगद पुरस्कारले राउललाई सम्मान गर्नुभयो । मलाई मायाको चिनोले । राउलको पनि जित । मेरो पनि जित् ।
वास्तवमा राउलको आँट र परिश्रम कम थिएन । सर्प–बिच्छि–हात्ती–बाघ लाग्ने पट्यारलाग्दो कच्ची फायरलेनको बाटो । ठाँउ ठाँउमा बालुवा, गिट्टी र ढुंगा । कतै ओरालो कतै उकालो । धेरै ठाँउमा खहरे खोलाका लामा बलौटे बगर । एकपछि अर्का काठका पुलहरु । उबड्–खाबड्, खाल्डा–खुल्डी सालका पातले छोपेको कच्ची बाटो । आफूले हिम्मत नगरेको बाटो । तर राउलले हिम्मत गरे र पूरा गरे । आधा मान्छेलाई जितेर उनले ३ बजे र्याली पूरा गरे ।
यो र्यालीमा विश्व साईकल यात्री पुष्कर लगायत आफ्ना पूर्व प्रधानसेनापति गौरव सम्शेर जबराको समेत सहभागिता थियो । सशस्त्र प्रहरी बलका पूर्व आई.जि.पि.सिंह बहादुर श्रेष्ठले धेरै राम्रो समयमा र्याली पूरा गरेको देखेर गर्व बोध भयो । अरु बालबालिकाहरुको संख्या उल्लेखनीय देखेर खुशी लाग्यो । महिलाहरुको सहभागिता पनि राम्रो थियो ।
बाघ देख्ने टोलीको खुशी
मलाई स्पटर अथवा स्काउट बनेर जाने इच्छा थियो । किनभने वन्यजन्तु अवलोकन गर्न पाउने अत्यधिक अवसर पहिलो साईकललाई हुन्छ । श्रीमती साथमा भएको र आफू राम्रो राईडर नभएकोले मैले यो साईकल र्याली त्याग्नुपर्यो । तर, मैले अनुमान लगाए झैं पहिलो ५ जनाको समूहले सांच्चिकै पाटे बाघ देख्न पाएछन् । उनीहरु आफूलाई भाग्यमानी भनेर खुशीले प्रफूल्ल थिए । सबैलाई बाघको मिठो कथा सुनाउदै खुशी बांडिरहेका थिए ।
हाम्रो पनि खुशी कम थिएन । हामीले जिप सफारी गर्दा ज्यादै नजिक दूरिमा गौरगाई (बाईसन) देख्न पायौं । श्रीमतीको खुशीले सीमा नाघ्यो । आफूले पनि त्यति नजिकबाट गौर देख्न पाएको थिईन । टाउको भैसी जस्तो शरीर गाईको देखिने गौरको आकार प्रकार अजङ्गको थियो । बाघ देख्ने टोली भन्दा धेरै हामी खुशी थियौं ।
सफल र्याली
संरक्षण चेतना प्रचार प्रसार गर्ने र पर्यटकीय संभाव्यता बोकेको राम्रो गन्तव्यलाई सशरीर देखाईदिने साईकल र्यालीको उद्देश्य सफल भयो । कोही सहभागी घाईते बिरामी भएनन् । कुनै अप्रिय दुर्घटना भएन ।
अमलेखगञ्ज वरिपरि ठूलो उत्सव मनाईरहेको भान हुन्थ्यो । वृद्ध–वृद्धा, युवायुवती, बालबालिका प्रफुल्ल मुद्रामा देखिन्थे । कतिपय ठाँउमा गानाबजाना नृत्य भइरहेको देखिन्थ्यो । एउटा नृत्य कार्यक्रममा आफू पेटभरि नाचेर स्वास्थ्य लाभ गर्न पाएं ।
र्यालीको आयोजना सुन्दर थियो । स्वागत, सुरक्षा, बन्दोबस्ती, कल्याणकारी, मेडिकल प्रबन्धको गृहकार्य र कार्यान्वयन सानदार थियो ।
मुख्यमन्त्रीको भाषण छोटो मिठो तर दमदार थियो । प्रदेश सचिव संरक्षणविद् डा. रामचन्द्र कंडेलको भाषण संरक्षण जागरण गराउने किसिमको झन् दमदार थियो ।
स्टेज म्यानेजमेण्ट उत्कृष्ट थियो । थाकेर भोकाएर आएका साईकल यात्रीहरुलाई तयार पारिएको लञ्च साँच्चिकै मिठो र स्वादिष्ट थियो ।
सुनमा सगन्ध भएको भए
भविष्यमा सिक्ने पाठ के हुन् ? म आयोजक भएको भए कार्यक्रमलाई भव्य र प्रकृतिमैत्री बनाउन के गर्ने थिए होला ? मनको कुरा जस्ताको तस्तै राख्ने अनुमति माग्दछु । ता कि अर्को वर्षको साईकल र्याली पृथक फ्लेभरको होस् । सडकभरि ट्रकका ट्रक लडेका हरियो नारिवलको पानीले साईकल यात्रीहरुलाई स्वागत गर्ने थिएँ । जंगलभित्र अरु २ ठाँउमा नारिवलको पानी पिलाउने व्यवस्था मिलाउन सकिन्थ्यो । स्थानीय युवाले काम र आम्दानी पाउने थिए ।
बीच बाटोमा २ वटा फ्रेस जुसको स्टल राख्न सकिन्थ्यो । चिसो आईस जुसले साईकल यात्रीहरुको उर्जा जगाउने थियो ।
अर्को २ वटा स्टल कालो चिया र कालो कफीको राख्न सकिने थियो ।
र्यालीको अन्तिममा लसी, पुदिना कागती पानीको स्टल राख्न उपयुक्त हुने थियो ।
र्यालीको अन्तिममा निकुञ्ज बाहिर स्थानीय पकवान, परिकारको प्रदर्शनी राखेको भए स्थानीय पनि खुशी र धनी ।
साईकल यात्रीहरु पनि खुशी ।
संरक्षण साझेदार संघ संस्थाहरुले टी–सर्ट, पीक्याप, कोटपिन, टाई, ज्याकेट, क्यालेण्डर, झोला, फोटो विक्री वितरण गर्ने विक्री कक्ष खोलेको भए सबैले मायाको चिनो लिएर जाने थिए । स्थानीयबासीहरुको श्रृजना प्रतिभाका उत्पादनहरु, हस्तकलाको विक्री कक्ष सुनमा सुगन्ध हुने थियो ।
स्थानीय संस्कृति झल्किने १/२ वटा सांस्कृतिक कार्यक्रम र झांकीले प्रकृति र संस्कृतिलाई सम्मिश्रण गराएर दिएको छाप अमीट् हुने थियो ।
छिमेकी देश भारत र भुटानका साईकल यात्रीहरुको लागि फष्ट कम फष्ट कोटा निर्धारण गरेर ५०/५० जना राईडरहरुलाई स्वागत गर्न पाएको भए कार्यक्रम क्षेत्रीयकरण अथवा अन्तर्राष्ट्रियकरण हुने थियो ।
साईकलयात्रीहरुको सुझाव संकलन गर्न पाएको भए भविष्यमा सिक्ने पाठहरु आउने थियो ।
निचोड
यो सुन्दर कार्यक्रमका कल्पनाकार, आयोजनाकार, सल्लाहकार, व्यवस्थापक सबैलाई मुरिमुरि धन्यवाद र सलाम ।
यस्ता प्रकृति र स्थानीय र समुदायमैत्री पर्यटकीय कार्यक्रमहरु सबै राष्ट्रिय निकुञ्जले सञ्चालन गर्नु उपयुक्त हुने छ ।
साईकल राईडर पिता मातासँग आउने बालबालिका, विद्यार्थी राईडरहरुलाई नि:शुल्क प्रवेश, राईडिङ्ग र पुरस्कारले प्रेरित गर्ने व्यवस्था हुनुपर्दछ । ‘जुनियर रेञ्जर’ बनाउने यो एउटा सुन्दर अवसर हो ।
सबैलाई ब्रिफिङ्ग संभव नहुने भएकोले निकुञ्जमा पाईने रुख–बिरुवा, वन्यजन्तु, सुरक्षात्मक उपाय र गर्न हुने नहुने कुराहरु उल्लेख गरेको राम्रो लिफलेट् हरेक राईडरलाई उपलब्ध गराउन मनासिव हुने छ ।
बाटोका रुखहरुको नाम लेख्ने, सडक पुलहरु मरामत सम्भार गर्ने, शौचालयको व्यवस्था, सरसफाई आदिले उत्कृष्ट व्यवस्थापनको सन्देश दिने उद्देश्य हुनुपर्दछ।
विश्व वन्यजन्तु दिवस, वातावरण दिवस, निकुञ्जको वार्षिकोत्सव आदि पारेर यस्ता प्रकृतिमैत्री र्यालीहरु आयोजना गरेर निकुञ्जको प्रचार प्रसार गर्नुपर्दछ । हिमाल पहाडमा यो र्यालीहरु झनै लोकप्रिय र प्रसिद्ध हुने छ । चितवन, बर्दिया र कोशीटप्पुले साईकल र्यालीलाई र्याफ्टिङ्गसँग जोडेर टू ईन वान ईभेण्ट गर्न सक्ने छन् ।
स्वागत र विदाईको कार्यक्रममा स्थानीय समुदायको सक्रिय सहभागिता शोभनीय देखिने छ । बफर जोन साईकल यात्रा, सांस्कृतिक कार्यक्रमको प्रदर्शनी, र स्थानीय उत्पादनको अर्गानिक खाजा खाना र स्थान विशेषको उत्पादन विक्रीकक्षले स्थानीयहरुलाई मनग्गे आम्दानी हुने व्यवस्था सुनिश्चित गरिदिनुपर्दछ आयोजकले ।
मनको रेञ्जर समाजसेवी पंक्तिकार अर्को साईकल र्यालीको व्यग्र प्रतिक्षामा छु ।
जय प्रकृति संरक्षण ।
बाबुकृष्ण कार्की
बाघ गोठालो ।
यो हेर्नु भयो?
Nepali Uber Driver Assaulted Over Face Mask Dispute – नेपाली उवर चालकमाथि हमला