हालै बर्दिया राष्ट्रिय निकुञ्जस्थित लम्कौली फाँटामा पाटेबाघलाई पासोमा पारेर मारियो ।
संरक्षणको जिम्मेवार निकाय नेपाली सेनाको गण हेडक्वाटर ६ कि.मि नजिक छ । निकुञ्ज कार्यालय एउटै परिसरमा छ ।
प्रश्न उठ्छ कसरी नाकमुनि जुँगामा पासो राखियो ? नाकले पासो सुँघेर किन थाहा पाएन ? नाकको डांडी नियाल्ने २ वटा आँखाले कुन पापा हेरेर बसे ? आँखा सँग जोडिएका २ वटा कानमा कसले ठेडी ठोक्यो ? ती आँखा कानको संख्या दुई दुई चार पनि होइन, सयौं र हजारौं हो । अथवा चीफ वार्डेनले जति चाह्यो उति संख्यामा बढाउने तन्किने रबरको खेल जस्तो हो ।
बर्दियाको यो घटना अविरल वर्षा र जलमग्न निकुञ्जको प्रतिकूल घडिमा घट्यो । यो घटनाले पंक्तिकारलाई तुलनात्मक धेरै चिन्तित् र भावुक बनायो । पहिलो, आफ्नो कर्म निकुञ्ज । दोश्रो, २२ वर्ष अगाडि उत्कृष्ट संरक्षण योगदान गरेर त्यही कर्मथलोमा ‘अब्राहम कन्जरभेसन अवार्ड’ द्वारा सम्मानित उही शिवदल गण । संयोगले आफू हालसम्म त्यो गणको कर्णेल कमाण्डाण्ट । पासो थाप्ने आफ्नो पालाको कट्टर संरक्षणवादी साथीभाइका छोराछोरी अथवा नाती नातिनीको पछिल्लो पिंढी ।
त्यसको ठीक २ हप्ता अगाडि जलमग्न खोलानाला र ढड्डी जङ्गलमा चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको टाउकोमा गोली हानेर शिकार गरियो । खोई सुरक्षा?
अकल्पनीय घटना । अक्षम्य त छँदै छ । त्यसको अगाडि बांके राष्ट्रिय निकुञ्ज बाहिर २ वटा बाघको छाला बरामद भए । कान्छो निकुञ्जका दुर्लभ पाटे बाघ कसरी शिकार भए ? के हेरेर बस्यो सुरक्षा फौजले ?
त्यसको अगाडि मद्य वर्षामा विश्व सम्पदामा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्जमा हेड्क्वार्टरको नजिक कस्तुरी मृगहरु पासोमा परेर सोत्तर भए । खोई सुरक्षा गस्ती ? खोई ईण्टेलिजेन्स, निगरानी र नियन्त्रण ?
अहिले यी ३ प्रतिनिधि घटनाको मात्र चर्चा र विश्लेषण गर्ने छु ।
घटना लकडाउनमा घटे । मध्य वर्षादको समयमा घटे । महामारीको प्रकोप व्यापक भएको अन्यौल र त्राशदीपूर्ण समयमा घटे ।
पूर्व नजिर
विस्तृत शान्ति सम्झौता सम्पन्न भयो । शान्तिको राहत आएजस्तो भयो । तर निकुञ्जमा शान्ति आएन । काल पल्केको थियो । काल छिप्पिएर सिङ्ग जरो आएको थियो । द्वन्द्वकालमा पाटे बाघ सखाप पारेको महसुर काल । गैंडा समूल नष्ट गरेर मासु खाएको बज्रवान काल ।
काल कति सुरो थियो भने गैंडालाई नजिकबाट जोडेर टाउकोमा फायर गर्ने । गैंडाको मृत्यु नभई खाग काटेर लैजाने । गैंडा बौरियो । र, खोई मेरो खाग भनेर धेरै दिनसम्म लामो यात्रा गर्यो । रगताम्य नाक लिएर ।
नेपालको प्रकृति संरक्षण धाराशायी भयो । राष्ट्रिय अन्तर्राष्ट्रिय संरक्षबिद्हरु अत्यन्त दु:खित् र चिन्तित् भए ।
निकुञ्ज आरक्षका धेरै सुरक्षा पोष्टहरु जलेर र पड्केर ध्वस्त भए । बर्दियाको सुन्दर लालमाटी तालिम केन्द्र ध्वस्त भयो ।
दैनिक जस्तो गैंडाको चोरी शिकार भएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय कोणबाट आवाज उठे र बात लाग्न थाल्यो– “गैंडा शिकारमा त्यहाकै सुरक्षाकर्मीको मिलोमतो तथा साथ र हात छ ।”
द्वन्द्वको लगत्तै पंक्तिकारलाई तत्कालिन प्रधानसेनापतिले भने– “नेपाली सेना निर्वस्त्र जस्तो भयो । बाहिर मुख देखाउन नहुने भयो । दिन दहाडै हुने चोरी शिकार तत्काल रोक्नुपर्यो । मलाई परिणाम चाहियो । स्रोत साधनको पर्वाह नगर्नु ।”
मर नत्र गर
ककनीको वार्डेन सेमिनारमा वनमन्त्री माननीय किरण गुरुङ्गको समुपश्थितिमा पंक्तिकारले मञ्चमा उभिएर भाषण गरें–
“वन्यजन्तुको सम्पूर्ण क्षतिको जिम्मा नेपाली सेना एक्लैले लिने छ । अरु कोही दोषी छैन । आफ्नो कारणले भएको नोक्सानीको क्षतिपूर्ति गरेर देखाउने नैतिक जिम्मेवारी हामी नेपाली सेनाको । हामी दिन दुगुणा रात चौगुणा वन्यजन्तु बढाएर देखाउने संकल्प गर्दछौं । आजका मितिबाट गैंडा मर्ने छैन । मरेमा नेपाली सेना जिम्मेवार । चीफ वार्डेनले केवल व्यवस्थापन कार्यमा ध्यान दिउन । संरक्षणको पाटो हाम्रो दायित्व ।”
भाषण गर्दा पंक्तिकारसँग सबै निकुञ्ज आरक्षका सैनिक कमाण्डर र चीफ वार्डेनहरु थिए । लगत्तै हामी १ दर्जन सैनिकहरुले साईड् मिटिङ्ग गर्यौं । फिल्ड सैनिक कमाण्डरहरुले ईष लिएर मलाई आश्वस्त पारे– “सर हामी कि गर्छौ नत्र मर्छौं । वार कि पार । तर केही गरेर देखाउने छौं ।”
छाता संगठन निकुञ्ज प्रशासनलाई शिरमा राखेर, संरक्षण सबै साझेदार संघ संस्था स्थानीय समुदायसँग हातमा हात र काँधमा काँध मिलाएर गरेको मिलिजुली मजबुत टीमवर्कले चोरी शिकार ठप्प बन्द भयो । प्रधानसेनापतिले शशिभवनमा आफू चढ्ने गाडी गस्तीको लागि चितवन राष्ट्रिय निकुञ्जमा पठाईदिए । नेपाली सेनाको सर्भिलेन्स आईल्याण्डर जहाजले निकुञ्जमाथि हवाई गस्ती गर्यो । तालिम प्राप्त ट्रयाकिङ्ग कुकुरहरु निकुञ्जमा गस्ती गर्ने भए । संरक्षण इतिहासमा नेपाली सेनाले ईज्जतको सवाल भनेर स्रोत साधन निकुञ्जमा खन्यायो । अति उत्तम काबिल कमाण्डरहरु खटायो । एउटा गोली नचलाई चोरी शिकार शून्य भयो । धेरै वर्षसम्म लगातार यो उपलब्धिले निरन्तरता पायो । नेपालले अन्तर्राष्ट्रिय मान सम्मान कदर र पुरस्कार ग्रहण गर्यो ।
सायद एउटा राम्रो नजिर बस्यो ।
निकुञ्ज विभागले सानदार कार्यकारी र व्यवस्थापकीय नेतृत्व दियो । राजनीतिक नेतृत्वले ‘शून्य शिकार’ भिजनको नारा दियो । स्थानीय चीफ वार्डेन र निकुञ्ज कर्मचारीले उच्च हौसला र मनोबलका साथ ईष लिएर ज्यान नभनी त्याग गरे ।
नेपाली सेनालाई सबैतिर बाट हात र साथ प्राप्त भयो । त्यही अनुसारको परिणाम आयो ।
एकदिन जंगी अड्डाको पि.एस्.ओज् मिटिङ्गमा सानो दर्जा (प्र.से.) पंक्तिकारले २ शब्द राखें– “गैंडाको नाक होइन, नेपाली सेनाको नाक काटिएको हो । खोई हाम्रो नाक ?”
भयानक क्षतिको संकेत
बर्दियाको बाघ शिकार नेपाली सेनालाई चुनौती हो । महसुर सार्प सुटरले मात्र गैंडाको टाउकोमा गोली फायर गर्न सक्दछ । पुरानो काल उठेर आएको देखिन्छ । त्यो गोली गैंडाको टाउकोमा लागेको होइन, नेपाली सेनाको सुरक्षाकर्मीको टाउकोमा लागेको हो । सगरमाथामा कस्तुरीलाई होइन, नेपाली सेनालाई लामबद्ध राखेर पाता कसेको हो ।
चोरी शिकार व्यापक बढ्ने भविष्यवाणी हामीले ६ महिना अगाडि गरेका थियौं । नेपालमा मात्र होइन, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिवेशमा चोरी शिकारी बढ्ने छ । जहाँ कमजोर त्यहाँका वन्यजन्तुहरु बली चढ्ने छन् । त्यो अवश्यम्भावी छ । अहिले नेपालको व्यवस्थापन र संरक्षणमा धेरै छिद्रहरु देखा परेका छन् ।
चुकेको ठाउँ
प्रकृति संरक्षणको नेतृत्व गतिशील, प्रतिबद्ध, दृढ र स्मार्ट नहुँदा त्यसको चेन ईफेक्ट फिल्डमा पर्यो । वन मन्त्रालयको प्रशासन सक्रिय र कामयावी हुन नसक्नु अर्को दुर्भाग्य भयो । मन्त्री सचिवसंग डराउने, सचिव मन्त्रीसंग हुँदा सिन्को भाँचिएन । त्यसैले राजनीतिक नेतृत्वले शब्द शब्द केलाएर तौलिएर बोल्नुपर्दछ । “संरक्षण किन चाहियो” भनेर बराबर भाषण गर्ने, निकुञ्ज विभागलाई नेतृत्व बिहिन राखेर रद्दीको टोकरीमा फ्याँकिदिने, संरक्षण संघ–संस्थालाई भर्ती केन्द्र बनाउने र दुहुनो गाई ठान्ने र निकुञ्जमा खुट्टा नहाल्ने राजनीतिक नेतृत्वको प्रवृत्तिले फिल्डमा व्यापक नैराश्यता, उदासिनता र तनाव सृजना भएको छ । जोस, जाँगर, हौसला, प्रेरणा मरेको छ । टीमवर्क, ईण्टेलिजेन्स हराएको छ । प्रकृति र संरक्षणप्रेमी स्थानीय समुदाय उपेक्षित, अपहेलित र आक्रोशित् छन् । राष्ट्रिय संरक्षण दुविधा र अन्यौलताले निकुञ्ज विरोधी तत्व, चोरी शिकारी, वन तस्कर, अवैध व्यापारी रौसिएका हौसिएका छन् । नेपाली सेना एक्लिएको र दबिएको छ । सुस्त भएको छ ।
आशाको किरण
नेपाली सेनालाई राष्ट्रिय र केन्द्रिय उदासिनताले सृजित् वर्तमान समस्या देखाएर सुस्त हुने छुट् छैन ।
स्थानीय निकुञ्ज प्रशासन र चीफ् वार्डेनलाई ईष लिएर विरासत् धान्ने यो अपूर्व चुनौती हो । निकुञ्जका वास्तविक मालिक स्थानीय समुदायले स्वविवेकमा पहलता लिएर एग्रेसिभ ईण्टेलिजेन्स, सपोर्ट र छेकबार गर्न अग्रसरता देखाउने प्रण गर्नुपर्दछ ।
संरक्षण साझेदार संघ–संस्थाहरु नयाँ शिराबाट नयाँ सोच, कार्य योजना र परिणाममुखी कार्यान्वयनको दरो कार्यक्रम लिएर एग्रेसिभ्ली संरक्षणमा पुन: होमिनुपर्दछ ।
आशा गरौं, पशुपतिनाथले पहिलाका जस्ता सकरात्मक, प्रतिबद्ध र दृढ संकल्प भएको निस्वार्थी र त्यागी राजनीतिक र प्रशासनिक नेतृत्व प्रदान गर्ने छन् प्रकृति रक्षाका खातिर ।
तत्काल गर्नुपर्ने संरक्षण पहल
नेपाली सेनाले संरक्षण मोडललाई पुनसंरचना, पुनरताजगी र पुनरजीवन्त राख्न आफ्नो ध्यान, स्रोत साधन, तालिम, श्रम खन्याउनुपर्दछ ।
कुनै पनि बहाना र सीमाले नेपाली सेनाको संरक्षण सक्रियता, दायित्व र जवाफदेहितालाई सीमित गर्न मिल्दैन । अन्यथा, पहिलाको जस्तो भक्षकको बात लाग्ने छ ।
फिल्डमा व्यापक ट्याक्टिकल जङ्गल अपरेशनको संचालन हुनुपर्दछ । आई.टिको प्रयोगले बुट्स अन द ग्राउण्ड’ लाई ब्यारेक मचान र सडकमा सीमित गर्नु हुँदैन । हरेक बुट्टा कुना खोंचमा फिजिकल पाईला पुर्याएर सर्च र स्वीप् गर्नुपर्दछ ।
हिमाल, पहाड, तराईमा पुन: ‘शून्य शिकार’ हाँसिल गर्न ‘मर नत्र गर’ सिद्धान्तमा अटल भएर त्याग गर्नुपर्दछ ।
जंगी अड्डाले बाघ गैंडा लगायत विज्ञहरुको एउटा सेमिनार आयोजना आफ्नै हेडक्वाटरमा गर्नुपर्दछ । प्राप्त रायको लेखाजोखा गरेर भावी संरक्षण रोडम्याप बनाउन त्यस्तो विज्ञको भेला उपयोगी हुने छ ।
अरु मुलुकले गोली लागेको गैंडालाई सफल उपचार गराएर दर्जनौं बच्चा पाउने आमा बनाएका उदाहरण छन् । संक्रमणकालमा खाग काटिएको गैंडा होस् वा हालै टाउकोमा गोली लागेको गैंडा, तिनको उद्धार र उपचार गरेर बचाउन सकिने थियो । निर्माण भएर अलपत्र र उपेक्षित भएको एनिमल अस्पताल सञ्चालनको जिम्मा राज्यले अब नेपाली सेनालाई दिनुपर्दछ । सेनाले विज्ञहरु लिएर अस्पताल चलाउने व्यवस्थापकीय काम सिक्नुपर्दछ ।
लामो समयपछि निकुञ्ज विभागले पाएको नेतृत्वले फिल्ड दौडाहा गरेर अहोरात्र ज्यानको बाजी लगाएर खट्टिएको फ्रण्टलाईन स्टाफको समस्या, आवश्यकता र मागको सम्बोधन गरिदिनुपर्दछ । निश्क्रिय मन्त्रालय र तालुक प्रशासनलाई फोन सम्पर्कमा सीमित राख्नुपर्दछ । पूर्ण ध्यान र ज्यान फिल्डमा केन्द्रित गर्न जरुरी छ । त्यसो भएमा फिल्डले आकाशको तारा झार्ने छ । पुरानो उपलब्धिले निरन्तरता पाउने छ । मध्यवर्ती क्षेत्र र स्थानीय समुदायले अभिभावकको मुख देख्न र जाँगर प्रष्फुटन गराउन पाउने छन् ।
स्थानीय समुदायमा आधारित चोरी शिकार नियन्त्रण समूह (सि.बि.ए.पि.यु) को निरन्तरता र सक्रियता पहिलो र अपरिहार्य आवश्यकता हो ।
वन्यजन्तु अवैध व्यापारको अनुगमन र नियन्त्रणमा योगदान गर्दै आएको नेपाल प्रहरी (सि.आई.बि) को सक्रियता पहलता र प्रभावकारिता अर्को अपरिहार्य खाँचो हो । संयोजन गर्ने काम डि.जि.को हो ।
हालै चितवनमा पाटे बाघको आक्रमणबाट २ जना स्थानीय जनताको दु:खद् निधन भयो । गत २ वर्षको गैंडाको क्षतिले समेत विश्व सम्पदामा सूचिकृत चितवन् राष्ट्रिय निकुञ्जमा व्यापक व्यवस्थापन सुधारको आवश्यकतालाई संकेत गरेको छ । निकुञ्ज आरक्ष व्यवस्थापनको पवित्र काम नयाँ डि.जि.को रोडम्याप हुनुपर्दछ ।
यसो भएमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर हुने छ । दुर्लभ वन्यजन्तु यो पवित्र भूमिमा स्वस्थ खुशी र सुखी हुने छन् । नेपालको संरक्षण छबि अझ माथि उठ्ने छ ।
प्रभावकारी प्रकृति संरक्षणको लागि शुभकामना ।
(लेखक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका पूर्व निर्देशक हुन् ।)