कात्तिक १८ गते विश्व सम्पदामा सूचिकृत नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्र लौखानीमा गैंडाको माउ र बच्चा मृत अवस्थामा फेला परे । गस्तीले फेला पारेको ती गैंडा चोरी शिकारीले मारेको र खाग खुर लगेको निकुञ्जको प्राविधिक टोलीको ठहर रह्यो । गत भदौ महिनामा त्यही निकुञ्जको त्यही क्षेत्रमा फेला परेको मृत गैंडाको टाउकोमा गोली लागेको र यी गैंडाको मृत्युको प्रकृति एउटै भएको निश्कर्ष आयो प्रारम्भिक छानबिन र मूल्यांकनबाट ।
गत २ बर्षमा ६ दर्जन भन्दा बढी गैंडाको मृत्यु बेहोरेको निकुञ्जमा यो आर्थिक वर्ष २०७७ र ७८ मा मात्र मृत्युवरण गरेका १२ वटा गैंडा मध्ये ४ वटा चोरी शिकारको कारण भनेर सकार्यो निकुञ्ज प्रशासनले।
स्याल कराउनु बाख्रा हराउनु
त्यही दिन राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले ४१ औं वार्षिकोत्सव स्थापना दिवस मनाइरहेको थियो । प्रकृति संरक्षणको नमूना र अगुवा देशले पहिलो पटक मनाएको यो ऐतिहासिक दिनको आफ्नै अपूर्व महत्व र औचित्य थियो । आफ्ना श्रद्धेय अग्रज पहिलो पूर्व महानिर्देशक विश्वनाथ उप्रेतीको समुपस्थितिमा मनाइएको वार्षिकोत्सवले बिगतको स्मरण, वर्तमानको पीडा अनुभव र उज्वल भविष्यको अपेक्षा गराइरहेको थियो प्रकृतिप्रेमी संरक्षणकर्मीहरुलाई ।
वार्षिकोत्सव मनाउने परम्परा बसाउनु, प्रथम र त्यागी जिउदो पूर्व महानिर्देशकलाई अतिथि बनाउनु नयाँ डिजिका प्रारम्भिक रोमाञ्चकारी हर्कत थिए। सायद उपलब्धिमूलक र उज्वल भविष्यका पूर्व जनाउ दिने संकेत भनूम् । त्यति मात्र होइन, जिम्मेवारी सम्हालेको केही हप्ता भित्र संरक्षण रणनीति” तर्जुमा र सर्कुलर गरेर हुने बिरुवाको चिल्लो पातको संकेत दिएका छन् उनले । उनको ‘संरक्षण रणनीति’ को कार्यान्वयन पक्ष सफल भयो भने उनी आधुनिक संरक्षणको हिरो हुनेछन् ।
गैंडा मरेको लगत्तै उनले बन सचिव विश्वनाथ ओलीलाई चितवन राष्ट्रिय निकुञ्ज भिजिट गराएका छन् । कात्तिक २२ गते शुक्रबार चितवन पुगेर वन सचिवले अब गैंडा मर्न नदिने गहकिलो प्रशासनिक प्रतिबद्धता जनाएका छन् ।
अब आशा गरौं, नया डि.जि डा. प्रेम कँडेलले वन तथा वातावरण मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिको समेत निकुञ्ज भ्रमण गराउने छन् र संरक्षण दायित्वको राष्ट्रिय अभिभारा बारे बोध गराउने छन् । प्रकृति संरक्षणलाई प्राथमिकतामा राख्न लगाउने छन् ।
कालो विगत
बाघ होस् वा गैंडा अथवा कस्तुरीको मृत्यू तिनीहरुको मन्त्रालय कानमा तेल हालेर बसेको थियो ।
वन्यजन्तु संरक्षणको हकमा अन्तर्राष्ट्रिय रेकर्ड, नाम र पुरस्कार पाएको मुलुक नेपालमा २ तीहाईको सरकारले करिब ३ वर्ष सिन्को नभाचिदिदा अवोध वन्यजन्तुको क्षति माथि क्षति भइरह्यो । गैंडा गणनाको निर्धारित कार्यक्रम २०७५ सालमा रद्द गरियो । २०७६ सालमा अनिवार्य गणना गर्नैपर्ने काम कोभिड–१९ को हाउगुजी देखाएर रोकियो । गैंडा मृत्यूको कारण पत्ता लगाउन र वासस्थान सुधारको पहल गर्न तालुक मन्त्रालयले कुनै चासो देखाएन।
प्रकृति र संरक्षणप्रेमी समुदायको लागि विगतको ३ वर्ष वन र वन्यजन्तुको कहालीलाग्दो क्षतिको ‘कालो काल’ थियो । दूरदर्शी अग्रजहरुले फिल्डको संरचना र संरक्षण मोडल मजबुत बनाईदिएको कारण निकुञ्ज आरक्षहरु खाली हुन पाएनन् ।
अपूरणीय क्षति र विगतको कालो कलङ्कको पासोबाट बाहिर निस्कन तथा प्रकृति संरक्षणलाई राष्ट्रिय प्राथमिकता राख्न र संरक्षणमा कोर्स करेक्सन गरेर गेम चेञ्ज गर्न अपरिहार्य देखिएको छ ।
यो पनि पढ्नुहोस:चीन देखि नेपाललाई आयो विवाहको प्रस्ताव: आज गैंडा दिवश
शून्य शिकार उपलब्धिको उपेक्षा
१० वर्षे द्वन्द्वले प्राय: खाली भएका निकुञ्ज आरक्षलाई शून्य शिकार गरेर शीघ्रातिशीघ्र वन्यजन्तुले भरिएको थियो । संक्रमणकालको त्यो उपलब्धिलाई निरन्तरता दिनुपर्ने थियो । कसरी भयो शून्य शिकार ? आफ्नो अनुभवलाई बुंदागतरुपमा राख्न चाहन्छु–
‘शून्य शिकार’ भिजन वा सपना भनौं त्यो फिल्डको ईष र मिशन थियो । बृहद् संरक्षण टीम र टीमवर्कको ईमान्दार प्रतिबद्धता र जवाफदेही कार्यान्वयन थियो । निकुञ्ज विभागको कुशल नेतृत्व, समन्वय र कार्यसम्पादनलाई वन मन्त्रालयको समर्थन सहयोग र प्रेरणा प्राप्त थियो ।
३ खम्बे संरक्षण मोडलको मेरुदण्ड नेपाली सेना ‘गर नत्र मर (डु अर डाई)’ सिद्धान्त अङ्गीकार गरेर पूर्ण जवाफदेहिताका साथ होमिएको थियो । आफैले पनि उत्कृष्ट जनशक्ति र श्रोत साधन खन्याएको थियो ।
अर्को खम्बा स्थानीय समुदायको ईमान्दार काँध हात र साथ प्राप्त थियो । स्थानीय समुदायमा आधारित चोरी शिकार नियन्त्रण सञ्जाल (सि.बि.ए.पि.यु) को सक्रियता र उपलब्धि नमूनालायक र कदरयोग्य थियो ।
संरक्षण साझेदार संघ संस्थाहरुको सक्रियता र साझेदारिता उच्च कोटीको थियो ।
नयाँ रोडम्याप तर्जुमा गर्न विज्ञहरुको भेला र राय अनिवार्य जरुरी पर्दछ । वर्तमान परिप्रेक्ष्यमा त्यस्तो भेलाको भर्चुअल श्रृङ्खला चलाईराख्नुपर्दछ । पूर्व प्रिस्क्रिप्सन र उपचार विधि उपयोगि र कामयावी नहुन सक्दछ । नया शिराबाट सोच्न हेर्न र अगाडि बढ्न बिलम्ब भइसकेको छ ।
मन्त्रालय र विभागका बग्रेल्ती बेथिति उनैले जानून र छिटो सुधार गरुन् ।
यहाँ एउटा संरक्षण खम्बा नेपाली सेनाले सुधार गर्नुपर्ने कुराहरु मात्र बुँदागत रुपमा राख्न आफ्नो धर्म ठान्दछु–
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयलाई समयानुकूल पुनरसंरचना गरेर त्यसलाई श्रोत साधन सम्पन्न बनाउन जरुरी छ । ईनडोरप्रेमी होइन आउटडोर र फिल्डप्रेमी संरक्षणको बहुआयमिक पक्ष बुझेको सक्रिय र साहसिक निर्देशकको २ वर्षे कार्यकाल अपरिहार्य छ । केन्द्रिय अनुगमन, मूल्याँकन, निर्देशन र नियन्त्रण बिना फिल्डमा परिणाम आउदैन ।
यो आउट अफ् बक्स गएर स्वविवेक र स्वनिर्णयले पूरा गर्ने जिम्मेवारी हो । निकुञ्जमा तैनाथ सेनालाई अन्य व्यावशायिक सेना सरह बाँध्ने थुन्ने एकमुष्ट (ब्ल्याङ्केट) नीति नियम लगाएर त्यसलाई पिंजडाको सुँगा बनाउनु हुँदैन । उसलाई तरिका होइन मिशन दिनुपर्दछ ‘शून्य शिकार’ को।
निकुञ्जको हकमा रोटेसनलाई अरु सरह थाति राख्नु हुँदैन थियो । रोटेसन समयमा पूरा गरेर फ्रेस फौजलाई संरक्षणको जिम्मा दिनुपर्ने थियो । चितवनको दु:ख कष्ट झेलेर बाहिरिने युनिटलाई रोल्पा होइन लमजुङ्गको सुगम सुविधाले पुरस्कृत गर्नुपर्ने थियो ।
हाम्रा आफ्ना आन्तरिक कमिकमजोरीहरुले फिल्डमा फौजको हौसला र मनोबललाई घटाउने गुञ्जायस राख्नु हुँदैन ।निर्देशकको १ वर्षे कार्यकाल र ६ महिना अगाडिको सरुवा फोरकास्टिङ्ग निकुञ्ज हितमा छैन । सुधारको आवश्यकता देखियो । चेन अफ् कमाण्ड बाधक हुनुहुंदैन । फिल्डलाई रा नि को प्रत्यक्ष कमाण्ड अपरिहार्य छ । नवलपरासीको अनाश्रित गुल्म हटाएर ठूलो संरक्षण नोक्सानी भएको देखियो।
अधिकांश चोरी शिकारी पश्चिम सेक्टरमा भएको नजिरलाई हेर्ने हो भने पूर्व अनाश्रित गुल्महरुले नारायणी नदी पारीको किनाराबाट मुसा छिर्न नदिएको मजबुत् र जवाफदेहि सुरक्षा घेरा अहिले कायम हुन नसकेको ठूलो कमजोरी देखियो । त्यहाँ अनाश्रित गुल्म नै तैनाथ गर्न जरुरी छ ।
शिवपुरी राष्ट्रिय नागार्जुनमा २/२ वटा सेरोमोनियल गण तैनाथ गरेर हामीले जग हसाइरहेका छौं । एउटा गण अबिलम्ब हटाउन अथवा चितवनको माडी, कोशीटप्पु वा डोल्पामा भिजाउन बिलम्ब भइसकेको छ । संरक्षणमा आई.टि प्रयोगको आफ्नै नेटवर्क बनाएर जिम्मेवारी क्षेत्रलाई संरक्षण रडारभित्र राख्न र २४ घण्टा मनिटर गर्न सक्नुपर्दछ । स्मार्ट पट्रोललाई समयानुकूल परिमार्जन र विकास गर्दै लैजानुपर्दछ ।
तेश्रो खम्बा स्थानीय समुदायसँग टुटेको लिङ्क पुनरस्थापना गरेर सि.बि.ए.पि.यु. लाई पुन सक्रिय बनाउने पहल गर्नुपर्दछ । आईसोलेसनमा संरक्षण संभव नहुने सत्यलाई आत्मसात् गरेर बृहद टीम निर्माण र टीमवर्कको मोडललाई अङ्गीकार गर्नु वान्छनीय हुने छ ।
संरक्षण साझेदार संघ संस्थाहरुलाई संजिवनी बुट्टीको जरुरत देखिन्छ ।
निकुञ्जमा आफ्नो जिम्माको बाघ, गैंडा, कस्तुरी मरिरहने, शहरमा एलिट युनिटहरुले हाई काढेर बस्ने शोभनीय भएन । रेञ्जरको जङ्गल कम्पनीलाई निकुञ्जमा भिजाउने र फिल्डलाई केन्द्रबाट एलिट फौजले रिईन्फोर्स गर्ने पुरानो नजिर असरदार थियो भने डेटरेन्सको लागि त्यो मोडललाई निरन्तरता दिन उपयुक्त होला ।
सरकारी रबैया, आँडे आर्थिक नियम र राजनीतिक प्रभावले समयसीमाभित्र निकुञ्जको असरदार व्यवस्थापन सम्भव छैन । निकुञ्जमा अहोरात्र जोखिम मोलेर खट्टिने फौजलाई नजिकका युनिटले रिईन्फोर्स गरेर अब सेनाले घाँसे मैदान, ताल तलैया, घोल निर्माण र मेण्टिनेन्स कार्यमा हात हाल्नु र उत्कृष्ट पार्क बनाउने उद्देश्य पूरा गर्नु गराउनुपर्दछ ।
संरक्षण तालिमको दायरा बढाउने र जङ्गल डिउटी ज्ञानको विशिष्टकरण गर्ने गराउने कामलाई अझ धेरै जोड दिनुपर्ने देखिन्छ ।
जङ्गल अनुशासन, परिश्रम र जवाफदेहितालाई हमेशा शत प्रतिशत (१००%) कायम राख्नुपर्दछ । रक्षा, वन र अर्थ मन्त्रालयको केन्द्रिय सम्पर्क सम्बन्ध र समन्वयले फिल्डमा उर्जा पैदा हुने भएकोले रक्षा मन्त्रालयको चासो र पहलता निकुञ्जको हितमा हुने छ । प्रधानसेनापतिले प्रधानमन्त्री र राष्ट्रपतिको ध्यानाकर्षण गर्न प्रकृति संरक्षण अपडेट् दिइरहने र निकुञ्जमा राजनैतिक होइन अराजनीतिक भ्रमण गराएर संरक्षणको अभिभावकत्व ग्रहण गर्न लगाउने वातावरण निर्माण गर्नुपर्दछ ।
राष्ट्रिय प्रतीक गैंडा संरक्षण गर्न सक्ने नेपाली सेनाले मात्र राष्ट्रिय सुरक्षाको जिम्मा लिन सक्दछ । तसर्थ, यी अवोध गैंडाहरुको संरक्षण, नेपाली सेनाको गर्विलो ईतिहास र प्रतिष्ठासँग सिधा जोडिएको ईज्जतको सवाल हो । जुन हरतरहबाट पूरा गरेर छाड्नुपर्दछ ।
आशा गरौं, शून्य शिकार उपलब्धिले पुनरजीवन पाउने छ । र, चोरी शिकारीका कारण गैंडाको मृत्यु भन्ने दु:खद् समाचार यी आँखा कानमा पुन: ठोक्किने छैन । कुनै समय निकुञ्ज विभागले गर्वको साथ बनाएर उपहार दिएको शून्य शिकार उपलब्धि झल्किने मेरो आङ्गको टी–सर्टको औचित्य र महत्व अझ धेरै बर्षसम्म जीवन्त रहिरहनेछ ।
जय प्रकृति र संरक्षण |
(लेखक पूर्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशक हुन् )