बाबुकृष्ण कार्की, बाघ गोठालो.

बाघ किन उकालो लाग्यो ? पहाड चढेर डडेल्धुराको जङ्गलमा पुग्यो ?
सलाम छ डडेल्धुराका डि.एफ.ओ.लाई । हतार हतार क्यामरा सेट गरेर बाघको फोटो खिच्ने बाघप्रेमी अधिकारीलाई ।
पंक्तिकारलाई धेरै प्रश्न र जिज्ञाशा जागे । बाघ किन पहाड चढ्यो ? अनि चिन्ता चुलियो– “त्यो बाघले के खाला ? खोई ४/६ वटा मस्त पोथीहरु ? खोई शान्ति सुरक्षा ? खोई अनुगमन ? जाडो भयो भने के गर्ने होला ?
पंक्तिकारलाई गस्ति गर्न जान मन लाग्यो ।” बाघको गस्ति गरुम । छेउमा पाल टाँगेर क्याम्पिङ्ग गरुम । बाघलाई फकाएर पुन: उसको मूलघर शुक्लाफाँटा फर्काउँ।”

Tiger in Shuklaphanta National Park. Photo provided by DFO Bishnu Prasad Acharya.

योजना राम्रो बुनें । तर कार्यान्वयन कति कठिन छ भनेर ‘टाइम एण्ड स्पेस’ र प्रक्रिया जाँचपड्ताल गरें । सम्भावना क्षिण देखें ।
तर आफ्नो योजना ईमान्दारसाथ पूरा गर्न मेरा मित्र डि.एफ.ओ. काफी हुनुहुन्छ । कति आँटिलो जोसिलो प्रतिबद्ध रकेट मित्र ∕ बाघ व्यवस्थापन र संरक्षण गर्न जो कोहीलाई पनि सजिलो कहाँ छ र ?

यो पनि पढ्नुहोस: विश्व बाघ संरक्षण दिवसःहामी बाघहरुको अभिवादन

बाघको मनोविज्ञान
लकडाउनको समयमा बाघ डडेलधुराको पहाडी जङ्गलमा क्यामराट्रयापमा परेको हो । सायद उ पुर्खाको घर खोज्दै गएको हुनुपर्दछ । आहा, कति भाग्यमानी पुर्खा ! उहिले तराईदेखि पहाडसम्म फैलिएका थिए । वातावरण, मौसम र तापक्रम अनुकूलन बास मिलाउदथे । गर्मीमा पहाड र जाडोमा तराई।

होइन नी, त्यो त हामी चलाख मानवीय चाल पो हो त । बाघ पहाडमा छुट्टै तराईमा छुट्टै थिए । उनीहरु आफ्नो निर्धारित राज्य छाडेर अर्काको राज्यमा प्रवेश गर्न पाउदैनन् । फिरन्ते भएर आफुखुशी घुम्ने छाडा छुट बाघलाई छैन । अर्काको राज्यमा प्रवेश गर्नु भनेको वारपार युद्ध छेड्नु हो । कि यो राजा छैन कि उ राजा चैट् । फेरि बाघ धर्म, निष्ठा, आस्था, नैतिकता, कर्तव्यपालन गर्ने स्वाभिमान राजा हो । सिनो नखाने राजा । झिना मसिना जनावर र मान्छे नखाने राजा । बाद्यात्मक अवस्था बाहेक बाघले मान्छे मार्दैन र खांदैन । बाघले सँुघेर छाडेका बेहोस् पर्यटक र मान्छेहरुलाई उद्धार गर्ने दुर्लभ अवसर पंक्तिकारलाई अध्ययन र अनुसन्धानका प्रेरणा बनेका थिए । त्यसैले बाघ प्रतिको सम्मान चुलिएको हो ।

बाघलाई जलवायु परिवर्तन छल्न पहाड चढ्नुपरेको हो त ? अतिवृष्टि र डुबानको समस्या वर्षेउनी झेलेर कायल भै यो सालको डुबान छल्न उ वर्षायाम अगाडि पहाड पुगेको हो त ?

कि भाले पोथीको अनुपात १०:६ (भाले/पोथी) नमिलेर उ धपाईएको अथवा लखेटिएको हो त ? कि उसले आफै अरुलाई मैदान खाली गरिदिएको हो ?

एउटा कुरा पक्का हो । शुक्लाफाँटामा बाघले खोजेको शान्ति सुरक्षा छैन । चोरी शिकारी व्याप्त छ । विषादी र पासोको बिगबिगी । छिटपुट बन्दुकबाट फायर समेत । नेपाल भारत दुवै तर्फबाट मौकामा चौका हानिन्छ । सुरक्षाकर्मीलाई छल्ने, झुक्याउने, जोकर बनाउने र बाघलाई उठाउने काममा माहिर छन् त्यहाँका चोरी शिकारीहरु । चानचुने पहल र प्रयासले उनीहरु पक्राउ पर्दैनन् ।

यही एम्बुसको बिगबिगी छल्न र शान्तिको सास र राहतको खोजीमा पो गएको हो कि बाघ डढेलधुरा ?

यो पनि पढ्नुहोस:बिश्व किर्तिमानको अपूर्व अवसर

शुक्लाफाँटामा आहारा पर्याप्त छ । ह्ष्टपुष्ट, पोसिलो, दरिलो, ठूलो आहारा बाह्सिंगाको लागि त्यो ठाँउ पर्याप्त छ । बाघका दु:खी साना आहारा लगुना, रतुवा, बँदेल, बाँदर, चित्तल भन्दा ३/४ गुणा ठूलो आहार हो बाह्सिंगा । त्यो जति खाए पनि फ्यांकाफ्यांक छ शुक्लाफाँटामा ।
अचम्म छ π किन गयो किन बाघ डढेलधुरासम्म ?

‘राष्ट्रिय बाघ संरक्षण समिति’ का पूर्व अध्यक्ष पूर्वप्रधानमन्त्रीलाई ‘बाघ दिवस’ स्मरण गराउन पो गयो कि ? अथवा, उहाँको गृहजिल्लालाई लक्षिण र सह बोकेर पवित्र बनाउन गयो कि ?
कतै वर्तमान वन तथा वातावरण मन्त्री, समितिका पदेन सदस्यको गृह जिल्ला खोज्दै गएको पो हो कि ? अथवा, भोक हडताल हो कि ? राज्य, सरकार, पदाधिकारीहरुको ध्यानाकर्षण गर्न पो हो कि ? कतै गुनासो, रिस र आक्रोश पोखेको त होइन होला । किनभने बाघको रिस चुलिएको थियो ।

Tiger in Shuklaphanta National Park. Photo provided by DFO Bishnu Prasad Acharya.

बारुद र बम: के गरौं कता जाम्
अहिले निकुञ्जमा द्वन्द्वकालका हात्ती र गैंडा छन् । संक्रमणकालका बाघ छन् । ती द्वन्द्वकालका बाघका सन्तान हुन् । गोली, बम, बारुद, तोराबोरा देखेका खेपेका र सहेका यी वन्यजन्तुहरुको मनस्थिति असहिष्णु, असामान्य, अस्वभाविक र असन्तुलित छ । त्यसैले त गैंडा टाढा हेटौंडा शहरको यात्रामा पुगेका छन् । ऐया–आथ्था रुँदै–कराउदै भकाभक मरेका छन् । बाघ पहाड चढेका छन् । उनीहरु गाउँ घर पसेका छन् ।
द्वन्द्वको प्रभावले यी कतै अन्धा र बैरा पो छन् कि ? ट्रमा असरमा विक्षिप्त पो छन् कि ? जतिबेर पनि तर्सिने डराउने आत्तिने रुने मनोवैज्ञानिक रोगले पो ग्रस्त छन् कि ? एउटा थुनुवा बाघ ३५ फिट अग्लो खोरबाट भाग्यो; जुन असम्भव थियो । धेरै थुनुवा बाघले देखाएको भयानक आक्रोसले विष्फोटन मनस्थिति देखाउदथ्यो ।

व्यापारीका सफारी : वन्यजन्तु माथि मनपरी
हामी व्यग्र दामका पछाडी छौं । सुनौलो भविष्यलाई मारेर दाम कमाउन उद्यत छौं । भावी सन्तति भाँडैमा जाउन् । बाघ र वन्यजन्तु सत्यनाश हुन् ।
लकडाउनले सिद्ध गर्‍यो– बढी सिट क्षमताको लागि मोडिफाई गरेर ट्रयाक्टर र हेलिकोप्टर आवाज दिने डिजेल बोलेरो गाडीहरु बाघ र वन्यजन्तुका लागि काल थिए । लकडाउनमा बाघहरु खाली सडकमा आए, सुते, आराम गरे, बिहे गरे । रामराज्यको अनुभूति गरे । लकडाउन सन्तति कति स्वस्थ र शक्तिशाली हुने होलान् ।

क्यारिङ्ग क्यापासिटी : चर्को र सस्तो राजनीति
आजकाल सबैका मुखमा झुण्डिएको भाषा हो ‘क्यारिङ्ग क्यापासिटी’ । भन्न सजिलो, सुन्न रमाईलो । भ्रममा पार्न र गोलमटोल गर्न झन् सजिलो । बहानाबाजी गर्न र उत्तरदायित्वबाट पन्छिन झनै सजिलो । बाघ र बाघको बासस्थान माथि आक्रमण गर्न र निकुञ्ज तथा संरक्षणक्षेत्र लुटपात गर्न काईदाको शब्द जाल । बाघ र उसको घर मास्ने सरल तर षडयन्त्रकारी भाषा । विज्ञहरुसँग राजनीतिकर्मीले चोरेको र नक्कल गरेको भाषा । अहिले यसको चरम दुरुपयोग भइरहेको छ ।

नेपालका निकुञ्जहरुको क्यारिङ्ग क्यापासिटी फराकिलो र धेरै छ । बाघ, गैंडा लगायतका वन्यजन्तु अझ धेरै बढाउन बाँकी छ । सत्य के हो भने निकुञ्ज अथवा क्यारिङ्ग क्यापासिटी प्रकृतिले मिचेर खुम्च्याइदिएको छ । जिम्मेवार अधिकारी व्यवस्थापन गर्न अल्छे र बिफल भएको छ । मानिस कै अतिक्रमण चोरी शिकारी र वन्यजन्तु अङ्ग व्यापार बढेर गएको छ । अथवा, सुरक्षा पहल र प्रयास प्राचिन, फितलो र झारा टार्ने किसिमको छ । बाघ आफैं मनोवैज्ञानिक रोगले ग्रस्त छ ।

नयाँ नेपालको नीति : मासौं प्रकृति गरौं राजनीति
एक लाईनमा नयाँ नेपालको नीति यही हो; जुन भन्नै परेन । बाघलाई सिधै मार्न कठिन छ । त्यसैले बाघको तालुक अड्डा र चेन अफ् कमाण्डलाई कमजोर निरिह र पङ्गु बनाउने प्रायोजित काम बाघ विनासतर्फ लक्षित छ । वर्तमान परिस्थितिले त्यही संकेत गर्दछ । त्यसपछि बाघ बचाउ पवित्र अभियानमा सक्रिय अन्य स्टेकहोल्डरहरुलाई घाटी निमोठने र निश्प्राण बनाउने कार्य जारी छ । त्यसको उदाहरण ‘राष्ट्रिय प्रकृति संरक्षण कोष’ र ‘बाघको अस्पताल’ हेरे पुग्छ । अब निकुञ्जलाई विश्व सम्पदाबाट हटाउने र निजिकरण गर्ने गुह्य रोडम्यापहरुको रहस्योद्घाटन हुँदै जाने छ । वैज्ञानिक वन व्यवस्थापन कथित कार्यकर्ता सुकुम्बासी बनाई वनक्षेत्र वितरण, निजगढ विमानस्थलका नाममा लाखौं सालका रुख पचाउने दाउ र निकुञ्जभित्र होटल सञ्चालन सबै बाघ विनासका सुनियोजित प्रारुप हुन् ।

नयाँ नेपालका शासकहरुको नीति बाघ विरोधी मात्र होइन, समग्र प्रकृति विरोधी छ । बाघलाई राजा मान्ने धर्म, संस्कृति र विश्वास विरोधी छ । बाघको पुरानो पहरेदार नेपाली सेना विरोधी पनि छ । प्राकृतिक सम्पदा बेच्ने र सक्ने खालको राष्ट्रघाती छ । जनता विरोधी छ । स्वतन्त्रता, सम्प्रभुता र भौगोलिक अखण्डता विरोधी छ । विश्व सम्पदा र राष्ट्रिय धार्मिक सांस्कृतिक सम्पदा विरुद्ध छ ।

पापी रहस्य : उज्यालो भविष्य
यो पापी योजनाको गोपनीयता भङ्ग भइसकेको छ । अब जनता उठने छन् । तिनीहरुले बाघ र प्रकृतिको स्वामित्व ग्रहण गर्ने छन् । बटमअप् एप्रोचको माध्यमबाट स्थानीयहरुले बाघ रक्षा गरेर केन्द्रलाई देखाउने छन् । सके राजनीतिलाई निर्मर्लिकरण र शुद्धिकरण गर्ने छन् । नसके पुरानोलाई विश्राम दिएर नयाँ पिढी अघि सार्ने छन् ।

त्यो जोसिलो नयाँ पिढीलाई साथ र सहयोग दिन सबै विज्ञहरु स्वस्फूर्त सहभागी र सक्रिय हुने छन् । बाघ, प्रकृति, प्राकृतिक लगायत सबै सम्पदाहरुको रक्षाबाट मात्र देश रक्षा सम्भव छ भनेर युवा पिंढीलाई बाटो देखाउने छन् । बाघ र प्रकृति सम्वृद्धिको बाधक होइन भर्‍याङ्ग हो भन्ने कुरा बुझाउने छन् । बाघ पर्यटन, गैंडा पर्यटन, हात्ती पर्यटन, निकुञ्ज पर्यटन, प्राकृतिक सौन्दर्यता पर्यटन, चरा पर्यटन, पार्क पर्यटन, साहसिक खेल पर्यटन, जडिबुटी र अर्गानिक कृषि पर्यटनका सम्भाव्यताको सुनौला ढोका खोलिदिने छन् । भावी पर्यटन सगरमाथा, लुम्बिनी, पशुपति जस्ता अटल र स्थिर सम्पदा भन्दा बढी चल र सजीव बाघ लगायतका वन्यजन्तुप्रति आकर्षित हुने छन् भन्ने अनुसन्धानद्वारा प्रमाणित नजिरहरु पेश गर्ने छन् ।

बाघ संरक्षणको ऐतिहासिक खम्बा नेपाली सेनाले एउटा व्यावसायिक, प्रतिबद्ध र समर्पित प्रकृति संरक्षण फर्मेशन बनाएर बाघ र समग्र प्रकृतिको स्वामित्व अझ उच्च जवाफदेहिताका साथ लिने छ । र, नयाँ युवा पिंढी र जिम्मेवार सरकारलाई प्रकृति रक्षाका खातिर तन मन वचन र कर्मले काँध थाप्ने छ ।
नेपालका बाघ लगायतका वन्यजन्तुहरुको मनोवैज्ञानिक रोग चटक्क निको हुने छ । बाघहरुले रामराज्य प्राप्त गर्ने छन् । खुशीले हर्सोल्लासका साथ सफलता र विजयको उत्सव मनाउने छन् । प्रकृतिको धनी सुन्दर देश नेपाललाई जगाउने छन्, माथि उठाउने छन् र सम्वृद्धिमय बनाउने छन् ।

बाघ दिवसको उपलक्ष्यमा बाघहरुलाई हार्दिक शुभकामना ।

बाबुकृष्ण कार्की, बाघ गोठालो

Like it? Share with your friends!

Nepalisite