सम्माननीय प्रधानमन्त्री ज्यू,
अध्यक्ष,
राष्ट्रिय बाघ संरक्षण समिति
नेपाल ।
“दिवस आयो । दिवस आयो । बाघ दिवस आयो । खाउंला पिउंला मिठो मसिनो ।”
यो हाम्रा वालक डम्मरुहरुको खुसमाग हो ।
“ दिवस आयो । खुशी आयो । शान्ति पाउंला । सुरक्षा पाउंला । आहार पाउंला । सन्तान बढाउंला । पर्यटक बोलाउंला । फोटो खिचाउंला । सम्बृद्धि ल्याउंला ।” यो हामी बुझ्ने वयस्क बाघहरुको व्यवहारिक अपेक्षा हो ।
यसपालीको बाघ दिवसमा हामी हाम्रा अध्यक्ष महोदयलाई सु–स्वास्थ्य र चिरायुको कामनासहित हार्दिक अभिवादन सन्देश पठाउन चाहान्छौं । साथै, राष्ट्रिय बाघ संरक्षण समितिका सदस्यहरु रक्षा, अर्थ, कानून र वन मन्त्री एवं मुख्य सचिवलाई समेत हार्दिक नमन सहित अभिवादनछ हाम्रो ।
१ सय वर्ष अगाडि हाम्रो संख्या १ लाख भन्दा बढी हुँदा तपाईहरुको धर्ती हराभरा, स्वच्छ, सफा र सुन्दर थियो । हावा र पानीको स्रोत र गुणस्तर उच्चकोटीको र मानवपयोगी थियो । त्यसैले तपाई हाम्रा पुर्खाहरु हट्टकट्ट, ह्रष्टपुष्ट, शक्तिशाली र सुखी खुशी थिए । रामराज्यमा जस्तै ।
अनकण्टार र निसपट्ट हाम्रो ठूलो घर । जताततै सफा पानी । स्वच्छ हावा । सजिलै र पर्याप्त पाइने हाम्रो गुणस्तरीय आहारा । सांच्ची कै रामराज्य । एउटा छेउमा श्रीराम भगवान । बाँकी ठूलो जंगलमा हामी ।
यो पनि पढ्नुहोस: बिश्व किर्तिमानको अपूर्व अवसर
१०४ वर्षे राणा शासनमा हाम्रा पुर्खाहरुको बिल्लिबाठ भयो । हजारौको संख्यामा वनशहिद भए पुर्खाहरु । विशाल विशाल सालका रुखहरुमा सेतो कपडाको भित् कसेर बडेमानको हात्तीमाथि सवार राजाहरुले छेकी छेकी मारे हाम्रा पुर्वजहरुलाई ।
ठीक १०९ वर्ष अगाडि सन् १९११ मा बेलायतका सम्राट जर्ज पाँचौले चितवनमा मात्र ३९ बाघ मारे । १८ वर्षपछि १९२९ मा प्रिन्स अफ् वेल्सले १७ बाघ ढाले । ९ वर्षपछि १९३८ मा लिन्लिथोगोले त्यहीं १२० बाघ र २८ चितुवा मारे वन जंगल रगताम्य पारेर ।
बाफ् रे बाफ् ! हाम्रो उसबेलाको संख्या आफै अनुमान लगाउनुहोस् ।
पुर्खा मरे । बाँचेकाले भव्य उत्सव मनाए । किनभने हाम्रो डरलाग्दो जंगलभित्र देश विदेशका राजा महाराजाहरुले पाउकष्ट गरे । कठिन यात्रा र शिविरबास गरे । जोखिम उठाए । बाँच्नेले उहाँहरुलाई झाडीबाट चियाएर देख्न पाए । गति परे । हामीले सुन्दर र बाघको धनी मुलुक नेपाल चिनाउन पायौं ।
राणा हुन् कि शाहवंशीय राजा, अथवा तिनका अतिथि विदेशी रोयल फ्यामिलि, हाम्रो गुनासो छैन । किनभने उनीहरुले हाम्रो माया गरेर संरक्षण खाका कोरिदिए । संरक्षणको बाटो देखाईदिए । तब न हामी आज यो पवित्र भूमिमा छौं । यो पत्र लेख्न पाएका छौं ।
वि.सं. २००७ सालमा प्रजातन्त्र आयो । हामीले आकाश झर्ने गरी गर्जेर विजयोत्सव मनायौं । हाम्रो गर्जनसँगै रंगीचंगी मयुरहरु घण्टौं आकाशमा उडेर खुशी मनाए ।
यो पनि पढ्नुहोस: अबैध बन्यजन्तु, तस्करी र व्यापारको नसा चैट्
हेर्दाहेर्दै समयले कोल्टे फेर्यो ।
तपाईहरुको घर घरमा दिपावली सहित खुशी र सुख प्रवेश गर्यो । हाम्रो घरमा काल । २००७ देखि २०३० सालसम्म हाम्रो वासस्थानमाथि आक्रमण र लुटपात् शुरु भयो । जसको शक्ति उसको भक्ति, हाम्रो जङ्गल सफाचट् भयो । हाम्रो वंशनाश निश्चित भयो । विज्ञहरुले हाम्रो लोप हुने मितितिथि घोषणा गरिदिए ।
पूर्व राजा महेन्द्रको भोक निन्द्रा हरायो । बेचैनी र छटपटी शुरु भयो । त्यो अप्रिय घोषणाले मुटु छियाछिया पार्यो ।
हाम्रो अहोभाग्य ! वंश जोगाउने सोच र संकल्प भयो । छोरा वीरेन्द्रद्वारा पिताको भिजन कार्यान्वयन भयो । भाइ ज्ञानेन्द्रद्वारा तनमन वचनले हाम्रो रक्षा कल्याण सम्मान भयो । हामी बालबाल बांच्यौं । राजाहरुले हाम्रो घर बढाईदिए । हामी पर्सा, बांके, बर्दिया हुँदै शुक्लाफांटासम्म फैलिन र जाग्न पायौं ।
ती राजाहरुको जयजयकार मनायौं ।
समयले डाँडा काट्यो । २०४६ को परिवर्तन आयो । हामीले पहाड हल्लाउने गरेर गर्जेर प्रजातन्त्रलाई स्वागत गर्यौं । प्रजातन्त्र आरा खुकुरी बञ्चरो लिएर हाम्रो बास सालका रुख छप्काउन जंगल प्रवेश गर्यो । निकुञ्ज प्रशासन घेराउ गर्यो । चीफ् वार्डेनलाई ज्यान मार्ने धम्की दियो । हाम्रो डुल्ने घुम्ने बच्चा पाउने लुकाउने हुर्काउने वन सफाया भयो । हाम्रो आहारा सुली चढाईए । झिरमा उनेर सुकुटी बनाईए । हामी घांस खाउं कि ढुंगा खाउ भयौं ।
जनयुद्ध नामको द्वन्द्व सम्झन पनि चाहान्नौं । उत्कर्षताका हाम्रा प्यारा सुरक्षाकर्मीहरुको गार्डपोष्ट बमबारी गरेर उडाइयो र हामीलाई एक्लै पारी गनी गनी मारियो । पर्सामा ४, शुक्लामा ८, बर्दियामा १८ र बांकेमा शून्य संख्यामा झरेपछि हामी पुनः अर्कोपटक लोप हुने विन्दुमा पुग्यौं ।
धन्य, संरक्षणकर्मी र स्थानीय समुदायले काँधमा काँध र हात मिलाएर बालबाल हाम्रो अन्तिम बिउ जोगाईदिए । हामी अनुग्रहित छौं पवित्र भूमि नेपालप्रति ।
बिउ जोगाउने संकल्प छिटो सफल हुंदा मुलुकले लगातार ‘शून्य शिकार वर्ष’ मनाएर विश्वलाई चकित पार्यो । हामीले गहभरि हर्षका आँसु पालेर सन्तानवृद्धि गर्दैगयौं ।
२०६७ सालमा ‘राष्ट्रिय बाघ संरक्षण समिति’ गठन गर्दा हाम्रो भुंइमा खुट्टा थिएन । त्यसको लगत्तै रुसको पिट्सवर्गमा तत्कालिन प्रधानमन्त्री माधव नेपाल स्वयं उपस्थिति भएर ‘१० वर्षभित्र सन् २०२२ मा पाटेबाघ दोब्बर बनाएर देखाउने छौं ’ भनी गरेको संकल्प सुनेर हाम्रो खुशीको सीमा रहेन ।
अध्यक्ष महोदय,
राज्यले अन्तर्राष्ट्रिय मञ्चमा गरेको बाचा पूरा गर्न र यो सुन्दर पवित्र भूमिको ईज्जत राख्न हामी मरिमेटेर सन्तान बढाउन लाग्यौं ।
तर बिडम्बना, ‘शून्य शिकार अभियान’ छाडियो । हामी पुनः विषादी, पासो, गोलीको फन्दामा फटाफट पर्न शुरु गर्यौं । राजनीतिक नेतृत्वले ‘संरक्षण होइन विकास’ भनेर सस्तो नारा फिंजाईदिएपछि प्रकृति संरक्षणमा ग्रहण लाग्यो । हामी शिकारी र तस्करीको निशानामा पर्यौं । शुक्लामा भालेपोथीको अनुपात बिग्रेर १० भाले ६ पोथी भईदियो । चोरी शिकारी पनि बढ्यो । एक भाइ बिरक्तिएर पहाड बंसाई सर्ने भन्दै डढेलधुरा पुग्यो । बाँकेमा ३ भाइ पासोमा परे र २ वटाका छाला बरामद भैसके । पोहोरसाल चितवन सुखीभारमा मारिएको बाघको छाला मकवानपुरमा बरामद भयो । १ भाइलाई पर्सामा गाडीले ठक्कर दिएर ठहरै पार्यो । अर्को भाइलाई बर्दिया राजमार्गमा गाडीले ठक्कर दिंदा उ प्रजनन क्षमता गुमाउने गरी मरणासन्न घाईते भयो । बर्दियामा अर्को बाघ मारेर गोठमा गाडेको भेटियो । हामी धेरै दिनसम्म डाको छाडेर रोयौं । हाम्रो आंसु सकियो । चितवनमा ६ दर्जनभन्दा धेरै गैंडा मरे गत २ वर्षमा । गैंडा गणना पोहोर र अहिले लगातार २ वर्ष रद्द भयो । गोही र माछा जालमा परेर भुसुक्कै मरे । हाम्रो आहारा घट्यो । हामीले गुहार गुहार पुकार्यौं ।
अध्यक्ष महोदय,
बीचमा कति स्वदेशी विदेशी अतिथि आए हेरे फोटो खिचे र खुशीले उत्सव मनाए ।
हामी हाम्रा प्यारा अध्यक्षलाई ‘अतिथि देवो भवः’ गर्न व्यग्र प्रतिक्षारत थियौं ।
दर्शन पाउनु र दिनु अनि बाघ आशिष दिनु हाम्रो उद्देश्य ।
मन उमङ्ग र चङ्गा गर्नु, विश्राम ध्यान र स्वास्थ्यलाभ गरेर पुनरताजगी भई काममा फर्किनु तपाईको पवित्र उद्देश्य ।
स्वागत गर्नु, राम्रो संरक्षण काम देखाउनु र स्यावासी पाउनु स्थानीय जनताको उद्देश्य ।
पसिना, त्याग र तपस्या देखाउनु, हौसला र मनोबल बढाउनु संरक्षणकर्मीको उद्देश्य ।
स्वच्छ हावाले फोक्सो सफा गरिदिनु, शान्ति दिनु, आँखा आत्मा पवित्र गरिदिनु हाम्रो जङ्गल र स्वच्छ हावाको उद्देश्य ।
तपाईको सक्रियता र प्राथमिकता देखेर दातृ निकाय, विश्व संरक्षण समुदाय, प्रकृति र संरक्षणविद् सबै उत्साहित हुनु, गर्व गर्नु र जयजयकार गर्नु उहाँहरुको उद्देश्य ।
आहा ! सबैलाई विन विनको सुन्दर अवस्था !
अध्यक्ष महोदयको कार्यव्यस्तता सर्वथा स्वभाविक र जायज थियो । तर नेपालमा अध्यक्षको प्राथमिकता, ध्यान र नजर नपर्नासाथ अरुले फुटेको आँखाले नहेर्ने कामठग् र कामचोर प्रवृत्ति अविलम्ब सच्चिन जरुरी छ । राजनैतिक नेतृत्वको उपेक्षा, उदासिनता र उल्टो विकासे नाराले हाम्रो सत्यनाश भयो ।
आहा ! २ तिहाईको स्थायी सरकार पाउँदा हामी हर्षित भै सामूहिक बाघआशिष दियौं । त्यसकै परिणाम हो– तपाईको शीघ्र स्वास्थ्यलाभ, स्वास्थ्यवर्धकता, दिर्घायु र स्थायित्व ।
हाम्रो आशिष हो उपेक्षाको बाबजुद वन मन्त्रीले ३ वर्षको ३/३ वटा बजेट वन तर्जुमा र खर्च गर्न पाएको दुर्लभ अवसर ।
तपाईको बहालीपछि तल्लो घर भारतमा ज्यादै व्यस्त तपाईका समकक्षी प्रधानमन्त्री मोदीले स्वयं उपस्थित भएर एक भव्य समारोहमा बाघको परिणाम सगर्व घोषणा गर्नुभयो । २२२६ बाघलाई ४ वर्षमा बढाएर २९६७ बनाएकोमा उहाँले संरक्षणकर्मी र सारा भारतीय जनतालाई बधाई र स्याबासी दिदै गौरव गर्न सादर प्रेरित गर्नुभयो ।
हाम्रो बासस्थान छेउ अर्को बाघबास वाल्मिकी टाईगर रिजर्भमा हाम्रा माईती मावली बाघहरुले दिपावली सहित धुमधाम उत्सव मनाए र मोदीलाई मुरिमुरि बाघआशिष दिए ।
हामीलाई हाम्रा पनि दिन आए भनेर गहिरो आशा पलायो ।
तर, बिडम्बना, गएसाल हाम्रो गणनाको परिणाम निर्धारित समयमा नगरेर आलेटाले रफ्फु भर्ने जालझेल गरियो । मूलघर चितवनमा १२० बाट घटेर ९३ मा झरेपछि २७ वटा बाघको कमीले हामीसँगै बाघप्रेमी, बाघविज्ञ र संरक्षणप्रेमीहरुको रुवाबासी भयो । ढिलो गरेर सार्वजनिक गरिएको चितवन ९३, पर्सा १८, बाँके २१, बर्दिया ८७ र शुक्ला १६ जम्मा २३५ बाघ संख्या कति ठीक हो हामीलाई शंका छ । निकुञ्ज अतिक्रमण, चोरी शिकारी र अवैध हाम्रो अंग व्यापारले कसरी २ वर्ष पछि हामीले २५० संख्या पुर्याएर देखाउनु ? ज्यादै कठिन तर सम्भव छ ।
अध्यक्ष महोदय,
व्यापक पीडा र दर्दलाई दबाएर थोरै माग राख्ने अनुमति माग्दछौं । गर्जेर होइन, विनम्रसाथ ।
पहिलो, ५ वर्षदेखि भुलेको ‘बाघ दिवस ’ यस पटक मनाउन तपाईको पहलता रहोस् । बाघ संरक्षण समितिको बैठक बोलाएर बाघको जानकारी लिने र बाघ दोब्बर गर्ने निर्देशन दिनुभयो भने बाघ सांढे दोब्बर गर्ने र मुलुकलाई सम्वृद्धि दिने काम हाम्रो जिम्मा । यो मुलुकमा दृढ ईच्छाशक्ती र संकल्प भए ७ सय नत्र ५ सय बाघ हाँसी हाँसी अटाउने छौं । अनि लोप हुनु अगाडिको अन्तिम सास यही सुन्दर धार्मिक पूण्य र पवित्र भूमिमा त्याग गर्न पाउँ । बाघ दोब्बर बनाउने भव्य विश्व समारोह सगौरव हाम्रो घर नेपालमा आयोजना होस् ।
दोस्रो, गत गणनामा बाघ बढाउने बर्दिया बाँकेलाई पुरस्कार र घटाउने चितवनलाई दण्ड दिईयोस् र भविष्यमा जवाफदेहिता डिग्री सत् प्रतिशत माग्दै दण्ड–पुरस्कार नीति कडाईकासाथ लागू गरियोस् ।
तेस्रो, २ वर्षदेखि निर्माण सम्पन्न भई ईगो र उपेक्षाले अपरेशनमा नआएको सौराहाको ‘एनिमल अस्पताल’ अविलम्ब सञ्चालनमा आवस र त्यहाँ हाम्रा घाईते बिरामी सन्तानले उपचार पाउन् ।
चौथो, हाम्रो पाठशाला, अनुगमन र अनुसन्धानकेन्द्र, गणना केन्द्र, उपचारकेन्द्र, दातृसंस्था जे भने पनि ‘राष्ट्रिय प्रकृति संरक्षण कोष’ सँग हाम्रो नङ्ग मासु र रगतको सम्बन्ध छ । त्यो संस्था नभएको भए हामी उहिले निस्प्राण भईसक्ने थियौं । अहिले त्यो संस्थालाई घर न घाटको निस्प्राण राजनीतिक भर्ति केन्द्र बनाएर लथालिङ्ग पारिएको छ । वर्षौ देखि नेतृत्वबिहिन त्यो धर्मशालालाई प्राण भरेर पुनः सक्रिय बनाईदिन विनम्र अनुरोध गर्दछौं ।
पांचौ, हाम्रा कार्यकारी निकुञ्ज विभाग २ महिनादेखि नेतृत्वबिहिन हुंदा अन्तर्राष्ट्रिय सम्पर्क, फिल्ड अनुगमन र निर्देशन, सबै संरक्षण स्टेकहोल्डरहरुसँग समन्वय र सहकार्य, विभाग सञ्चालन जस्ता आधारभूत र अपरिहार्य काम धरापमा पर्दा हाम्रा मुटुमा पीडाको तिर प्रहार भएकोछ ।
छैटौं, शून्य शिकार अभियानलाई तराईबाट पहाड र हिमालसम्म पुर्याएर हाम्रा वंशजका हाँगा चितुवा र हिम चितुवा तथा तिनका आहारा प्रजातिको विशेष एवं सन्तुलित संरक्षण योजना अघि सार्नु मुलुकको सौन्दर्यता एवं सम्वृद्धि विकासको जग हुने छ । साथै, भ्रष्टाचार शीघ्र निर्मुल होस् । गरिबी हाम्रो दुश्मन हो ।
सातौं, वैज्ञानिक वन व्यवस्थापनको नाममा सयौं वर्ष पुरानो हाम्रो सालको वन सफाया गरेपछि हामीले प्रजननः बच्चा लुकाउने हुर्काउने काम कहाँ र कसरी गर्नु । वनको त्यो दुरुपयोग र निजगढ विमानस्थलको बहानामा हाम्रो बासस्थान ध्वस्त पार्ने षड्यन्त्र बन्द गरेर हामीलाई सास र राहत दिईयोस् ।
अन्त्यमा, अध्यक्ष महोदयलार्ई बाघ पर्यटन, प्रकृति पर्यटन, ग्रीन पर्यटन, चितुवा र हिमचितुवा पर्यटन,कृषि पर्यटन लगायतका पर्यटन फलाएर फुलाएर यो मुलुकलाई सुन्दर शान्त सम्वृद्धिमय मुलुक बनाउने जिम्मेवारी पूरा गर्न हामी तनमन र वचनले संकल्पकृत छौं । विश्व बाघ संरक्षण दिवसको पावन उपलक्ष्यमा हाम्रा सच्चा मालिक नेपाली जनताहरु प्रति सादर शुभकामना चढाउदछौं ।
जय प्रकृति !
जय पूण्य र पवित्र भूमि नेपाल !!
आज्ञाकारी
सम्पूर्ण बाघहरु,
नेपाल
(यो लेख बाघहरुको सुस्केरा, भाषा, लय र गर्जन सुनेर त्यसलाई डिकोड गरी तयार पारिएको हो ।)
–बाबुकृष्ण कार्की
बाघ गोठालो