सहायक रथी बाबुकृष्ण कार्की(अप्रा),
यो हप्ता बाके राष्ट्रिय निकुञ्जमा अर्को पाटे बाघको छाला बरामद भयो । केहि महिना अगाडि अर्को पाटे बाघको छाला बरामद भएको थियो । यी २ घटनाले देखाउदछ त्यहा चोरी शिकारी ब्यापक छ । त्यहाका २१ दुर्लभ पाटेबाघ गम्भीर संकटमा छन् । छिमेकी बर्दिया लगायत अन्य निकुञ्जमा काल पल्किने ठूलो जोखिम छ । जंगलमा बढ्नु, खेल्नु, रमाउनु पर्ने पाटेबाघ क्रमशः मृत्यूबरण गर्दै चोरी शिकार, तस्कर र धनाढ्यका हात–हातमा तथा घरका भित्तामा पुगेर छाला टाङ्गिन्नु कति दुःखद् र बिडम्बनापूर्ण छ ?
कसरी बिजयोत्सब ?
निकुञ्ज भित्र पाटेबाघको मृत्यू भएको छ । तर सनसनीपूर्ण समाचार आउदछ “बाघको छाला बरामद, ठूलो सफलता निकुञ्ज पाटेबाघको सुरक्षित घर हो । त्यो बाघको बासस्थान रक्षा र ब्यबस्थापन गर्नका लागि योग्य, दक्ष, काबिल चीफ् वार्डेन लगायतको जनशक्ति खट्टिएको छ । प्रमुख सेनानीको कमाण्डमा नेपाली सेनाको एउटा गण खट्टिएको छ । त्यो जनशक्तिको लागि राज्यको ढुकुटीबाट बर्षेनी करोडौं रुपैया“ खर्च भएको छ । ठूलो श्रोत साधन खर्च भएको छ त्यसका बाबजुद पाटेबाघ पनि मरिरहेको छ । जे रक्षागर्न त्यत्रो बिशाल जनशक्ति, संयन्त्र र लगानी भईरहेको छ बारम्बार त्यसकै एकपछि अर्को क्षति भईरहेको छ र हामी त्यसलाई “सफलता र उपलब्धि” भनेर बिजयोत्सव मनाईरहेका छौं । सायद, यहि हो बिपरीत बुद्धि र अधोगतिको दरो प्रमाण ।
बरामदीय मोडलको चेकजाच
पंक्तिकारले धेरै एन.जि.ओ. देख्यो बन्यजन्तु संरक्षणमा उल्टो काम गर्ने । बाघको छाला, गैंडाको खाग, हात्तीको दात खरिद गर्न आफु तयार रहेको र जसरी भएपनि ल्याउन अग्रीम भुक्तानी बाड्दै हिड्ने एन.जि.ओ.हरुको मिसन ज्यादै प्रत्युत्पादक र घातक छ । त्यस्ता घातक एन.जि.ओ.पहिचान, नियन्त्रण र खारेजीको लागि अबिलम्ब कदम चाल्न जरुरी छ । किनभने उनीहरु चोरी शिकारीलाई उचाल्ने उक्साउने र जंगल पठाउने उल्टो प्रेरणा जोडदार तरिकाले भरिरहेका छन् । त्यो तत्काल बन्द हुनुपर्दछ ।
बन्यजन्तु अंग ल्याउन पुरस्कार रकम कबोल गर्ने सुरक्षा अंग कै काईते ट्याक्टिस पनि ज्यादै बेठिक भएकोले त्यो पनि बन्द हुनुपर्दछ । संरक्षणकर्मीहरुको मिलोमतो र लोभ जगाउने यो घातक ट्याक्टिसले अन्ततोगत्वा चोरी शिकारी र बन्यजन्तु अंग ब्यापारीलाई भित्रभित्र उक्साईरहेको हुन्छ ।
समस्याको जरो
यो बर्ष बाके राष्ट्रिय निकुञ्जले २ ओटा पाटे बाघ गुमाउनुमा त्यहाको प्रशासन, ब्यबस्थापन र संरक्षण कमजोर, फितलो र सुतुरमुर्ग छ भन्ने देखाउदछ । टीम बिल्डिङ्ग र टीमवर्कको अवधारणा नबुझेको, संयुक्त र समन्वीकृत अपरेशनको प्रभावकारिता नजानेको, ईण्टेलिजेन्स र एण्टी पोचिङ्गको समन्वय र संचालनको अक्कल र हिम्मत नभएको निकुञ्ज प्रशासन भएपछि त्यहा सयौं प्वाल पर्ने संभावना हुन्छ । बाकेको हकमा यहि निरिहता देखिन्छ । सगरमाथा राष्ट्रिय निकुञ्जको हकमा उस्तै कमजोरी र निरिहता देखिदा स्थानीय जनताले निकुञ्ज प्रशासन घेराउ गरेका थिए लकडाउन कै समयमा । राम्रा हैन हाम्रा मान्छे हाकिम बनाएर पठाउने मन्त्रालयको गम्भीर त्रुटीको परिणाम हो यो ।
समस्याको चुरो केन्द्रमा पनि छ । २ महिना भईसक्यो निकुञ्ज बिभाग नेतृत्व बिहिन रहेको । नेपालको ईतिहासमा प्रकृति एवं संरक्षणबिद्हरुले यस्तो निरिहता देखेका थिएनन् । त्यसको नकारात्मक असर फिल्डमा पर्ने नै भयो ।
राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्ष प्रधानमन्त्री स्वयम् हुन् । अध्यक्षको समय, दृष्टी, माया, आशिर्वाद टाढा जंगल भित्रको पाटेबाघले पाउने कुरा कल्पना बाहिरको भयो नेपालको हकमा । निकुञ्जलाई नेतृत्व दिने बन तथा बाताबरण मन्त्रीको उपेक्षा र निश्क्रियता पनि बन्यजन्तु संरक्षण धरापमा पर्र्दै गएको घाम जस्तै छर्लङ्ग छ । शान्तिकालिन र सामान्य अवस्थामा प्रकृति संरक्षण धरापमा परेको र बन तथा बातावरण तीब्र बिनास भएको ईतिहासमै यो पहिलो घटना हो भन्ने पंक्तिकारको ठम्याई छ ।
जवाफदेहिताको मृत्यु
सगरमाथा राष्ट्रिय निकुञ्जमा निकुञ्ज प्रशासन र गुल्म हेड्क्वार्टरको नजिक ७ वटा कस्तुरी चोरी शिकारी द्वारा मारिएको बिभत्स घटनालाई पंक्तिकारले जवाफदेहिताको मृत्यु भनेर छानबिनको माग राखेको थिए । त्यहाको चीफ वार्डेनलाई तत्काल निलम्बन, अथवा बिभाग फिर्ता गरी छानबिन अगाडि बढाएको भए बाके राष्ट्रिय निकुञ्ज तान्किने थियो ।
हालै बाकेमा पक्राउ परेका राप्ती सोनारी १ सिमलघारीका नर बहादुर घर्तीमगरले बोकेको बाघको छाला र १० के.जी. हड्डी बाके राष्ट्रिय निकुञ्जको बाघको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त बाघलाई गोली हानेर शिकार गरिएको रहस्योद्घाटन झनै खतरापूर्ण छ । किनभने सामान्यतयाः पाटेबाघलाई शिकारीहरुले छालामा प्वाल पर्छ भनेर गोली हानेर मार्दैन थिए । २४ लाख मूल्य राखिएको उक्त छाला ओढ्ने पाटेबाघलाई गोली हान्नु भनेको त्यहाको निकुञ्ज प्रशासन र सुरक्षा गण कालो मण्डी ओढेर सुत्नु हो । चोरी शिकारीले उनीहरुको छातीमा परेड खेल्नु हो । जवाफदेहिता मर्नु हो । त्यसको तत्काल छानबिन जरुरी छ । चीफ वार्डेनको निलम्बन र नयाँ सक्रिय, योग्य, सक्षम, काबिल चीफ वार्डेन नियुक्तिको आवश्यकता छ ।
अन्धकार भविश्यको संकेत
चितवनमा गैंडा र गोहीको कहालिलाग्दो क्षति, सगरमाथाको कस्तुरीको सामूहिक बिभत्स हत्या र पाटेबाघको चोरी शिकारले एउटा संरक्षण किर्ति कमाएर सफलताको चुचुरोमा पुगिसकेको मुलुकको आगामी भविश्यलाई अन्धकारतर्फ धकेलेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय संरक्षण समुदायलाई दुःखित् र स्तव्ध तुल्याएको छ । अझ बैज्ञानिक बन व्यबस्थापनको नाममा पुरानो सालको बन सफाया हुनु, कथित सुकुम्बासीलाई बन क्षेत्र बाडेर भोट ब्याङ्क र सस्तो लोकप्रियता कमाउनु तथा चुरे क्षेत्रलाई दोहन र बिनास गरेर कौडीको भाउमा बेच्ने निर्लज्जताले नेपालको समग्र प्रकृति संरक्षणको पुरानो उपलब्धिलाई मिट्टिमा मिलाउने कुकर्म भएको छ । हामीलाई बाघको छाला होईन, शक्तिशाली स्वस्थ बाघ जंगल भित्र चाहिएको छ । सडेको अग्राख होईन खडा हरियो अग्राखको जंगल चाहिएको छ ।
समस्या समाधानको बाटो
गत माघ महिनामा दाङ्गको तुलसीपुरमा बाघको छालासहित पक्राउ परेका ३ जना अभियुक्तहरुलाई मुद्धा चलाउन पर्याप्त सबुत प्रमाणहरु नपुगेको दुःखद् खबर छ । तस्करहरु पक्राउ गर्ने सि.आई.बि.को मिहेनत् खेर जाने र दोषीहरु छुटेर पुनः बाघ मार्ने काममा लाग्ने अपराध पुनराबृत्तिको डर छ । तसर्थ, राष्ट्रिय निकुञ्ज बिभाग, सि.आई.बि., नेपाली सेनाको टोलीले छानबिन, अनुसन्धान र निश्कर्षको लागि बिज्ञ समूह, प्राबिधिक समूह र कानूनबिज्ञको टोली गठन गर्न र स्थानीय प्रशासनलाई सबुत प्रमाण जुटाउन सहयोग गर्न जरुरी छ । जिल्ला र केन्द्रिय स्तरको ‘बन्यजन्तु अपराध नियन्त्रण ईकाई र समिति’ सक्रिय बनाउन जरुरी छ ।
दोश्रो, स्थानीय निकुञ्ज प्रशासन आफै स्वायत्त शक्तिशाली अंग हो । केन्द्र कमजोर र निरिह हुदा त्यसले आफै चुस्त र सक्रिय भएर आफ्नो निकुञ्जको व्यबस्थापन र संरक्षण प्रभावकारी ढंगले पूरा गर्ने पहलता र हिम्मत गर्नुपर्दछ । चीफ वार्डेनको निस्क्रियता र निरिहतामा नेपाली सेनाको प्रोटेक्सन युनिटले उसको काम खापेर झन् धेरै दोव्वर तेब्वर सक्रियता देखाउनुपर्दछ । चोरी शिकारीको गोली लागेर आफ्नो निकुञ्जको बाघ मारिनु भनेको त्यहाको प्रोटेक्सन युनिट कमाण्डरको झन ठूलो निश्क्रियता र कमजोरी हो । त्यो अक्षम्य र दण्डनीय काम हो ।
तेश्रो, राम्रो होईन हाम्रो मान्छे र दलको झण्डा बोकेर फिल्डमा चीफ वार्डेन पठाउने केन्द्रीय परिपाटी एवं प्रबृत्ति तत्काल बन्द हुनुपर्दछ । दण्ड पुरस्कार नीतिको कडाईका साथ अबलम्बन गरिनुपर्दछ ।
चौथो, घरेलु राजनीतिक झगडा र भ्रष्टाचार, बेथिति, कुशासनको फन्दामा जकडिएका सरकार प्रमुख तथा सरकारी संयन्त्रले प्रकृति संरक्षणलाई पहिलो र उच्च प्राथमिकतामा राख्नुपर्दछ । रुसमा पुटिन र भारतमा मोदीले बाघ संरक्षणको स्वामित्व ग्रहण गरेर कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्दै बाघ बढाईरहका छन् भने हिजोको संरक्षण अगुवा नेपालले कसरी दुर्लभ बाघ र बाघको बासस्थान बिनास भएको हेरेर बस्न सुहाउदछ ? एकपटक भावुक र संबेदनशील भएर सोच्न जरुरी छ । अरु श्रापबाट पशुपतिनाथले रक्षा गर्दै जालान् । तर पशुश्राप लागेको सरकार र राज्य अन्ततः बिघटन भएरै छाड्दछ । बर्तमान सरकार र सुन्दर शान्त नेपाल कतै पशुश्रापको शिकार नहोस् । प्रधानमन्त्रीले बाघ संरक्षण समितिको अध्यक्षता तत्काल र स्वस्फुर्त ग्रहण गरुन् । पाटेबाघ संरक्षणको अपडेट्स लिउन् । र, आफ्नै सत्तारुढ दलका प्रकृतिप्रेमी सहकर्मी तत्कालिन प्रधानमन्त्री माधब कुमार नेपालले बिश्व समुदाय समक्ष बाचा गरेको बाघ दोब्बर बनाउने संकल्प सफल र साकार बनाउन सम्बन्धितहरुलाई कडा निर्देशन दिउन् । बन मन्त्रालयमा बिज्ञ, दूरदर्शी, गतिशील र त्यागी नेतृत्व दिउन् ।
पाचौं, प्रकृति संरक्षणको ऐतिहासिक खम्बा नेपाली सेनाको नेतृत्वले प्रधानमन्त्रीको दायित्व मागेर लियोस् र सन् २०२१ लाई “संरक्षण संकटकाल (कन्जरभेसन क्राईसिस)” बर्ष घोषणा गरेर फिल्डमा चमत्कार देखाउने र चोरी शिकार तथा सबै प्रकारका क्षति शून्य गर्ने पहलकदमी प्रारम्भ गरोस् । सबै सुरक्षा निकायलाई संरक्षण छातामुनि आबद्ध गरी बन मन्त्रालयको नेतृत्वमा रहेर गरेको यो काम परिणाममुखी हुनेछ । बिगतको क्षतिपूर्ति हासिल गरेर बिश्वलाई नमूना प्रश्तुत गर्ने लोकप्रिय शान्तिकामी र गौरवशाली अभियान हुनेछ । संरक्षाको खम्बा नेपाली सेनासंग बिगतमा बिशेष त्याग गरेर लगातार शून्य शिकार बर्ष मनाएको अपूर्व अनुभव पनि छ । र, यो संकटको घडिमा पुनः बिशेष संरक्षण पहल लिनु त्यो संगठनको नैतिक कर्म र धर्म पनि हो । सेना–नागरिक सम्बन्ध प्रगाढ गर्न र बिश्व संरक्षण समुदायको बिश्वास आर्जन गर्न यो अभियान कोशे ढुंगा साबित हुनेछ । मुलुक पशुश्रापको बातबाट बच्ने छ । र, सर्बत्र स्खलित मुलुकलाई पशुआषिसको अवसरले सम्मानित हुने दुर्लभ मौका मिल्ने छ ।
छैठौं र अन्तिम उपाय, स्थानीय जनसमुदायको सक्रिय योगदान, समर्पण र त्यागले यो क्षति रोक्न सकिन्छ । किनभने प्रकृति र प्रकृतिका उपहारको वास्तविक मालिक स्थानीयवासी जनता हुन् । राज्य संयन्त्र अहिले ढुकुटी दोहनको तीब्र लुटपात्मा व्यस्त भएको यथार्थलाई आत्मसात् गरी ती निर्दोष र प्रकृति एवं संरक्षणप्रेमी जनसमुदायहरु एकत्रित तथा एकढिक्का हुन र आफ्नो सम्पत्तिको रक्षामा जुट्न बिलम्ब गर्नुहुदैन । ‘बटम अफ एप्रोच संरक्षण’ को नविन र सफल मोडल स्थापना गर्न प्रकृतिका वास्तविक मालिकहरु सचेत, सतर्क र सक्रिय हुनुपर्दछ । प्रदेश र संघको ‘डिले र रिले’ संरचनालाई आँखा, कान खोल्न र संरक्षणको नमूना देखाउन उद्यत हुनुपर्दछ ।
लकडाउन होस् अथवा महामारीको अझ चर्को रुप, प्रकृति संरक्षणको लागि त्यसले कुनै बाधा अड्चन श्रृजना गर्दैन, बरु त्यो प्रकृति संरक्षणको लागि बरदान साबित हुन्छ ।
२ सातापछि आउन लागेको ‘बिश्व बाघ दिवस’ मुलुकले ठाडो शिर र चौडा छाती गरेर मनाउने मार्ग प्रशस्त गरोस् । अनि, बाघ दोब्बर गर्ने अन्तर्राष्ट्रिय संकल्प पूरा गर्ने निर्धारित समय सन् २०२२ मा आफ्नो बाचा तथा कबोल पूरा गरेर देखाउन सफल होस् । यो काम कठिन तर संभव छ ।
–स.र.बाबुकृष्ण कार्की(अ.प्रा.)
पूर्व निर्देशक, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालय